नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज सोमवार भएको एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । साथै आजै अन्य ७ जना मन्त्रीहरुले पनि शपथ ग्रहण गर्नुभएको छ । प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री नियुक्त हुनुभएको छ।
एमालेको तर्फबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्नुभएको हो ।
यस्तै एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई पनि मन्त्री बन्नुभएको छ । यस्तै जनमत पार्टीबाट अब्दुल खान मन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँहरुको जिम्मेवारी पछि तोकिने जनाईएको छ। समारोहमा, उपराष्ट्रपति, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख, पूर्वप्रधानमन्त्रीहरू, सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो।
समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, कुटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मीलगायतको पनि उपस्थिति थियो ।