२४ मंसिर, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकामा जेष्ठ नागरिकहरुका लागि निःशुल्क हार्ड, जोर्नी तथा नसा रोग परिक्षण शिविर संचालन गरिएको छ। कञ्चन गाउँपालिका वडा नं. ४ को आर्थिक सहयोग तथा कञ्चन सूचना तथा सञ्चार केन्द्र, कञ्चन ४ रुपन्देहीको आयोजनामा भएको स्वास्थ्य शिविरमा १२५ जना जेष्ठ नागरिकहरुले सेवा लिएका थिए।
शिविरको शुभारम्भ गर्दै कञ्चन गाउँपालिका वडा नं. ४ का कार्यवाहक वडा अध्यक्ष तुल बहादुर गुरुङ्गले हरेक जिवित प्राणीहरुको सबैभन्दा ठूलो जीवन भनेको स्वास्थ्य भएकोले वडा कार्यालयले चाल आर्थिक बर्षको नियमित कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम संचालन गरिएको बताउनु भयो। प्राय जेष्ठ नागरिकहरुको मुख्य समस्या हार्ड, जोर्नी, घुँडा, नसाको समस्या हुने भएकोले ती समस्या भएका जेष्ठ नागरिकहरुलाई आफ्नो स्वास्थ्य परिक्षणका लागि टाढा जान नपरोस भन्ने उद्धेश्यका साथ गाउँमै शिविर संचालन गरेर सुविधा उपलब्ध गराइएको समेत कार्यवाहक वडा अध्यक्ष गुरुङ्गले बताउनु भयो।
यस्तै कार्यपालिका सदस्य सुशिला थापाले मानिसको सबैभन्दा ठूलो धन भनेको स्वास्थ जीवन भएकाले वडाले बिशेष कार्यक्रमको रुपमा स्वास्थ्य शिविर संचालन गर्न कञ्चन सूचना तथा सञ्चार केन्द्रसंग सहकार्य गरिएको बताउनु भयो। स्वास्थ्य शिविर संचालन गरेर जेष्ठ नागरिकहरुको सेवा गर्न पाएकोमा वडा कार्यलय र जनप्रतिनीधिहरुमा गर्वानुभूति भइरहेको कार्यपालिका सदस्य थापाले बताउनु भयो।
रुद्रपुर स्वास्थ्य चौकीको सहकार्यमा संचालन गरिएको शिविरमा चौराह हस्पिटल, बुटवल ११ रुपन्देहीका वरिष्ठ हार्ड, जोर्नी तथा नसा रोग बिशेषज्ञ डा. सुनिल कुमार चौधरीले जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गर्नु भएको थियो। कार्यक्रममा वडा सचिव चक्रपाणी पौडेलले जेष्ठ नागरिकहरुलाई लक्षित गरेर संचलन गरिएको स्वास्थ्य शिविरको औचित्यता र त्यसले पार्ने दुरगामी प्रभावका बारे बिचार व्यक्त गर्नु भएको थियो।
प्रगतीटोल बिकास संस्थाका अध्यक्ष कृष्ण बहादुर बि.क.को अध्यक्षतामा भएको शिविर शुभारम्भ कार्यक्रममा चौराह हस्पिटलका सूचना अधिकृत जनक कुवँर, श्रृजना प्राविधिक आमा समूहका अध्यक्ष रेनु खत्री, धौलागिरी मेडिकल हलका दिपेन्द्र रिजालले समेत गाउँ गाउँमा स्वास्थ्य शिविर संचालन गर्नु सहज नभएपनि सेवा नै धर्म हो भन्ने मुलमन्त्रलाई आत्मसात गरेर गरिने हरेक कार्यहरुले सदैव सफलता प्राप्त गर्ने बिचार व्यक्त गर्नु भएको थियो।
श्रृजना प्राविधिक आमा समूह, कञ्चन ४ प्रगतीटोल रुपन्देहीको सभाहलमा भएको शिविरमा चौराह हस्पिटल, धौलागिरी मेडिकल हल, कञ्चन ३ रुपन्देही र तपोवन ड्ररग हाउस, बुटवलको प्राविधिक सहयोग रहेको थियो। शिविरमा ७० जना जेष्ठ नागरिकहरुको ल्याव परिक्षण समेत गरिएको थियो। शिविरमा स्वास्थ्य परिक्षण गराएका सबै जेष्ठ नागरिकहरुलाई निःशुल्क औषधी वितरण तथा ७० जना जेष्ठ नागरिकहरुको समेत निःशुल्क ल्याव परिक्षण तथा समेत गरिएको थियो।