का. रोहित
पहिलो भ्रमण
असोज १०–२६, २०४८ (26 Sep-12Oct. 1991)
प्रस्थान
(१० असोज २०४८/26 Sep. 1991)
कोरियाली मजदुर पार्टीको निमन्त्रणामा प्योङयाङमा आयोजना हुने कोरिया पुनःएकीकरण निम्ति अन्तर्राष्ट्रिय विशाल पदयात्रामा भाग लिन प्रस्थान गर्ने दिन १२ बजेनै म गौचर हवाई अड्डा पुगेँ । भक्तपुर, काठमाडाँै, काभ्रेका र अन्य साथीहरूसँग बिदा लिएर २ः१५ बजे थाई हवाईजहाजमा चढेँ र हवाईजहाज उड्यो ।
उड्नुअघि हामी साधारण यात्रुहरूको कोठामा साथीहरूसँग कुराकानी गर्दै थियौँ । पत्रकार साथीहरू (भैरव रिसाल र देवकोटा) सँग यसपालिको सदनबारे आफ्नो राय र देशको कला र संस्कृति जोगाउन, राष्ट्रको प्राचीनता जोगाउन र जनताको नयाँ रोम पाउन भक्तपुरमा पहिले जस्तै पर्खाल लगाउने, पश्चिमी शैलीका घरहरू बनाउन नदिने, व्यक्तिगत सम्पत्तिको रूपमा रहेको साँझ्या (भोटे झ्याल) वा अन्य कला र संस्कृतिको हिसाबले महत्वपूर्ण कलाकृति र भवनहरूलाई भत्काउन, बिगार्न, अङ्गभङ्ग गर्न वा विदेशीहरूलाई बेचबिखन गर्न नपाउने ऐन बनाउन राष्ट्रिय सम्पत्ति वा राष्ट्रिय महत्वका वस्तु वा घर घोषणा गराउने कामको निम्ति मैले एक सङ्कल्प राख्न खोजेको थिएँ। एक दुई महिनादेखि नै यसबारे मैले शिक्षामन्त्री रामहरि जोशी, नेकाका सचेतक गोविन्दराज जोशी, लक्ष्मणप्रसाद घिमिरे, रामकृष्ण ताम्राकार आदि संसद् सदस्यहरूसँग कुरा गरेको थिएँ, उत्तर कोरियाको राजदूतावासमा एक दिन ‘सर्वमान्य नेता’ गणेशमानजीसँग पनि त्यसबारे कुराकानी गरेको थिएँ । उहाँले पनि त्यस कुरालाई राम्रै मान्नुभयो र सङ्कल्प ल्याउनु उचित नै सम्झनुभएको थियो । संसद्को परामर्श समितिमा छलफल हुँदा सबै पार्टीका प्रतिनिधिहरूले सिद्धान्ततः समर्थन गरे । तर, सङ्कल्प होइन ध्यानाकर्षण ल्याउन सल्लाह दिए । सङ्कल्पलाई ध्यानाकर्षणमा परिणत गरेँ । तर, अचानक प्योङयाङ जाने कार्यक्रम बन्यो । मेरो मन विभाजित भयो । असोज १० को दिन मेरो कोरियाको निम्ति बैङ्ककमा उड्ने टिकट मिल्यो भन्ने ९ गते थाहा पाएँ । असोज १० गते नै भक्तपुरबारे ध्यानाकर्षण ल्याउने कार्यक्रम थियो । मैले त्यस प्रस्तावलाई हाम्रो पार्टीको तर्फबाट डिल्लीबहादुर महतद्वारा राख्न लगाउने कुरो गरेँ । तर, सभामुखज्यूले त्यसलाई अलि व्यवस्थित ढङ्गले नै ल्याउनुपर्ने भएको हुनाले डिल्लीबहादुर महतमार्फत नल्याई हिउँदे सदनमा मबाटै ल्याए उपयुक्त हुने बताउनुभयो । म सा¥है द्विविधामा परेँ । यी सबै कुरा मैले बिदा दिन आएका साथीहरू र पत्रकार साथीहरूलाई बताएँ ।
विमानस्थलमा भीमबहादुर तामाङजी (नेका) र पन्तजीसँग भेट भयो तर चन्द्रप्रकाश मैनालीजी (एमाले) देखिन । पछि माधव नेपाल, सी.पी. मैनाली र एमालेका अन्य साथीहरू भी.आई.पी. कोठामा पाएँ । कोरियाली राजदूत, काउन्सिलर किम र कोरियाली दूतावासका अन्य कर्मचारीहरू बिदा दिन आएका थिए ।
विमान बैङ्ककमा ५.१५ मा पुग्यो अर्थात् ३ (तीन) घण्टा लाग्यो । बैङ्ककमा ३२ वर्षपछि यो मेरो दोस्रो टेकाइ थियो । यसअघि १९५९ मा चीनको निम्ति जाँदा पटनासम्म विमान, त्यहाँबाट रेलमा कलकत्ता, कलकत्ताबाट रंगुन हुँदै चीनको कुङमिङमा विमानबाट पुगेको थिएँ । तर, चीनबाट स्वदेश फर्कँदा बैङ्कक भएर फर्केको थिएँ । आजको बैङ्कक हवाई अड्डा पहिलेको भन्दा कैयौँ गुणा ठुलो भएको पाएँ ।
झन्डै सवा घण्टा पर्खेपछि अर्थात् ६ः३० बजे (नेपाली समय) हामी (नेपाल कोरिया मैत्री सङ्घका अध्यक्ष माणिकलाल श्रेठ, भीमबहादुर तामाङ, सी.पी. मैनाली, प्रजग कोरियाको दूतावासमा काम गर्ने पन्त र म) हङकङको निम्ति उड्यौँ । विमानमै खाना खायौँ । ८ बजे नेपाली समयमा हामी हङकङ पुग्यौँ । मालसामान जचाउँदा र पासपोर्टको काम सिध्याउँदा हङकङको १२ बजेको थियो र हवाई अड्डाको रिगल होटलमा बास बस्यौँ ।
पेचिङमा
(११ असोज ०४८/27 Sept. 1991)
हङकङको समय नेपालको भन्दा २.१५ घण्टा अगाडि हुने रहेछ । उज्यालो र माणिक दाइको फोनले त्यहाँको ७ बजे र नेपालको ५ बजे नै उठेँ ।
भीमबहादुरजी र सी.पी. मैनालीजीका आवश्यक लुगाको निम्ति हामी नजिकैको बजार गयौ । बिहानको चिया वा ब्रेकफास्ट खाँदा भर्खर नेपाली घडीमा ६ बज्दै थियो । भोक थिएन, चिया खायौँ । संयोगले मेरो र भीमबहादुरजीको पेचिङको निम्ति उडान त्यहाँको १०.२० मा थियो अर्थात् नेपाली समयको ८.०५ बजे । अन्य तीन जनाको १२.१० बजे थियो । त्यो भिन्नता हामीलाई होसै भएन, हामीले सोच्याँै सबैको एउटै उडान हो । ढिलो भयो, हाम्रो विमान गइसकेको थियो ।
बल्ल बल्ल क्तबलम दथ भन्ने ठाउँ खाली भएर १२.१० बजेकैमा हवाई अफिसमा झण्डै एकडेढ घण्टा कुरेर, सबै एउटै विमानमा जान पाउने भइयो । नत्र दुई कुराले हामीलाई अप्ठेरो हुन्थ्यो । पहिलो, साथीहरू छुट्ने, दोस्रो, हङकङमा एक रात बस्नु परे सयौँ रुपैयाँ बेकाममा खर्च हुने र दुःख पाउने । माणिक दाइबाहेक हामीमध्ये कोही पनि यस्ता यात्राका अनुभवी र जानकार थिएनौँ । उहाँले धेरै दौडधुप गर्नुभयो र बल्ल बल्ल सँगै जान पायौँ ।
पेचिङको निम्ति हङकङबाट नेपाली समयअनुसार १०ः४५ मा विमान उड्यो र १.२५ मा पेचिङमा ओराल्यो । विमानमै हामीले दिनको खाना खायौँ ।
पेचिङ विमानस्थल पनि पहिले अर्थात् ३० वर्षपहिले भन्दा निकै ठुलो बनाई सकिएको थियो । तर, आश्चर्य ¤ हङकङमा १५–२० मिनेटभित्र आ–आफ्नो सामान ल्याउने (स्वचालित) कामको निम्ति यहाँ ५५ मिनेट लाग्यो । हामी सबै अचम्म भयौँ । यसो हेर्दा पेचिङभन्दा हङकङ धेरै गुणा आवतजावत हुने र सक्रिय ठाउँ देखियो । साँच्चै भनौं भने हङकङको तुलनामा पेचिङ हवाई अड्डा गाउँजस्तो थियो र बन्दोबस्त र तदारुकतामा सा¥है पछाडि !
कोरियाली दूतावासका कर्मचारीहरूबाट हामी रिटान होटलमा लगियौँ । त्यही पाकिस्तान, हिन्दुस्तान र श्रीलङ्काका प्योङयाङ जाने प्रतिनिधिहरू पनि भेट्यौँ । एकछिन बाहिर डुल्यौँ र ७.३० बजेतिर रातिको खाना खायौँ । भाषाको कठिनाइ असाध्यै बिझ्यो । माणिक दाइको एक मित्रसँग सिन्ह्वा विश्वविद्यालयमा फोनले सम्पर्क राख्न २ घण्टा लाग्यो ।
प्योङयाङमा
(१२ असोज ०४८/28 Sep. 1991)
यस दिन नेपाली समय १२.४५ र पेचिङमा समय ३ बजे हामी पेचिङबाट प्रजग कोरिया (प्योङयाङ) को निम्ति उड्यौँ । हवाई अड्डामा हामीले बुटवलको सूर्यलाल श्रेष्ठलाई प्योङयाङबाट फर्केको तर बैङ्कक जाने विमान नपाएर हैरान भएका भेट्यौँ । पहाडै पहाड हुँदै हवाईजहाज उड्यो, बिच बिचमा नदीनाला र खेत बस्तीहरू पनि देखिन्थे, २ः४५ (नेपाली समयानुसार) हामी प्योङयाङको विमानस्थल पुग्यौँ । कोरियाली समयानुसार त्यसबेला ५ः१५ बजेको थियो । विमानस्थल बाहिर कोरियाको पुनःएकीकरण र कोरियालाई आणविक अस्त्रमुक्त क्षेत्र बनाउनको निम्ति गरिने अन्तर्राष्ट्रिय पदयात्रामा भाग लिन आएका एसियाका विभिन्न देशका प्रतिनिधिहरूलाई स्वागत गर्न हजारौँ जनता पर्खिरहेका थिए ।
सबै प्रतिनिधिमण्डलका सदस्यहरू आ–आफ्ना देशका नाम भएका र देशका नाम नभएका ‘कोरिया एक हो’ भन्ने नारा लेखिएका प्लेकार्ड र कपडाको माला लगाएर विमानबाट निस्के । स्वागत गर्न धेरै बेरदेखि पर्खिरहेका जनतालाई अभिवादन गर्दै सानो शान्ति जुलुस हवाई मैदानको एक ठाउँमा एक सभाको रूपमा परिणत भयो । त्यसमा कोरिया पुनः एकीकरण एसियाली समितिका अध्यक्ष (जापान) र सचिव (भारत) ले बोले । त्यहाँबाट राजनैतिक पार्टीका प्रतिनिधिहरू र अन्य समितिका प्रतिधिनिहरूलाई भिन्नाभिन्नै स्वागत कक्षमा लगिए ।
विमानस्थलको स्वागत कक्षमा अगस्त (१९९१) मा नेपाल आउनुभएका कोरियाली मजदुर पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका उपनिर्देशक किस जे बोडसँग भलाकुसारी भयो । नेपाल भ्रमणको बेला उहाँले मलाई ‘सय पटक पढ्नुभन्दा एक पटक आफ्नै आँखाले हेर्दा धेरै कुरा जानबुझ्न सकिन्छ’ भन्नुभएको थियो । अतः कोरियाको भ्रमण गर्न निम्तो गर्नुभएको थियो । त्यो स्मृति मेरो मनमा ताजा भयो ।
उहाँले कोरियामा पहिलोचोटि स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो र स्वास्थ्यबारे पनि सोध्नुभयो । कफी खाइसकेपछि हामी प्योङयाङतर्फ एक बसमा गयौँ । बसमा भारत, श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश, जापान, लाओस आदि देशका प्रतिनिधिहरू थिए । माथिका प्रतिनिधिहरूमध्ये जापानका भने हामीले पेचिङमा भेटेका थिएनाँै ।
हवाई मैदानदेखि प्योङयाङसम्ममा बाटोमा हामीले ठाउँ ठाउँमा सयौँ मानिसहरू खेत, पेटी र बस पर्खिरहेका वा घर फर्किरहेका कोरियालीहरू देख्यौँ र सबैले हात हल्लाएर हामीलाई अभिवादन गर्दै थिए । आफ्ना नानी बोकेका आमाहरू हुन् वा बालकलाई बाटोमा डो¥याई रहेका दिदीबहिनी हुन्, खेतमा काम गरिरहेका किसान हुन् वा कारखाना वा कामबाट फर्किरहेका मजदुरहरू हुन्, सबैले आफ्ना नानी र भाइबहिनीलाई हात हल्लाउन सिकाउँदै थिए, रातो स्काफ लगाएका २० किलोमिटरको बिच बिचमा भेटेका सबैजसो छात्रछात्राहरू बडो उत्साहपूवर्क हात हल्लाई हल्लाई अभिवादन गर्न पछि पर्दैनथे ।
चौडा र सफा सडकहरू, लाइन मिलेका र राम्रा राम्रा घरहरू, ट्रलिबस, ट्राम र भूमिगत रेलहरू आवतजावतको व्यवस्थाले मलाई साँच्चै आश्चर्यमा पा¥यो । अग्ला अग्ला ठुलठुला या विशाल भवनहरू देख्दा, दुई दुई तह रुखहरूका पङ्क्तिहरू देख्दा मैले नेपाली काङ्ग्रेसका केन्द्रीय समितिका सदस्य भीमबहादुर तामाङजीलाई भनेँ, “वास्तवमा कोरियाली जनताले प्रगति गरेकै रहेछ ।”
नेपालजस्तै सानो, युद्धमा पूर्णतया ध्वस्त भएको अर्थात् एउटा सङ्ग्लो इँटासमेत बाँकी नछोडिएको कोरियाले जेनेभा सम्झौतापछिको ३७ वर्षभित्र गरेको प्रगतिबाट कोरियाली जनताले आफ्नो देशप्रति गौरव गर्ने अधिकार राख्छ ।
मेरो मनमा २००७ सालपछि ४१ वर्षको हाम्रो देश ३० वर्षसम्मको पञ्चायतकालीन देशमा यस्तो प्रगति किन गर्न सकिएन भन्ने कुरा खेल्न थाल्यो । हाम्रो बसको अगाडि अगाडि रातो बत्ती बलेको एउटा सुरक्षा र सूचना दिने गाडी, कोरियाली समितिका अधिकारीहरूको गाडी, विभिन्न देशका झन्डाहरूको गाडी, गीत र कुराले पदयात्राको प्रचार गर्ने गाडी गुड्दै थियो ।
साँझ ७ बजेतिर हाम्रो बस कोरियो होटलमा अड्यो । त्यहाँ पनि हामीलाई स्वागत गर्न मानिसहरू लाम लागेर बसेका थिए । कोरियो होटलको झिलीमिली देख्दा एकैछिन म अल्लमल्ल परेँ । मानिसले नै होटलभित्र बनाइएको झरना, एक्वारियमका माछाहरू, पोखरी, रंगीचंगी बत्ती र जताततै ऐना र त्यसको प्रतिछायाले मेरो मन सौन्दर्यतिर गयो ।
साँच्चै सुन्दर थियो– कोरियो होटल । भीमबहादुर तामाङ र सी.पी. मैनालीसँग मैले भनेँ– नेपालले पनि २–४ वटा होटेलहरू त बनाएका छन्, तर अरबाँै रुपैयाँ विदेशबाट सहयोग र ऋण लिएर । कोरियाले किन, कसरी प्रगति गर्न सकेको होला, नेपालमा पर्यटन उद्योगको कोरियामा भन्दा ठुलो सम्भावना छ– हिमालय, प्राकृतिक सौन्दर्य, भारत र चीनको बाटोमा परेर । तर, नेपालमा यस्ता ठुला ठुला होटलहरू विकास गरेर पर्यटन उद्योगलाई किन विकास गरेन आदि ।
मलाई कोरियो होटलको दोस्रो नम्बरको ३१ तलाको २५ नं. कोठामा बस्ने बन्दोबस्त मिलाइएको रहेछ । बैठक कोठा, सुत्ने कोठा, सभा कोठा, स्नान गर्ने कोठाहरू भएको त्यस कोठामा आवश्यक सामानहरूको बन्दोबस्त थियो ।
अन्तर्राष्ट्रिय विशाल पदयात्रा
(१३ असोज २०४८/29 Sep. 1991)
बिहान ८ः४५ बजे होटल कोरियोबाट विभिन्न देशका कोरिया एकीकरण समिति र एकता समितिका प्रतिनिधिहरू आ–आफ्ना प्लेकार्ड र ‘कोरिया एक हो’ ‘अमेरिकी सेना निस्किजा’, ‘आणविक शस्त्र होइन’, ‘कोरिया प्रायः द्वीपलाई अणुशस्त्र मुक्त शान्ति क्षेत्र बनाऔँ’ भन्ने जस्ता अनेक नारा लेखिएका कपडाहरू फहराउँदै र लेखिएका कपडा माला लगाई मोटर वा बसहरू पनि त्यस्तै लामा लामा कपडा र झन्डाहरूले सिँगारिँदै किम इल सङ चोकमा पुग्यौँ । त्यहाँबाट पैदल नै ९ः३० बजेतिर दसौँ हजार मानिसहरूको एकताको पदयात्रा सुरु भयो । ११ बजे सो प्रदर्शन खुल्ला सांस्कृतिक मञ्च भन्ने ठाउँमा पुगी सभामा परिणत भयो । देश विदेशका खास गरेर युरोप, ल्याटिन अमेरिका र पूर्वी एसियाली देशका प्रतिनिधिहरूले बोले र प्रस्तावहरू पास गरे । संयुक्त राष्ट्र सङ्घका महासचिव, सं. रा. अमेरिका र दक्षिण कोरियाका राष्ट्रपतिलाई पठाइने पत्रहरू पनि बैठकले एकमतले स्वीकार गर्यो । १ः१५ बजे बैठक समाप्त भयो र १ः३० देखि मोटर मार्च होटेल कोरियोमा २ बजे टुङ्ग्यो । जापानका युवाहरूको एक दल मोटरसाइकलमा र सोभियत सङ्घको एक दल मोटरमा थिए ।
एकताको पदयात्रामा आ–आफ्नो देशको एकीकरण समितिको नाम भएको तुल कपडाहरू प्रदर्शन गर्दै पदयात्रीहरू अगाडि बढे । बाटोको दुई छेउमा उभिएका लाखौँ नरनारीहरूले हात हल्लाउँदै स्वागत अभिवादन गरे । दुवै किनारका घरका झ्यालहरूमा कोरियाको राष्ट्रिय झन्डा र एकीकरणको नक्सा भएका झन्डाहरू फह¥याएका थिए । प्योङयाङलाई उत्सव र उल्लासले सिँगारेको थियो । कोरियाका भविष्यका कर्णधार स–साना नानीहरू फूलका गुच्छाहरू बडा उत्साहका साथ हल्लाउँदै हँसिलो अनुहारले स्वागत गर्दै थिए । अपराह्न ३ः३० बजे कोरिया मजदुर पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय फाँटको सचिव र सर्वोच्च जनसभाको अन्तर्राष्ट्रिय समितिको कार्यवाहक र सहअध्यक्ष र अणुशस्त्रविरोधी शान्ति समितिका अध्यक्ष किम योङ सन र अन्य पदाधिकारीहरूसँग एसियाका प्रतिनिधिहरूको कुराकानी भयो । स्वागत अभिवादनपछि एकीकरणबारे र त्यसका बाधाहरू, कामरेड किम इल सङको प्रस्तावबारे छलफल भयो । ४ः४५ बजे त्यहाँबाट हामी बिदा भयौँ ।