१५ जेठ, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकामा संचालित सहकारी संस्थाका ब्यवस्थापक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुका लागि कोपोमिस र पल्स अनुगमन तालिम सोमवार देखि संचालन भएको छ।
तालिमको शुभारम्भ कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले गर्नु भयो। तालिमको शुभारम्भ गर्दै उपाध्यक्ष थापा मगरले अव सहकारीलाई बचत गर्ने र ऋण दिने संस्थाको रुपमा मात्र नभई शेयर सदस्यहरुले बचत गरेको रकमलाई पुँजीको रुपमा लगानी गरेर रोजगार श्रृजना गर्ने उत्पादनशिल क्षेत्रा समेत लगानी गर्नु पर्नेमा कुरामा जोड दिनु भयो। उपाध्यक्ष थापा मगरले संस्थामा बचत गर्ने शेयर सदस्यहरुलाई स्वरोजगार बनाउने उद्यमशिल कार्यक्रम बनाउन सके संस्थाबाट लिएको कर्जा जोखिममा जाने सम्भावना निकै कम हुने उल्लेख गर्दै बचत र ऋणले मात्र संस्थाको संस्थागत बिकास नहुने समेत उल्लेख गर्नु भयो।
कञ्चन गाउँपालिकाका प्रशासन प्रमुख तथा सहकारी शाखा प्रमुख गिरीराज अर्यालले कञ्चनका सहकारी संस्थाहरु सहकारी ऐन बमोजिम कृयाशिल छन कि छैनन, नियमित अपडेट छ कि छैन भन्नेबारेको मुल्यांकनको आधारमा सहकारीको नियमन र अनुगमन गर्ने बताउनु भयो। सहकारीको संस्थागत बिकास के कतिको भएको छ वा छैन भन्नेबारे संस्थाको कोपोमिसबाट समेत प्रस्ट हुने भएकोले सबै सहकारी संस्थाहरुले कोपोपिस अनिवार्य रुपमा भर्नु पर्नेमा सहकारी प्रमुख अर्यालले जोड दिनु भयो।
कञ्चन सहकारी सञ्जाल, रुपन्देहीको आयोजना तथा कञ्चन गाउँपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका शिक्षा तथा तालिम संयोजक गंगलाल सापकोटाले समेत बोल्नु भएको थियो। सञ्जालका अध्यक्ष पुष्पराज शर्माको अध्यक्षता तथा सचिव बिष्णु पौडेलको संचालनमा भएको तालिम कञ्चन गाउँपालिकाको सभाहलमा संचालन भइरहेको छ। तालिममा कोपोमिस र पल्स अनुगमन, लेखा ब्यबस्थापन, धितो मुल्यांकन, ऋण लगानी र ऋण असुली, लेखा सुपरिवेक्षण समितिको क्षमता अभिबृद्धि सम्बन्धी प्रशिक्षण हुनेछ ।
तालिम यही जेठ २५ गतेसम्म संचालन हुने छ। सहकारी संस्थाका ब्यबस्थापकहरुका लागि दिइने कोपोमिस र पल्स अनुगमन सम्बन्धी प्रशिक्षण जिल्ला सहकारी सहकारी संघका महासचिव दामोदर पंगेनीले दिइरहनु भएको छ।
तालिममा कञ्चनका २२ वटा सहकारी संस्थाका ब्यबस्थापकहरुको सहभागिता रहेको छ। तालिमको उद्घाटन सत्रको कार्यक्रममा सञ्जालका अध्यक्ष ओमप्रकाश शर्माले स्वागत गर्नु भएको थियो।