#जोनाथन कुक
सन् २०११ मा दिएको अन्तर्वार्तामा जुलियन असान्जले समाजको उदारवादी मिडियाजस्ता ‘गोचर नैतिक संस्था’ को भूमिकाको विषयमा भनेका थिए :
गार्जियन वा न्युयोर्क टाइम्सजस्ता पत्रिकाहरूलाई अन्तरनिहीत नैतिक मूल्यले निर्देशित गर्दैन । बरु बजारले चलाउँछ । बेलायतमा एउटा बजार छ । यसलाई ‘शिक्षित उदारवाद’ भनिन्छ । शिक्षित उदारवादीहरू गार्जियनजस्ता पत्रिका किन्नमा रूचि राख्छन् । त्यसैले बजारको आवश्यकता पूरा गर्न नै कुनै संस्था बन्ने गर्छ ।… यस्ता अखबारमा जनताका मूल्यमान्यता प्रतिबिम्बित हुँदैन । बरु यी संस्थाले बजारको खाँचो टार्छन् ।
यो धारणा राख्नुभन्दा अगाडिको एक वर्ष असान्जले अफगान र इराक युद्धको विषयमा ती अखबारहरूसँग निकट रहेर काम गरेका थिए । सोही बेला उनले तिनको बारेमा यस्तो धारणा कमाएका थिए ।
कथित ‘मूलधारे मिडिया’ मा छापिने समाचारहरू भुइँतहमा काम गर्ने संवाददाताहरूबाट आउँछ भन्ने हाम्रो सामान्य धारणा छ । यो हाम्रो गल्ती हो । मिडियाको स्थापनामा कतिपय मानिसहरू सेवाको भावनाले लाग्छन् भन्ने अनुमान गर्न हामीलाई उक्साइन्छ ।
धेरै उदारवादी वा वामपन्थी सोचका पत्रकारहरू उस्तै दृष्टिकोण भएका अन्य पत्रकारहरूतिर आकर्षित भई मिलेर उदारवादी–वामपन्थी पत्रिकाहरू निकाल्छन् भन्ने हामी सामान्य कल्पना गर्छौँ । दक्षिणपन्थी पत्रकार र पत्रिकाको विषयमा पनि हामी यस्तै धारणा राख्छौँ ।
यस्तो सोच राख्दा पत्रकारिताको कक्षमा सेता हात्तीहरू पनि हुन्छन् भन्ने कुरा ओझेल पर्छ । अर्बपति मालिकहरू पनि पत्रकारिता कक्षमै हुन्छन् । सामान्यतया हामीलाई उनीहरूबारे सोच्न निरुत्साहित गरिन्छ । कहिलेकाहीँ सोच पनि उनीहरूलाई पत्रकारहरूको निर्बन्ध कार्यको लागि पैसा जुटाउने व्यक्तिको रूपमा मात्र हेरिन्छ ।
यसकारण, मिडियाले हाम्रो समाजको प्रतिनिधित्व गरेको हामी निष्कर्ष निकाल्छौँ । मिडिया हाम्रा विचार र अभिव्यक्तिहरू राख्ने बजार हो, त्यहाँ दिइने विचार वा धारणाहरू बहुसङ्ख्यक जनताको अनुभूतिकै विचार हुन् भन्ने हाम्रो निष्कर्ष बन्छ । सारमा, मिडियाले बनिबनाउ विचारहरू थोपर्नेभन्दा पनि सर्वस्वीकार्य विचारहरू नै प्रतिबिम्बित गर्छन् भन्ने सोच छ ।
खतरनाक विचारहरू
यस्ता सोचहरूको लहरमा नबग्ने हो भनी हामीलाई यी मान्यताहरू मूर्खतापूर्ण लाग्नेछन् । धेरै मिडियाका मालिकहरू अर्बपतिहरू हुन्छन् र तिनले धनाढ्यहरू र ठूलो कर्पोरेसनहरूकै सेवा गर्छन् । अथवा, बीबीसीजस्ता अर्काथरी मिडियाहरू राज्यको पूर्ण स्वामित्वमा रहेका समाचार संस्थाहरू हुन् ।
अर्कोतिर सबै कर्पोरेट मिडियाहरूलाई विज्ञापनको रकम चाहिन्छ । यो उनीहरूले अन्य ठूला कर्पोरेटहरूबाटै पाउँछन् । पैसाको खोलो यसै बग्न दिन सकिन्न । यसमा भुइँतहको कुनै कुरा छैन । यो पूर्णतः माथिबाट निर्देशित हुने प्रणाली हो ।
पत्रकारहरूले आआफ्ना वैचारिक परिधिमा रहेर काम गर्छन् । तर, यी वैचारिक परिधि तिनका मालिकहरूले तय गर्छन् । मिडियाले समाजलाई प्रतिबिम्बित गर्दैन । बरु अल्पसङ्ख्यक धनाढ्यहरूको स्वार्थ प्रतिबिम्बित गर्छ । त्यसैगरी, मिडियाले धनाढ्यहरूको स्वार्थको रक्षा र प्रसार गर्ने सुरक्षा निकायका चासोहरू प्रतिबिम्बित गर्छ ।
पश्चिमा मिडियाको यो जालो निकै फैलेको हुन्छ, त्यसैले केही विमति राख्न पनि दिइन्छ । मिडियालाई अलिकति प्रजातान्त्रिक देखाउन यति गरिएको हुन्छ । तर, नियन्त्रणको परिधि निकै साँघुरो हुन्छ । त्यसले रिपोर्टिङ, विश्लेषण र विचारहरूको परिधि खुम्च्याउँछ । कर्पोरेट र राज्यको साठगाँठपूर्ण सत्ताका लागि खतरा हुने विचारहरूलाई त्यस परिधिले लगाम लगाउँछ । खतरनाक विचारहरूले कहिल्यै ठाउँ पाउँदैनन् । त्यसैले मिडियाले चर्चा गर्ने बहुलवाद धनाढ्य सत्तासीनहरूलाई मान्य हुने विचारहरूको बहुलतामात्र हो ।
यो प्रपञ्च स्वाभाविक देखिएन भने मानिसहरूले मिडियाहरूलाई पनि अन्य ठूला कर्पोरेटहरूकै हाराहारीमा राख्नेछन् । कुनै ठूलो सुपरमार्केटको सञ्जालझैँ ठान्नेछन् ।
सुपरमार्केटहरू ठूलो आकारका बजार हुन् । त्यहाँ थरीथरी मालसामान पाइन्छन् । र, सुपरमार्केटहरूमा एकै किसिमका सामान पाइन्छन् । खालि समानको मूल्य र ब्रान्डमा अलिकति तलमाथि हुन्छ ।
यो आधारभूत समानता भए पनि प्रत्येक सुपरमार्केट चेनहरू आफ्ना प्रतिस्पर्धीहरूभन्दा एकदम फरक पनि हुन्छन् । खाल्डोमा खस्ने धेरै सम्भावना हुन्छन् । हामीमध्ये धेरै जालमा खस्छौँ पनि । हामी एक छाडी अर्को सुपरमार्केटलाई रूचाउन थाल्छौँ । त्यसले हाम्रा मान्यताहरू पूरा गर्ने ठान्छौँ, त्यसलाई हाम्रा आदर्शहरू प्रतिमूर्ति ठान्छौँ । साथै त्यसले हाम्रा प्रिय सामानहरूको आकाङ्क्षा जगाउने महसुस हुन्छ ।
हामी सबैलाई थाहा छ, बेलायतका वेट्रोस र टेस्को सुपरमार्केटमा फरक छ । अथवा, अमेरिकाका होल फुड र वालमार्टबिच फरक छ । तर, तिनीहरूबिच के फरक छ भनी सोधेमा फ्याट्टै उत्तर दिन गाह्रो हुन्छ । उनीहरूको मार्केटिङ रणनीति फरक हुनसक्छ । तिनले फरक किसिमका ग्राहकको मागमा ध्यान दिएका हुन्छन् ।
भित्र जे भए पनि सुपरमार्केटहरूले पुँजीवादी विचारधारा आत्मसात गरेका हुन्छन् । तिनीहरू नाफा कमाउने भोकले निर्देशित हुन्छन् । तिनले ग्राहकहरूबिच चर्को उपभोक्तावादको आगो बाल्न खोज्छन् । सबै सुपरमार्केटले अचाक्ली माग जगाउँछन् र फोहर थुपार्छन् । यसको मूल्य सारा समाजले तिर्नुपर्छ ।
पाठकहरू तान्दा
धेरैजसो मिडियाहरू उस्तै हुन्छन् । उनीहरू एउटै पसल थापेका हुन्छन् । बेग्लै मार्केटिङ नीति अपनाएर धन बनाउनु नै उनीहरूको विशेषता हुन्छ । साँच्चिकै फरक भएर तिनीहरूले अलग ब्रान्ड बनाएका हुँदैनन् । बरु नाफा कमाउनमात्र होइन, प्रभावकारी देखिन पनि तिनीहरूले जनताको बेग्लाबेग्लै समूहसम्म पुग्नुपर्ने हुन्छ, तिनलाई तान्नुपर्ने हुन्छ ।
सुपरमार्केटहरू यो काम बेग्लै सामानमा जोड दिएर गर्छन् । जस्तो कोकाकोला वा वाइनलाई सस्तोमा दिएर अन्य माल किनाइन्छ । पर्यावरणीय जिम्मेवारी वा पशु कल्याणको स्टिकर टाँसेर मूल्य बढाइन्छ । मिडियाको मामिलामा पनि यस्तै हुन्छ । मिडियाहरूले आफूलाई उदारवादी वा रुढीवादी भनेर ब्रान्ड बनाउँछन् । उनीहरूले आफूलाई मध्यम वर्ग वा अदक्ष कामदारको पक्षमा रहेको देखाउँछन् । उनीहरूको तिनका शक्तिशाली र आदरणीय व्यक्तिलाई चुनौती दिएर तिनको ध्यान तान्छन् ।
सुपरमार्केटको सबैभन्दा प्राथमिक कार्य भनेको आफ्ना सपिङसेन्टरमा आउने उपभोक्तालाई अन्य ठाउँमा भौतारिन नदिनु हुन्छ । उनीहरूलाई पूर्णतः बफादार बनाउनु हुन्छ । यसैगरी, एउटा मिडियागृहले पनि जनताको विशेष समूहबिच साझा मूल्यमान्यताको प्रचार गर्छ । यसले गर्दा पाठकहरूले आफ्नो प्रकारका समाचार, विश्लेषण र टीकाटिप्पणीको खोजीमा अन्यत्र हेर्दैनन् ।
कर्पोरेट मिडियाहरूको काम सत्य अन्वेषण गर्नु होइन । उनीहरूले सत्ताकेन्द्रहरूमाथि निगरानी गर्दैनन् । उनीहरूले पाठकमात्र तान्छन् । तिनीहरूले सत्तालाई खबरदारी गरे वा केही जटिल सत्यहरू खोले भने त्यो उनीहरूको ब्रान्डको पाटो भएरमात्र गरेका हुन्छन् । आफ्ना पाठकहरूको अपेक्षाले गर्दा उनीहरूले त्यसो गर्छन् ।
‘उपयुक्त’ पत्रकार
यी कुराकानी आजको हाम्रो विषयसँग कसरी जोडिन्छ ?
हामीलाई झुक्याउने धेरै कुरालाई यसले खुलस्त पार्छ । पत्रकारहरू आफ्नो बथान लिएर जुलियन असान्जको समर्थनमा किन उठेनन् । खासगरी स्वीडेनले आफ्नो इतिहासकै सबैभन्दा लामो प्रारम्भिक छानबिन गर्ने बेला पत्रकारहरू किन असान्जको पक्षमा उठेनन् ? असान्जले सतर्क पारेझैँ उनीमाथिको मुद्दाले अन्ततः उनलाई अमेरिका सुपुर्दगी गरिने सुरुमै स्पष्ट थियो । अमेरिकी युद्ध अपराध खुलासा गर्ने असान्जको पक्षमा त्यतिबेला मूलधारे पत्रकारहरू किन जुर्मुराएनन् ?
सत्य त के हो भने गार्जियन र न्युयोर्क टाइम्सले असान्जको रिहाइको आवाजलाई चर्काएको भए, असान्जमाथिको मुद्दालाई सुरुदेखि नै समाचारको विषयवस्तु बनाएको भए उनी यतिञ्जेल रिहा भइसकेका हुने थिए । यसको लागि ती पत्रिकाहरूले स्वीडेनी मुद्दाका ठूलाठूला प्वालहरूको छानबिन गरे पुग्थ्यो । यातनासम्बन्धी राष्ट्रसङ्घका विशेष प्रवक्ता निल्स मेल्जेरले ती पत्रिकाहरूले नगरेको काम गरे । तिनीहरूले पत्रकारिताको मर्म बिगार्ने हिसाबले संरा अमेरिकालाई पत्रकारितालाई पुनःपरिभाषित गर्न दिनहुने थिएन । अमेरिकाले शताब्दी पुरानो गुप्तचरी ऐन सक्रिय पारेर आफूलाई विश्वासघात गर्नेहरू पत्रकार नहुने परिभाषा दियो । पत्रकारहरू यसको विरोधमा चर्को स्वरमा चिच्याउनुपर्ने थियो । उनीहरूले सूचनाको हकको प्रयोग गर्न आफ्नो बलबुत्ता सबै लगाउनुपर्ने थियो । तर, स्टिफानिया मौरिजीले मात्र त्यसो गरिन् । ठूला पत्रकारहरूले बेलायतमा असान्जमाथि गरिएको दुव्र्यवहार र अनगिन्ती कानुन–मिचाइबारे बोल्नुपर्ने थियो । यसलाई उनीहरूले नदेखेझैँ गरे । यी तथ्यहरू लन्डनमा उनको सुपुर्दगीको विषयमा सुनुवाइ हुँदा बाहिर आइसकेका थिए । ठूला पत्रकारहरूले असान्जको पक्षमा यीमध्ये कुनै पनि काम गरेनन् ।
गत दशकमा असान्जलाई गुमनाम बनाउने विभिन्न देशहरूको प्रयास बिस्तारै फितलो बन्दै गए । ती देशलाई यो दुस्प्रयास आत्मघाती पनि साबित भयो ।
यो कुरा पत्रकारहरूलाई केही हदसम्म थाहा छ । त्यसैले उनीहरू असान्ज ‘उपयुक्त पत्रकार’ होइनन् भनेर आफैलाई सम्झाउन खोज्छन् । त्यसैले, उनीहरूले आफ्नै साथी पत्रकारप्रति ऐक्यबद्धता देखाउनुपर्दैन भनी आफैलाई कारण देखाउँछन् । सबैभन्दा खराब कुरा त के छ भने यिनै कारण देखाएर उनीहरूले असान्जको चरित्रहत्या गर्ने राज्यको सुरक्षा निकायको होमा हो मिलाउँछन् ।
असान्जलाई बेवास्ता गरेर, उनलाई पराइ बनाएर तिनीहरू आफू र उनले गरेको पत्रकारिताबिचको भेदबारे घोत्लिनबाट टाढा भाग्छन् । कर्पोरेट सत्ताका बन्दी नोकरहरूको आफ्नो भूमिकाबारे सोचविचार गर्नबाट पत्रकारहरू पन्छिन्छन् ।
मिडिया क्रान्ति
बढीमा १७५ वर्षको कैद सजायको सामना गरेर असान्जले गुप्तचरी होइन, पत्रकारिताको रक्षा गर्दै छन् । पत्रकारिता गर्न मस्तिष्क चिरफारको लागि चाहिने योग्यता जस्तो विशिष्ट पेशागत दक्षता चाहिन्न । यसको लागि मानव शरीरविज्ञान वा कानुनमा चाहिने सटिक ज्ञानको आवश्यकता हुन्न ।
बढीमा पत्रकारिता भनेको ‘जनताको हित’ साँध्ने सूचनाहरू जम्मा गर्नु र प्रकाशित गर्नु हो । जनता अर्थात् तपाइँ–हाम्रो सेवा गर्नु हो । यसको लागि डिप्लोमा चाहिन्न । यसको लागि ठूलो भवन वा धनी मालिक नै चाहिन्छ भन्ने छैन । सबैलाई सुनाइदिनुस्, जसले पनि पत्रकारिता गर्न सक्छ । पत्रकारिता गर्दा विभिन्न सावधानी भने अपनाउनुपर्छ ।
असान्जले पत्रकारितामा महारत हासिल गरे । उनीभन्दा पहिले कसैले पनि उनले जस्तो पत्रकारिता गरेको थिएन । उनले सरकारलाई पारदर्शी बनाउन र कर्मचारीहरूलाई अझ इमानदार बनाउन नयाँ मोडलको आविष्कार गरे । त्यसैले गुप्त सत्ता चलाउने धनाढ्यहरूले उनलाई देखिसहेनन् र उनको मोडल तहसनहस बनाउन चाहे ।
उदारवादी मिडिया माथिबाट निर्देशित नभइकन साँच्चै नै भुइँ तहदेखि उठेको र सङ्गठित हुन्थ्यो भने पत्रकारहरूलाई त्रासमा राखिने थियो, उनीहरूलाई आतङ्कित पारिने थियो । राज्यले कैदीहरूलाई दिने यातना पत्रकारहरूलाई दिने थियो । उनीहरू आफूलाई तारो बनाइने भयो भनेर साँच्चै भयाकूल हुने थिए ।
साँचो पत्रकारितामाथि धावा बोलिँदै छ, एकजना पत्रकारमाथि होइन । तर, कर्पोरेट पत्रकारहरूले यसरी हेर्दैनन् । सत्य बताउनैपर्ने हुन्छ । असान्जको साथ छोड्नु, उनीप्रति ऐक्यबद्धता प्रकट नगर्नुले ती पत्रकारहरूको स्थिति उजागर गर्छ । उनीहरूले बिनाकारण असान्जको साथ छोडेका होइनन् ।
कर्पोरेट मिडियाहरू, त्यसमा पनि खासगरी उदारवादी मिडिया र तिनका पत्रकार–कारिन्दाहरूले असान्जको मिडिया क्रान्ति राम्ररी बुझेका छन् । विकिलिक्सले ल्याएको क्रान्तिबारे उनी अबुझ छैनन् । ती पत्रकारहरूको अघिल्तिर राष्ट्रिय सुरक्षा निकायले तेस्र्याउनेभन्दा ठूलो खतरा तेस्र्याएको छ ।
जटिल घरेलु सत्यहरू
लोकतान्त्रिक पत्रकारिताको निम्ति विकिलिक्सले नयाँ किसिमको मञ्चको निर्माण गरेको छ । यो मञ्चमा भ्रष्टाचार र अपराधको जालो चलाउने गुप्त सत्ताले मिलेमतो गर्न गाह्रो मान्छ । यसले गर्दा कर्पोरेट पत्रकारहरूले केही पेचिला घरेलु सत्यहरूको सामना गर्नुपर्छ । विकिलिक्स आउनुभन्दा अगाडि उनीहरूले यो सत्य सामना गर्न खुट्टा कमाइरहेका थिए ।
पहिलो कुरा, विकिलिक्सको मिडिया क्रान्तिले कर्पोरेट पत्रकारहरूको भूमिका र सुखसहुलियतमा हानि गर्ने खतरा उत्पन्न भयो । विकिलिक्स आएपछि पाठकहरूले टन्न तलब दिइने यी ‘स्वघोषित सत्यान्वेषी’ मा निर्भर हुनैपर्छ भन्ने भएन । पहिलोचोटि वास्तविक दस्तावेजहरूसम्म पाठकको पहुँच पुग्यो । यी दस्तावेजमा कुनै काँटछाँट गरिएको थिएन ।
पाठकहरू अब समाचारको निस्क्रिय उपभोक्ता बन्नुपरेन । पाठकले आफैलाई सूचित गर्नसक्ने भए । तिनीहरूले सूचनाका बिचौलियाको हात काट्न सक्ने भए । यसअघिसम्म कर्पोरेट मिडियाहरू बिचौलियाको भूमिकामा थिए । बिचौलियाहरूले पाठकका लागि मिलाएर पस्किने सूचनाहरूमा पहुँच पुगेपछि पाठकहरूले ती बिचौलियाको सक्कली अनुहार चिन्ने मौका पाए ।
कर्पोरेट पत्रकारहरूको निम्ति यो विनाशकारी सूचना थियो । यसले उनीहरूको आधिकारिकता र प्रतिष्ठाको मुकुन्डो च्यातचुत पारेको छ । पहिल्यैदेखि नराम्रो दृष्टिले हेरिने पेशा अब अपत्यारिलो बन्न पुग्यो ।
मिडिया मालिकहरूको लागि यो विकिलिक्स झन् ठूलो विपत्ति थियो । उनीहरूले अब समाचारका मुद्दाहरूमाथि नियन्त्रण गर्न नपाउने भए । उनीहरूले अब संस्थागत चौकिदारको रूपमा सेवा गर्न नपाउने भए । उनीहरूले अब सर्वस्वीकार्य विचार र धारणाहरूको सीमारेखा कोर्न नपाउने भए ।
पर्याप्त पत्रकारिता
दोस्रो कुरा, विकिलिक्स क्रान्तिले परम्परागत पत्रकारिताको मोडलमा ठूलो प्रकाश पारेको छ । परम्परागत पत्रकारिता गुप्त सत्तामाथि निर्भर थियो र त्यससँगै साठगाँठ गथ्र्यो भन्ने विकिलिक्स क्रान्तिले उदाङ्गो पारिदियो ।
विकिलिक्स मोडलको प्राण विसलब्लोअर वा सचेतकहरू हुन् । सचेतकहरूले सर्वसाधारणको हितको लागि सबथोक दाउमा राखेर सत्ताधारीहरूले लुकाउन चाहेका सूचनाहरू निकाल्छन् । भ्रष्टाचार, सत्ताको दुरूपयोग वा कानुन–मिलाइ नै सूचनाका मुख्य विषय हुन्छन् । चेल्सी मानिङ र एडवर्ड स्नोडेन त्यस्तै व्यक्तिहरू थिए ।
यता कर्पोरेट पत्रकारिताको प्राण पहुँच हो । कर्पोरेट पत्रकारहरूले गोप्य लेनदेन गर्छन् । सत्ताका भित्रियाहरूले पत्रकारहरूलाई छानिएका सूचनाहरू दिन्छन् । ती सूचनाहरू सही वा झूट जे पनि हुनसक्छन् । तर, यी सूचनाले सत्ताका अदृश्य साझेदारहरूको स्वार्थको सेवा गर्छन् ।
सूचना दिने र लिने दुवैको यो पहुँचमा आधारित सम्बन्ध एउटै कुरामा टिकेको हुन्छ । उनीहरू गुप्त सत्ताका भेद खोलेर सत्तालाई चिढाउन चाहन्नन् ।
भित्रियाहरू पत्रकारका लागि उपयोगी हुन्छन् । सत्तासम्म पहुँच दिँदासम्म पत्रकारहरूका लागि तिनीहरू उपयोगी हुन्छन् । यसको अर्थ भित्रियाहरूले सत्तालाई साँचो खतरा नपु¥याउने सूचनामात्र दिने भए । उनीहरूले सत्तालाई आपत्मा पार्ने सूचना चुहाए उनीहरूको खान्की खोसिने निश्चित हुन्छ ।
उपयोगी साबित हुन भित्रियाहरूले पत्रकारहरूलाई खुलासापूर्ण लाग्ने सूचनाहरू दिनुपर्ने हुन्छ । यस्ता सूचनाहरूले पत्रकारलाई वृत्तिवृद्धि र पुरस्कारहरू सुनिश्चित गर्छन् । यसरी दुवै पक्षले नाटकीय खेलमा आआफ्नो भूमिका खेल्छन् । यो खेलले कर्पोरेट मिडिया र राजनीतिक घरानाहरूको दुनो सोझिन्छ ।
पहुँचले पत्रकारहरूलाई सत्ताका दुवैथरी खेलाडी समूह र उनीहरूका विपरीत मुद्दाहरू नियाल्ने दृष्टि दिन्छ । खासगरी शक्तिका उदारवादी खेमा र कट्टरपन्थी खेमाहरूबारे पहुँचका आधारमा पत्रकारहरूले राय बनाउँछन् ।
सर्वसाधारणहरूको स्वार्थ कताकति मात्र हेरिन्छ । हामीले सरकार र कर्मचारीतन्त्रमा आएको फाटोबारे कताकति महशुश गर्न पाउँछौँ । पूर्ण सत्यबारे पाठकले कहिल्यै मेसो पाउँदैनन् ।
कर्पोरेट मिडियाको उदारवादी खेमा छोटो समयका लागि विकिलिक्सले ल्याएको पारदर्शिता क्रान्तिमा जोडिएको थियो । तर, छिट्टै उनीहरूले आफू गइरहेको बाटोमा आइलाग्ने खतरा बुझिहाले । यो कुरा माथिको असान्जको भनाइबाट स्पष्ट हुन्छ ।
बुद्धि र बल
कर्पोरेट मिडियाको हातमा भन्दा विकिलिक्सको हातमा बढी शक्ति छ भन्दैमा कर्पोरेट मिडिया विकिलिक्ससँग डराउँछ भन्ठान्नु ठूलो गल्ती हुन जान्छ । यहाँ कुरा प्रतिद्वन्द्विताको होइन कुरा खतराको हो । वास्तवमा विकिलिक्सले कर्पोरेट मिडियाहरूले जे गर्न डराउँछन्, त्यहीँ गर्दै छ ।
मूलधारे पत्रकारहरूले मिडिया मालिक र विज्ञापनदाताहरूको स्वार्थको सेवा गर्छन् । हाम्रो समाजको गुप्त सत्ता खासमा यी कर्पोरेटहरूकै हातमा छ । तिनीहरू मिडियाका मालिकमात्र होइनन्, बरु राजनीतिक नेता र थिङ्क ट्याङ्कहरूलाई चन्दा पनि तिनैले दिन्छन् । नीति निर्माण र समाचार निर्माणमा थिङ्क ट्याङ्कहरूकै हात हुन्छ । त्यसैले उनीहरूले मिडिया मालिकहरूको चन्दा पाउँछन् । ठूला सरकारहरूले समेत कर्पोरेसन र प्रभुत्वशाली वित्तीय क्षेत्रलाई अङ्कुश लगाउन असजिलो मान्छन् । किनभने, हाम्रो समाजमा सत्ताजति कर्पोरेटहरूको हातमा हुन्छ । यो गुप्त धनाढ्य सत्ताको प्रणाली धान्ने खम्बाहरू मिडिया र सुरक्षा निकायहरू हुन् । यिनैले गुप्त सत्तालाई लुकाउने र जोगाउने गर्छन् । यिनीहरू सत्ताधारीहरूका क्रमशः बुद्धि र बल हुन् ।
मिडिया कर्पोरेसनहरूले मनोवैज्ञानिक र भावनात्मक उल्झनमा राखेर कर्पोरेट सत्ताको रक्षा गर्छन् । सुरक्षा निकायहरूले आक्रामक निगरानी र भौतिक यातनामार्फत तिनलाई जोगाउँछन् ।
विकिलिक्सले यो सुमधुर सम्बन्धलाई बिथोल्छ । यसले औपचारिक सूचनाहरूबिच बिचौलिया बन्ने कर्पोरेट मिडियाको हैसियतमा खतरा उत्पन्न गर्छ । बरु यसको ठाउँमा आधिकारिक सूचनाहरूसम्म जनताको प्रत्यक्ष पहुँच पु¥याउँछ । यसो गर्दै गर्दा विकिलिक्सले सुरक्षा निकायहरूको खेलो उदाङ्गो पार्छ । उनीहरूका गोप्य साठगाँठहरू नङ्ग्याउँछ । तिनीहरूको कानुन–मिचाइ र कानुनी दुरूपयोगहरूको खुलासा गर्ने साहस देखाउँछ । यसरी उनीहरूको काम खोतलखातल पार्छ र उनीहरूको बाटोमा बाधाअवरोध तेस्र्याउँछ । यो कुरा उनीहरूलाई स्वीकार्य हुन्न ।
विकिलिक्सले मिडिया र सुुरक्षा निकायमा लोकतान्त्रिक जवाफदेहीता ल्याउने खतरा मोल्यो र तिनको लामो समयदेखिको साठगाँठबारे खुलासा ग¥यो । यसो गरेर विकिलिक्सले हाम्रा लोकतन्त्रहरूको सक्कली अनुहारको कुरूप अनुहारको सानो झलक देखाइदिएको छ ।
सुरक्षा निकाय र कर्पोरेट मिडियाहरूको साझा आकाङ्क्षा असान्जलाई गुमनाम बनाउनु थियो । उनले ल्याएको पत्रकारिताको क्रान्तिकारी मोडल सदालाई मेटिनेछ वा हराउनेछ भन्ने उनीहरूले कामना गरेका थिए ।
यस्तो हुनेछैन । प्रविधि पछि फर्किनेछैन । असान्जले जे गरेर देखाएको त्यो संसार हामीले भुल्नुहुँदैन । यसको लागि उनले चुकाएको भयावह मूल्यलाई हामीले झल्झली सम्झिराख्नुपर्छ ।
(स्रोत : एमआर अनलाइन)