१७ जेठ, कञ्चन
रुपन्देहीको कञ्चन ५ ले सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सम्मान गरेको छ। जन जनमा स्वास्थ्य, मन मनमा स्वास्थ्य स्वयम सेविका भन्ने नारा सहित सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सम्मान गरेको हो।
सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सम्मान गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले निःस्वार्थ रुपमा जनताको स्वास्थ्य सेवामा समर्पित महिलाहरुलाई सम्मान गर्नुले स्वयम सेविकाहरुको कार्य प्रतिको उच्च मुल्यांकन गर्नु भएको उल्लेख गर्नु भयो। राज्यबाट कुनै पनि सेवा सुविधा नलिई न्युनतम खाजा खर्चको भरमा गाउँ गाउँमा समुदायको स्वास्थ्य सेवामा नियमित कार्य गर्नु सामान्य कार्य नभएको बताउदै उपाध्यक्ष थापा मगरले साना साना सम्मान र मुल्यांकनले पनि काम गर्नेहरुको मनोवलमा उत्साह र उत्प्रेरणा हुने बताउनु भयो।
यस्तै कञ्चन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले सामुदायिक महिला स्वास्थ्य स्वयम सेविका नभएको भए कञ्चनलाई स्वास्थ्यका बिभिन्न इण्डिकेटरहरु पुरा गर्न सम्भव नहुने बताउनु भयो। स्वयम सेविकाहरुको अथक मेहनत र समयको लगानीको ुकनै मुल्यमा तौलिन नसकिने उल्लेख गर्दै स्वास्थ्य शाखा प्रमुख गौतमले स्वयम सेविकाहरुको समुदायको स्वास्थ्य सेवा प्रतिको समर्पणलाई केही हदसम्म भएपनि स्थानीय तहले सम्बोधन र सम्मान गरेको बताउनु भयो।
कार्यक्रममा कार्यपालिका सदस्य कुमारी घर्ति मगर, नेपाल स्वास्थ्य स्वयम सेवि संघ नेपाल लुम्बिनी प्रदेश सदस्य सुमित्रा बुढाथोकीले पनि सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरु प्रति राज्यले हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न आवस्यक रहेको बताउदै राज्यको दृष्टिकोण परिर्वतन नभएपनि स्थानीय तहले स्वयम सेविकाहरुका लागि सेवाहरुमा बृद्धि र थप गर्दै जानु पर्नेमा जोड दिनु भएको थियो।
वडा नं. ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेलको अध्यक्षता, वडा सदस्य मिना बि.क.को स्वागत तथा वडा सचिव चोलाकान्त पाण्डेको संचालनमा भएको कार्यक्रममा वडा नं. ५ का सेवाक्षेत्र बनाएर स्वास्थ्य सेवा गर्दै आइरहेका १२ जना सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सम्मान गरिएको थियो।
वडाले आर्थिक बर्ष २०८१/०८१का लागि २ जना सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई उत्कृष्ट स्वयम सेविकाको रुपमा सम्मान गरेको थियो। स्वयम सेविकाहरु जुगन्ती चौधरी र अम्बिका जैसीलाई उत्कृष्ट सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाको रुपमा सम्मान गर्दै सम्मान पत्र तथा दोसल्ला सहित मायाको चिनो समेत दिएर सम्मान गरिएको थियो।