१९ चैत्र, रुपन्देही।
-फटिक तरामु
ओ, कामरेड ।।
त्यो चुनावको
मेरो एउटा भोट
मलाई नै फिर्ता देउ
म तिम्रा घोषणापत्र फिर्ता दिन्छु,
तिमी तिम्रा चुनावी नारा फिर्ता लैजाऊ
म मेरा स्वविवेकी मत फिर्ता लिन्छु,
तिमी तिम्रा रकमी आश्वासन फिर्ता लैजाऊ
म मेरो स्वाभिमानी विस्वास फिर्ता लिन्छु,
किनकि, तिमीले मेरो मतको मुल्य बुझेनौ
न त सम्झियौ त्यो तिम्रो लामो प्रतिबद्धता
र त फालिदियौ जनमत सवै रद्दीको टोकरीमा
मेरो त्यो एउटा भोटले तिमी माननीय बन्यौं,
त्यति मात्र होईन माननीय मन्त्री बन्यौं
अनि आफै मृत घोषणा गर्यौ
त्यो जनमतको।
ओ कामरेड, तिमीले नै भनेको होइन र,
बन्दुकको नालबाट होइन
जनताको मतबाट परिवर्तन सम्भव छ,
तिमीले भनेको परिवर्तन र विकास
समृद्ध नेपाल खुशी नेपाली
तिमी र तिम्रो नातेदारलाई रहेछ
मैले मेरो छिमेकीको उत्पीडन र बिभेदबाट उन्मुक्ति बुझें,
कामरेड, तिम्रो भक्तहरू हजारौं योद्धाको मसला पिध्दै छन्
तर, तिमी भने लाखौं अभिमतलाई बाग्मतीसंगै बगाइदियौं,
र फेरि उठाउदै छौ ताजा जनादेशको कुरा
के नैतिकताको धर्म हराए पछी यस्तै हुन्छ र ?
के मलाई पिंजडामा पालेको सुँगा सम्झेको ?
म लुरुलुरु तिम्रै श्लोक गाईरहुँ,
बा।। बा।। भन्दै पुकारी रहुँ,
भक्ती भजन गरि रहुँ,
तिम्रो त्यो नैतिकता र विचलन
म टुलुटुलु स्वीकार गरि रहुँ,
तिम्रो त्यो प्रतिगमनको पक्षमा
म निरन्तर सडकमा प्रहसन गरि रहुँ,
यी सव मबाट किमार्थ सम्भव छैन,
हो, कामरेड मलाई प्रतिगमन स्विकार्य छैन,
कामरेड, तिमीले उठाएका हरेक कदममा
मेरो छिमेकिले प्रश्न गर्दा
म घुसे मुन्टो गरि उल्टो फर्किए,
किनकि, मसंग जवाफ छैन,
एति, ओम्नी, वाईडवडी, प्रेस लगाएत थुप्रै प्रश्नहरुको,
त्यसैले म तिम्रो रक्षा कवज बनिरहन सकेन,
र त फिर्ता माग्दै छु आज
मेरो त्यो एक भोट,
विजयको भोट
विस्वासको भोट ।
सत्यवती-३ठुलो लुम्पेक,गुल्मी ।