
डा. केदार कार्की/सिनामंगल, काठमाडौं
काठमाडौँ उपत्यकामा ल्याइने खसी बोकाको सिङमा नीलो र रातो रङ्ग लगाइएको हुन्छ । नीलो रङ्ग लगाइएका खसी स्वस्थ हुन् भने रातो रङ्ग लगाइएका अस्वस्थ हुन् । तपाईँ पनि खसी किन्दै हुनुहुन्छ भने सिङमा हरियो रङ लगाइएको खसी रोज्नुस् । त्यसो गर्नुभयो भने तपाईँले स्वस्थ खसी पाउनुहुने छ । खसी बोका उपत्यका भित्र्याउँदा विभिन्न स्वास्थ्य जाँच गरेरै ल्याइन्छ ।तर कतिपय अस्वस्थ खसी बोका उपत्यका ल्याउँदा ल्याउँदै बाटोमै बिरामी हुने गर्छन् ।
दशैँमा खसीको मासुको खपत बढी हुने गर्दछ । दशैँ भन्ने बित्तिक्कै मासु खाने पर्वका रुपमा पनि बुझिन्छ । उद्यपी, ठूलाबडाको आशिर्वाद लिने र राम्रो लगाउने पर्व पनि हो ।दशैँमा आफ्नै घरमा खसी काटेर मासु खाने चलन हुन्छ । खसीसँगै बोका, च्याङग्रा, भेडा, राँगो पनि काट्ने चलन छ । समुदाय अनुसार फरक फरक जनावरको बली दिइन्छ । हिन्दू धर्मावलम्बीहरुको महान पर्व दसैंले छपक्कै छोपिसक्यो । सहर बजारमा किनमेल गर्नेहरुको भिडभाड छ । दसैं रमाइलो बनाउने थुप्रै कुराहरु छन् । त्यसैमध्ये एक हो– खसी, बोका, भेडा, च्याङ्ग्रा । यो बेला मासुका लागि खसी, बोका, भेडा, च्याङ्ग्राको कारोबार राम्रो हुन्छ । तर, खसी, बोका, भेडा, च्याङ्ग्रा किन्ने बेला थोरै ध्यान नदिँदा पछुताउनु पर्ने हुन्छ ।
पहिले पहिले चाडपर्बहरु धेरै लोकप्रिय हुनुको एउटा कारण खानपान पनि हो। खासगरी मासुका लागि दशै परिचित थियो तर हिजोआजको अबस्था त्यस्तो छैन । मासु स्वास्थ्यका लागि एकदमै लाभदायक खाना हो तर मासुको प्रकार साथै यसलाई पकाउँदा वा खाँदा केही कुरामा विचार पुर्यारउन आवश्यक छ।
मासु पौष्टिक पदार्थले भरिपूर्ण हुन्छ। स्वस्थ जनावरको अनप्रोसेस्ड मासुमा धेरै प्रकारका पौष्टिक तत्वहरु पाइन्छन्। बी १२, बी ३, बी ६, आइरन, जिङ्क, सेलेनियमजस्ता भिटामिन र खनिज तथा उच्च प्रोटिन मासुमा हुने गर्छ। दाना खुवाइएको भन्दा घाँस खुवाइएको जनावरहरुमा पाँच गुणा बढी ओमेगा–३ पाइन्छ।
मासु उपभोग र जनस्वास्थ्यको दृष्टिकोणबाट विभिन्न सरुवा तथा दीर्घकालीन रोगहरू लाग्न सक्ने जोखिम उच्च हुन्छ। जनस्वास्थ्य सुरक्षित राख्न र मासुजन्य संक्रमण तथा जुनोटिक रोगहरू (जनावरबाट मानिसमा सर्ने रोग) बाट बच्न स्वच्छता, उचित भण्डारण, र सन्तुलित उपभोग सबैभन्दा महत्त्वपूर्ण उपायहरू हुन्।
मासुको सेवन वा प्रयोगबाट मानिसमा सर्ने धेरै रोग छन् । जसलाई मासुजन्य रोग भनिन्छ । यीमध्ये केही रोग प्राकृतिक रूपमा जनावर र मानिसबिच सर्ने गर्दछन् र तिनीहरूलाई जुनोटिक रोग भनिन्छ ।
यसमा ब्याक्टेरिया, भाइरल, माइकोटिक र परजीवी जुनोटिक रोगहरू समावेश छन् । जुनोटिक रोगको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । जङ्गली जनावरको प्राकृतिक बासस्थानमा मानव घुसपैठ जुनोटिक रोगहरूको सङ्ख्यामा यो क्रमिक वृद्धिको पछाडि एक कारण हो । वधशालामा काम गर्ने कामदार, उपउत्पादन प्रयोग गर्ने प्लान्ट र भेटेरिनरी डाक्टरहरूलाई जुनोटिक रोग लाग्ने बढी जोखिम रहने गर्छ । अनुचित पूर्वमार्टम र पोस्टमार्टम निरीक्षणको कारणले रोगी जनावर मासु शृङ्खलामा प्रवेश गर्न सक्छन् ।
यसबाहेक, मासु र मासुजन्य पदार्थको उत्पादनका विभिन्न चरणमा सरसफाइको अभावले गर्दा मासुजन्य रोगहरू हुने प्रमुख कारण हुन् । जुनोटिक रोगहरू जनावर र मानिसबिचमा फैलिने सङ्क्रमणको कारणले हुन्छन् । मानिसहरूमा यी रोगहरूको गम्भीरता हल्कादेखि जीवनलाई चुनौती दिनेसम्मका हुन्छन् । खाद्यजन्य जुनोटिक रोगहरू ब्याक्टेरिया, भाइरस र परजीवीहरू जस्ता रोगजनक (रोग निम्त्याउने) सूक्ष्मजीवद्वारा दूषित खाना वा पानीको उपभोगका कारण हुने गर्छन् । तिनीहरू शरीरमा प्रवेश गरेपछि मानवमा पहिलो चरणका लक्षणहरू देखा पर्ने गर्छन् ।
यी धेरै सूक्ष्म जीव सामान्यतया स्वस्थ खाना उत्पादन गर्ने जनावरहरूको आन्द्रामा पाइन्छ । प्रदूषणको जोखिम खेतदेखि काँटासम्म हुन्छ र खाद्य शृङ्खलामा रोकथाम र नियन्त्रण आवश्यक हुन्छ । सबैभन्दा सामान्य खानाजन्य रोगहरू क्याम्पिलो ब्याक्टर, साल्मोनेला, येर्सिनिया, इकोलाई र लिस्टेरियाका कारण हुन्छन् । खाद्यजन्य जुनोटिक रोगहरू एक महìवपूर्ण र विश्वव्यापी रूपमा स्वास्थ्यका लागि निकै खतरायुक्त कुरा हुन् ।
प्रदूषण चेनको साथमा खाना जुनसुकै बिन्दुमा हुन सक्छ । त्यो कृषि फार्ममा, वधशालामा, प्रशोधन वा तयारीको क्रममालगायत जुनसुकै चरणमा पनि खानेकुरा प्रदूषित हुन सक्छ । यदि खाना गलत तरिकाले भान्सामा प्रवेश गरेमा वा पकाएको छ भने खाना प्रदूषित हुने सम्भावना बढी रहन्छ । उत्पादन स्तरमा पनि खाद्यपदार्थ प्रदूषित हुने गर्छ । तिनका प्रमुख कारणहरूमा ब्याक्टेरियाले जनावरहरूमा सङ्क्रमण निम्त्याउन सक्छ । परजीवी जसले खाना उत्पादन गर्ने जनावरहरूलाई सङ्क्रमित गर्न सक्छ । त्यसै गरी मल वा वातावरणीय धुलोको सम्पर्कबाट दुध दूषित बन्दा दुग्धजन्य पदार्थहरू दूषित हुने गर्छन् ।
त्यसै गरी मल र वरिपरिको वातावरणद्वारा दूषित जनावरको छालाले पनि खाद्य पदार्थलाई दूषित पार्न सक्छ । वधशाला फोहोर हुँदा, भुँडी, आन्द्राजन्य पदार्थ अरू राम्रो भागमा मिसिँदा समेत मानिसले खाने खाना प्रदूषित हुन सक्छ । कतिपय अवस्थामा मासुजन्य तथा अन्य खाद्य पदार्थलाई प्रशोधन गर्दा पनि विभिन्न कुरासँग सम्पर्कमा आउँदा प्रदूषित हुने गर्छ । अन्य कच्चा कृषि उत्पादनमा वा खाद्य सम्पर्क सतहमा उपस्थित सूक्ष्म जीवद्वारा पनि खाद्य पदार्थ दूषित हुने हुन्छ भने सङ्क्रमित व्यक्तिद्वारा छुँदा वा लसपस हुँदासमेत स्वच्छ खाना प्रदूषित हुने गर्छ । त्यति मात्र नभई तयारी खाना पनि प्रदूषित हुने उत्तिकै डर हुने गर्छ । भाँडा वा भान्साको सतहहरूको अनुचित प्रयोग, जसले ब्याक्टेरिया फैलाउन योगदान पु¥याउन सक्छ । त्यसैले काँचो मासु र अन्य कच्चा खाद्य सामग्रीको सुरक्षित भण्डारण, राम्ररी पकाउने र भान्साको राम्रो सरसफाइले यी सूक्ष्म जीवहरूबाट हुने जोखिमलाई रोक्न वा कम गर्न सक्छ ।
जनावर वा पशुजन्य वस्तुको सम्पर्कबाट मानिसमा धेरै रोग लाग्ने गर्दछ । जनावरहरूमा पाइने कारक जीवहरू दूषित मासुको माध्यमबाट मानिसमा फैलिन सक्छ, त्यसैले जनावरहरूमा जीवहरूको उपस्थिति पहिचान गर्न, मासुमा पत्ता लगाउन र सार्वजनिक स्वास्थ्य खतराहरूको मूल्याङ्कन गर्न आवश्यक छ । यसका लागि मासुजन्य पदार्थसँग सम्पर्कमा आउन सक्ने महत्वपूर्ण पक्षहरू विस्तृत रूपमा अध्ययन गर्नु पर्छ । एक अध्ययनमा मानिसमा हुने रोग, जनावरमा जीवाणुको फैलावट, मासु परीक्षणमा पत्ता लगाउने र जनस्वास्थ्यमा महत्व रहेको छ ।
वधशाला मासु उत्पादन गर्ने काम सबैभन्दा महत्वपूर्ण पक्ष हो । सबै जनावरहरूलाई अत्यन्तै स्वच्छतापूर्ण अवस्थामा मार्ने कामलाई सुनिश्चित गर्न अधिकतम रूपमा ती जीवजन्तुको हेरचाह गर्नु पर्छ । विश्वभर खाद्यजन्य रोगको मुख्य स्रोत मासु हो । त्यसैले जनावरको मृत शरीरको ब्याक्टेरिया दूषित हुनु मानव स्वास्थ्यका लागि निकै र दीर्घकालीन चुनौती हो । त्यसैले मासुमा जनावर प्रशोधनको काम अपरिहार्य हुन आउँछ । यो प्रदूषण प्रशोधन उपकरण, कामदार र वातावरणबाट आउन सक्छ, तर प्राथमिक स्रोतहरू जनावरहरू नै हुन् । जनावरको खुर, आन्द्राको सामग्री र रगतमा ब्याक्टेरियाको ठुलो सङ्ख्या हुन सक्छ, यी चिजहरू रोगजनक हुन्छन् नै । त्यस कारण त्यस्ता सबै देखिने प्रदूषणहरू शवको सतहहरूबाट हटाइनु पर्छ । त्यस्ता खालका मासुहरू खानु मानव जीवनका लागि स्वस्थ्यकर हुँदैनन् ।
मासुजन्य रोगहरू ती रोगहरू हुन्, जुन मासु र मासुजन्य पदार्थको एजेन्सीमार्फत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मारिएका जनावरहरूबाट सर्ने गर्छन् । यी ब्याक्टेरिया, भाइरल, परजीवी, माइकोटिक, रिकेट्सियल र रासायनिक उत्पत्ति हुन सक्छन् । पशुको मासु व्यवस्थापन, पशु वध गर्ने, मासु तथा मासुजन्य पदार्थ प्रशोधन गर्ने, वधशालाको उपउत्पादनको व्यवस्थापन गर्ने, मासु तथा मासुको निरीक्षण गर्ने, मासु तथा मासुजन्य पदार्थको बजारीकरण तथा वितरण गर्ने कार्यमा संलग्न व्यक्तिलाई यस्ता रोग लाग्ने गरेका छन् ।
दूषित मासु र मासुजन्य पदार्थको सेवनबाट पनि उपभोक्तालाई सङ्क्रमण हुने गरेको छ । त्यसैले मासुजन्य रोगको नियन्त्रण र रोकथामका लागि उचित उपाय अपनाउनु पर्दछ । पशु वध गर्नु अघि र पछि मासुजन्य रोगको निरीक्षण, मासुजन्य पदार्थको स्वच्छतापूर्ण वध र प्रशोधन, निन्दित सामग्रीको उचित विसर्जन र जुनोज, गुणस्तर नियन्त्रण प्रणाली र जनचेतनाको सिर्जना जस्ता थुप्रै उपाय छन् ।
दशैंको समयमा खसी, बोका, च्याङ्ग्रा, भेडा र राँगाको मासु अत्यधिक उपभोग हुने गर्दछ। चाडबाडको रमाइलोसँगै मासुको अस्वस्थ उपभोगले रोग वा सङ्क्रमण निम्त्याउन सक्ने भएकाले जनस्वास्थ्यको दृष्टिकोणबाट पशु छनोटदेखि मासु उपभोगसम्म ध्यान दिनुपर्ने मुख्य रोकथामका उपायहरू यस प्रकार छन्:
१. स्वस्थ चौपायाको छनोट
अस्वस्थ लक्षण जाँच गर्ने: आँखा रातो भएको, नाक वा मुखबाट र्याल/सिँगान बगाएको, काँपेको, झोक्राएको वा रौंसिधा भएर उभिएको चौपाया रोगी हुन सक्छन्।
घाउखटिरा नभएको: खुर, मुख वा छालामा कुनै किसिमको घाउ, खटिरा वा डाबरहरू छैनन् भन्ने सुनिश्चित गर्नुहोस्।
सरकारी चिह्न (ट्याग) हेर्ने: सम्भव भएसम्म पशु सेवा विभाग वा स्थानीय तहको टोलीले स्वास्थ्य परीक्षण गरी हरियो रङ लगाएका स्वस्थ चौपाया मात्र खरिद गर्नुहोस् (रातो रङ लगाइएका चौपाया बिरामी हुन्छन्)।
२. बध गर्दा र मासु काट्दा अपनाउने सरसफाइ
सफा ठाउँ र औजार: पशु बध गर्ने र मासु काट्ने ठाउँ सफा, सुख्खा र उज्यालो हुनुपर्छ। प्रयोग गरिने चक्कु, खुकुरी वा प्लास्टिक/काठको ओछ्यान सफा हुनुपर्छ।
व्यक्तिगत सरसफाइ: मासु काट्ने व्यक्तिले हात साबुनपानीले राम्ररी धुनुपर्छ। हातमा कुनै काटिएको वा खुला घाउ छ भने मासु नछुने।
भित्री अङ्गहरूको व्यवस्थापन: आन्द्राभुँडी निकाल्दा दाना वा मलमूत्र मासुमा नमिस्सिने गरी सावधानी अपनाउनुपर्छ। कलेजो वा फोक्सोमा पानीका फोका, गिर्खा वा अस्वाभाविक दाग देखिएमा त्यसलाई नष्ट गर्नुपर्छ।
३. मासुको भण्डारण (Storage)
चिस्यानमा राख्ने: काँचो मासुलाई लामो समयसम्म तातो वा खुला ठाउँमा राख्दा कीटाणु तीव्र रूपमा फैलिन्छन्। मासु काटेको केही घण्टाभित्रै फ्रिज वा डीप-फ्रीजरमा राख्नुपर्छ।
काँचो र पकाएको मासु अलग राख्ने: काँचो मासुको रस/पानीले अन्य खानेकुरा वा पकाइसकेको मासुलाई दूषित बनाउन सक्ने भएकाले यिनलाई छुट्टाछुट्टै भाँडा वा प्लेटमा छोपेर राख्नुपर्छ।
४. पकाउने र उपभोग गर्ने तरिका
राम्ररी पकाएर मात्र खाने: मासुलाई भित्रैसम्म राम्ररी पाक्ने गरी पकाउनुपर्छ। अधकल्चो वा आधा काँचो मासु खाँदा परजीवी र कीटाणुहरू पेटमा पुगेर सङ्क्रमण गराउँछन्।
चिल्लो र मसला नियन्त्रण गर्ने: धेरै तेल, बोसो, पिरो र गढौं मसला प्रयोग गर्दा ग्यास्ट्रिक, अपच र झाडापखाला लाग्न सक्छ।
सन्तुलित खानपान: मासुको मात्रासँगै हरियो तरकारी, सलाद, फलफूल र पानी प्रशस्त पिउने गर्नुपर्छ।
५. दीर्घरोगीहरूका लागि विशेष सावधानी
उच्च रक्तचाप, मुटु र कोलेस्ट्रोलका बिरामी: बोसोयुक्त मासु, छाला, भुँडी, कलेजो, र रगत पकाएको (रक्ती) नखानु वा एकदमै कम खानु उचित हुन्छ।
युरिक एसिडका बिरामी: रातो मासु (राँगा, खसी, बोका) र भित्री अङ्गहरू बार्नुपर्छ।
मधुमेह (सुगर): मासुसँगै खाइने कार्बोहाइड्रेट (भात, चिउरा) र मदिरा वा गुलियो पेय पदार्थको मात्रामा नियन्त्रण गर्नुपर्छ।
(डा. केदार कार्की, डिवाइन पशु चिकित्सा अस्पतालका वरिष्ठ पशुचिकित्सक हुनुहुन्छ। )