७ कार्तिक, काठमाण्डौ
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘कोर टिम’ ले प्रधानमन्त्री बालेन्द्र शाहलाई असफल बनाएर सत्ताबाट विस्थापित गर्न षड्यन्त्रको तानाबाना बुनिरहेको आरोप लगाएका छन्।
शुक्रबार रौतहटको गरुडामा अग्रगामी मोर्चाको नगर कमिटीद्वारा आयोजित शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकार गठन भएको ६ महिना व्यतीत नहुँदै रास्वपाभित्रैबाट प्रधानमन्त्रीविरुद्ध घेराबन्दी सुरु भएको दाबी गरे। “वर्तमान सरकारलाई अन्य राजनीतिक दलहरूबाट कुनै ‘थ्रेट’ छैन,” सम्बोधनका क्रममा साहले भने, “तर रास्वपाभित्रैबाट प्रधानमन्त्रीलाई असफल बनाउने गरी ठूलो षड्यन्त्र रचिएको छ, जुन कुरा छिट्टै नै जनताले थाहा पाउनेछन्।”
अध्यक्ष साहले रास्वपा सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले र सभामुख डिपी अर्यालले प्रधानमन्त्री शाहलाई असफल पार्न भित्री मोर्चाबन्दी कसेको जिकिर गरे। रास्वपाका शीर्ष नेताहरूको तारन्तार भइरहेको भारत भ्रमणलाई शंकाको दृष्टिले हेर्नुपर्ने बताउँदै उनले भने, “सभापति लामिछानेको यसअघि सम्पन्न भारत भ्रमण, चीन भ्रमणको तयारी र अहिले फेरि धार्मिक यात्राको नाममा भारत निस्कनुलाई सामान्य रूपमा हेरिनुहुँदैन। अर्थमन्त्री वाग्लेसमेत भारत भ्रमणमा रहेको सन्दर्भमा रास्वपाको कोर टिमको यो दौडधुप पछाडि गम्भीर रहस्य छ।”
रास्वपाले प्रधानमन्त्री शाहलाई आसन्न स्थानीय तहको निर्वाचनसम्म मात्र भर्याङ बनाउन खोजेको दाबी गर्दै साहले प्रधानमन्त्रीलाई सचेत रहन सुझाव दिए। पार्टी पङ्क्ति केवल चुनाव र पदमुखी भएको आरोप लगाउँदै साहले भने, “घण्टीहरूलाई कुर्सीको मात्रै चिन्ता छ। चुनाव कसरी जित्ने, कसरी पद पाउने भन्ने मात्रै चिन्ता देखियो, देश र जनताको बारेमा यिनीहरूलाई कुनै चिन्ता छैन। यस्तो अवसरवादी सोच भएकाहरूबाट सचेत हुनुपर्छ।”
यसैगरी, रास्वपाका सभापति लामिछाने समर्थित कार्यकर्ताहरू उग्र प्रवृत्तिका रहेको टिप्पणी गर्दै साहले उनीहरूले सामाजिक सञ्जालको वातावरण नै बिगारेको आरोप लगाए। “घण्टीका कार्यकर्ताहरूलाई सामाजिक सम्बन्धको कुनै महत्त्व थाहा छैन,” उनले भने, “उनीहरू सामाजिक सञ्जालमा केवल फोहोरी गालीगलौज गर्न र वातावरण दूषित बनाउन मात्र सक्रिय छन्।”