१८ भदौ, कञ्चन
रुपन्देहीको कञ्चनमा लामखुट्टेको बासस्थान खोजौं र नस्ट गरौं अभियान बिगत दुई सातादेखि निरन्तर रुपमा संचालन भइरहेको छ। डेंगु रोगको नियन्त्रणका लागि लामखुट्टे बस्ने र अण्डा पार्ने स्थानहरुको नस्ट गर्न पालिका, वडा र टोलस्तरीय रुपमा सरसफाई अभियान संचालन भइरहेको हो।
हिजो सोमबार कञ्चन २ को गजेडी बजार, मसिना, कुट्टा गाउँ, कञ्चन ४ को प्रगतीटोल, अस्नैया लगायत स्थानहरुमा लामखुट्टेको बासस्थान खोजौं र नस्ट गरौं भन्ने अभियान संचालन गरिएको छ।
वडा नं. २ मा भएको कार्यक्रममा सफाई अभियानमा सहभगी हुदै वडा नं. २ का वडा अध्यक्ष टेक बहादुर गुरुङ्गले गाउँमा डेंगु रोग फैलिन नदिन घर, छेउ र गाउँमा रहेका झाडी, लामो समयसम्म स्थीर रुपमा रहेका बिभिन्न बट्टा, टायर, नालीका पानीको नस्ट गरिरहन आग्रह गर्नु भयो। यस्तै वडा नं. ४ मा भएको सरसफाई कार्यक्रममा सहभागी हुदै वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले डेंगुको महामारी फैलिन नदिन सरसफाईमा ध्यान दिनु पर्ने र नियमित रुपमा घर वरीपरीको झाडी, नालीमा रहेको स्थीर पानी, गमला, फालिएका बट्टा, खाली बोटल, टायर, ट्याङ्की लगायतहरुमा रहेको सफा पानीको नस्ट गर्ने साप्ताहिक कार्यक्रम संचालन गर्न टोल बिकास संस्थाका प्रतिनीधिहरुलाई आग्रह गर्नु भयो।
यसैगरी रुद्रपुर स्वास्थ्यचौकीका इन्चार्ज कर्णराज शर्माले एडिज नामक पोथी जातीको लामखुट्टेले दिनको समयमा टोकेमा मात्र डेंगु रोग लाग्ने भएकोले सरसफाई अनिवार्य रहेको बताउनु भयो। डेंगुको फैलावत लामो समयसम्म स्थीर रहेका सफा पानी नै मुख्य श्रोत भएकोले गमला, बट्टा, खाली बोटल, टायर, ट्याङ्की लगायतहरुमा रहेको सफा पानीको नस्ट गर्नु अनिवार्य रहेको इन्चार्ज शर्माले बताउनु भयो।
यस्तै कार्यक्रममा गजेडी स्वास्थ्य चौकीका इन्चार्ज गिताराम रिजालले ज्वरो आउने, हात खुट्टाका जोर्नी दुख्ने, छालामा स साना राता विमिरा आउने जस्ता डेंगु रोगको लक्षण भएकोले नजिकैको स्वास्थ्य केन्द्र तथा चिकित्सकको सल्लाह अनुसार औषधीको सेवन गर्नु पर्ने उल्लेख गर्दै डेंगुको बासस्थानलाई सधै सफा राख्न सके डेंगुको आफै नियन्त्रण हुने बताउनु भयो।
सरसफाई कार्यक्रममा टोल बिकास संस्था, आमा समूह, कलव, स्थानीय, सामुदायिक महिला स्वास्थ्य स्वयम सेविका, स्वास्थ्यकर्मी, कर्मचरी, जनप्रतिनीधि लगायतको सहभागिता रहेको थियो।