१३ भदौ, कञ्चन
नेपाल मगर महिला संघ, रुपन्देहीको आयोजनामा आगामी मंसिर २१ र २२ गते हुन गइरहेको प्रथाम मगर साहित्य महोत्सवबारे सैनामैनाका सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको छ। नेपाल मगर संघ सैनामैनाको भवनमा बुधवार भएको कार्यक्रममा सहभागीहरुले मगर साहित्य महोत्सवलाई ऐतिहासिक बनाउन सबै पक्षको सहयोग, सहकार्य र समन्वय हुन आवस्यक भएको बिचार उल्लेख गरेका छन।
महोत्सवबारे जानकारी दिदै प्रथम मगर साहित्य महोत्सव मूल आयोजक समितिका सदस्य तथा प्रवक्ता शंकर गाहाले जवसम्म आफ्नो कथा आफैबाट लेख्न शुरु गरिदैन तवसम्म हाम्रो इतिहास नबन्ने बताउनु भयो। अन्य समुदायको भाषामा अनेक साहित्य लेखिएका छन।ती साहत्यिहरुमा उनिहरुको अस्तित्वको बर्चश्व छ तर मगर जाती र भाषामा लेखिएका केही साहित्यहरु पनि चर्चामा आउन नसकेकोकारण तिनै साहित्य, लेखक, समालोचनहरुबारे चर्चाको माध्यम बनाएर अभिलेखिकरण गर्ने उद्धेश्यका साथ मगर साहित्य महोत्सव गर्न लागिएको प्रवक्ता गाहाले बताउनु भयो।
महोत्सवमा मगर जातीका तिन भाषाहरु ढुट, काइके र खाम भाषाका कविता प्रतियोगिता, मगर समुदायबारे लेखिएका साहित्यहरुबारेको अन्तरक्रिया, मगर लेखक, साहित्यकार, समालोचक, आख्यानकार, कलाकार, ईतिहासविद, अध्येताहरु बिच अन्तरक्रिया, मगर लेखक तथा मगर समुदायबारे लेखिएका पुस्तकहरुको बिमोचन लगायतका कार्यक्रमहरुलाई महोत्सवमा प्राथमिकताका साथ कार्ययोजना बनाइइएको प्रवक्ता गाहाले जानकारी दिनुभयो। प्रवक्ता गाहाले महोत्सवलाई ऐतिहासिक बनाउन हरेक समुदाय, नेपाल मगर संघ र माताहतका भातृ संघसंस्थाहरु, सरोकारवालाहरुबाट आर्थिक, भौतिक, नैतिक सर्मथन र सहयोगको समेत आयोजकको तर्फबाट अपेक्षा गरिएको उल्लेख गर्दै सैनामैना नगरका मगर लेखक तथा साहित्यकार, सैनामैना नगरवासीहरुलाई समेत उत्प्रेरणा दिदै मगर साहित्य महोत्सवबारे चर्चा परिचर्चा गर्न गराउन नेपाल मगर संघ सैनामैनाको बिशेष भूमिका रहने प्रवक्ता गाहाले बिश्वास ब्यक्त गर्नु भयो।
यस्तै नेपाल मगर महिला संघ रुपन्देहीका अध्यक्ष निर्मला थापा मगरले अरुको साहित्य लेख्यौं र पढ्यौ तर हामीले हाम्रो भाषा, कला संस्कृति र परमपराबारे ठोस रुपमा लेखिएका कुनै पनि साहित्य, लेख, रचना, आख्यान पढ्न, सुन्न र देख्न नपाइएको सन्दर्भमा नेपाल मगर महिला संघ रुपन्देहीले आफ्नो बार्षिक कार्यक्रम बनाएर नयाँ इतिहास बनाउने उद्धेश्यका साथ महोत्सव गर्न लागिएको उल्लेख गर्नु भयो। अव आफ्नो कथा आफै लेखौं भन्ने नाराले हरेक मगर लेखक, साहित्यकार तथा सरोकारवालाहरुलाई वहाहरुको लेखनशैलीमा नयाँ उत्साह थप्नेमा बिश्वास गर्दै महोत्सवलाई भव्य रुपमा सफल बनाउन सबै एक भएर लाग्न र एक आपसमा सहकार्य र समन्वयलाई बढी प्रथमिकता दिनुपर्नेमा जोड संघका अध्यक्ष थापा मगरले जोड दिनु भयो।
कार्यक्रममा नेपाल मगर संघ सैनामैना नगर समितिका अध्यक्ष बिष्णु सर्तुङ्गी मगरले मगर साहित्य महोत्सव बिश्वभर फैलिएर रहेका मगरहरुका लागि महत्वपुर्ण अवसर र चुनौती भएकोले यस अवसरलाई ऐतिहासिक बनाउन र चुनौतीलाई सबै मिलेर चिर्नु पर्ने बताउनु भयो।
कार्यक्रम नेपाल मगर महिला संघ रुपन्देहीका अध्यक्ष निर्मला थापा मगरको अध्यक्षतामा भएको थियो। महोत्सवलाई भव्य रुपमा सफल बनाउन १०१ सदस्यिय मूल आयोजक समिति गठन गरिएको छ भने महोत्सवलाई अझ ब्यबस्थित रुपमा सम्पन्न गर्न अभिलेख तयार उपसमिति, प्रचार प्रसार उपसमिति, बिभिन्न संघसंस्थाहरुसंगको समन्वय उपसमिति लगायत उपसमितिहरु गठन गरिएको छ।
महोत्सवबारे गाउँ गाउँमा पुर्याउने उद्धेश्यका साथ नेपाल मगर महिला संघ रुपन्देहीक १६ वटै स्थानीय तहमा पुगेर अन्तरकृया कार्यक्रम संचालन गर्ने संघका अध्यक्ष निर्मला थापा मगरले जानकारी दिनु भएको छ।