-अनुसा थापा
जेठ ५ गते मंगलबार बिहान जनआस्थाको न्युज डेस्कमै थिएँ । अन्य दिनजस्तै समाचारमा व्यस्त रहेकै बेला स्रोतबाट एउटा अडियो प्राप्त भयो । स्रोतले समाचार बन्नसक्ने भन्दै उपलब्ध गराएको अडियो शुरुमा सामान्य ठानेर सुनेँ । तर,त्यसमा सुन्नै नसकिने शब्दले तथानाम गालीगलौज गरिएको थियो । औंला काटिदिने,भाँचिदिने,गर्धन छिनाल्ने,छुरा घोप्नेजस्ता धम्की अडियोमा सुनिन्थ्यो । यसरी गाली गर्ने व्यक्ति थिइन् –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद ज्वाला नामले चिनिने टीका संग्रौला !
सांसदजस्तो गरिमामय पदमा पुगेको व्यक्तिको मुखबाट बर्सिएका यस्ता शब्दले आङ नै सिरिङ्ग भयो । ‘जान्नेलाई छान्ने’ नारा लगाएर संसद्मा झण्डै दुई तिहाई जितेको पार्टीले यस्तो शब्द बोल्नेलाई सांसद बनाउला र ? भन्ने प्रश्न मनमा उब्जियो । सोच्न बाध्य भएँ-समाचार बनाउने कि नबनाउने ! फेरि मनमा लाग्यो- सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिलाई जवाफदेही बनाउनकै लागि भए पनि यो कुरा बाहिर ल्याउनुपर्छ ।
त्यसपछि डेस्कसँग अनुमति लिएर समाचार बनाउने निधो गरेँ । र,सम्बन्धित पक्षको धारणा लिन ‘संघीय संसद् सचिवालय,टेलिफोन डाइरेक्ट्री २०८३’ मा राखिएको ज्वाला भनी चिनिने टीका संग्रौलाको मोबाइल नम्बर ९८५१२०९६७१ डायल गरेँ ।
अफिसको ल्याण्डलाइनबाट कल गरेको थिएँ,उनले पहिलो घण्टीमै फोन उठाइन् । आफ्नो परिचय दिएर सोधेँ- ‘म जनआस्था मिडियाबाट बोल्दै छु,यस्तो अडियो प्राप्त भएको थियो,यो तपाईँकै हो ?’ उनले अडियो आफ्नै भएको स्वीकारिन् । सात–आठ वर्षअगाडि जापानमा हुँदा साथी–साथीबीच ग्रुपमा सल्लाह भएको बताउँदै अहिले कुरा मिलिसकेको दावी गरिन् ।
त्यसपछि उनीद्वारा धम्क्याईएका शंकर तिवारीलाई पनि सम्पर्क गरेँ । उनले पनि अडियो ज्वालाकै भएको बताए । उनीहरुले ग्रुप बनाएर आफूलाई धम्की दिएको उल्लेख गर्दै तिवारीले दुखेसो पोखे,‘घटना अलि अगाडिको हो । उनीहरुले ग्रुप बनाएर मलाई धम्की दिएका थिए । म साइबर ब्यूरोमा पनि गएँ । ज्वालाजीले जापानबाट फर्किएर माफी मागेपछि माफ गरिदिएँ ।’
दुवै पक्षसँग कुरा गरेर अडियोको आधिकारिकता पुष्टि गरेपछि डेस्कमा छलफल गरेर समाचार लेख्ने निर्णयमा पुगेँ । करिब डेढ-दुई घण्टापछि दुवैको भनाइसहित जनआस्था अनलाइनमा समाचार प्रकाशित भयो । समाचारमा सम्बन्धित पक्षको भनाइ/दावीमा कुनै तोडमोड गरिएको छैन । अडियोमा जे बोलिएको छ,जस्ताको त्यस्तै उल्लेख गरिएको छ । तर,बिहान फोनमा कुरा हुँदा अडियोको आवाज आफ्नै भएको स्वीकार गरेकी ज्वालाले रात पर्दै गएपछि भने सामाजिक सञ्जालमा तथानाम लेख्न थालिन् ।
‘पत्रकारलाई रास्वपा सांसदको धम्की’ शीर्षकको समाचारमा कमेण्ट गर्दै उनले लेखेकी छन्,‘जनआस्थाले बिहान मलाई कल गरेको थियो । यो ग्रुपमा साथीहरुको कुराकानी थियो । पछि म नेपाल आएपछि शंकर तिवारी भाइ आफैं भेट्न आए । हामी साथी–साथी मिलिसक्यौँ । मैले यो सबै कुरा बताउँदा ए हवस् भनेर फोन राखेको मान्छेले अहिले भिडियो हालेछ । खोज पत्रकारिता पनि अचम्म छ । त्यसो भए त श्रीषा कार्की हत्याको पनि अब सदनमा कुरा उठाउनुपर्ने भो ।’
प्रश्न उठ्छ,साथी–साथीबीच मान्छे मार्ने,छुरा घोप्ने कुराकानी हुन्छ ? यदि हुन्छ भने माननीयज्यूको संगत कस्ता मान्छेहरुसँग रहेछ ? उहाँलाई सांसद बनाउने पार्टीले सोच्नुपर्ने विषय हो यो । कमेण्टमा अडियो आफ्नै भएको स्वीकार गरिसकेपछि मिडियामाथि आरोपित गर्नु पानीमाथिको ओभानो बन्न खोज्नु जस्तै हो । पहिले आफैं जथाभावी बोलेर अहिले रोइलो गर्दै हिँड्न सुहाउँछ ? घटना अहिलेको होस् या उहिलेको,बोलेको उनैले हो । धम्क्याउने उनै हुन् । पदमा हुँदा होस् या नहुँदा, कुनै व्यक्तिलाई मार्छु,काट्छु भन्ने अधिकार कसैलाई पनि छैन । ज्वालाजीलाई चुनौती छ-सक्नुहुन्छ भने समाचारको तथ्य गलत भएको पुष्टि गर्नुस् ।
आफैँ कानुन बनाउने ठाउँमा पुगेको व्यक्तिले यति कुरा पनि नबुझेको हो कि बुझ पचाएको ? माननीयलाई स्मरण रहोस्- कुनै पनि सामग्री प्राप्त भएपछि त्यसलाई बाहिर ल्याउनु पत्रकारिताको धर्म हो । सार्वजनिक पद धारण गरेका व्यक्तिको विगत र वर्तमान कस्तो छ जान्न पाउने अधिकार हरेक नागरिकलाई छ । त्यो अधिकार कसैको दबाब र प्रभावमा दबिनेवाला छैन ।
समाचार प्रकाशन भएपछि उहाँ उजुरी लिएर साइबर ब्यूरो र प्रेस काउन्सिल पुग्नुभएको रहेछ । आफ्नो चरित्रहत्या गरेको,फोन गरेर ब्ल्याकमेल गरेकोजस्ता आधारहीन आरोप लगाउनुभएछ । तर,कानुन बनाउने जिम्मेवारीमा रहेको व्यक्तिलाई यति सिकाउनै पर्ने भयो-सञ्चार माध्यममा प्रकाशित/प्रशारित समाचारप्रति असन्तुष्टि भएमा पहिले सम्बन्धित सञ्चार माध्यममा खण्डन पठाउने हो । खण्डन प्रकाशित नभएमा बल्ल प्रेस काउन्सिल जाने हो । मिडियाले गलत समाचार छापेको,आचारसंहिताको बर्खिलाप गरेको प्रमाणित भएमा कारबाही गर्ने निकाय काउन्सिल हो ।
अर्कोतिर,उहाँले ब्ल्याकमेलिङ्गको आरोप लगाउनुभएको छ,जुन उहाँकै कुराबाट पनि खण्डित हुन्छ । एक घण्टाअगाडि सोधेर समाचार प्रकाशित भएको कुरा उहाँकै स्वीकारोक्ति हो । मेरो प्रश्न छ- यदि ब्ल्याकमेलिङ गरेको भए समाचार रोकिनुपर्ने हैन र ? र,अर्को कुरा प्रतिक्रिया लिएपछि समाचार छाप्ने हो कि समाचार छापिएपछि प्रतिक्रिया लिने हो ? जवाफ दिनुहोला ।
अनि दुवै पक्षको भनाइ जस्ताको त्यस्तै राखेर समाचार प्रकाशन गर्दा कहाँनेर ब्ल्याकमेलिङ्ग भयो ? ब्ल्याकमेलिङ्ग गरेको पुष्ट्याइँ गर्ने केही आधार–प्रमाण छ ? कि तपाईँको विचारमा समाचारका लागि फोन गर्नु नै ब्ल्याकमेलिङ्ग हो ? सोधेर समाचार लेख्दा ब्ल्याकमेलिङ्ग,नसोधिकन लेख्दा पत्रकार आचारसंहिता पालना गरेन भनेर रोइलो ?
समाचार छापिएपछि उहाँले तिवारीलाई फोन गर्नुभएको रहेछ । सायद फेरि पनि धम्क्याउनकै लागि थियो कि ! यसबारे खुलाउँदै तिवारीले जनआस्थासँगको कुराकानीमा भने,‘मलाई फोन आएको रहेछ,म व्यस्त थिएँ । पछि मलाई कल ब्याक गर्नै मन लागेन ।’ उनका अनुसार सो घटना एमसीसी आन्दोलनताकाको हो । त्यतिबेला सडकदेखि सदनसम्म एमसीसीको विरोधमा नारा लागिरहेको थियो ।
रास्वपा सभापति रवि लामिछाने प्रहरी हिरासतमा हुँदा तिवारीलगायतले सहयोग गरेका रहेछन् । एमसीसीको विरोधमा माइतीघर मण्डलामा खबरदारी कार्यक्रम आयोजना गरी लामिछानेलाई भाषण गराउन खोजिएको रहेछ । तर,उनी नआएपछि तिवारीले प्रश्न उठाएछन् । त्यसपछि ज्वालाले फेसबुकमा ग्रुप बनाएर गाली गर्न थालेको उनले स्मरण गरे । 'दर्जनौं ग्रुप बनाएर मलाई तथानाम गाली गरिन्थ्यो । अति नै भएपछि साइबर ब्यूरोमा उजुरी दिन बाध्य भएँ',उनले भने ।
त्यसपछि ज्वाला पक्षका मान्छेले जाहेरी फिर्ता लिइदिन पटक-पटक आग्रह गरे । ज्वाला आफैँले अनुरोध गरेपछि तिवारीले पनि जाहेरी फिर्ता लिइदिए । उनी सम्झन्छन्,‘संवाद भएको अथेन्टिक हो,प्रसंग पनि अथेन्टिक हो । मैले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी हालेको अथेन्टिक हो । उनले मलाई एउटा मिसनमा सहयोग गरेको पनि अथेन्टिक हो । उनीहरुले सोसल मिडियाबाट मलाई धम्क्याएको,तर्साएको कुरा त एकदमै अथेन्टिक हो ।’
पछिल्लो समय ज्वालासँग कुनै संवाद नरहेको र फेसबुकबाट अनफ्रेण्ड गरिसकेको पनि उनले बताए । पीडित आफैंले सबै कुराको पुष्ट्याइँ गरिसक्दा माननीयज्यूले खोजेको थप प्रमाण चाहिँ के हो ? कि तपाईंको अनुमति नलिई समाचार लेख्न नपाइने हो ? तपाईंलाई लागेको होला- म त रवि लामिछानेको विश्वासपात्र,माननीय सांसद अनि सत्ताधारी दलको,मेरोविरुद्ध समाचार लेख्ने ? जनआस्थाको यही प्रसङ्गसम्बन्धी समाचार शेयर गरेवापत तँलाई साइबर ब्युरो लगाइदिन्छु भनी पत्रकार सजीव कालाखेतीलाई फोनमा किन धम्क्याउनुभयो ? त्यसबिरुध्द तपाईंलाई साइबर ब्युरोमा उजुर हालियो भने के हुन्छ ? सोच्नुभएको छ ? यदि राज्य शक्तिको आडमा समाचारमाथि यसरी सेन्सर लगाउन र पत्रकारको आवाज दबाउन सकिन्छ भन्ने लागेको भए कृपया त्यस्तो भ्रम आजै त्यागिदिनुस् । र,नेपाल प्रहरीको विधि बिज्ञान प्रयोगशालाबाट अडियोको त्यो आवाज आफ्नो नभएको सर्टिफिकेट लिएर आउनुहोस् । धन्यवाद !