२६ भदौ, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकाले पालिका भित्र संचालन हुने बिभिन्न बिकासे योजनाहरुलाई समयमै गुणस्तरिय र मापदण्ड अनुरुप कार्य सम्पन्न गर्न गराउने उद्धेश्यका साथ उपभोक्ता समितिलाई आजदेखि ५ दिने तालिम संचालन गरेको छ।
कञ्चनमा साढे आठ लाख रुपैया भन्दा बढी बजेट रकम भएका योजनाहरु बाहेक उपभोक्ता समितिबाट कार्य सम्पन्न हुने योजनाहरुमा उपभोक्ताको समेत अपनत्व बढाउनेगरी गठन भएका ५ वटै वडाका उपभोक्ता समितिहरुलाई योजना संचालनका लागि सम्झौता, कार्य सम्पन्नता र योजना सम्पन्न हुनु अघि योजनाको गुणस्तरियताको मापन र उपभोक्ताहरुको लागत सहभागिताबारे तालिम संचालन गरिएको हो।
तालिमको शुभारम्भ गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले उपभोक्ता मार्फत गरिने हरेक योजनाहरुको प्रभावकारी कार्यान्वयन र योजनाको गुणस्तरियताको सुनिश्चित्ता कायम गर्न पनि उपभोक्ताहरुलाई योजना संचालनबबारे तालिम संचालन गर्नु परेको बताउनु भयो। योजना संचालन गर्नु मात्र बिकास नभई संचालन भएको योजनालाई दिगो बनाउन उपभोक्ताको सक्रियता र नियमित निगरानीको अनिवार्यता हुने बताउदै अध्यक्ष ढकालले योजना संचालन गर्नु पुर्व पुरा गर्नुपर्ने कार्यहरुमा कुनै समस्या नपरोस भनेर तालिमको आयोजना गरिएको बताउनु भयो।
यस्तै उपाध्यक्ष मौसमी थापा मगरले आफ्नो गाउ ठाउँमा संचालन हुने कुनै पनि तहका बिकास योजनाहरुको अनुगमन र नियमनको समेत स्थानीय उपभोक्ताहरुको अधिकार हुने बताउनु भयो। तर योजनाको अनुगमन र नियमनको अधिकारको उपयोग गर्नु भन्दा पहिलो मापदण्डबारे जान्नु पर्ने र आफुले संचालन गर्नु पर्ने योजनालाई पनि सबैभन्दा गुणस्तरिय बनाउन उपभोक्ताहरुले नियमित अनुगमन गर्नु पर्ने कुरामा उपाध्यक्ष थापा मगरले जोड दिनुभयो।
यसैगरी कञ्चन गाउापालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले अव उपभोक्ताहरुलाई बलियो नबनाएसम्म स्थानीय तहमा संचालन हुने योजनाहरुको प्रभावकारी कार्यान्वय नहुने भएकोले योजना संचालन गर्नु पुर्व उपभोक्ता समितिका पदाधिकारीहरुलाई बढी सम्बेदनशिल र उत्तरदायी बनाउन तालिमको आयोजना गरिएको उल्लेख गर्नुभयो। उपभोक्ता मार्फत गरिने योजनालाई उपभोक्तामैत्री बनाउन पनि तालिम अपरिहार्य हुने र योजना संचालन गर्नु भन्दा अगाडी पुरा गर्नु पर्ने मापदण्डका बारे तालिममार्फत जानकारी गराउन सके उपभोक्ता समितिका पदाधिकारहरुले योजना संचालन गर्दा कुनै झनझट व्यहोर्नु नपर्ने प्रमुख प्रशासकिय अधिकृत गौतमले बताउनु भयो।
अव राज्यले स साना योजनाहरुलाई एकिकृत योजना बनाएर बिद्युतिय बोलपत्रको आधारमा योजना संचालन गर्ने नीति अख्तियार गर्ने योजना भएको र त्यसैको शिलशिलामा हरेक योजनाको उपभोक्ता समिति गठन गर्ने, उक्त समितिको बिधान दर्तागरी समिति मार्फत निर्माण भएका योजनाहरुको अपनत्व र दिगोपनाका लागि समितिलाई नै उत्तरदायी बनाउदै लैजान पालिकाले उपभोक्ता समिति दर्ता गर्ने प्रकृयालाई अगाडी बढाइरहेको प्रमुख प्रशासकिय अधिकृत गौतमले बताउनु भयो ।
कार्यक्रममा भौतिक पुर्वाधार शाखाका इन्जिनियर सबोध ज्ञवालीले कुनै पनि योजना शुरु गर्नु भन्दा पहिले कुन योजनाका लागि बजेट लागत अनुमान गरिएको छ र त्यसको कार्यसम्पन्नता कति समयमा गर्ने भन्नेबारे ज्ञान उपभोक्ता समितिका हरेक पदाधिकारीहरुमा हुनुपर्नेबारे उल्लेख गर्नु भयो। हरेक निर्माण कार्यहरुमा प्रयोग हुने निर्माण सामग्रीको प्रयोग गर्दा लागत अनुमानितका आधारमा मापदण्ड पुरा गरेमात्र कुनै पनि योजना कार्यसम्पन्न पछि पनि दिगो हुने इन्जिनियर ज्ञवालीले बताउनु भयो।
वडा नं. ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा लेखा अधिकृत सन्तोष गैरे, सूचना अधिकृत तथा राजश्व शाखाका अनिल थापा, योजना शाखा चन्द्रमणी घिमिरे लगायतले शाखागत बिषयका बारेमा जानकारी गराउनु भएको थियो। वडा नं. ५ का वडा सचिव चोलाकान्त पाण्डेको संचालन भएको कार्यक्रममा वडा नं. ५ मा संचालन हुने बिभिन्न योजनाका उपभोक्ता समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो भने कार्यक्रम वडा नं. ५ को सभाहलमा भएको थियो।