२२ फागुन, बुटवल
प्रगतिशील लेखक संघ रूपन्देही शाखाको नवौं जिल्ला सम्मेलन शनिवार सम्पन्न भएको छ । सम्मेलनबाट कविराज पौडेलको अध्यक्षतामा १५ सदस्य नयाँ कार्य समिति चयन गरिएको छ ।
सम्मेलनले यज्ञप्रसाद न्यौपाने “दीपक”, श्यामलाल पोख्रेल र हृदय लेकालीलाई लाई उपाध्यक्षमा निर्वाचित गरेको छ। यसैगरी सचिवमा कृष्ण गाउँले, सह सचिवमा सीता ढुङ्गाना काफ्ले र कोषाध्यक्ष हिरालाल धामी निर्वाचित हुनु भएको छ। संघको सदस्यहरुमा माधवकुमार पौडेल, हुमराज भुसाल, गणेश घिमिरे लगायत रहनु भएको छ। । लेखक बसन्तराज खनालको संयोजकत्वमा गठित तीन सदस्यीय अध्यक्ष मण्डलले नयाँ कार्यसमिति चयन गरेको हो ।
संघका अध्यक्ष दलबहादुर गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्रा. डा कपिलदेव लामिछानेले अहिले लेखकहरू अध्ययनप्रती चासो नदिदा नेताका पछौटेहरू हुन परेको बताउनु भयो । प्राज्ञ बूँद राना, प्रा.डा हिरण्यलाल ज्ञवाली, डा. मुरारी पराजुली, देवेन्द्र घिमिरे “कपिलबन्धु”,कवि रामचन्द्र भट्टराई, शोभाखर भुसाल, सिद्धिचरण भट्टराई, सुदिप न्यौपाने लगायतले कार्यक्रममा बोल्दै कम्युनिस्ट पार्टीको टुटफुटले प्रगतिशील आन्दोलन धरमराईरहेको बताउँदै एकजुट गराउनकालागि लेखकहरूले निर्भीक भएर कलम चलाउनु पर्नेमा जोड दिनु भएको थियो । वक्ताहरुले लेखकहरू पाटीको पक्षधरता भन्दा पनि वैचारिक रुपमा देशलाई डोर्याउनु पर्ने बताउँदै, कलमप्रेमीहरू एकजुट भएर खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । बक्ताहरुले दल बहादुर गुरुङको नेतृत्वको कार्यसमितिबाट भएका साहित्यिक गतिबिधीहरुको प्रसंसा गर्दै नयाँ समितिलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।

साथै सम्मेलनले प्रदेश तथा केन्द्रिय प्रतिनिधि समेत चयन गरेको छ । प्रगतिशील लेखक संघ कम्युनिस्ट विचार अंगाल्ने लेखक साहित्यकारको साझा संस्था हो । कम्युनिस्ट पार्टीमा बिग्रह आउँदा पनि यो प्रलेसले एकताको सुत्रमा बाध्ने काम गर्दै आएको छ । कविराज पौडेलको स्वागत मन्तब्य तथा सचिव श्यामलाल पोख्रलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। सम्मेलनमा प्रगतिशिल लेखक संघ,रुपन्देहीबाट प्रकाशित प्रलेस पुस्तक समेत बिमोचन गरिएको थियो ।