१० जेठ,भक्तपुर
भक्तपुर नगरपालिकाले नगरभित्रका सहकारी संस्थाहरूको सहायतामा अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणासँगै विभिन्न सहकारी संस्थाहरूले नगरपालिकालाई आर्थिक सहयोग प्रदान गरेका छन् । कोभिड–१९ नियन्त्रण र रोकथामको लागि भक्तपुर नगरपालिकाले ख्वप अस्पतालअन्तर्गत सञ्चालिन कोभिड वार्डमा विरामीलाई अक्सिजनको अभाव भए पछि नगरपालिका स्वयम्ले अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको थियो । सो प्लान्ट स्थापनाको निम्ति नगरपालिकाले नगरभित्रका सहकारी संस्थाहरूलाई आह्वान गरेको थियो ।
नगरपालिकाले गरेको आह्वान अनुसार आइतबार पाँच वटा सहकारी संस्थाहरूले जम्मा २९ लाख रुपैंया जम्मा गरेको छ । प्राप्त जानकारीअनुसार भक्तपुर नपा वडा नं ७ को सिद्धिगणेश साकोसबाट दस लाख, वडा नं ९ को भक्तपुर साकोसबाट दस लाख, वडा नं ५ को संगम साकोसबाट पाँच लाख, वडा नं ३ को बाराही साकोसबाट चार लाख र भक्तपुर जिल्ला साकोसबाट एक लाख रूपैंया रकम नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
त्यस्तै अक्सिजन प्लान्ट स्थापनाकै लागि सुर्यबिनायक नपा वडा नं १० का घनश्याम देउजाले रु. दस हजार १ सय ६ रुपैंया आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ । आइतबार मात्र जम्मा ३० लाख १० हजार १ सय ६ रुपैंया सड्ढलन भएको भक्तपुर नपाले जनाएको छ ।
आइतबार नगरपालिकाको सभाकक्षमा आयोजित औपचारिक कार्यक्रममा सहयोगी सहकारी संस्थाका प्रतिनिधिहरूले भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।भक्तपुर नगरपालिकाले हाल भक्तपुर नपा वडा नं ९ ब्रम्हायणीमा २५ शय्याको उच्च निर्भरता एकाइ (एचडीयु) र ७५ वटा साधारण शय्यासहित जम्मा एक सय शय्याको कोभिड वार्ड सञ्चालन गरिरहेको छ ।
देशैभरि अस्पतालहरूमा अक्सिजनको अभाव भए संगै ख्वप अस्पतालमा पनि अक्सिजनको अभाव भए पछि नगरपालिकाले तत्कालै सहकारी संस्थाहरूको भर्चुएल बैठक आमन्त्रण गरी अक्सिजन प्लान्ट राख्न सहायताको लागि आग्रह गरेको थियो । सहयोगीहरूले भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड कमलबिनायक शाखाको खाता नं ०१९०३०००००७००२०००००३ मा पनि आर्थिक गर्न सक्ने नपा स्रोतले जनाएको छ ।