२६ साउन, कञ्चन
नेपाल आदीवासी जनजाती महासंघ, सिद्धार्थनगरले ३० औं आदीवासी जनजाती दिवसको अवसरमा ३ जना साहित्यकारहरुलाई सम्मान गरेको छ। सम्मानति हुनेहरुमा कथाकार राम बहादुर श्रेष्ठ, विजय सागर र लेखक उमेश लाटो मगर रहेका छन।
नेपाली साहित्य मार्फत आदीवासी जनजातीको हक अधिकारबारे आम नागरिकहरुमा पुर्याएको लेखकिय योगदानको उच्च मुल्यांकन गर्दै लेखकहरुलाई सम्मान गरिएको हो।
विश्व आदीवासी जनजाती दिवसको अवसरमा सम्मानित लेखक तथा साहित्यकारहरुलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा सिद्धार्थ नगरपालिकाका प्रमुख ईस्तिह्याक अहमद खानले शिक्षा बिना समाज रुपान्तरण नहुने उल्लेख गर्नु भयो।
नेपालमा भएका बिभिन्न जाती, धर्म, संस्कृति भएका समुदायको नेतृत्व र ब्यक्तित्व विकासका लागि शिक्षा अनिवार्य रहेको उल्लेख गर्दै आदीवासी जनजातीहरुले आफ्नो पर्व र संस्कृति मनाउदा बढी खाना र नानामा गर्ने खर्च त्यही समाजमा बसेका आर्थिक, सामाजिक, शैक्षिक तथा राजनैतिक हिसावले समेत पछी परेका समुदायको उत्थानको लागि सहयोग गर्न तर्प उत्प्रेरित हुनुपर्ने बताउनु भयो। "बरु तपाईहरुले नफाटुञ्जेल त्यही कपडा सिलाएर मिलाएर अनि सफा गरेर पटक पटक लगाउनुस तर हरेक पर्वमा पहिरनमा गर्ने खर्चलाई घटाएर दिनदुःखीहरुको सेवामा सहयोग गर्नुस" नगर प्रमुख खानले भन्नु भयो।
कुनै पनि क्षेत्र र समुदायको राज्यसंगको पहुँचमा पुग्न शिक्षा र शिक्षासंगै आफ्नो हक अधिकारको बारेमा नयाँपुस्तालाई आकर्षित नगर्दासम्म दिवसको रुपमा मनाइने कुनैपनि कार्यक्रमले त्यो बिषयबस्तुबारे जानकारी भएपनि संघर्षको रुप नलिने नगरप्रमुख खानले बताउनु भयो।
यसैगरी नेपाल आदीवासी जनजाती महासंघ, जिल्ला समन्वय परिषद रुपन्देहीका अध्यक्ष चित्रलाल तुलाचनले नेपालको संबिधानले प्रदत्त गरेको अधिकारलाई अधिक्तम उपयोग गर्नु आजको चुनौती रहेको बताउनु भयो। अध्यक्ष तुलाचनले शिक्षा विना संबिधानमा जे सुकै अधिकार उल्लेख गरेको भएपनि ती अधिकारहरुको पहुँचमा पुग्न शिक्षा जरुरी रहको उल्लेख गर्नु भयो।
शिक्षाले आफ्नो पहिचान, अधिकार र अपनत्वको महसुस गराउनुको साथै अधिकारलाई कसरी सुनिश्चित गर्ने भन्ने कुराको समेत बिचार तथा योजना निर्माण गर्न क्षमताको बिकास गर्ने भएकोले अवको पुस्तालाई आफ्नो भाषा, कला संस्कृतिसंगसंगै शिक्षामा जोड दिनुपर्ने अध्यक्ष तुलाचनले जोड दिनु भयो।
कार्यक्रममा जिल्ला प्रशासन कार्यलय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना मगरले देशको संबिधानमा जातिय अधिकार र बिभिन्न कालखण्डमा देशको शासन ब्यबस्थाबाट राज्यको हरेक अंगहरुमा बञ्चित वा पछाडी पारिएका समुदायहरुलाई राज्यको मुलधारमा पहुच् कायम गर्न उल्लेख भएका अधिकारहरु ग्रहण गर्न शिक्षा बिना असम्भव रहेको बताउनु भयो।
बिभिन्न संघर्षबाट प्राप्त हुने अधिकारलाई सहिढंगबाट उपयोग गर्न सकिएन भने पनि अधिकार प्राप्तीको अभियानको अर्थहिन हुने भएकोले अव शैक्षिक, सामाजिक र राजनैतिक रुपमा समेत सचेत हुन आवस्यक रहेको सहायक प्र.जि.अ. रानाले बताउनु भयो।
सिनपा १३ स्थित युनिक बेंक्युटमा कार्यक्रम भएको कार्यक्रममा नेपाल सरकारका पुर्व सहसचिव अनिल गुरुङ्ग, नेपाल आदीवासी जनजाती महासंघ, सिद्धार्थनगरका सल्लाहकार तथा उद्यमी सुर्य कुमार सारु, वडा नं. १३ का वडा अध्यक्ष सोम बहादुर गुरुङ्ग, नेवा खलःका चन्द्रभक्त श्रेष्ठ, प्ये ह्युल संघका यान बहादुर गुरुङ्ग, कार्यक्रममा सम्मानित लेखक बिजय सागर, लुम्बिनी बौद्ध विश्व बिद्यालय, केन्द्रिय क्याम्पसका क्याम्पस प्रमुख डा. निल बहादुर गुरुङ्ग, नेपाल लोकतान्त्रिक आदीवासी जनजाती महासंघका केन्द्रिय सदस्य लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो।
नेपाल आदीवासी जनजाती महासंघ सिद्धार्थनगरका अध्यक्ष चन्द्र बहादुर राना मगरको अध्यक्षता, प्रथम उपाध्यक्ष सुकमाया गुरुङ्गको स्वागत तथा उपाध्यक्ष प्रेम बहादुर गरुङ्गको संचालनमा भएको कार्यक्रममा लेखक उमेश लाटो मगरले आदीवासी जनजातीको ऐतिहासिकता र वर्तमान अवस्थाबारे प्रवचन दिनु भएको थियो भने बिभिन्न एकल जातिय सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो।