१५ भदौ, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकाका ५ वटै वडाका बिभिन्न टोल टोलमा डेंगु रोगबाट सुरक्षित हुन लामखुट्टेको बासस्थान खोजौं र नस्ट गरौं भन्ने अभियान अन्तर्गत सरसफाई कार्यक्रम गरिएको छ। टोल बिकास, आमा समूह, तथा क्लवहरुको सहकार्य तथा समन्वयमा भएको कार्यक्रममा जनप्रतिनीधि, स्वास्थ्यकर्मी, टोल बिकास संस्था, आमा समूह र क्लवका प्रतिनिधी र स्थानीयहरुको सहभागिता रहेको थियो।
सरसफाई कार्यक्रम पछि थकालीचोकमा भएको कार्यक्रममा कञ्चन गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले डेंगु रोगबाट बच्न लामखुट्टेले बास बस्ने र अण्डा पार्ने स्थानहरुको नस्ट गरी घर वरीपरी सफा राख्नु पर्नेमा जोड दिनु भयो। सफा र स्थीर पानी रहन्छ त्यहाँ लामखुट्टेले अण्डा पार्ने भएकोले पानी रहिरहने गमला, नाली, टायर, खाली बोटल, फालिएका भाँडाकुँडाहरुको नियमित सरसफाई गर्नाले डेंगुको संक्रमण फैलिन नपाउने भएकोले टोल टोलमा सरसफाई कार्यक्रम संचालन गरिएको वडा अध्यक्ष खत्रीले बताउनु भयो।
यस्तै रुद्रपुर स्वास्थ्य चौकीका इन्चार्ज कर्णराज शर्माले डेंगु रोगको मुख्य बासस्थान तथा हुर्किने ठाउँ भनेको घरवरीपरीको झाडी, नाली र लामो समयसम्म स्थीर रुपमा रहने सफा पानी भएकाले हप्तामा दुई तिन पटक सफा गर्ने र नयाँ पानी फेर्नुपर्ने बताउनु भयो। एडिज नामक पोथी लामखुट्टेले दिउँसको समयमा टोकेमा मात्र डेंगु रोग लाग्ने भएकोले घरमा बस्दा वा बाहिर हिड्दा लामो बाहुला भएको कपडा लगाउने बानी गर्नु पर्ने बताउदै यदि डेंगु रोग लागेमा नजिकैको स्वास्थ्य केन्द्र वा अस्पतालमा गएर चिकित्सकको सल्लाह अनुसार औषधीको सेवन गर्नसमेत स्वास्थ्इ चौकीका इन्चार्ज शर्माले बताउनु भयो।
कञ्चनको सुनगाभाचोक, शिवालय चोक, थकालीचोक, गरगरे, जसेखर्क टोल, जप्तीचापा लगायत स्थानहरुमा भएको सरसफाई कार्यक्रममा ईलाका प्रहरी कार्यालय रुद्रपुरका सुरक्षाकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरुको समेत सहभागिता रहेको थियो।