१४ भदौ, कञ्चन
लामखुट्टेको टोकाईबाट हुने डेंगु रोग नियन्त्रण र बच्नका लागि कञ्चन ४ का सामुदायिक महिला स्वास्थ्य स्वयम सेविका, टोल बिकास संस्थाका अध्यक्ष, जनप्रतिनीधि, रुद्रपुर स्वास्थ्यचौकी ब्यबस्थापन समितिका पदाधिकारीहरु बिच अन्तरकृया कार्यक्रम गरिएको छ।
रुद्रपुर स्वास्थ्य चौकी, कञ्चन ४ रुद्रपुरको आयोजनामा भएको कार्यक्रममा वडालाई डेंगुमुक्त क्षेत्र बनाउन प्रत्येक टोलमा रहेका टोल बिकास संस्थाको नेतृत्वमा आमा समूह, क्लव, महिला स्वयम सेविका, स्थानीयहरुको सहभागिता खोजौं र नस्ट गरौं अभियान संचालन गर्ने कार्ययोजना बनाएका छन।
अन्तरकृयाको सहजिकरण गर्दै कञ्चन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले एडिज जातीको पोथी लामखुट्टेले दिउँसको समयमा टोकेपछि डेंगुको संक्रमण हुने भएकोले लामखुट्टेले बासस्थान बनाउने स्थानहरुको नस्ट गर्नु पर्ने बताउनु भयो। झाडी, लामो समयसम्म स्थिर रहने पानीका भाँडा, फुलदानी, नाली, कवार्ड राख्ने स्थान, टायर लगायत लामखुट्टे बस्ने र फुल पार्ने स्थानहरुको नस्ट र सफाई गर्नाले डेंगुको नियन्त्रण र रोकथाम गर्न सकिने बताउदै स्वास्थ्य शाखा प्रमुख गौतमले टोल टोलमा लामखुट्टे बस्ने बासस्थानको खाजीगरी नस्ट गर्ने अभियान संचालन गर्नु पर्नेमा जोड दिनु भयो।
कार्यक्रममा वडा सचिव चक्रपाणी पौडेलले डेंगुको संक्रमण भएपछि एक्कासी ज्वरो आउने, औलाका जोर्नीहरु दुख्ने, आँखा दुख्ने, शरीरमा साना साना रातो विमिरा देखा पर्ने जस्ता लक्षणहरु देखा पर्ने भएकाले समयमै उपचार गर्नु पर्ने बताउनु भयो। सकेसम्म रोग लाग्नु भन्दा राग लाग्नै नदिने उपायहरु बढी बढी प्रयोग गर्ने, दैनिक ब्यबहारमा परिर्वतन गर्नु पर्ने, डेंगु लागेमा चिकित्सकको सल्लाह विना कुनै पनि औषधी नखाने, झोलिलो खानेकुरा बढी खाने गर्नु राम्रो हुने वडा सचिव पौडेलले बताउनु भयो।
कार्यक्रमको अध्यक्षता गर्दै वडा नं. ४ का वडा अध्यक्ष तथा रुद्रपुर स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष केशर बहादुर खत्रीले वडालाई हरेक क्षेत्रमा अब्बल बनाउन टोल बिकास संस्था, आमा समूह, क्लवहरुको भुमिका स्रहानिय रहेको उल्लेख गर्दै डेंगु रोग नियन्त्रणका लागि सबैले आ आफ्नो घरको सफाई र पानी जम्ने स्थानहरुको खोजी गर्ने र नस्ट गर्ने कार्यक्रमलाई पनि टोल टोलमा संचालन गर्न आग्रह गर्नु भएको थियो।
रुद्रपुर स्वास्थ्य चौकीका इन्चार्ज कर्णराज शर्माको संचालन तथा सामुदायिक महिला स्वास्थ्य स्वयम सेविका सुमित्रा बुढाथोकीको स्वागतमा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी नायव निरीक्षक धर्मबहादुर खडकाले समेत डेंगु नियन्त्रणमा प्रहरीको भूमिका र ट्राफिक सचेतना सम्बन्धी प्रवचन गर्नु भएको थियो।