दिपक पौडेल
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एउटा कार्यक्रममा विदेशमा रहेका नेपालीलाई CIA ले कब्जा गरेर घरमा भएका परिवारलाई घन्टीमा भोट राख्न लगायो भनेर भनेका थिए । त्यसको स्तर अनुसार चौतर्फी विरोध भएको देखिन्छ । यस विषयमा अराजनीतिक तत्वहरुले गालीको बर्षा नै गराएका छन् ।
एक समय यस्तो थियो केपी ओलीको विषयमा केही बोल्यो भने एमाले समर्थकहरुले गालीको वर्षा गराउने गर्दथे । उनीहरूलाई साइवर स्यालको संज्ञा दिइएको थियो । अहिले त्यो रोग रास्वपामा सरेको देखिन्छ ।
राजनीतिक विषयलाई राजनीतिक रुपमा खण्डन गर्न सकिन्छ । राजनीतिक विषयलाई गाली गलौज गरेर कस्तो संस्कारको विकास गर्न खोजिएको छ ? प्रश्न गम्भीर छ । हजुरबुबाको पार्टी, बुबाको पार्टी, आमाको पार्टी भनेर भन्ने नयाँ पुस्ताले एकाएक हजुरबुबा, हजुरआमा, बुबाआमालाई कसरी घण्टीमा भोट राख्न दबाब दिए ?
विषय सतही प्रकारको छैन । माक्र्सवादी दृष्टिले हरेक चिजको विकास र विनाशमा आन्तरिक पक्ष प्रधान हुन्छ भन्दछ । संसदवादी दलहरु कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायतको हारमा उनीहरूले अपनाउँदै आएको गलत क्रियाकलाप, गलत कार्यशैली, गलत राजनीति र व्यवहार प्रमुख कारण हो । उनीहरूले अपनाउँदै आएको गलत कार्यशैलीका कारण जनतामा उत्पन्न व्यापक असन्तुष्टिलाई सुचना संचार प्रविधिको प्रयोग गरेर जनताको मानसिकता कब्जा गरिएको थियो र छ । त्यो सहायक कारण हो ।
कतिपयले CIA ले कब्जा गर्यो भन्दा भौतिक रुपमा मात्रै कब्जा हुन्छ भनेर बुझेको देखिन्छ । भौतिक रुपमा गरिने कब्जा भन्दा मानसिक रुपमा गरिने कब्जा खतरनाक हुन्छ । निर्वाचन आयोगले रास्वपाको उम्मेदवार नै खारेज गरेको निर्वाचन क्षेत्रमा समेत सबैभन्दा धेरै भोट घण्टीमा आएको दृष्टान्तले यो कुरालाई प्रमाणित गर्दछ । मोबाइल सेवा उपलब्ध नभएका पहाडी क्षेत्रमा रास्वपाको मत तुलनात्मक रुपमा कम आउनुका पछाडिको कारण पनि त्यही हो ।
रास्वपा सभापति रवि लामिछानेले सांसदहरूलाई प्रशिक्षण दिने क्रममा रास्वपा कार्यकर्ता तथा समर्थकहरुलाई गालीगलौज नगर्न सुझाएका थिए । अराजकताले कब्जा गरेको मानसिकता यति सजिलोसँग परिवर्तन हुदैन । ढिलो वा चाडै रास्वपा विरुद्ध खनिने देखिन्छ ।
अराजकता साझा समस्या हो । कसैलाई छोड्नेवाला छैन । रास्वपाको खण्डन गर्ने पत्रकार, कलाकार ज्योति मगर, खुइली, विश्लेषक, नेता कार्यकर्ता सबै रास्वपाका अराजक कार्यकर्ताको शिकार भएको देखिन्छ । नेपाली साहित्यमा एउटा स्लोक छ "कसैको लोकमा छैन एकैनास समुन्नति, अरुको के कुरा हेर सन्ध्यामा सुर्यको गति" । परिस्थिति सधै एउटै हुदैन । प्रसंसाले गतल बाटोमा लैजान सक्दछ । आलोचनाले गलत बाटोमा जानबाट रोक्दछ । राजनीतिमा आलोचना सहने बानीको विकास गर्नु पर्दछ।
| रास्वपालाई जनताले भारी मतकासाथ विजय गराएका छन् । सिक्किममा जनताले मत दिएर नै सिक्किमको स्वतन्त्र अस्तित्व समाप्त भएको थियो । युक्रेनका जनताले एक कलाकारलाई मत दिएर जिताएका कारण युक्रेन अस्तव्यस्त भएको छ । रास्वपाको उदय र विकासमा विदेशी शक्ति केन्द्रको स्वार्थ जोडिएको विश्लेषण भइरहेको छ |
राजनीतिमा मुख्य कुरा दर्शन, सिद्धान्त, नीति, कार्यक्रम हुन्छ । रास्वपाको नीति, सिद्धान्त, दर्शन, कार्यक्रम के हो ? प्रष्ट छैन । घण्टी बजाएको भरमा जनताले दुईतिहाइ नजिक हुनेगरी भोट दिएका छन् । घण्टी बजाएको भरमा जनताको अपेक्षा उच्च देखिन्छ । जनताका अपेक्षा कसरी पूरा हुन्छ ? नेपालले अपनाउदै आएको अर्थ नीतिमा परिवर्तन हुन्छ वा हुन्न ? असंलग्न परराष्ट नीतिको निरन्तरता वा परिवर्तन ? अपनाउँदै आएको एक चीन नीतिमा निरन्तरता वा परिवर्तन ? भारतीय र चिनियाँ पक्षबाट हुने हस्तक्षेपको समर्थन वा बिरोध ? MCC कार्यान्वयनमा निरन्तरता वा खारेज ? SPP सम्बन्धि धारणा के ? भ्रष्टाचार नियन्त्रण वा निरन्तरता ? लगायत कैयैं महत्त्वपूर्ण पक्ष र सवाल रास्वपा अगाडि तेर्सिएर बसेका छन् । यसलाई रास्वपा सरकारले कसरी हल गर्दछ हेर्न बाँकी छ ।
हामीले रास्वपा सरकारले गर्ने जनपक्षीय कामको समर्थन र जनविरोधी कार्यको तिब्र विरोध गर्नु पर्दछ। कांग्रेस, एमाले लगायतका कार्यकर्ताले विगतमा पार्टीले जेजस्तो गरेपनि समर्थन गर्ने प्रवृत्तिलाई निरन्तरता दिन हुदैन ।
रास्वपा पार्टी बन्ने प्रक्रियामा छ । रास्वपाले अहिलेसम्म महाधिवेशन गरेको छैन । राजनीतिक सैद्धान्तिक रुपले पार्टी भित्र व्यापक छलफल चलेको छैन । महाधिवेशन कहिले हुन्छ र महाधिवेशनमा के हुन्छ ? अनुमान लगाउन हतार नगरौं । रास्वपाको विधान र राजनीतिक निर्णयमा रास्वपाको केन्द्रीय समितिमा समेत छलफल चलेको देखिन्न । निश्चित व्यक्तिलाई शक्तिशाली बनाएको देखिन्छ । पार्टीको केन्द्रीय सदस्य पार्टीले के निर्णय गर्छ ? कुरेर बस्नुपर्ने अवस्था छ । नेतृत्वले गरेको निर्णय ठिक भएन भन्ने अधिकार केन्द्रीय सदस्यलाई छैन । यसरी पार्टीलाई निश्चित ब्यक्तिको प्रा.लि. बनाउन भइरहेको प्रयत्न रास्वपा कार्यकर्ताले पत्तो पाउन पर्दछ।
विधानमा व्यापक जनवादको उल्लेख गरिएको थियो । बालेनलाई प्रधानमन्त्री बनाउन विधानलाई कसरी संशोधन गरिदैछ ? रास्वपा नेता कार्यकर्ताले ध्यान पुर्याउन पर्दछ । केपी ओलीलाई विधान संशोधन गरेर आफै अध्यक्ष भएको आरोप लगाएका थियौँ । निर्वाचनमा उम्मेदवार बन्ने सम्पुर्ण प्रक्रिया बालेन संगको एकताले ध्वस्त पारेको थियो । उम्मेदवार बन्न आर्थिक चलखेल भएको भनेर आएका समाचार सत्य हुन वा असत्य पार्टी भित्र छानवीन हुन्छ वा हुन्न ? कार्यकर्ताले प्रश्न उठाउन पर्दछ ।
रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगी, संगठित अपराध लगायतका मुद्दा खेपिरहेका छन् । उनी भ्रष्ट हुन् वा होइनन् ? अदालतले फैसला गर्ने कुरा हो । यो संविधान तथा व्यवस्था मान्ने पार्टीले अदालतलाई मान्न पर्दछ । रवि लामिछाने विरुद्ध फैसला भयो भने पुर्वाग्रह भयो भन्नु अर्को भ्रष्टाचार हुनेछ ।
भारतमा आम आदमीका नेता केजरीवाल लगायतका व्यक्तिले भ्रष्टाचारको मुद्दामा धेरै बर्षपछि सफाइ पाएका छन् । उनीहरुले आफुले भ्रष्टाचार नगरेको भनेर हस्ताक्षर अभियान कहिल्यै चलाएनन्अ । अदालती प्रक्रिया मात्रै पूरा गरेका थिए ।आशा गरौं रविलाई अदालतले सफाइ दिनेछ । यदि दोषी प्रमाणित गर्यो भने अस्विकार गर्ने कष्ट उठाउन जरुरी छैन ।
रास्वपालाई जनताले भारी मतकासाथ विजय गराएका छन् । सिक्किममा जनताले मत दिएर नै सिक्किमको स्वतन्त्र अस्तित्व समाप्त भएको थियो । युक्रेनका जनताले एक कलाकारलाई मत दिएर जिताएका कारण युक्रेन अस्तव्यस्त भएको छ । रास्वपाको उदय र विकासमा विदेशी शक्ति केन्द्रको स्वार्थ जोडिएको विश्लेषण भइरहेको छ । मुख्य गरेर क्एए संझौता गराउन र एक चिन नीति विरुद्ध काम गर्न रास्वपा गठन गरिएको गम्भिर आरोप छ । यो आरोपको खण्डन व्यवहारले गर्नु पर्दछ । यदि भइरहेको विश्लेषण अनुसार रास्वपा अगाडि बढ्न खोजेमा रास्वपा कार्यकर्ता तथा समर्थक त्यसको विरुद्धमा उत्रनु पर्दछ ।