१० जेठ, कञ्चन
महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरुको साझा संस्था नेपाल स्वास्थ्य स्वयम सेवी संघ, कञ्चनको भेला तथा अधिबेशन बुधवार सम्पन्न भएको छ। अधिबेशनले महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका रमा ढकालको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्य समिति गठन गरेको छ।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-05-23/002820306445595700_122143684010219257_7723018661557461939_n.jpg)
अधिबेशनले उपाध्यक्षमा निरमाया बोहोरा, सचिवमा सविता सुवेदी, कोषाध्यक्षमा शान्ती पुन र सहसचिवमा प्रिति थापालाई निर्वाचित गरेको छ। यसैगरी बन्दना भण्डारी, अनिता के.सी., सरतिा कार्की, हिरा न्यौपाने, मिना राजकोटी र द्रोपती चौधरीलाई सदस्यमा निर्वाचित भएका छन।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-05-23/002849371444789990_122143683782219257_8282749160729857948_n.jpg)
नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै जिफन्टका राष्ट्रिय उपाध्यक्ष कमल गौतमले जिवनभर निःस्वार्थ र निःशुल्क रुपमा कार्य गर्ने महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरुको राज्यले सही समयमा सही मुल्यांकन गर्नु पर्नेमा जोड दिनु भएको थियो। उपाध्यक्ष गौतमले अन्तराष्ट्रिय श्रम संगठनले स्विकार गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न नसके पनि जिवनभर समुदायलाई स्वस्थ बनाउन खटिदै आएका माहिला स्वास्थ्य स्वयम सेविकाहरुलाई घर फर्किदा जिविकोपार्जन गर्न सक्नेगरी राज्यले बिशेष उपदान दिएर बिदाई गर्नु पर्नेमा जोड दिनु भएको थियो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-05-23/002905585445614633_122143683878219257_5815310060045061804_n.jpg)
नेपाल स्वास्थ्य स्वयम सेवी संघ, कञ्चनका अध्यक्ष पवित्रा चापागाई अध्यक्षतामा भएका कार्यक्रममा यातायात मजदुर लुम्बिनी प्रदेश कमिटि सचिव होम बहादुर के.सी., कञ्चन ४ का वडा अध्यक्ष केशर बहादुर खत्री, वडा नं. ३ का वडा अध्यक्ष टीकाराम सापकोटा, नेपाल स्वास्थ्य स्वयम सेवी संघ प्रदेश कमिटि सदस्य सुमित्रा बुढाथोकी, कञ्चन स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतम, नेपाल स्वास्थ्य स्वयम सेवी संघ, रुपन्देहीका राधा अस्लामी लगायतले पनि बोल्नु भएको थियो।
अम्बिका आचार्यको संचालन तथा सविता सुवेदीको स्वागतमा भएको कार्यक्रम रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, कञ्चन ४ को सभाहलमा सम्पन्न भएको हो।