रुषा थापा
दशैंंपछि तिहार नेपालीजनका लागि ठूलो चाड हो । तिहारमा खर्च अधिक हुन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएर भाइमसलालगायत मिठोमसिनो खुवाउनुपर्छ भने दाजुभाइले पनि सोहीअनुरुप दक्षिणा दिनुपर्छ । तिहार शुरु भइसकेको छ, तर सर्वसाधारणको अनुहारमा खुशी देखिँदैन । बरु उनीहरु चिन्तित देखिन्छन् । कारण हो, महँगी र पैसा डुब्नु ।
सहकारीलगायत वित्तिय संस्थाका कारण करोडौं बचतकर्ताको बिल्लीबाठ भएको छ । जीवनभरको पुँजी, पुख्र्यौली सम्पत्ति वा जायजेथा बेचेर, विदेश गई कमाएको पैसा सहकारीले खाइदिएको छ । सहकारी डुबेको सात वर्ष बढी बितिसकेको छ । तैपनि बचतकर्ताहरुले पैसा फिर्ता पाएका छन् न ठग सहकारी सञ्चालक, अध्यक्ष, कर्मचारीलाई कारबाही भएको छ ।
सहकारीका कारण यसपालि पनि बचतकर्ताहरुको दशैं त खल्लो भयो नै तिहारसमेत मनाउन नसक्ने स्थितिमा उनीहरु छन् । बजारमा सामानको भाउले आकाश छोएको छ । दोब्बरदेखि पाँच गुणाले महँगी बढेको छ । मानिससँग पैसा छैन न त रोजगारी । दशैं त जसोतसो ऋणधन गरेर वा कम खर्च गरेर उनीहरुले मनाए । अब तिहार कसरी मनाउने भन्ने चिन्तामा उनीहरु छन् ।
दिदीबहिनीलाई टीका लगाउन चाहिने भाइमसाललगायत सामग्रीको चिन्ता छ त दाजुभाइलाई दक्षिणाको । थोरै सामान बोकेर गएमा दाजुभाइले टीका नलगाउने, खिल्ली उडाउने डर, धेरै किन्नेलाई छैन पैसा । उता, दाजुभाइलाई पनि सामानअनुरुप पैसा नदिए अर्को पालिदेखि टीका नलगाइदिने हो कि भन्ने डर ।
यसरी सहकारीहरुले पैसा खाइदिँदा सर्वसाधारण चाडबाड नै मनाउन नसक्ने अवस्थामा पुगेका छन् । तर, सहकारीमन्त्री प्रतिभा रावलको ध्यान भने अन्यत्रतिर छ । हालसालै मन्त्री रावल सहकारीपीडितलाई भेट्न झापा र चितवन पुगिन् । त्यसक्रममा चितवनमा ८४ वर्षीय वृद्धले आफ्नो घरजग्गासहित जायजेथा बेचेर सहकारीमा राखेको रकम डुबेको भन्दै रोए । अन्य ठाउँमा पनि बचतकर्ताहरु मन्त्रीसामु रोए ।
रोचक प्रसंग चाँहि मन्त्रालय फर्किएपछि मन्त्री रावलले सहकारीपीडितको माग सम्बोधनतिर होइन, भूमाफियाको माग पूरा गर्नतिर लागिन् । चितवनमा एक व्यक्तिले जग्गाको कित्ताकाट नखुल्दा आफूहरु मर्कामा परेको बताए । र, मन्त्रालय फर्किनेबित्तिकै मन्त्री रावलले कित्ताकाट खुलाउन अर्थ मन्त्रालयलाई प्रस्ताव पठाइन् । पीडितको आँसु नदेख्ने, तर भूमाफियाको एउटै शब्द काफी । यसबाटै थाहा हुन्छ कि यो सरकार कसका लागि रहेछ ।
सहकारी डुबेको सात वर्ष बित्दासमेत पीडितहरुले साँवा पाएका छन् कि ब्याज । चुनावका बेला रास्वपाले आफ्नो सरकार गठन भएको एक सय दिनभित्रै सहकारीपीडितको बचत फिर्ता गर्ने वाचा गरेको थियो । सोही आशामा जनताले रास्वपालाई १८२ सिट दिए । रास्वपा वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को नेतृत्वमा सरकार गठन भएको आठ महिना बितिसकेको छ । तर, सहकारीपीडितको हात खाली नै छ ।
जुनसुकै सरकार आएपनि पीडितलाई आश्वासन बाँड्ने, सहकारी ठगहरुलाई उन्मुक्ति दिने क्रम जारी नै छ । सहकारीहरुले अनेकौं प्रलोभन देखाएर बचतकर्ताबाट रकम उठाएका थिए । २२ प्रतिशतसम्म ब्याज दिने, वृद्धवृद्धालाई तीर्थ यात्रामा लैजाने, बर्थ डेमा बचतकर्ताको घरमै पुगेर केक काटिदिने, ज्येष्ठ नागरिकलाई सम्मान गर्नेजस्ता काम सहकारीहरुले गर्थे ।
सहकारीको एउटा लौरो उपहारमा फस्दा बचतकर्ताहरुले आफ्नो लाखौं–करोडौं रकम गुमाएका छन् । सहकारीमा नाबालकदेखि वृद्धवृद्धासम्मको पैसा डुबेको छ । विद्यालयमा खाजा नखाई ससाना बालबालिकाले सहकारीमा पैसा जम्मा गरेका थिए भने ज्येष्ठ नागरिकहरुले आफ्नो भत्ता ।
आफ्नो सम्पूर्ण सम्पत्ति नै बेचेर सहकारीमा निक्षेप राख्नेहरु पनि छन् । सहकारी डुबेको थाहा पाउँदा कतिपय हृदयघातले बिते त कोही अझैपनि डिप्रेसनमा छन् । कतिपयले भने सहन नसकेपछि आत्महत्यासमेत गरेका छन् । यसरी सहकारीकै कारण सर्वसाधारण मृत्युको मुखसम्म पुग्दा वा पुगिरहँदा सरकारलाई भने केही मतलब छैन ।
सरकार केही बचतकर्ताको सानो रकम फिर्ता गरेर पीडितहरुको निक्षेप फिर्ता गरेको दाबी गर्छ । अनि ठूला वा अन्य बचतकर्ताको पैसा चाँहि कहिले फिर्ता गर्ने ? सहकारी ठगहरुलाई कहिले कारबाही गर्ने वा हुन्छ कि हुँदैन ? हुन त सत्तारुढ दलकै कतिपय नेतामाथि सहकारी ठगीको आरोप छ । त्यसैले पनि सरकारले सहकारी ठगलाई कारबाही गर्नतिर चासो नदिएको होला ।
सहकारीहरुले अनेकौं लोभलालच देखाई सर्वसाधारणबाट उठाएको रकम जथाभावी लगानी गरे । विशेषगरी घरजग्गा, गाडी र सेयरमा । त्यसमा पनि व्यापक भ्रष्टाचार । पचास लाखको भवन बनाउँदा अर्को पचास लाख सहकारीका अध्यक्ष, सञ्चालक, कर्मचारीहरु कुल्म्याउँथे । दशदेखि २० प्रतिशतसम्म कमिशन खाएर जस्तोसुकै घरजग्गा, गाडी, सेयरमा कर्जा लगानी गरे । सहकारीको निक्षेप सहकारीकै पदाधिकारीहरुले दुरुपयोग गरे ।
अनि घरजग्गा, गाडी र सेयरमा मन्दी आउनेबित्तिकै सहकारीहरुको भागभाग चल्यो । अहिले कतिपय सहकारीहरु बचतकर्तालाई निक्षेप फिर्ता गर्न सक्दैनौं, घरजग्गा लिनुस् भन्छन् । घरजग्गा चाँहि दुर्गम वा ग्रामीण भेगमा हुन्छ, त्यो पनि डाँडाकाँडामा । बचतकर्ता बस्ने शहरमा, घरजग्गा गाउँमा ।
अर्कोतिर रोपनीको एक लाखमा नबिक्ने जग्गालाई आनाकै २५ लाखदेखि ५० लाखसम्म भनिन्छ । बचतकर्ताले त्यस्तो घरजग्गा लिन्न भनेमा निक्षेप फिर्ता हुँदैन भनी ठाडो जवाफ वा धम्की दिइन्छ । हिजो पैसा उठाउने बेला जुनसुकै समयमा पनि निक्षेप फिर्ता दिन्छौं भन्ने, अहिले चाँहि पैसाको साटो डाँडाकाँडाको जग्गा लिऊँ भन्दै धम्क्याउने ।
यसबाटै थाहा हुन्छ कि सहकारीहरु कतिसम्म ठग रहेछन् । तैपनि सहकारीमन्त्रीको यसबाट ध्यान जाँदैन । उनी त भूमाफियाकै माग पूरा गर्नतिर जो व्यस्त छिन् । सहकारीपछि बैंकमा पनि संकट देखिरहेको छ । अहिले बैंकहरुले यति नाफा कमायौं भन्दै दाबी गरेपनि बचतकर्तालाई भने दुई–तीन प्रतिशतमात्र ब्याज दिएको अवस्था छ ।
सेयर धनीलाई बोनस नदिएको वर्षौ भइसक्यो । अनि नाफा कमाएको भए किन डिपोजिटको कम ब्याज ? किन बोनस नदिएको ? अर्कोतर्फ, नाफा कमाउन केमा चाँहि लगानी गरियो ? किनकि घरजग्गा, गाडी, सेयर, जलविद्युतलगायत क्षेत्र त जटिल अवस्थामा छ ।
जनताले आपतविपत वा भविष्यमा काम गर्ने आशामा बैंक, वित्तिय संस्थामा निक्षेप राखे । विडम्बना, बैंक, वित्तिय संस्थाका पदाधिकारीहरुले कमिशनको लोभमा जथाभावी कर्जा लगानी नगर्दा सर्वसाधारण सडकमा आइपुगेका छन् । सहकारी ठगहरु त जनताको पैसामा अहिलेपनि मोजमस्ती गरिरहेकै छन्, बचतकर्ताहरु चाँहि चाडपर्वसमेत मनाउन सकिरहेका छैन् । अनि राज्य कहाँ छ ?
भक्तपुर