गौरीलाल कार्की
कुनै पनि व्यवस्थामा एउटा निश्चित आर्थिक आधारमा विभिन्न अधिरचनाहरु खडा भएका हुन्छन् । आर्थिक आधार भन्नाले त्यो व्यवस्थाको सम्पुर्ण उत्पादन तथा वितरण प्रणालीलाई बुझ्नु पर्दछ । जसलाई हामी आर्थिक प्रणाली पनि भन्दछौं । अधिरचना भन्नाले आर्थिक आधार अनुरुप बनेका सम्पुर्ण मानवीय संरचनालाई बुझ्नुपर्छ । समाज, संघ संस्था, नियम कानुन, अनुशासन, नैतिकता, रिति रिवाज आदि इत्यादी अधिरचना अन्तर्गत पर्दछ्न् । नैतिकता पनि एउटा निश्चित व्यवस्थाको आर्थिक आधारमा खडा भएको अधिरचना हो ।
त्यसैले विभिन्न व्यवस्थामा त्यहीँ अनुरुप विभिन्न स्वरुपका नैतिकता हुन्छन् । दास व्यवस्थामा त्यस अनुरुपको नैतिकता कायम थियो । सामन्तवादी व्यवस्थामा त्यो भन्दा भिन्न अथवा सामन्ती व्यवस्था अनुरुपको नैतिकता कायम भएको थियो । आजभोलि विश्वमा पुँजीवादी व्यवस्था कायम छ र त्यस अनुरुपको नैतिकता कायम छ । भोलि समाजवादी व्यवस्थामा यो पुँजीवादी नैतिकताले समाज चल्न सक्दैन । त्यसबेला त्यस अनुरुपको नैतिकता कायम हुनेछ । शोषणमुलक व्यवस्थाहरुमा यी सम्पुर्ण कुराहरु वर्गसंघर्ष सँगै जोडिएका हुन्छन् । हामीले विकसित परिस्थिति भन्दा एक कदम अगाडि रहेर क्रान्तिकारी नैतिकता अवलम्बन गर्न संघर्ष गर्नुपर्छ । यो पुँजीवाद उन्मुख अर्ध-सामन्ती र नव उपनिवेशिक आर्थिक आधारमा खडा भएको नैतिकताको ठाउँमा हामीले सर्वहारा तथा क्रान्तिकारी कम्युनिस्ट नैतिकताको बढिभन्दा बढी प्रचारप्रसार र अवलम्बन गर्ने बारे ध्यान पुर्याउनु पर्छ ।
अझैपनि देश अर्ध सामन्ती र नव उपनिवेशिक अवस्थामा रहेको छ । त्यसैले गर्दा आज नेपालमा सम्पुर्ण रुपले पुँजीवादको विकास पनि भएको छैन र सम्पुर्ण रुपले सामन्तवादी व्यवस्थामा पनि रहेको छैन । थप यसमा वैदेशिक दलाल पुँजीको प्रभाव झन्झन् बढ्दै गइरहेको छ र भएको झिनो राष्ट्रिय पुँजी धराशायी हुने क्रम बढ्दोछ । नेपालमा आज यस अनुरुपको व्यवस्थामा ठिक त्यही प्रकारको नैतिकता कायम छ । अहिलेको नेपालको नैतिकता भनेको सामाजिक र सांस्कृतिक रूपमा सामन्तवादी नैतिकता कायम छ भने राजनैतिक र आर्थिक रूपमा पुँजीवादी नैतिकता कायम रहेको छ ।
सामन्ती नैतिकताको आधारमा अहिलेसम्म पनि हाम्रो समाजमा लैंगिक, जातीय, उमेर तथा श्रमको आधारमा अन्याय, अत्याचार, विभेद र घृणा गर्ने प्रकारको नैतिकता कायम नै छ भने अर्कोतिर पुँजीवादी नैतिकताको आधारमा शोषण, दमन र जसरी भएपनि नाफा कमाउने तथा ब्यक्तिगत सम्पत्ति थुपार्ने होडबाजी चलिरहेको छ । यस प्रकारको नैतिकताले देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा प्रचुर मात्रामा प्रभाव पारिरहेको छ । यस्तो अवस्थामा कम्युनिस्टहरुको नैतिकता भनेको त्यसलाई क्रमश बदल्ने हो । त्यो भनेको सामन्ती एवं पुँजीवादी नैतिकतालाई क्रमशः त्यागेर प्रगतिशील नैतिकताको अभ्यास गर्नुपर्ने आवश्यकता छ ।
अब प्रश्न यो छ कि क्रान्तिकारी कम्युनिस्ट नैतिकता के हो ? पुराना बुर्जुवा नैतिकताको ठाँउमा यस नैतिकताको स्थापना कसरी गर्ने ? सामान्य रुपमा बुझ्दा कम्युनिस्ट भन्ने शब्द कम्युनिटी बाट बनेको हो । समाजलाई अंग्रेजीमा कम्युनिटी भनिन्छ । त्यसर्थमा कम्युनिस्टको नेपाली अर्थ समाजवादी भन्ने हुन्छ । ब्यक्तिगत हितको सुरक्षा पुँजीवादी नैतिकताले गर्दछ भने सम्पुर्ण समाजको अधिकतम हित समाजवादी नैतिकता वा कम्युनिस्ट नैतिकताले गर्दछ ।
सम्पुर्ण रूपमा कम्युनिस्ट नैतिकता समाजवादी आर्थिक प्रणाली वा समाजवादी आर्थिक आधारको जगमा खडा हुनेछ त्यो अहिले संभव छैन तर कतिपय यस्ता कम्युनिस्ट नैतिकता छन् जुन अहिलेको आर्थिक आधारमा पनि हामीले पुरै अवलम्बन गर्न सकिन्छ र गर्ने कोशिश गर्नुपर्छ । हल्का फुल्का बाधा अड्चनलाई अहिलेको अवस्थामा चिरेर जान सकिन्छ । जस्तै: महिलाले हलो जोत्नु हुँदैन भन्ने प्रचलन छ । श्रीमानले श्रीमतीको कपडा धुनु हुँदैन भन्ने धारणा छ । गाउँ समाजमा महिलाहरुले छुइ बार्नुपर्ने चलन छ । एउटा मझौला वा संयुक्त परिवारमा सामान्यतया सबै भाडाकुडा कान्छी बुहारीले नै माझ्नुपर्ने चलन अहिलेसम्म पनि कायम छ । आफुले आफ्नो काम समेत नगर्ने तर नोकर चाकर राख्ने प्रचलन पनि छ । यी सबै सामन्तवादी संस्कृति तथा सामन्ती नैतिकताका उपज हुन् ।
अहिलेको विकसित परिस्थितिमा के एउटा महिलाले चाह्यो भने हलो जोत्न सक्दिनन् ? सक्छिन् । के एउटा श्रीमानले श्रीमतीको कपडा सफा गर्नु पाप हो ? होइन । अलिक जटिल उदाहरण लिऔं, कम्युनिस्टले प्रमाणको कसिमा ज्ञान् हासिल गर्छन् । प्रमाण विनाको ज्ञान् हुन सक्दैन भन्ने मान्छ्न् । जस अनुसार मृत्यु पश्चात् उसलाई स्वर्ग पठाउन गरिने संस्कार व्यर्थ हो भनिन्छ । तर बुवा आमाको मृत्यु पश्चात् परम्परागत आधारमा सम्पुर्ण संस्कार अपनाउन पनि छोड्न सकेका छैनौं । त्यसमा किन विद्रोह गर्न सक्दैनौं ?
कतिपय कम्युनिस्ट हुँ भन्नेहरू त आफ्नो जातीय धाक समेत लगाउछौं । जातीय आधारमा छुवाछूतको व्यबहार गर्छौं । अन्तर्जातिय बिबाह हामी कतिपयलाई किमार्थ स्वीकार हुँदैन । यतिसम्म कि आफू कम्युनिस्ट हौ भन्छौं तर पुँजीवादी नैतिकताले अपराध मानेको काम समेत आफ्नो भान्सामा लागु गर्न सक्दैनौं । के सम्पुर्ण कम्युनिस्टहरुले विना संकोच एउटा दलित भनिएको व्यक्तिलाई सम्पुर्णले आफ्नो घरको भान्सामा सँगै बसालेर खाना खुवाउन सक्छौं ? कतिपयले सक्दैनौं । यो पुँजीवादी कानुन र नैतिकताले जघन्य अपराध घोषणा गरेपनि गाँउघरमा अहिले पनि त्यो लागु हुन सकेको छैन । अझै आफुलाई कम्युनिस्ट बताउनेले समेत लागु गर्न नसक्नु दु:खद कुरा हो ।
कम्युनिस्टहरु भौतिकवादी सिद्धान्त मान्छन् । अध्यात्मवादको विरोध गर्छन् । तर हामीले यस्ता कम्युनिस्ट पनि देखेका छौ जो मन्दिर देख्ने बितिक्कै दर्शन ( ढोग ) पनि गर्छौं वा घरमा तुलसीको मठ, इश्वरका फोटा राखेर पुजा समेत गर्छौं । यस्तो किन भैरहेको छ ? भनेर प्रश्न उठाउदा विश्व दृष्टिकोणको अभाव हो, भौतिकवादी ज्ञानको अभाव हो भन्ने गरिन्छ तर उहीँ मान्छे सम्पुर्ण कोणबाट दृष्टिकोण उठेको मुल्यांकनको आधारमा उच्च पदमा जिम्मेवारी पनि पाएका हुन्छौं तर पनि न्युनतम कम्युनिस्ट नैतिकता अवलम्बन गर्न सक्दैनौं । त्यस कारण कि त कम्युनिस्टको कार्यकर्ता मुल्यांकन पद्धति कार्यान्वयन गर्ने तरिकामा नै खोट छ भन्नुपर्ने हुन्छ । यो कसैको हकमा दृष्टिकोणको समस्या पनि हुनसक्ला तर कसैको हकमा कम्युनिस्ट नैतिकताको दृष्टिबाट सिद्धान्त र व्यवहार बीचको खाडल पनि हो भने कतिपय अवस्थामा विभिन्न बाध्यात्मक अवस्थाले समेत हामीले त्यो अवलम्बन गर्न असक्षम हुन्छौं । तर जे सुकै होउस् सकेसम्म हामीले कम्युनिस्ट नैतिकता अवलम्बन गर्ने प्रयत्न गर्नुपर्छ ।
वास्तवमा म कम्युनिस्ट हुँ भन्नुभन्दा गौरवको कुरा संसारका अरु केही पनि छैन । म मन्त्री हुँ वा मन्त्रीको छोरा हुँ, म हाकिम, जर्नल वा कर्णेलको छोरा हुँ, म उच्च जातिको हुँ, म धनी मानिसको छोरो हुँ इत्यादि भन्नुभन्दा पनि म कम्युनिस्ट हुँ भन्ने जस्तो गतिलो कुरा अरु केही पनि छैन । तर कम्युनिस्ट हुँ भन्नु र तदअनुरूप व्यवहार गर्नु सजिलो र चानचुने कुरा होइन ।
म कम्युनिस्ट हुँ भन्नुको अर्थ अन्याय, भेदभाव, अत्याचार, अन्धविश्वास, कुरिती, कुसंस्कारको विरोधी तथा न्याय, समानता, मुक्तिको पक्षधर र सम्पुर्ण रुपले भौतिकवादी हुँ भन्ने नै हो । म कम्युनिस्ट हुँ भन्नुको अर्थ, म हरेक विकृति र विसंगतिका कुराहरु र समाजमा रहेका अन्धविश्वास, कुरिती, कु संस्कार र व्यक्तिगत स्वार्थलाई परिवर्तन गर्न एक कदम अगाडि सर्ने सिपाही हुँ भनेर बुझ्नुपर्छ । त्यसको साथै म कम्युनिस्ट हुँ भनेको म मजदुर, किसान, महिला, दलित, गरिब र सम्पुर्ण शोषित उत्पीडित वर्गको मुक्तिको पक्षधर हुँ, म संसार बुझ्ने मात्रै होइन बदल्ने र त्यस सँगसँगै यस संसारका समग्र प्राणीको संरक्षण र सम्बर्द्धन गर्ने सिपाही पनि हुँ भन्ने हो ।
आज पनि एउटा दु:खद कुरा एक्काइसौं शताब्दीमा पनि आफुलाई अब्बल र अनुशासित कम्युनिस्ट भएको दाबी गर्नेहरूले समेत अन्य जटिल प्रकारका कम्युनिस्ट नैतिकताको कुरालाई अवलम्बन गर्ने प्रयासको कुरा छोडौं, पहिले नैतिक अपराध मानिएका र अहिले कानुनी अपराध मानिएका कुराहरु जस्तैः जातीय आधारमा गरिने छुवाछूत, भेदभाव र महिलालाई महिनावारीको कारण गरिने व्यबहार ( छुइ प्रथा ) वा घरभित्र हुने लैंगिक हिंसा वा विभिन्न प्रकारका घरेलु हिंसा समेत त्याग्न नसक्नु गम्भीर दु:खद कुरा हो ।
यसले हाम्रो कम्युनिस्ट आन्दोलनको चेतना स्तर बढाउने माग गर्दछ । त्यसकारण एकातिर आन्दोलनको चेतना स्तर उठाउनु पर्छ भने अर्कोतिर कम्युनिस्ट हौं भनेर दाबी गर्ने पार्टीका सक्रिय नेता कार्यकर्ताको लागि सर्वहारा कम्युनिस्ट नैतिकता पालना सम्बन्धि न्युनतम ठोस आचारसंहिताको निर्माणको साथै कम्युनिस्ट पार्टीका उच्चस्तरीय नेता, पेशेवर कार्यकर्ता, संगठनकर्ता र सकृय कार्यकर्ताले त्यो नैतिकता सम्बन्धिको न्युनतम आचारसंहिताको अनिवार्य रूपमा पालना गर्नैपर्छ र अन्य साधारण सदस्यको हकमा स्वैच्छिक रूपमा पालना गर्ने व्यवस्था गरिनुपर्छ । अन्य सिंगो कम्युनिस्ट समुदायले सर्वहारा कम्युनिस्ट नैतिकताको प्रचारप्रसार अनिवार्य रूपमा गर्नुपर्ने आवश्यकता छ ।
कम्युनिस्टले अरूभन्दा अलग के काम गर्छ भने पुँजीवादले म भन्छ, कम्युनिस्टले हामी भन्छ । पुँजीवादले व्यक्ति प्रमुख ठान्छ भने कम्युनिस्टले समाज प्रमुख ठान्छ । पुँजीवादले सम्पुर्णमा होडमा जोड दिन्छन् भने कम्युनिस्टले मित्रहरुमा सहकार्य र दुष्मनसँग सम्झौताहिन संघर्षमा जोड दिन्छ । पुँजीवाद एक अर्कालाई उछिन्ने कुरा गर्छ, मार्क्सवाद वा कम्युनिस्टले सँगसँगै पुगौँ भन्छ । तर विचित्रको कुरा के छ भने नेपालमा हामी कम्युनिस्टहरु, हामी वामपन्थीहरु पनि बुर्जुवाले झैं, दलाल पुँजीपतिले झैं, अझ सामन्तीले झैं राजनीतिलाई पेशाको रूपमा कमाएर खाने अथवा ब्यक्तिगत सम्पत्ति जोरजाम पार्ने साधनको रूपमा प्रयोग गर्ने होडबाजी गरिरहेका छौं ।
कम्युनिस्ट नैतिकताको विकास गर्न हामीमा जीवन, जगत र समाजलाई बुझ्ने वैज्ञानिक दृष्टिकोणको विकास गर्नुपर्दछ । श्रमसम्बन्धी शिक्षा दिनुपर्दछ । समाजको भलाईका लागि श्रम गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । समाजको हितमा गरिने शारीरिक होस् वा मानसिक श्रम गौरवपूर्ण र आदरयोग्य हुन्छ भन्ने बुझ्नुपर्छ । कम्युनिस्ट नैतिकता पुष्टिकरण गर्नुपर्दछ । नैतिकता भनेको समाजमा मानिसले के गर्न हुन्छ र के गर्न हुन्न भन्ने मान्यताहरू हुन् । पूँजीवादी समाजमा बुर्जुवा नैतिकता स्थापना गरिएका हुन्छन् । कम्युनिस्टहरुले सर्वहारावर्गको स्वार्थलाई ध्यान दिएर आफ्नै प्रकारको नैतिकतालाई पुष्टि गर्न सक्नु पर्दछ । सर्वहारा अन्तर्राष्ट्रियता र समाजवादी देशभक्तिपूर्ण भावनाको विकास गरिनुपर्दछ ।
सम्पुर्ण व्यक्ति र समाजको सर्वतोमुखी र सुसङ्गत विकासका लागि शोषण, बेरोजगारी र गरिबीबाट छुटकारा पाउन राज्यव्यवस्था परिवर्तन गर्ने आन्दोलनमा भाग लिनुपर्दछ । त्यसको निम्ति सङ्घर्ष गर्नुपर्दछ । पूँजीवादी विचार, आचरणलाई त्याग्ने आँट गर्नुपर्छ । पतनशील पूँजीवादी व्यवस्थाको मुकाविला गर्दै समाजवाद र कम्युनिस्टको महान् हितकारी गुणहरूको लगातार प्रचारप्रसार गरिरहनु पर्छ । सर्वहारावर्गको पक्षमा कला, साहित्य संस्कृतिको विकास गर्नुपर्छ । आलोचना र आत्मालोचनाको प्रणालीलाई बढीभन्दा बढी प्रयोग गर्ने प्रचलनको विकास गर्नुपर्छ ।
हरेक प्रकारका उदारवादहरु त्याग्नु पर्दछ । न्याय अन्यायमा सधैं अन्यायको विरुद्धमा लड्नुपर्छ । समाजमा जन्मदेखि मृत्युसम्मका सबै संस्कारमा प्रगतिशील वा जनवादी संस्कार अपनाउने प्रयत्न गर्नुपर्छ । महिला, मधेसी, जनजाती, पिछडिएको क्षेत्र, सीमान्तकृत वर्ग तथा शोषित उत्पीडित वर्गको पक्षमा लड्दै उनिहरु माथि भएको विभेदको अन्त्यको लागि आफुलाई विकसित परिस्थिति भन्दा एक कदम अगाडि समर्पित गर्न सक्नुपर्छ ।
व्यक्तिगत स्वार्थ, लाभ, हानी, पद, प्रतिष्ठा धन सम्पत्ति र पैसाको लागि आफ्नो विचारको हत्या गर्नुहुँदैन । आफुले पनि परिश्रम गर्नुपर्दछ र घरका प्रत्येक सदस्यले कामको बाँडफाँड गर्नुपर्दछ । काम सानोठुलो हुँदैन भन्ने भावनाको विकास गर्नुपर्छ । समय परिस्थिति अनुसार हरेक प्रकारका झिनामसिना काम समेत गर्न लाज मान्नु हुँदैन । आफुमा भएको ठालु प्रवृत्ति हटाउनु पर्छ । पदीय हिसाबले कोहि सानो ठुलो हुनसक्छ तर सबैजना बीच हामी समान हौं भन्ने समानताको भावनाको विकास हुनुपर्छ । मार्क्सवादी दर्शनको स्व-अध्ययनलाई निरन्तरता दिनुपर्छ । सकेसम्म हरेक प्रकारका कुलत बाट टाढा नै रहनुपर्छ । आफ्ना ज्ञानइन्द्रिय र कर्मइन्द्रियलाई कन्ट्रोल गर्दै तिनीहरुलाई गलत काममा प्रयोग हुन दिनुहुँदैन । असल समाजसेवी बन्ने प्रयत्न गर्नुपर्छ । सबैभन्दा मुख्य काम उत्पादन संघर्ष र वर्गसंघर्षलाई दोहोरो रूपमा सँगसँगै अगाडि बढाउदै त्यसमा आफुलाई अनिवार्य रूपमा समर्पण गर्न सक्नुपर्छ ।