२३ कार्तिक, कञ्चन।
नेपालीहरूको दोस्रो ठूलो चाडका रूपमा परिचित तिहार अर्थात् दीपावली धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले महत्वपूर्ण पर्व हो। दसैँको पन्ध्र दिनपछि आउने यो पर्व प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइन्छ। पाँच दिनसम्म मनाइने भएकाले यसलाई ‘यमपञ्चक’ पनि भनिन्छ।
हिन्दू धर्मशास्त्रमा उल्लेखित पौराणिक कथाअनुसार सूर्यपुत्र यमराजले आफ्नी बहिनी यमुनाको निमन्त्रणा स्वीकार गरी पाँच दिनसम्म उनको घरमा बसेर रमाइलो गरेका थिए। बहिनी यमुनाको आत्मीय सत्कारबाट प्रसन्न भएका यमराजले उनलाई इच्छाअनुसार वरदान माग्न आग्रह गरे। त्यसक्रममा यमुनाले प्रत्येक वर्ष यसै दिन दाजु भेट्न आउनुपर्ने र दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, स्नेह र सम्बन्ध सधैँ अटल रहनुपर्ने वरदान मागिन्।
यमराजले पनि तथास्तु भन्दै यस दिन विधिपूर्वक भ्रातृपूजा गर्ने दाजुभाइ तथा दिदीबहिनीको सुख, समृद्धि, कीर्ति र दीर्घायु वृद्धि हुने वरदान दिएको धार्मिक विश्वास छ। यही पौराणिक मान्यताका आधारमा तिहारका पाँच दिनलाई यमपञ्चकका रूपमा मनाउने परम्परा रहिआएको छ।
तिहारले मानिस र पशुपक्षीबीचको आत्मीय सम्बन्ध, प्रकृतिप्रतिको सम्मान तथा दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव र पारिवारिक एकतालाई उजागर गर्छ। दीप प्रज्वलन, पूजा, देउसी–भैलो र सांस्कृतिक गतिविधिले यो पर्वलाई थप उल्लासमय बनाउँछन्।
यमपञ्चकका पाँच दिन र तिनको महत्व
१. काग तिहार : सन्देशवाहकप्रति सम्मान
यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा कागको पूजा गरिन्छ। कागलाई यमराजको सन्देशवाहक अर्थात् यमदूतका रूपमा लिने धार्मिक मान्यता छ। काग चलाख र सर्वभक्षी पक्षी हो। यसले वातावरण सफा राख्न तथा अन्नबालीमा लाग्ने कीरा–फट्याङ्ग्रा खाएर पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग गर्छ।
कागलाई अन्न तथा परिकार चढाएर पूजा गर्नुको उद्देश्य प्रकृति र जीवजन्तुप्रति सम्मान प्रकट गर्नु पनि हो। कागसँग सम्बन्धित काकगवेषणा, काकन्याय र काकबलिजस्ता प्रचलित शब्दले समेत नेपाली समाजमा यसको सांस्कृतिक महत्व दर्शाउँछन्।
२. कुकुर तिहार : निष्ठा र सुरक्षाको प्रतीक
यमपञ्चकको दोस्रो दिन कार्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइन्छ। यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। कुकुरलाई यमराजको प्रिय भक्त तथा यमदूतका रूपमा लिने धार्मिक विश्वास छ।
कुकुर मानिसको विश्वासिलो साथी, घरको रक्षक र सुरक्षाकर्मीका रूपमा परिचित छ। अपराध अनुसन्धान, खोज तथा उद्धार र प्राकृतिक विपत्तिमा समेत कुकुरले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
यस दिन कुकुरलाई माला लगाइदिने, टीका लगाउने र मनपर्ने खानेकुरा खुवाएर पूजा गर्ने चलन छ। यसले मानिस र जनावरबीचको आत्मीय सम्बन्ध तथा जनावरप्रतिको दया र करुणाको सन्देश दिन्छ।
३. लक्ष्मीपूजा तथा गाई तिहार : धन, समृद्धि र उज्यालोको पर्व
यमपञ्चकको तेस्रो दिन कार्तिक कृष्ण औँसीमा गाई तिहार तथा लक्ष्मीपूजा मनाइन्छ। हिन्दू धर्ममा गाईलाई लक्ष्मी र गौमाताको प्रतीकका रूपमा सम्मान गरिन्छ। गाईलाई पशुधन, कृषि र समृद्धिको आधार मानिने भएकाले यस दिन गाईलाई माला र टीका लगाई पूजा गर्ने परम्परा छ।
लक्ष्मीलाई धनधान्य, ऐश्वर्य र समृद्धिकी देवीका रूपमा पुजिन्छ। यस दिन घरआँगन सफा गरी लिपपोत गर्ने, साँझ घरका झ्यालढोका, आँगन र बाटोमा दियो तथा बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ। घरमा सुख, शान्ति र समृद्धि भित्रियोस् भन्ने कामनासहित धनधान्य, गरगहना तथा भण्डारमा स्वस्तिक चिह्न बनाउने र शुभलाभ लेख्ने चलनसमेत छ।
पौराणिक मान्यताअनुसार भगवान् रामचन्द्रले रावणमाथि विजय प्राप्त गरी अयोध्या फर्किएको खुसीयालीमा नगरवासीले दीप प्रज्वलन गरेको प्रसङ्ग पनि दीपावलीसँग जोडिएको छ।
‘तमसोमा ज्योतिर्गमय’ अर्थात् अन्धकारबाट उज्यालोतर्फको यात्राको सन्देश बोकेको यस पर्वमा घरघरमा दीप प्रज्वलन गरिन्छ। साँझपख बालिका तथा महिलाहरू भैलो खेल्दै घरघर पुग्ने र सांस्कृतिक उल्लास साटासाट गर्ने परम्परा पनि छ।
४. गोवर्धन पूजा तथा गोरु तिहार : कृषि र श्रमप्रतिको सम्मान
यमपञ्चकको चौथो दिन कार्तिक शुक्ल प्रतिपदामा गोवर्धन पूजा, गोरु तिहार तथा नेवारी समुदायमा म्हः पूजा मनाइन्छ।
पौराणिक कथाअनुसार भगवान् श्रीकृष्णले गोकुलवासीलाई इन्द्रको पूजा गर्नुभन्दा जीवन निर्वाहमा सहयोग पुर्याउने गोवर्धन पर्वतको पूजा गर्न प्रेरित गरेका थिए। आफ्नो पूजा नगरेको भन्दै क्रोधित भएका इन्द्रले गोकुलमा ठूलो वर्षा र असिनासहितको विपत्ति निम्त्याएपछि श्रीकृष्णले गोवर्धन पर्वत उचालेर गोकुलवासीको रक्षा गरेको धार्मिक विश्वास छ। त्यसै घटनाको सम्झनामा गोवर्धन पूजा गर्ने परम्परा सुरु भएको मानिन्छ।
यस दिन घरआँगनमा गाईको गोबरबाट गोवर्धन पर्वतको आकृति बनाई पूजा गरिन्छ। वर्षभरि खेतबारी जोतेर अन्न उत्पादनमा सहयोग गर्ने गोरुलाई समेत माला र टीका लगाई पूजा गरिन्छ।
नेपालको कृषि प्रधान समाजमा गोरु खेतीपाती र किसानको जीवनयापनको महत्वपूर्ण आधार रहँदै आएको छ। त्यसैले गोरु तिहारले कृषि श्रम, पशुधन र किसानको योगदानप्रति सम्मान व्यक्त गर्छ।
५. भाइटीका : दाजुभाइ तथा दिदीबहिनीको प्रेम र आत्मीयताको पर्व
यमपञ्चकको अन्तिम दिन कार्तिक शुक्ल द्वितीयामा भाइटीका मनाइन्छ। यो तिहारको सबैभन्दा महत्वपूर्ण र पारिवारिक आत्मीयता झल्काउने दिनका रूपमा परिचित छ।
पौराणिक कथाअनुसार मृत्युका देवता यमराज आफ्नी बहिनी यमुनाको निमन्त्रणामा पाँच दिनसम्म उनको घरमा बसेका थिए। भाइटीकाका दिन यमुनाले दाजु यमराजको विधिपूर्वक पूजा गरी टीका तथा माला लगाइदिएकी थिइन्। त्यसपछि दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र सम्बन्ध सधैँ अटल रहने विश्वासका साथ भाइटीका मनाउने परम्परा सुरु भएको मानिन्छ।
यस दिन दिदीबहिनीले दाजुभाइको सुख, शान्ति, समृद्धि, आरोग्य र दीर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिने, मखमली, सयपत्री तथा दुबोको माला पहिर्याउने र मिठा परिकार खुवाउने गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई उपहार, दक्षिणा तथा वस्त्र प्रदान गर्ने परम्परा छ।
भाइटीकामा प्रयोग गरिने सामग्रीको समेत छुट्टै सांस्कृतिक महत्व छ। कहिल्यै नओइलाउने मखमली फूलले दीर्घायु र अटल सम्बन्धको प्रतीकात्मक अर्थ दिन्छ भने हरियो दुबोले निरन्तरता र समृद्धिको सन्देश दिन्छ। सप्तरङ्गी टीकाले प्रेम, सद्भाव र आत्मीयताको विविधतालाई प्रतिनिधित्व गर्छ।
यस दिन दियो, कलश र गणेशको पूजा गरी ओखर, बिमिरो, तेल, फूल, अक्षता तथा विभिन्न परिकार प्रयोग गरेर दाजुभाइको पूजा गर्ने परम्परा छ। दिदीबहिनीले दाजुभाइको जीवनमा आइपर्ने संकट टरोस् र जीवन सुखमय बनोस् भन्ने कामना गर्छन्।
तिहारको सामाजिक तथा सांस्कृतिक महत्व
तिहार केवल धार्मिक आस्था र पूजाआजामा सीमित पर्व होइन। यसले नेपाली समाजको सामाजिक एकता, पारिवारिक सम्बन्ध, सांस्कृतिक पहिचान र प्रकृतिप्रतिको सम्मानलाई समेत बलियो बनाउँछ।
नेपाल कृषि प्रधान देश भएकाले तिहारको सम्बन्ध कृषि उत्पादन, पशुपालन र ग्रामीण जीवनशैलीसँग पनि जोडिएको छ। किसानले खेतबारीमा उत्पादन गरेको अन्न घर भित्र्याउने समयमा लक्ष्मीपूजा गरी धनधान्य र समृद्धिको कामना गर्ने परम्पराले कृषि र धार्मिक संस्कृतिबीचको सम्बन्धलाई प्रस्ट पार्छ।
काग, कुकुर, गाई र गोरुको पूजा गर्नुले मानिसले आफ्नो जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने पशुपक्षी तथा प्रकृतिको महत्व बुझ्नुपर्ने सन्देश दिन्छ। त्यस्तै, देउसी–भैलोले सामूहिक सहभागिता, आपसी सद्भाव र मनोरञ्जनलाई प्रोत्साहन गर्छ। गाउँघरमा एकअर्काको घरमा पुगेर शुभकामना आदानप्रदान गर्ने चलनले सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउँछ।
विशेषगरी भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई नवीकरण गर्ने, टाढिएका आफन्तलाई नजिक ल्याउने र पारिवारिक एकतालाई बलियो बनाउने अवसर प्रदान गर्छ। यस पर्वले उमेर, वर्ग र सामाजिक अवस्थाभन्दा माथि उठेर आपसी प्रेम, सद्भाव, सहयोग र सम्मानको भावना विकास गर्न प्रेरित गर्छ।
तिहार नेपालसहित भारत, भुटान र म्यानमारलगायत दक्षिण एसियाका विभिन्न क्षेत्रमा आ–आफ्नै धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार मनाइन्छ।
समग्रमा तिहार उज्यालो, उमङ्ग, आपसी प्रेम, प्रकृतिप्रतिको सम्मान र सामाजिक सद्भावको पर्व हो। यसले अन्धकारमाथि उज्यालो, असत्यमाथि सत्य र निराशामाथि आशाको विजयको सन्देश दिन्छ। धार्मिक आस्था र सांस्कृतिक परम्परालाई जीवन्त राख्दै सामाजिक एकता, पारिवारिक आत्मीयता र मानवीय सम्बन्धलाई अझ सुदृढ बनाउनु नै यमपञ्चक अर्थात् तिहारको मूल सन्देश हो।
प्रकाशित मिति: सोमबार, कात्तिक २३, २०८३ ०६:२७