१८ असोज, कञ्चन
रुपन्देहीको कञ्चन गाउापालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ। पालिको आर्थिक बर्ष २०८१/०८२ अन्तर्गत प्रथम चौमासिकको अवधीमा भए गरेका कार्यक्रम तथा योजनाबारे सार्वजनिक सुनुवाई गरेको हो।
कार्यक्रममा क्षेत्री टोल बिकास संस्थाका अध्यक्ष भूपेन्द्र आचार्य, थकालीचोक टोल बिकास संस्थाका अध्यक्ष नन्द बहादुर खडकाथोकी, दियो धावा टोल बिकास संस्थाका अध्यक्ष केशव बहादुर गाहा, सरोकारवालाहरु प्रकाश छन्त्याल, धनराज राहादी, प्रेम नारायण पाण्डे, श्रीकान्त बसौला, शेर बहादुर श्रीस, लिलाराम खनाल, देविराम रेग्मी लगायतले कञ्चन गाउँपालिकाबाट संचालन भएको सेवा प्रवाह, योजना, कार्यक्रम, प्रशासनिक सुशासन, कृषि, पशु, स्वास्थ्य, शिक्षा, सरसफाई, ढल निकास, पर्यटन, बन, बजार अनुगमन, सिंचाई, बिद्युत, भौतिक पुर्वाधार तथा रोजगार लगायत बिषयमा सवाल उठाएका थिए।
सेवाग्राहीको तर्फबाट उठाएका सवालहरुको जवाफ दिदै कञ्चन गाउापालिकाका अध्यक्ष नवराज ढकालले समुन्तत कञ्चन बनाउन जनप्रतिनीधि, कर्मचारी, टोल बिकास संस्थाका पदाधिकारी, पालिका अन्तर्गतका बिषयगत शाखाका कर्मचारीहरुले पालिका, प्रदेश र संघिय कानुन, नीति, नियम र ऐनमा रहेर कार्यविधि बनाई योजनाबद्ध रुपमा पालिकाको योजना र कार्यक्रमहरुलाई संचालन गर्दै आइरहेको बताउनु भयो।
उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनको हरेक योजनाहरु गुणस्तरीय र दीगो बनाउन नियमित अनुगमन गरी सम्बन्धित योजनाका उपभोक्ता र निर्माण ब्यबसायीहरुलाई मापदण्ड अनुरुप कार्य गर्न गराउन निर्देशन दिदै आइरहेको र कही कतै मापदण्ड विपरीत कार्य भइरहेका छन भने खवर गर्न समेत आग्रह गर्नु भयो। यस्तै कञ्चनको बजारलाई व्यबस्थित र कानुन सम्मत रुपमा संचालन गर्न गराउन बजार अनुगमन लाई निरत्तरता दिदै आइरहेको उपाध्यक्ष थापा मगरले बताउनु भयो।
वडागत तथा बिकास योजना तथा अनुदान बिषयमाथी उठेका सावलहरुको जवाफ वडा अध्यक्षहरु हरि नारायाण थारु, टेक बहादुर गुरुङ्ग, टिकाराम सापकोटा, केशर बहादुर खत्री र कुल प्रसाद पौडेलले दिनु भएको थियो । यस्तै बिषयगत रुपमा उठेका सवालहरुमा बिषयगत शाखा प्रमुखहरु भौतिक पृर्वाधार शाखाका इन्जिनियर सुवोध ज्ञवाली, शिक्षा शाखा प्रमुख रमेश भूसाल, स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतम, लेखा अधिकृत सन्तोष गैरे, पशु सेवा प्रमुख ध्रुवराज ज्ञवाली, कृषि बिकास सेवा प्रमुख मगरेपाल गडरिया, रोजगार संयोजक ईश्वरी ज्ञवाली दिनु भएको थियो।
कार्यक्रममा कार्यक्रमको औचित्यता माथी प्रकाश पार्दै कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले चालु आ.व.को चार महिनामा पालिकाबाट संचालन भएका कार्यक्रम तथा योजनाहरुको प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो। पालिकालाई शुन्य बेरुजु र पालिकाका हरेक योजनाहरु चैत्र महिना भित्रै सम्पन्न गर्ने गरी भदौ महिना भित्र उपभोक्ता समिति गठन र गठित समितिहरुलाई तालिम र असोज महिना भित्र योजना सम्झौता गरी चार्डपर्व सकिना साथ सबै योजनाहरुको कार्यान्वयनमा तिव्रता दिइने समेत प्रमुख प्रशासकिय अधिकृत गौतमले जानकारी दिनु भएको थियो।
कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको अध्यक्षता, प्रशासन प्रमुख गिरीराज अर्यालको संचालनमा भएको कार्यक्रममा सामुदायिक रेडियो कञ्चनका स्टेशन म्यानेजर गोविन्द आचार्यले सार्वजनिक सुनुवाईको क्रममा स्थानीयहरुसंग सेवा प्रवाह, योजना तथा कार्यक्रम संचालनबारे गरिएको स्थलगत अध्ययन प्रतिवेदन र स्थलगत अधययनको क्रममा प्राप्त सुझावहरुबारे प्रस्तुत गर्नु भएको थियो।
कञ्चन गाउँपालिकाको आयोजना सामुदायिक रेडियो कञ्चनको सहजिकरणमा कञ्चन गाउँपालिकाको सभाहलमा उक्र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो।