साहित्यको संसार म धेरै मनपराउँछु । त्यहाँ पनि म यही हाल देख्दछु । हाम्रा उपन्यासकार, कथाकार र कविहरू सहजै युरोपको चलन अपनाउँछन् । जब कि एक सोभियत सङ्घ छोडेर बाँकी युरोप भारतीय लेखनसँग परिचित नै छैन । एक उदाहरण दिन्छु । मेरो आफ्नो पन्जाब प्रान्तमा युवा कविहरूको बिच विद्यमान सामाजिक व्यवस्थाको विरुद्ध विद्रोहको लहर उठिरहेको छ । उनीहरूको कविताले मानिसहरूलाई अपिल गरिरहेको छ । उठौँ र यो सामाजिक परम्परालाई घँुडा टकेर विरोध गर्रौँ । यसलाई ढाल बनाउँदै र यसको ठाउँमा नयाँ संसार बसालौँ । भ्रष्टाचार, अन्याय र शोषणबाट मुक्त भएका संसार बनाऔँ । यस्तो भावनालाई बेवास्ता गरी तपाईँ बस्न सक्नुहुन्न । तपाईँ यस भावनाबाट आफूलाई नजिक पाउनुहुन्छ । हाम्रो विद्यमान सामाजिक ढाँचा निः सन्देह बदल्नु जरुरी भइसकेको हुँदा तपाईँ अनुभव गर्नुहुन्छ ।
यी कविताभित्र लेखिएका विषयवस्तु सबैभन्दा उल्लेखनीय पक्ष हो । तर, त्यसलाई लेख्ने तरिका हाम्रो होइन, मौलिक होइन । पश्चिमी देशबाट त्यहाँका कविहरूबाट सापटी लिइएको हो । पश्चिमी देशहरूले छन्द र तुकबन्दीलाई अस्वीकार गरे । त्यसैले हाम्रा पन्जाबी कविहरूले पनि यसलाई खारेज गरे । त्यही पश्चिमी शैलीमा यी कविहरूमा पनि गीतको भाषामा अति हिंस्रक तस्बिर पाइन्छ । यसको परिणाम कवितामा रिस र आक्रोश देखिन्छ । तर, मात्र कागजमा सीमित भयो । यसको असर पनि केही पढे–लेखेका, एक अर्काको प्रशंसा गर्न लाग्ने साहित्यिक क्षेत्रभित्रै सङ्कुचित रह्यो । मजदुर र किसानहरूलाई क्रान्तिको पाठ पढाउन लागिएको हो तर, तिनीहरू त्यसलाई बुझ्दैनन् । तिनीहरू यसप्रकारका कविता कहिल्यै बुझ्न सक्दैनन् । म साँच्चिकै भन्छु । बाँकी भारतीय भाषाहरूको पनि यही अवस्था छ । ती पनि यही ‘नयाँ लहर’ कविताको बल्छीमा फसेको छ । चित्रकलाबारे त केही पनि जान्दिन । मलाई राम्रो र खराब चित्रकलामा केही फरक थाहा छैन । तर, मैले गहिरिएर देखेँ । यहाँ पनि हिन्दुस्तानी चित्रकार विदेशी चलनकै नक्कल गरिरहेका छन् । तपाईँले भारतमा निकै थोरै मात्र चित्रकार आफ्नै प्रवाहमा पौड्ने साहस गरेको देख्नुहुन्छ । पढाइ–लेखाइको संसारबारे त के भनौँ । म तपाईँ भनौँ । आफैँ ऐनामा हेर्नुस् । यदि तपाईँ हिन्दी चलचित्रलाई खिसी गर्नुहुन्छ भने सायद तपाईँ आफैँप्रति पनि खिसी गर्न चाहनुहुन्छ । यो वर्ष पन्जाबले मलाई गुरु नानक युनिभर्सिटीको सिनेटमा मनोनीत ग¥यो । सिनेटको पहिलो बैठकमा सहभागी हुन मलाई निमन्त्रणा आउँदा म पन्जाबमै थिएँ । प्रीत नगरको नजिकको गाउँमा डुलिरहेको थिएँ । पन्जाबका महान लेखक एस गुरबक्श सिंहले यस सांस्कृतिक केन्द्रको प्रतिष्ठा राखेको थियो ।
साँझको समय हामी केही साथीहरू छलफल गरिरहेका थियौँ । मैले गाउँका आफ्नो साथीहरूलाई भनेँ । फलानो बैठकमा सहभागी हुन मलाई अमृतसर जानु प¥यो । यदि कसैलाई मेरो कारमा लिफ्ट चाहिन्छ भने उसलाई साथमा लान सक्छु । मेरो यो कुरामा एक साथीले भने, “यहाँ तिमी हामीसँग बस्दा धोती–कुर्ता जस्तो पन्जाबी शैलीको सुरुवालसहित) लगाउँछाँै । एकदम किसान देखिन्छौँ । फेरि भोलि तिमी आफ्नो कमीज लाउँछौ र फेरि साहेब बहादुर बन्नेछौ ।” उनको कुरामा हाँसेर मैले जवाफ दिएँ, “ठीक छ । यदि तिमी चाहन्छौ भने म यस्तै कपडा लगाएर त्यहाँ जान्छु ।” अर्को साथीले भने, “तिमी भनिरहेका छौ तर साँचोमा त्यस्तो गर्नको लागि साहस देखाउने छैनौ । हाम्रो गाउँको मुखिया साहेब सरकारी कामको लागि सहर जानेबेला सधैँ आफ्नो धोती–कुर्ता फुकालेर पाइजामा लगाउनु हुन्छ । सहर जानको लागि उहाँले त्यस्तो गर्नुपर्छ । नत्र त मानिसहरू उहाँको इज्जत गर्दैनन् । तिमी यस्तो किसानहरूको कपडा लगाएर त्यत्रो ठुलो युनिभर्सिटीमा कसरी जान्छौ ?”
एक जवान धान स्याहार्न फौजबाट बिदा लिएर आएका थिए । उनले भने, “हाम्रो गाउँको मुखिया डरछेरुवा छ । आजका दिनमा सहरका केटी पनि लुङ्गी लगाउँछन् । लुङ्गी लगाएर कसैको इज्जत किन हुँदैन ?” यस्तै कुराकानी भयो । मैले यसलाई एक चुनौती मानेँ । र लुङ्गी–कुर्ता लगाएर युनिभर्सिटीको सिनेट बैठकमा गएँ । त्यहाँ मैले अपेक्षा नै नगरेको सनसनी फैलियो । त्यहाँका अधिकारीले जो सायद आफैँ प्रोफेसर थिए, सुरुमा त मलाई चिन्न सकेनन् । मलाई चिनेपछि उनले आफ्नो अनुहारमा विस्मय लुकाउन सकेनन् ।
ठट्टाको शैलीमा उनी बोले, “साहनी साहेब, लुङ्गीको साथमा जुत्ता लगाउन हुन्थेन ।” कुरा गर्दै उनले सिनेट सदस्यहरूले लगाउने गाऊन मेरो काँधमा राखिदिए । मैले माफी मागेजस्तो गरेर अब ध्यान दिन्छु भनेँ । म अगाडि बढेँ । केही मिनेटपछि मैले आफैँँलाई सवाल गरेँ । के मेरो कपडामाथि टिप्पणी गर्नु र आक्षेप लगाउनु प्रोफेसरको असभ्यता थिएन ? यो कुरा त्यहीबेला उनलाई किन भनिन होला ? मैले सोचेँ । यति ढिला जवाफ दिने सोच आएको हुँदा मैले आफैँलाई धिकारेँ ।
बैठकपछि म विद्यार्थीहरूलाई भेट्न गएँ । उनीहरू झन् धेरै अनौठो मानिरहेका थिए । मलाई निकै गिज्याइरहेका थिए । धेरै विद्यार्थीहरू त मैले लुङ्गीको साथमा जुत्ता लगाएको देखेर हाँसिरहेका थिए । उनीहरू आफैँ पाइन्टसँग चप्पल लगाइरहेका थिए । यो उनीहरूको आफ्नो शैली अचम्म लागिरहेको थिएन । तपाईँ सोच्नुहुन्छ होला । यी कुरा बताएर मैले तपाईँको समय बर्बाद गरिरहेको छु । तर, यस पूरा घटनालाई पन्जाबी एक किसानको आँखाबाट हेर्नुस् । हरित क्रान्ति ल्याउनको लागि ती किसानहरूले साझेदारी गरे । हामी सबै त्यसको प्रशंसा गर्छौँ । पन्जाबका ती किसान र उनका परिवार हाम्रो सेनाको मेरुदण्डको जस्तै काम गर्दै छन् । यो कुरा थाहा पाएर उनलाई कस्तो लाग्दो हो ? उनको पोशाक वा उनको जीवनशैलीलाई हाँसो गर्छन् । पन्जाबमा यो कुरा सबैलाई थाहा छ । गाउँका केटाहरू पाठ लेखेर कलेज गएर गाउँबाट अलग हुन्छन् । गाउँ र त्यहाँका जनताको समस्या उनीहरूको लागि कुनै अर्थ राख्दैन । कलेजको पढाइसकेपछि उनीहरूलाई लाग्छ कि गाउँका अरूभन्दा आफू उच्च बनिसकेको छ । गाउँलेबाट उनीहरू अलग भइरहेका छन् । मानौँ, उनीहरूको संसार बदलिसकेको छ । उनीहरूको एउटै लक्ष्य छ – गाउँबाट छुटकारा पाउने र सहरमा बस्ने । के यो कुरा शिक्षा क्षेत्रमा जोडिएका महानुभावहरूको लागि कलङ्क होइन ?
म मान्दछु कि सारा ठाउँ एकैजस्तो हुँदैन । मलाई धेरै राम्रोसँग थाहा छ, तमिलनाडु र बङ्गालमा त्यहाँको पारिवारिक पोशाकबारे कुनै हिनभावना छैन । चाहे किसान होस् या प्रोफेसर, धोती लगाएर उनीहरू कुनै पनि कार्यक्रममा जान सक्छन् । तर म यो पनि भन्छु, अरूको दृष्टिकोणबाट हेर्ने र नक्कल गर्ने प्रवृत्ति त्यहाँ पनि विद्यमान छ । कुनै न कुनै रूपमा थोरै वा धेरै यस्तो हरेक क्षेत्रमा बाँकी छ ।
स्वतन्त्रताको २५ वर्षपछि पनि हामी उही शिक्षा व्यवस्था थोप्दै छौँ । अङ्गे्रजका शिक्षाविद् मैकाले र उनका साथीहरूले क्लर्क र मानसिकरूपमा दासको फौज बनाउनको लागि बेलायती उपनिवेशवादीहरूले त्यो शिक्षा तयार गरेका थिए । दासले अङ्ग्रेज मालिकबाट अलग स्वतन्त्र भएर सोच्न सक्षम नहोस् भन्नकै लागि त्यो शिक्षालाडेको थियो । यस्तो दास जसले आफ्नो मालिकको हरेक कुरा राम्रो मानोस्, उसको प्रशंसा गरोस् । चाहे त्यसको लागि उनलाई आफैँसँग वा आफ्नो चालचलनप्रति घृणा गर्न परोस् । यस्तो दास जो आफ्नो मालिक सँगसँगै उभिनु आफ्नो सौभाग्य ठानोस् । जो आफ्नो मालिकको बोलीमा लोली मिलाओस् । उनीहरूको जस्तो लुगा लगाओस् । आफ्नो मालिकजस्तै नाचोस् । उनीहरूकै शैलीमा गाओस् । यस्तो दास जो आफ्नो देशवासीलाई, आफ्ना मानिसहरूलाई घृणा गरोस् । जो आफ्नै मानिसहरूबिच घृणा फैलाओस् । के यो आश्चर्यको विषय हो ? युनिभर्सिटीमा पढ्ने धेरैभन्दा धेरै विद्यार्थीहरू आफ्नै शिक्षा व्यवस्थामा विश्वास गर्न छोडिसकेका छन् ।
अब मलाई त्यही निरर्थक कुरा दोहो¥याउन दिनुस् । दस वर्ष पहिला तपाईँ दिल्लीमा कुनै फेसनेवल विद्यार्थीलाई पाइन्टमाथि कुर्ता लगाउन भन्नुभयो भने तपाईँलाई खिस्सी गर्थे । अहिले हिप्पीहरू र ‘हरे राम हरे कृष्ण’ सम्प्रदायको कारण कुर्ता पाइन्टमात्र चलन आएको छैन बरु कुर्ताको ठाउँमा गुरु शर्ट पनि लाउन थालेका छन् । जब अमेरिकीले रवि शङ्करको स्वागत ग¥यो, सितारको दिन फेरि चम्क्यो । त्यसैको केन्द्र बन्न लाग्यो । करीब ५० वर्ष पहिला टैगोरले स्वीडेनबाट नोबेल पुरस्कार पाए । त्यसपछि पूरै भारतमा उनी गुरुदेव भनी मान्न थाले ।
अहिले कपाल र दा¥ही लामो पाल्ने चलन छ । के यस्तोमा तपाईँ कुनै विद्यार्थीलाई शिर, जुङ्गा र दा¥ही खौरिन भन्न सक्नुहुन्छ ? तर, भोलि योगको प्रभावका कारण युरोपका विद्यार्थीले आफ्नो शिर मुन्डन गर्छन् भने म ग्यारेन्टी दिन्छु कि यहाँ पनि अर्को दिन पूरै कर्नाट प्लेसमा मुडलो टाउको देखिनेछन् । योग जहाँ उत्पति भयो त्यहाँ कुनै प्रभाव पारेको देखिन्न । यसलाई युरोपले प्रमाणपत्र दियो ।
तपाईँलाई एक अर्को उदाहरण दिन्छु । म हिन्दी चलचित्रमा काम गर्छु । तर, यो कुरा सबैलाई थाहा छ कि यी हिन्दी चलचित्रका गीत र संवाद धेरैभन्दा धेरै उर्दूमा लेखिन्छ । कृष्णन चंदर, राजेन्द्रसिंह बेदी, के. ए. अब्बास, गुलशन नंदा, साहिर लुधयानवी, मजरुह सुल्तानपुरी र कैफी आजमी जस्ता ठुला उर्दू शायर र कविले यी काममा भूमिका निर्वाह गरेका हुन् । उर्दूमा लेखिएको चलचित्रलाई हिन्दी चलचित्र भन्न सकिन्छ भने हामीले उर्दू र हिन्दीलाई एकै जस्तो भाषा मान्नु उचित लाग्ला तर होइन । हाम्रा ब्रिटिश स्वामीले आफ्नो जमानामा यी दुई अलग अलग भाषाहरूको नाम दिएका थिए । त्यसैले स्वतन्त्र भएको २५ वर्षपछि पनि हाम्रो सरकार, हाम्रो विश्वविद्यालय र हाम्रो बौद्धिक समूहले यी दुई भाषालाई अलग अलग प्रयोग गरेका छन् ।
पाकिस्तान रेडियो उर्दूको सुन्दरताको हत्या गर्न लागिरहेको छ । उनीहरूले यसमा जति अरबी र फारसीका शब्द घुसाउन सक्छन्, घुसाइरहेका छन् । हाम्रो यहाँ अल इन्डिया रेडियो सारा अरबी र फारसीका शब्द हटाएर संस्कृतका शब्द भरिरहेका छन् । यसप्रकार भाषालाई कुरूप बनाइन्छ । यसप्रकार उनीहरू आ–आफ्ना मालिकहरूको आदेश पालन गर्छन् । अलग गर्नै नसकिने भाषालाई फरक भनिन्छ । योभन्दा बढी अनौठो अरू कुनै हुन सक्छ र ? यदि अङ्ग्रेजले हामीलाई भन्छ कि सेतो कालो हुन्छ । हामीले के सधैँ सेतोलाई कालो नै भनिरहने ? मेरो चलचित्रका साथी जानी वाकरले एक दिन भने, “अल डन्डिया रेडियोले हिन्दीमा समाचार सुन्नुस् भन्नु हुँदैन । त्यसले समाचारमा हिन्दी सुन्नुहोस् भन्नुपर्छ ।” मैले यस परिहासपूर्ण स्थितिमा कैयौँ हिन्दी र उर्दूका लेखकहरूसँग कुरा गरेँ – आफूलाई प्रगतिशील भन्नेहरूसँग पनि र प्रगतिशील नभन्नेहरूसँग पनि । मैले उनीहरूलाई यो मुद्दामा केही ताजा सोच्नेबारे राजी गराउन पटक पटक कोसिस पनि गरेँ । तर, अहिलेसम्म यस्तै छ । ठुलो मेहनत गर्दै छु । हामी चलचित्रकर्मीहरू यसलाई पढे लेखेकाहरूको मूर्खता भन्छौँ । के म गलत भनिरहेको छु ?
अन्तिममा म तपाईँहरूसँग केही भन्न चाहन्छु । हुन सक्छ, मेरो कुराले तपाईँलाई दिक्क लाग्ला ।
अनुवाद : विजय