२ असोज, कञ्चन/गोविन्द आचार्य
रूपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ३ हरैयामा सञ्चालित श्री हरैया माध्यमिक विद्यालयमा राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा पोशाक तथा स्टेसनरी सामग्री वितरण गरिएको छ । ज्ञान विज्ञान सीप उद्यम र मौलिकता साझेदारी र प्रणालीगत सक्षमता भन्ने मूलनाराको साथ आज देशभर मनाइएको राष्ट्रिय शिक्षा दिवसको अवसरमा ९० जना बिधार्थीहरुलाई कपी र पेन तथा १६ जना बिधार्थीहरुलाई पोशाक वितरण गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकालले कञ्चन गाउँपालिकाले शैक्षिक क्षेत्रमा अत्यन्तै धेरै नै लगानी गरिरहेको बताउँनु भयो। हरैया मा.वि.ले स्टेशनरी बैंक सञ्चालन गरेर आर्थिक रुपमा विपन्न तथा अर्थिककै कारण बिद्यालय शिक्षाबाट टाढा रहन बाध्य बालबालिकाहरुलाई शिक्षाको पहुँच पुर्याउन गरेको प्रयत्न अति नै सह्रानिय कार्य भएको उल्लेख गर्दै आफ्नो स्रोत र साधनबाट पढाईलाई अगाडी लैजान नसक्नेहरुलाई यस स्टेशनरी बैंकले निकै ठूलो सहयोग पुयाउने बताउनु भयो । साथै प्रमुख अतिथी समेत रहनुभएका ढकालले जन्मदिन मनाउदा अनावश्यक खानपिनमा खर्च गर्ने रकम यस्तै स्टेशनरी बैंकलाई सहयोग गर्न समेत सम्पुर्णलाई आग्रह गर्दै यस शैक्षिक क्षेत्रको लागि आवश्यक पर्ने सामग्रीहरू आवश्यकताको आधारमा बजेट विनियोजन गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। विद्यालयको शैक्षिक अवस्थालाई राम्रो बनाउनको लागि शिक्षक विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध आवश्यक रहेको औल्याउँदै अभिभावकहरूले आफ्नो बच्चाको पढाइ कस्तो छ भनेर समय समयमा बिद्यालयमा आएर जानकारी लिन समेत अभिावकहरुलाई आग्रह गर्नुभयो ।
अध्यक्ष ढकालले आफ्नो छोराछोरी घरबाट विद्यालय जान्छु भनेर हिँडेको छ तर विद्यालयमा पुगेको छ या छैन त्यसको विषयमा अभिभावकहरु धेरै नै चनाखो बन्नुपर्ने समय आएको बताउँदै सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई आफ्नो शिक्षालाई राम्रो बनाउँदै अगाडि बढ्न र आफ्नो अभिभावकको सपना र आफ्नो विद्यालयको नाम उच्च शिरमा राख्न समेत आग्रह गर्नुभयो ।
त्यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष टिकाराम सापकोटाले शिक्षा बिना मानिस अन्धकारको जीवनमा बाँच्नुपर्ने उल्लेख गर्दै शिक्षालाई आफ्नो जीवनको लक्ष्य मानेर अगाडि बढ्न सके जीवनमा सर्वोत्तम उपलब्धी हासिल गर्न सकिने बताउनु भयो। शिक्षा दिवसको अवसरमा विद्यालयले स्थापना गर्न लागेको स्टेसनरी बैंकबाट सहयोगको अपेक्षा गर्ने विद्यार्थीहरुलाई सहज हुने वडा अध्यक्ष सापकोटाले बताउनु भयो।
कार्यक्रममा स्टेसनरी बैंक सञ्चालन संयोजक भरत शर्माले स्टेसनरी बैंक सञ्चालनको प्रकिृया, उद्धेश्यको विषयमा भनाइ राख्दै स्टेसनरी बैंक सञ्चालनको लागि सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गर्नु भयो। म स्वयम बिद्यलयको एक शिक्षक भएको र जव शिक्षक भएर कक्षा कोठामा प्रवेश गर्दै गर्दा प्राय बिद्यार्थीहरुको न झोला, न किताव कापीको अवस्था देखेपछि यो समस्या समाधानको मुख्य मार्गको रुपमा स्टेशनरी बैंकको परिकल्पना गरिएको उल्लेख गर्दै शिक्षक शर्माले सामान्य सूचनाको आधारमा स्टेशनरी बैंकमा स्टोशनरी सामग्रीको रुपमा कापी, पेन्सिल, कलम, डटपेन सहित नगद समेत सहयोग जुटिरहेको र सोही बैंकमा संकलित सामग्रीहरुलाई आज स्टेशनरीको रुपमा बिद्यार्थीहरुलाई वितरण गरिएको शिक्षक तथा स्टेशनरी बैंक संचालन संयोजक शर्माले बताउनु भयो।
कार्यक्रममा पुष्पराज शर्मा, भैरव बहादुर थापा लगायतले स्टेसनरी बैंक सञ्चालनको लागि बिधालयले गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा यस बैंकले सहयोगापेक्षित बिधार्थीहरुलाई आफनो अध्ययनलाई अगाडी बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ पौडेलको अध्यक्षता, शिक्षक लिलाधर पौड्यालको स्वागत तथा शिक्षक कलाधर ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यार्थीहरूलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेघनाथ पौडेल विद्यालयका प्रधानाध्यापक मेघनाथ शर्मा, स्टेसनरी बैंक सञ्चालन संयोजक भरत शर्मा लगायतले संयुक्त रुपमा स्टेसनरी सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बिधार्थीहरुद्धारा नृत्य तथा नाटक समेत प्रस्तुत गरिएको थियो ।