२८ फागुन,सैनामैना/सुरज थापा मगर
सैनामैना नगरपालिका रुपन्देहीको सालझण्डीमा बुधबार एक कार्यक्रमका बीच सालझण्डी सर्पदंश तथा स्वास्थ्य उपचार केन्द्रको समुदघाटन तथा सालझण्डी स्वास्थ्य चौकीको स्थानान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथी सैनामैना नगरपालिका नगर प्रमुख चित्र बहादुर कार्कीले यस भन्दा अघि सर्पले टोकेको खण्डमा बुटवल प्रादेशिक अस्पाताल तथा भैरहवा भिम अस्पतालमा जानु पर्ने
बाध्यता नरहने बताए । स्थानिय सरकारले विस्तारै काम गति बढाएको र पुर्ण रुपमा कामको प्रतिफल देख्न अझै समय लाग्ने समेत बताए ।
विशिष्ठ अतिथी कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले सर्प टोकेर टाढाको अस्पताल लैजाने धेरै डर हुने भएकाले पनि धेरै नै मानसिक तनाब हुन्थ्यो भने अब सर्पदंश केन्द्रको स्थापनाले धेरै नै सहज भएको बताए ।
सालझण्डी सर्पदंश तथा स्वास्थ्य उपचार केन्द्र संचालन समितिका अध्यक्ष मिन प्रसाद घिमिरेले स्थानिय सरकार र स्थानिय बासीहरुको सक्रियताले भवन बनाउन सफल भएको र सहयोग गर्ने चन्दादाता तथा अन्य सहयोगीहरुलाई धन्यवाद समेत व्यक्त गरे ।
कार्यक्रममा समाजसेवी ज्ञान बहादुर सोमरे, इन्द्र बहादुर जिसी, सैनामैना नगरपालिकाका प्रशासकिय प्रमुख टेकराज पन्थी, रुपन्देही व्यापार संघका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद घिमिरे, पशुपति माविका प्रअ हरि प्रसाद थापा, सैनामैना वडा नं. ११ का वडा अध्यक्ष सुनिल मरासिनी, नेपाली कांग्रेस सैनामैनाका सभापति राम प्रसाद अधिकारी, नेकपा सैनामैना अध्यक्ष चेत नारायण न्यौपाने, पुर्व सैनामैना नगरपालिकाका प्रशासकिय प्रमुख कृष्ण प्रसाद भण्डारी, उत्कृष्ट चन्दादाता यमलाल गैरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
१ करोड ११ लाख ५० हजार ५ सय ८९ रुपैयाँ ०७ पैसाको लगानीमा सर्पदंश तथा स्वास्थ्य उपचार केन्द्रको निर्माण गरिएको हो । भवन निर्माणको लागि स्थानिय सरकारबाट सहयोग प्राप्त भएको थियो । साथै महायज्ञ संचालन गरी भवन निर्माणको लागि सहयोग रकम संकलन गरिएको थियो ।
करिब १० कट्ठा क्षेत्रफल रहेको सैनामैना–१०, सालझाण्डीको बनकट्टीमा स्थापना गरिएको सर्पदंश तथा स्वास्थ्य उपचार केन्द्रको भवन निर्माणमा साविक सालझण्डी गाविस, सैनामैना नगरपालिका, गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका, भुपु सैनिक सालझण्डी लगायत व्यक्तिगत सहयोग पनि उठाईएको थियो ।
बुधबार भवनको उद्घाटन गरेता पनि नियमित उपचार सुरु हुनको लागि अझै करिव १ देखि २ महिना लाग्ने बताईएको छ । सरकारी विशेषज्ञ डाक्टरलाई आवासीय सुविधा नै उपलब्ध गराएर २४ औं घण्टा सेवा उपलब्ध गराउने तयारी गरेको सैनामैना नगरपालिकाले जनाएको छ ।
सालझण्डीमा सर्पदंश तथा स्वास्थ्य उपचार केन्द्रको स्थापनाले सैनामैना नगपालिका, कञ्चन गाउँपालिका, गैडहवा गाउँपालिका र छिमेकी जिल्ला पाल्पा र कपिलबस्तु जनताहरुले सेवा लिन सहज हुने भएको छ ।
सालझण्डी स्वास्थ्य चौकीले बुधबार देखि नै सेवा सुरु गरेको छ । २ तले भवनमा भुई तल्लामा स्वास्थ्य चौकीको कार्यालय र माथिल्लो तल्लामा सर्पदंश तथा स्वास्थ्य उपचार केन्द्रको कार्यालय रहने छ । कार्यालयको नजिकै विशेषज्ञ डाक्टरको लागि आवासीय भवनको निर्माण पनि गरिएको छ ।
कार्यक्रम संचालक समिति अध्यक्ष मिन प्रसाद घिमिरेको अध्यक्षता तथा कृष्ण प्रसाद घिमिरेको संचालनमा सम्पन्न भएको हो । भने आन्तरिक लेखा परिक्षणको प्रतिवेदन लेखा समितिका सदस्य सन्तोष पन्थले प्रस्तुत गरेका थिए ।