११ भदौ, कञ्चन
नेपाल मगर संघ, कञ्चन १ रुपन्देहीले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा हिजो प्रथम भेटघाट कार्यक्रम कार्यक्रम सम्पन्न गरेको छ। मगरहरुको भेषभुषा, भाषा, सांस्कृतिक जगेर्ना गरौं भन्ने मुल उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा मौलिक तीज गीत तथा सांस्कृतिक कार्यक्रम अन्तर्गत मौलिक कौरा तथा झोरा नाच प्रस्तुत गरिएको थियो। कार्यक्रममा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले नेपाल विबिधताको देश भएको र विविधतालाई बिभिन्न कला र संस्कृतिले एक बनाइरहेको बताउनु भयो। महिलाहरुको बिशेष पर्वको रुपमा रहेको हरितालिका तीजमा माइती आएर गीत मार्फत दुःख र सुखका अनुभवहरुलाई साटफेर गर्ने बर्षौं देखिको मौलिक संस्कृतिलाई संरक्षण र संम्बद्र्धन गर्दै लैजानु हामी सबैको जिम्मेवारी भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उपाध्यक्ष थापा मगरले बताउनु भयो।
यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि तथा नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष चित्र लाल तुलाचनले बहुआयमिक कला र संस्कृतिले भरिपुर्ण हरेक नेपालीहरुको बिशेष पर्वको रुपमा रहेको हरितालिका तीजलाई उत्सवको रुपमा सबैले मनाउन थालिएको बताउनु भयो। हामीसंग भएको विविध कला संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि पुस्तान्तरण हुन आवस्यक रहेको उल्लेख गर्दै कञ्चन गाउँपालिकाका प्रवक्ता समेत रहनु भएका तुलाचनले अवको पुस्तालाई शैक्षिक, राजनैतिक, सामाजिक रुपमा समेत सचेत र संगठित गर्न गराउन आवस्यक रहेको बताउनु भयो। प्रवक्ता तुलाचनले शिक्षा बिना समाज रुपान्तरणको कल्पना गर्न नसकिने भएकोले अवको सन्ततीहरुलाई शिक्षामा बिशेष जोड दिनु पर्ने बिचार ब्यक्त गर्नु भयो।
यस्तै वडा नं. १ का वडा अध्यक्ष हरिनारायण थारुले नयाँ पुस्तामा मौलिक कला र संस्कृतिको अभ्यास र अनुसरण हराउदै गएको सन्दर्भमा नेपाल मगर संघ, कञ्चन १ ले गरेको कार्यप्रति प्रशंसा गर्दै आफ्नो कला, संस्कृति, भाषा, साहत्यि, परमपराको संरक्षण आफैले नै गर्नु पर्नेमा जोड दिनु भयो। यसैगरी वडा नं. २ का वडा अध्यक्ष टेक बहादुर गुरुङ्गले आफ्नो कला संस्कृति र परम्परा बिर्सदै गयौं भने हाम्रो मौलिक पहिचान समेत लोप हुदै जाने बिचार ब्यक्त गर्नु भयो।
नेपाल मगर महिला संघ, कञ्चन १ को समेत आयोजना भएको कार्यक्रममा बिभिन्न आमा समूह तथा संघ संस्थाहरुद्वारा मौलिक तीज गीत, कौरा तथा झोरा नाच प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपाल मगर संघ, कञ्चनका अध्यक्ष कविराज काउचा, राष्ट्रिय प्रजातन्त्र पार्टी, कञ्चनका अध्यक्ष दुर्गा बहादुर थापा लगायतले समेत नेपालीहरुको मौलिक संस्कृतिको संरक्षण र प्रबद्र्धन गर्नु आवस्यक रहेकोमा जोड दिएका थिए। नेपाल मगर संघ, कञ्चन १ का अध्यक्ष धन बहादुर भूजेलको अध्यक्षता तथा हुमी राहादीको संचालनमा भएको कार्यक्रममा सहभागीहरुलाई सम्मान समेत गरिएको थियो।
रुपन्देहीको एकमात्र पर्यटकिय तथा रमणिय स्थल दानापुर तालमा भएको कार्यक्रममा स्थानीयहरुको बिशेष उपस्थिती सहित तीज गीत सम्बन्धी मौलिक सांस्कृतिक झोरा तथा कौरा नृत्य र गीत प्रस्तुत गरिएको थियो।