२८ साउन,कञ्चन ।
लुम्बिनी प्रदेशका चार दलीय गठबन्धनले ४२ जना प्रदेश सभा सदस्यको हस्ताक्षर सहित कुल प्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गरेको छ ।
माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई ४२ जना सांसदको समर्थन रहेको भन्दै गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कानोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका हुन् ।
हस्ताक्षर गर्नेमा हृदयश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहमा रहेका अजय शाही समेत रहेका छन् । उनले पनि केसीलाई समर्थन गर्दै हस्ताक्षर गरेका हुन् । सूर्य चुनाव चिह्न लिएर चुनाव जितेका त्रिपाठी केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री थिए ।
लुम्बिनी प्रदेशमा गठबन्धनको स्पष्ट बहुमत देखिएकोले प्रदेश प्रमुख शेरचनले केसीलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने र आजै सपथ ग्रहण गरेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी छ ।
आफु बिरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथी प्रदेश सभामा छलफल सुरु भएपछि एमाले नेता शंकर पोखरेलले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
लुम्बिनी प्रदेशमा कांग्रेस र माओवादी केन्द्रबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
मुख्यमन्त्रीको सपथ ग्रहण सहित केसीले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने गठवन्धन दलका नेताहरुले जनाएका छन् ।
आज गठन हुने मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट डिल्ली बहादुर चौधरी र जनता समाजवादी पार्टी संसदीय दलका नेता सहसराम यादव सहभागि हुने निस्चित भइसकेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्दीन खाँनले जानकारी दिए ।