१३ पुस, कञ्चन
रुपन्देहीको जिल्ला कञ्चन गाउँपालिकाको सबैभन्दा पुरानो सामुदायिक बिद्यालय भैसाही माध्यमिक विद्यालय, कञ्चन ५ भैसाहीको ६२ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।
विद्यालयको वार्षिक उत्सव तथा अभिभावक दिवस अवसरमा संचालित खेलकुद सप्ताह तथा पुरस्कार वितरणको शुभाम्भ गर्दै कञ्चन गाउँपालिका वडा नं. ५ क वडा अध्यक्ष कुल प्रसाद पौडेलले शिक्षा विना सचेत समाजको परिकल्पना गर्न नसकिने कुरा बताउनु भएको छ। समाजको सामाजिक, सांस्कृतिक, आर्थिक तथा भौैतिक बिकासमा एकरुपता ल्याउन र हरेक बिकासको दिगो र अपनत्व लिने सोंचको बिकास गर्न सबैभन्दा पहिले शिक्षा अनिवार्य रहेको कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका वडा अध्ययक्ष कुल प्रसाद पौडेलले बताउनु भयो।
कार्यक्रममा विद्यालयको पुर्व प्रधानाध्यापक तथा हरैया बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष टीकाराज गिरीले मानिसको तेश्रो आँखाको रुपमा लिइने शिक्षाको ज्योति छर्ने र समाजलाई उज्यालोतर्फ डोर्याउने उद्धेश्यका साथ स्थापना गरिएको यस विद्यालयका विद्यार्थी, अभिभावक र सरोकारवालाहरुको सकृयता र अथक मेहनतको प्रतिफलको रुपमा विद्यालयले ६२ औं वार्षिक उत्सव रहेको बताउनु भयो। आफुले विद्यालयको नेतृत्व गर्दासम्म सबैपक्षबाट प्राप्त सहयोग, सहकार्य र समन्वयलाई आफ्नो जीवनको अमुल्य सिकाई र साथको रुपमा लिएको र आगामी दिनहरुमा विद्यालयले शैक्षिक तथा भौतिक रुपमा समाजको ध्यान केन्द्रित गर्नेगरी आफुलाई स्थापित गर्नेछ भन्ने विश्वास पुर्व प्रधानाध्यापक गिरीले व्यक्त गर्नु भयो।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति देविराम रेग्मी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति प्रेमचन्द्र पोख्रेलले विद्यालयको शैक्षिक गुणस्तर र विद्यालयलाई ज्ञान विज्ञानको सिकाई केन्द्रको रुपमा स्थापित गर्न विद्यालयका अभिभावक, शिक्षक, विद्यार्थी र सरोकारवालाहरुको भुमिका फराकिलो बनाउनु पर्नेमा जोड दिनु भएको थियो। कञ्चनको पुरानो सामुदायिक विद्यालयको रुपमा रहेपनि विद्यालबाट संचालन हुने शैक्षिक कृयाकलापहरुले अझैपनि परिपक्वता देखाउने वातावरण श्रृजना गर्न नसक्नु हामी सबै जिम्मेवार पक्षहरुको कमी हो भन्ने महासुस गरेको वक्ताहरुले बिचार व्यत्त गर्नु भएको थियो।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष बिष्णु थारुले विद्यालय स्थापिना भएदेखि ६२ बर्षसम्म पुग्दा समेत राज्य र राज्यका सरोकारवाला निकायहरुको भैसाही माध्यमिक विद्यालयमाथी सकारात्मक नजर वर्न नसकेको टिप्पणी गर्नु भएको थियो। "विद्यालयको भौतिक तथा शैक्षिक स्तर जे जति अवस्थामा उकासिएको छ ती सबै स्थानीयहरुको बलवुटाले मात्र भएको" भन्दै व्यबस्थापन समितिका अध्यक्ष थारुले राज्य पुनः संरचना पश्चात स्थापना भएको स्थानीय सरकारको रुपमा रहेको कञ्चन गाउँपालिकाले पनि शैक्षिक क्षेत्रमा लगानी गर्दा पक्षपाती दृष्टिकोणका साथ हरेक बर्ष एउटै विद्यालयमा मात्र लगानी गर्दै आएको प्रति पनि दुखेसो व्यक्त गर्नु भयो।
विद्यालयका प्रधानाध्यापक भेषराज पोख्रेलले विद्यालयको शैक्षिक तथा बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा विद्यालयका पुर्व शिक्षकहरु भक्त बहादुर कार्की र जित बहादुर पुनले समेत विद्यालयको शैक्षिक, भौतिक, आर्थिक तथा सामाजिक र सांस्कृतिक बिकास गर्नमा सबैको साथ, सहयोग र सहकार्य प्राप्त गर्ने विश्वास व्यक्त गर्नु भएको थियो।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष बिष्णु थारुको अध्यक्षता, शिक्षक छविलाल भूसालको संचालन तथा हुमलाल घिमिरेको स्वागतमा भएको कार्यक्रममा विद्यार्थीहरुद्वारा तयार गरेका विज्ञान प्रयोगशाला तथा विभिन्न शैक्षिक सामग्रीहरुको समेत प्रदर्शन गरिएको थियो।
कार्यक्रममा लोकगीत नृत्य प्रतियोगिता, बिभिन्न खेलकुदहरुमा उत्कृष्टता हासिल विद्यार्थीहरुलाई सम्मान, विद्यालयमा नियमित अनुगमनमा आउने अभिभावकहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको कार्यक्रमा अभिभावकहरु बिच विभिन्न खेलकुद प्रतियोगिता समेत संचलन गरिएको थियो।