भदौ १,कञ्चन ।
वार्षिकोत्सवका अवसरमा विद्युत प्राधिकरणले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७६/७७ को तुलनामा प्राधिकरणका सबैजसो सकारात्मक सूचकमा कमी आएको छ ।
गएकाे वर्ष भारतबाट आउने बिजुली बढेको छ, प्राधिकरणका आयोजनाबाट उत्पादन हुने बिजुलीमा कमी आएको छ, चुहावट पनि बढेको छ भने विद्युत प्राधिकरणको नाफा उल्लेख्य घटेको छ ।
प्राधिकरणका अनुसार गएको आर्थिक वर्ष २०७७/७८ मा प्राधिकरणको जलविद्युत् गृहबाट २ अर्ब ८१ करोड युनिट विद्युत मात्र उत्पादन भएको छ, जुन आर्थिक वर्ष २०७६/७७ को उत्पादन ३ अर्ब २ करोड युनिटको तुलनामा ६ दशमलव ९६ प्रतिशतले कम हो ।
गएकाे वर्ष २ अर्ब ८२ करोड युनिट विद्युत भारतबाट खरिद भएको छ जुन आर्थिक वर्ष २०७६/७७ को तुलनामा ६३ दशमलव ४५ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७७/७८ मा कुल विद्युत खपत ७ अर्ब ३१ करोड ९० लाख युनिट रहेको छ । जुन आर्थिक वर्ष २०७६/७७ कोे तुलनामा १२ प्रतिशतले बढी हो ।
गएकाे वर्ष विद्युत चुहावट १७ दशमलव १८ प्रतिशत रहेको छ, अघिल्लो आर्थिक वर्ष ७६/७७ को १५.२७ प्रतिशतको तुलनामा १.९१ प्रतिशतले बढी हो ।
वित्तीय उपलब्धि
आर्थिक वर्ष २०७७/७८ मा विद्युत बिक्रीबाट कुल ७१ अर्ब २८ करोड रुपैयाँ आम्दानी भएको छ । जुन आर्थिक वर्ष २०७६/७७ को ७६ अर्ब ३१ करोडको तुलनामा ६ दशमलव ५९ प्रतिशतले न्यून रहेको छ। यस्तै आर्थिक वर्ष २०७७/७८ मा प्राधिकरणको अन्य आम्दानीसहितको खुद आम्दानी ८० अर्ब ३५ करोडमा सञ्चालन खर्च ६८ अर्ब ६४ करोड कट्टा गर्दा हुन आउने सञ्चालन मुनाफा.११ अर्ब ७१ करोड रहेको छ ।
यो मुनाफा आर्थिक वर्ष २०७६/७७ को २३ अर्ब ७४ करोडको तुलनामा ५०.६७ प्रतिशतले कमी हो । आर्थिक वर्ष २०७७/७८ मा कर अघिको मुनाफा ६ अर्ब रहेको छ जुन आर्थिक वर्ष २०७६/७७ को १३ अर्ब २७ करोडको तुलनामा ५४ दशमलव ७३ प्रतिशतले कमी हो । साथै आर्थिक वर्ष २०७६/७७ को कर पछिको खुद मुनाफा ११ अर्ब ६८ करोड रहेकोमा गएकाे आर्थिक वर्षमा ३ अर्ब ५१ करोड अर्थात ६९.९४ प्रतिशतले कमी रहेको छ ।
प्रणालीमा उपलब्ध विद्युतमा खरिदको हिस्सा ६८.३४ प्रतिशत रहेको छ । विद्युत बिक्रीबापत प्राप्त आम्दानीको ५८.८३ प्रतिशत रकम विद्युत खरिदमा खर्च भएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा विद्युत आयात बढ्न गएकाले आर्थिक वर्ष २०७७/७८ मा विद्युत खरिद बापतको खर्चमा १८ दशमलव ०५ प्रतिशतले बृद्धि भएको छ।