
डा. केदार कार्की
बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली (न्यून चापीय प्रणाली / गहिरो न्यून चापीय क्षेत्र)का कारण नेपालमा मनसुनी गतिविधि पुनः सक्रिय भई विभिन्न प्रभाव पर्न सक्ने मौसमविद् तथा जल तथा मौसम विज्ञान विभागले सम्भावना व्यक्त गरेका छन्। मौसमविद्हरूका अनुसार, बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण सेप्टेम्बर २४ देखि २७ को आसपासमा नेपालभर वर्षा हुन सक्छ; यस क्रममा लुम्बिनी, मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा अझ बढी तीव्रताको वर्षा हुने सम्भावना छ। उनीहरूले बताएअनुसार यो प्रणाली अझै प्रारम्भिक चरणमै छ र यसले चक्रवातको रूप लिइसकेको छैन, यद्यपि पर्याप्त आर्द्रता र ऊर्जा प्राप्त गरेसँगै यो चक्रवाती आँधीमा परिणत हुन सक्छ।
दक्षिण-पश्चिम मनसुनको समयमा वर्षाको वितरणमा न्यून चापीय प्रणालीहरू (जस्तै: न्यून चापीय क्षेत्र, डिप्रेसन वा चक्रवाती आँधी) ले महत्त्वपूर्ण भूमिका खेल्छन्। सीमित क्षेत्रमा भारी वर्षा गराउने चक्रवाती वा भीषण चक्रवाती आँधीको तुलनामा न्यून चापीय क्षेत्र वा डिप्रेसनहरूले व्यापक क्षेत्रमा वर्षा गराउँछन्। मनसुनी वर्षाको वितरण न्यून चापीय प्रणालीहरूको गति र तिनको समयावधिमा निर्भर गर्दछ। बंगालको खाडीमा विकसित हुने अधिकांश न्यून चापीय प्रणालीहरू उत्तर-पश्चिम दिशातिर अघि बढ्छन् र यसले देशका ठूला भू-भागहरूमा वर्षाको गतिविधिलाई बढावा दिन्छन्। न्यून चापीय प्रणालीले मनसुनी न्यून चापीय रेखा (मनसुन ट्रफ) लाई सामान्य अवस्थामा कायम राख्न मद्दत गर्छ र मनसुनी गतिविधिलाई सक्रिय बनाउँछ।
उष्णकटिबंधीय चक्रवातहरू विश्वका सबैभन्दा घातक प्राकृतिक प्रकोप हुन्, जसले अनगिन्ती मानवीय क्षति र सम्पत्तिको विनाश निम्त्याउँछन्। विश्वव्यापी जलवायु परिवर्तनका कारण समुद्री तापक्रममा उल्लेखनीय वृद्धि भइरहेको छ, जसले गर्दा विश्वभर चक्रवातहरूको आवृत्ति र तीव्रता बढ्दै गएको छ। हरेक वर्ष, ८० देखि १०० वटा विनाशकारी उष्णकटिबंधीय चक्रवातहरूले विश्वका विभिन्न भागहरूमा असर पुर्यानउँछन्; यसबाट करिब २०,००० मानिसहरूको मृत्यु हुन्छ र ६ देखि ७ अर्ब अमेरिकी डलर बराबरको ठूलो आर्थिक क्षति हुने अनुमान गरिन्छ। सुन्दरवन क्षेत्रका तटीय बासिन्दाहरूले उष्णकटिबंधीय चक्रवात र त्यसपछिका असरहरू—जस्तै तटबन्ध भत्किने, बाढीको डुबान, नुनिलो पानीको प्रवेश र कृषि भूमिमा पानी जम्ने समस्या—बाट निकै सास्ती भोग्नुपर्छ। भारतको कुल जनसंख्याको ४० प्रतिशत हिस्सा तटीय क्षेत्रको १०० किलोमिटरभित्र बसोबास गर्छ र हरेक वर्ष करिब ३४ करोड (३४० मिलियन) मानिसहरू उष्णकटिबंधीय चक्रवातबाट नराम्ररी प्रभावित हुने गरेका छन्। बंगालको खाडी र अरब सागर भारतीय उपमहाद्वीपको पूर्वी र पश्चिमी तटमा चक्रवात उत्पन्न हुने मुख्य क्षेत्रहरू हुन्। विश्वभरका कुल चक्रवात घटनाहरूमध्ये ७ देखि १० प्रतिशत उत्तर हिन्द महासागर क्षेत्रमा रेकर्ड गरिएका छन्। यद्यपि, अरब सागरको तुलनामा बंगालको खाडीमा चक्रवातको गतिविधि बढी देखिन्छ, जसले भारतका ओडिसा, पश्चिम बंगाल, तमिलनाडु र आन्ध्र प्रदेश राज्यहरूलाई नराम्ररी प्रभावित पार्छ।
पछिल्ला दुई दशकहरूमा, सन् २००७ को नोभेम्बरमा आएको 'सिडर', २००९ को मेमा 'आइला', २०१९ को मेमा 'फानी' (, २०१९ को नोभेम्बरमा 'बुलबुल', २०२० को मेमा 'अम्फान', २०२१ को मेमा 'यास' र २०२२ को अक्टोबरमा 'सित्रङ' जस्ता उष्णकटिबंधीय चक्रवातहरूले भारत र बंगलादेश दुवैतर्फका सुन्दरवन क्षेत्रका तटीय समुदायहरूको जनजीवन र जीविकोपार्जनमा विनाशकारी प्रभाव पारेका छन्। चक्रवातका कारण उत्पन्न यी तटीय विपद्हरूले हजारौंको ज्यान लिनुका साथै करोडौं डलर बराबरको आर्थिक क्षति पनि पुर्याहएका छन्। तसर्थ, चक्रवातजन्य विपद्हरूसँग सम्बन्धित जोखिमको स्तरलाई न्यूनीकरण गर्न प्रभावकारी जोखिम न्यूनीकरण रणनीतिको आवश्यकता अपरिहार्य छ।
बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतर्फ प्रवेश गर्दा देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम र केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहन्छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा बढी वर्षा हुने र तराईका क्षेत्रमा समेत असर पर्ने देखिन्छ। पहाडी तथा दुर्गम क्षेत्रमा लगातारको वर्षाका कारण भूस्खलन र पहिरोको जोखिम उच्च हुन्छ। साना-ठूला नदी तथा खोलामा जलसतह बढ्ने, नदी तटीय क्षेत्रमा बाढी आउने र शहरी क्षेत्रमा डुबानको समस्या हुन सक्छ। पाक्न लागेको वा काट्ने समय भएको धान बाली तथा अन्य अन्नबालीमा भारी वर्षा र हुरीबतासले ठूलो क्षति पुर्याोउन सक्छ।पहिरोका कारण राजमार्गहरू अवरुद्ध हुने र भिजिबिलिटी (दृश्यता) कम हुँदा आन्तरिक उडानहरू प्रभावित हुन सक्छन्। मौसम खराब हुने दिनहरूमा विशेषगरी भिरपखेरा र पहिरो जाने क्षेत्रमा यात्रा गर्दा जोखिम बढ्छ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको अद्यावधिक बुलेटिन नियमित हेर्नुपर्ने हुन्छ।नदी किनार वा पहिरोको जोखिम भएका ठाउँमा बस्नेहरूले पूर्वसावधानी अपनाउनुपर्ने हुन्छ।धान वा अन्य बाली काट्ने तयारीमा हुनुहुन्छ भने मौसम स्थिर नभएसम्मका लागि रोक्नु वा सुरक्षित ठाउँमा थन्क्याउनु उपयुक्त हुन्छ।
बङ्गालको खाडीमा विकसित हुने जलवाष्पयुक्त न्यूनचापीय प्रणाली वा चक्रवात (चक्रवाती प्रणाली)ले नेपाल प्रत्यक्ष तटीय रेखामा नपरे तापनि यसको भू-उपग्रह प्रभावका कारण देशका अधिकांश भूभागमा जलमौसमजन्य विपद्को ठूलो जोखिम निम्त्याउँछ।
यस प्रणालीले नेपालमा पार्ने चक्रवात-प्रेरित जोखिम, जीविकोपार्जनमा आउने चुनौतीहरू र तिनको न्यूनीकरणका उपायहरूको विस्तृत विवरण निम्न अनुसार छ:
१. चक्रवात-प्रेरित जोखिमहरू :
अति भारी वर्षा र जल-उत्पन्न विपद्: चक्रवातबाट निसृत जलवाष्प नेपालको मनसुनसँग मिसिँदा वा उत्तर-पश्चिम सर्दा देशभर (विशेषगरी पूर्वी र मध्य क्षेत्र) छोटो समयमै अति भारी वर्षा गराउँछ।
पहिरो र भूस्खलन: पहाडी तथा हिमाली भूभागमा माटो संतृप्त भई भीषण पहिरो, ढिस्को खस्ने र गेग्रान बहाव को जोखिम उच्च हुन्छ।
बाढी र अकस्मात आउने बाढी:साना-ठूला नदी, खोला तथा चुरेबाट बग्ने खहरेहरूमा आकस्मिक बाढी आई तराई तथा उपत्यका क्षेत्रमा डुबान हुन्छ।
हिमपात र हिमपहिरो: उच्च हिमाली क्षेत्रमा अस्वाभाविक रूपमा भारी हिमपात र हिमपहिरो जाने हुँदा पर्वतारोही र पदयात्रीहरू जोखिममा पर्छन्।
हुरीबतास र चट्याङ: प्रणालीको प्रभावले तीब्र गतिको हावाहुरी चल्ने र चट्याङ पर्ने सम्भावना बढ्छ।
२. जीविकोपार्जनमा आउने चुनौतीहरू :
कृषि तथा पशुपालन क्षेत्रमा क्षति:
पाक्न लागेको वा काटेर राखेको धान तथा अन्य खाद्यान्न बाली नष्ट भई कृषकहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्छ।
तरकारी खेती, फलफूलका बगैँचा र पशुधन (गाई, भैँसी, बाख्रा) बाढी-पहिरोमा पर्दा कृषकको दैनिक आयस्रोत ठप्प हुन्छ।
भौतिक पूर्वाधार र सडक सञ्जाल ठप्प:
राजमार्ग र ग्रामीण सडकहरू पहिरोले पुरिँदा गाउँ र सहरको सम्पर्क विच्छेद हुन्छ।
विद्युत्, टेलिफोन र इन्टरनेटका पोल तथा तार ढाल्दा सञ्चार र ऊर्जा सेवा अवरुद्ध हुन्छ।
खाद्य असुरक्षा र बजार आपूर्तिमा बाधा: सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति रोकिन्छ, जसले गर्दा दुर्गम क्षेत्रमा खाद्य संकट र मूल्यवृद्धि हुन्छ।
विस्थापन र बसोबासको समस्या: बाढी र पहिरोले घर-खेत बगाउँदा गरिब तथा सीमान्तकृत समुदाय घरबारविहीन भई अस्थायी शिविरमा शरण लिन बाध्य हुन्छन्।
स्वास्थ्य तथा सरसफाइमा असर: दूषित पानीका कारण हैजा, झाडापखाला, डेङ्गु, र टाइफाइड जस्ता जलजन्य र कीटजन्य रोगहरूको प्रकोप फैलिने जोखिम रहन्छ।
३. न्यूनीकरणका उपायहरू (न्यूनीकरण तथा पूर्वतयारीका उपायहरू)
(क) अल्पकालीन तथा तत्काल गरिने उपायहरू :
पूर्वसूचना प्रणाली : जल तथा मौसम विज्ञान विभाग को बुलेटिन र मोबाइल एसएमएस सतर्कता लाई ध्यानपूर्वक पछ्याउने र उच्च जोखिम क्षेत्रमा तत्काल सूचना पुर्यासउने।
बाली बचाउ रणनीति: कृषि प्राविधिकको परामर्शमा पाकिसकेको बाली मौसम बिग्रनुअघि नै सुरक्षित रूपमा भित्र्याउने वा नकाटिएका बालीलाई जोगाउन निकासको व्यवस्था गर्ने।
खोज तथा उद्धार: सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी) तथा स्थानीय विपद् व्यवस्थापन समितिलाई तयारी अवस्थामा राख्ने।
अस्थायी आश्रयस्थल र राहत: बाढी र पहिरोको उच्च जोखिममा रहेका परिवारलाई पहिले नै सुरक्षित स्थान (विद्यालय, सामुदायिक भवन) मा सार्ने र खाद्यान्न, औषधि एवं स्वच्छ खानेपानीको जोहो गर्ने।
(ख) दीर्घकालीन तथा संरचनात्मक उपायहरू :
उत्थानशील पूर्वाधार: पहाडी क्षेत्रमा सडक निर्माण गर्दा वातावरणमैत्री (बायो-इन्जिनियरिङ)प्रविधि अपनाउने र तराईमा तटबन्ध निर्माण गर्ने।
भूमि उपयोग नीति: नदी तटीय क्षेत्र र तीव्र ढाल भएका पहिरोग्रस्त क्षेत्रमा बस्ती विकास गर्न पूर्ण प्रतिबन्ध लगाउने।
विपद् जोखिम बीमा (बाली तथा पशुपन्छी बीमा): किसानहरूलाई जलवायु परिवर्तन र प्रकोपबाट हुने क्षतिपूर्तिको लागि कृषि तथा पशु बीमा दायरामा ल्याउने।
स्थानीय क्षमता अभिवृद्धि: समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन तालिम दिई स्थानीय तहलाई स्रोत र साधनले सम्पन्न बनाउने।