२३ पौष, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिका वडा न. ४ अस्नैया स्थित रुद्रपुर माध्यमिक विद्यालयले “विना शिक्षा अध्यारो समाज, घर घरमा पुर्याऔं प्राविधिक शिक्षाको आवाज” भन्ने मुल नाराका साथ स्वर्णमहोत्सव शुरु भएको छ। स्वर्णमहोत्सवको उदघाटन लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री भूमिश्वर ढकालले गर्नुभयो।
विद्यालय स्थापनाको ५० औं वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको ४ दिने स्वर्णमहोत्सवको उदघाटन गर्दै मन्त्री ढकालले शिक्षाको विकास नै समाज विकासको मूल आधार भएको उल्लेख गर्नुभयो। शैक्षिक प्रगतिका लागि सबै एकजुट हुनुपर्ने बताउदै मन्त्री ढकालले भन्नुभयो “यो विद्यालय एउटा रुखको छहारीबाट शुरु भएर आज ५० वर्षमा पुग्दैछ यो ५० औं वर्षमा यस विद्यालयले अनेकौं आँधीहुरी सहन परेको छ। अनेकौँ दुःख कष्टहरूलाई र समस्याहरूलाई झेल्दै आज यो चरणमा आइपुगेको छ म यो विद्यालयलाई शुभकामना दिन चाहन्छु।” यस विद्यालयले शिक्षाको क्षेत्रमा महत्वपूर्ण फड्को मार्न सकोस् र रुद्रपुर माविको अलग्गै पहिचान बनाउन सफल होस् र शिक्षाको क्षेत्रमा एउटा महत्त्वपूर्ण कोशेढुङ्गा सावित हुनेगरी यसले आफूलाई अगाडि बढाउन सकोस् भन्दै मन्त्री ढकालले शुभकामना व्यक्त गर्नुभयो ।
स्थापनाकाल देखि अहिलेसम्म विद्यालयको यो अवस्थासम्म ल्याउन अतुलनीय योगदान गर्ने अग्रज, अभिभावक, विद्यार्थी, शिक्षक तथा शुभेच्छुहरू प्रतिपनि मन्त्री ढकालले धन्यवाद व्यक्त गर्नुभयो । विद्यालय एक पवित्र स्थल हो जसले हाम्रा सन्ततिहरूको भाग्य र भविष्यलाई कस्तो बनाउने भन्ने विषयको निर्धारण गर्दछ र विद्यालयलाई जति राम्रो बनाउन सकियो त्यति नै हाम्रा सन्ततिहरूको भाग्य र भविष्य राम्रो बनाउन सकिने मन्त्री ढकालले जिकिर गर्नु भयो । मन्त्री ढकालले बिधालयमा निमार्णधिन अवस्थामा रहेको सभाहल निर्माणको लागि आवश्यक पर्ने बजेटलाई आगामी बजेटहरुमा पनि निरन्तरता दिने प्रतिबद्धता समेत जनाउदै यस विद्यालयमा निर्माणाधिन अवस्थामा रहेको प्रदेश स्तरीय सुस्त मनःस्थिति आवास सहितको भवनका लागि आफु यस क्षेत्रको जनप्रतिनीधि भएपछि बजेट व्यबस्थापन भएको स्मरण गराउनु भयो।
कृषिसँग जोडिएर कृषि प्राविधिकधारको शिक्षालाई अगाडि बढाउन र गाउँँगाउँमा कृषिको आधुनिकरण गर्ने कृषिको विकास गर्ने हुदाँ आफ्ना सन्ततिहरूले कृषिको बारेमा जरै देखि बुझेर भोलि हाम्रो कृषि प्रधान देशलाई अझै अगाडि बढाउन र कृषिमा आत्मनिर्भर बनाउन कृषि प्राविधिक शिक्षा संचालनको उद्धेश्यलाई पुरा गर्न विद्यालयसंगसंगै रहेर प्रयत्न गर्ने प्रतिवद्धता जनाउनु भयो ।
स्वर्णमहोत्सव मूल समारोह कार्यक्रमका बिशिष्ट अतिथी तथा कञ्चन गाँउपालिकाका अध्यक्ष नवराज ढकालले शिक्षाको क्षेत्रमा भौतिक पूर्वाधार सम्पन्न गर्न र शैक्षिक गुणस्तरलाई अभिवृद्धि गर्ने गरी दुईवटा कार्यक्रमहरूसँगै लगेको स्मरण गर्दै आफू गाउँपालिका अध्यक्ष भइसकेपछि यस बिधालयमा दुई कोठे भवन निर्माणको लागि बजेट व्यवस्थापन गरेको बताउनु भयो। स्थानिय सरकार संग पर्याप्त बजेट नभएको हुदँ ठूला योजनाहरू ल्याउनको लागि प्रदेश सरकार र संघीय सरकारसँग सहकार्य गर्दै आइरहेको समेत अध्यक्ष ढकालले बताउनु भयो । विद्यालयको पुर्व शिक्षक समेत भएर विद्यालय र यस क्षेत्रको सेवा गर्ने अवसर समेत पाएको स्मरण गर्दै अध्यक्ष ढकालले समाजलाई समाज र चेतनशिल बनाउन शिक्षा अनिवार्य बिषय भएको र चेतनशिल समाजले मात्र बिकास के हो भन्ने कुराको बिश्लेषण गरेर भइरहेको बिकासको दिगोपनमा ध्यान दिने बताउनु भयो।
बिधालयका प्रधानाध्यापक डोलाराम पौडेलले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक पौडेलले विद्यालयको स्वर्णमहोत्सवले हरेक अभिभावक, शिक्षक, विद्यार्थी, शिक्षाप्रेमी, स्थानीयहरुमा प्राविधि शिक्षा संचालन प्रतिको आकर्षण र उत्साह बढेको बताउनु भयो। स्वर्णमहोत्सवको अवसरमा प्राविधिक शिक्षा संचालनका लागि घर घरमा अभियान संचालन गर्दा शुभेच्छुकहरुबाट प्राप्त भएको आर्थिक, भौतिक, नैतिक सहयोग, सदभाव र सहकार्य प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै प्राविधिक शिक्षा संचालनका लागि पालिका, प्रदेश हुदै संघीय सरकारसंग आवस्यक पहलका जनप्रतिनीधिहरु समक्ष प्रधानाध्यापक पौडेलले आग्रह समेत गर्नुभयो।
कार्यक्रममा पूर्व विद्यार्थी समाजको पहल तथा पूर्व विद्यार्थी ज्योति विकास बैंकका सि.ई ओ. कपिल ढकालको नेत्त्वमा प्राप्त भएको स्मार्ट तथा डिजिटल बोर्ड ज्योति विकास बैंक मुर्गिया शाखाले मुर्गिया शाखाका प्रवन्धक कपिल न्यौपानेले विद्यालयका प्रधानाध्यापक डोलाराम पौडेल र विद्यालय व्यबस्थापन समितिका अध्यक्ष चिरञ्जीवी खनाललाई हस्तान्तरण गर्नुभएको थियो।
विद्यालयका सहायक प्रधानाध्यापक ध्रुव पौडेलले विद्यालयको स्वर्णमहोत्सवले शिक्षक, कर्मचारी, विद्यार्थी, अभिावक तथा शिक्षा प्रेमीहरुमा उर्जाशिल बनाएको र विद्यालयमा प्राविधिक शिक्षा संचालन गर्ने अभिभावकहरुको इच्छालाई विद्यालयको तर्फबाट पुरा गर्न हरदम प्रयासरत रहने प्रतिवद्धता व्यक्त गर्दै त्यसका लागि आगामी दिनहरुमा पनि सबैपक्षको सहयोग र सहकार्यको अपेक्षालाई साथ दिनुहुने छ भन्ने विश्वास व्यक्त गर्नु भयो।
विद्यालयका शिक्षक गोपाल पौडेलको संचालनमा भएको कार्यक्रममा कार्यपालिका सदस्य चित्रलाल तुलाचन, राजनैतिक दलहरुको तर्फबाट नेपाली कांग्रेसका देविराम रेग्मी, सामुदायिक विद्यालयहरुको तर्फबाट हरैया माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा पुर्व विद्यार्थी मेघनाथ पौडेल, शिक्षक महासंघको तर्फबाट विद्यालयका पुर्व सहायक प्रधानाध्यापक प्रकाश आचार्य, सामुदायिक विद्यालय व्यबस्थापन समिति महासंघको तर्फबाट मेघनाथ पौडेल, सामुदायिक बनहरुको तर्फबाट रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष हिमाल थापा, हरैया बहुमखी क्याम्पस संचालक समितिका अध्यक्ष टीकाराज गिरी, पूर्व विद्यार्थी समाज, रुद्रपुर मा.वि.का अध्यक्ष डा. सुमन आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।
विभिन्न संघसंस्था, विद्यार्थी तथा टोल विकास संस्थाहरुद्वारा स्थानीय झांकी सहित सांस्कृतिक र्याली (प्रभातफेरी) सहित शुरु भएको स्वर्णमहोत्सवमा १ लाख भन्दा माथी आर्थिक तथा भूमिदान गर्ने दाताहरु, पूर्व प्रधानाध्याकप, विद्यालयका संस्थापक, पूर्व प्रधानाध्यापकहरुलाई सम्मान गरिएको थियो। कक्षा १२ सम्म नेपाली र अंग्रेजी दुबै माध्यमबाट पढाइ हुने रुद्रपुर माध्यमिक विद्यालयमा हाल ७०० जना विद्यार्थी अध्ययनरत छन ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री भूमिश्वर ढकालले विद्यालयको स्वर्ण स्तम्भको अनावरण र स्मारिका पत्र रुद्रपुर दर्पण लोकार्पण समेत गर्नु भयो।