#वडाध्यक्षको डायरीबाट
एक दिन म वडामा सेवाग्राहीहरूसँग छलफल गर्दै थिएँ । वडामा प्रथम प्रहर भएकोले मानिसहरू अलि बढी थिए । त्यसमा बहिनी पनि थिइन् । केही समयपछि त्यस बहिनीसँग पनि कुराकानी गरेँ । मैले बहिनीलाई सोधेँ, “बहिनीको नाम के हो? वडामा किन आउनुभयो? के समस्या छ भन्नुस्?” प्रतिउत्तरमा त्यस बहिनीले भनिन्, “मलाई मेरो श्रीमान्ले धेरै पिट्नुभयो । खान लाउन दिनुभएन । छोरालाई स्कूलमा शुल्क तिरी दिनुभएन । कोठामा खाना बनाउन चामल छैन, ग्याँस सकिएको धेरै दिन भयो । म भोकै बसेको धेरै दिन भयो । उसको घरको श्रीमती र छोराछारीलाई मात्र हेर्छ ।
त्यस बहिनीको कुरा सुनेपछि म अलि अचम्ममा परेँ । सुरूमा त के कुरा गर्दै छिन् भन्ने भेउ नै पाउन सकिनँ । उसको कुराले उनी दोस्रो श्रीमतीजस्तो लाग्यो । मैले फेरि सोधेँ,, “बहिनीको नाम भन्नुस्? अनि कोठा कहाँ हो? तपाईँ त दोस्रो श्रीमतीजस्तो लाग्यो ।”
त्यस बहिनीले भनिन्, “मेरो नाम कृष्णलक्ष्मी सुवाल (नाम परिवर्तित) हो । मेरो श्रीमान्को नाम कृष्णराम सुवाल (नाम परिवर्तित) हो । श्रीमान्को घर यही ब्यासीमा पर्दछ । हाल म च्याम्हासिंहमा कोठा लिएर बसेकी छु । मेरो श्रीमान्को दुइटी श्रीमती छन् । एकजना ब्यासीमा र म कोठामा बस्छु । परिवारले मलाई मन नपराएकोले मसँग विवाह गर्न दिएन† जबरजस्ती अहिलेको श्रीमतीसँग आमाबुबाले जबरजस्ती विवाह गराइदिनुभयो । मेरो श्रीमान् केही समय मसँग बस्नुहुन्थ्यो । घरमा पनि जानुभएन । यही क्रममा मेरो कोखबाट एकजना बाबुको जन्म भयो । त्यसपछि मेरो श्रीमान् घरमा जान थाल्नुभयो । मैले घर नपठाउनलाई धेरे प्रयास गरेँ । तर, मनाउन सकिन्नँ । अन्तमा हप्ताको दुई दिन मेरो कोठामा आउन थाल्नुभयो । केही वर्षसम्म मलाई खर्च र घर चलाउनको लागि र छोरालाई पनि खर्च दिनुभयो । घरमा उहाँको एउटा छोरा र छोरी भयो । यसरी दिन चलिरहेको थियो । तर, केही महिनादेखि मेरो कोठामा आउनुभएन र खर्च पनि दिनुभएन । मेरो केही काम छैन, आम्दानी पनि छैन । चामल र ग्याँस सबै सकियो र छोरा पनि भोकै छ । म पनि भोकभोकै परेँ । तपाईँले मेरो श्रीमान्लाई बोलाएर सम्झाउनुप¥यो । मलाई मेरो श्रीमान्सँग बस्ने वातावरण मिलाई दिनुप¥यो र खर्च पनि दिलाइदिनुप¥यो ।”
बहिनीको कुरा सुनेर मैले उहाँसँग सोधेँ, “घरमा श्रीमती हुँदाहुँदै किन तपाईँ उहाँसँग जानुभएको त? तपाईँलाई महिलाको सौता बन्न अलि अप्ठ्यारो भएन ?” बहिनीले तुरुन्त जवाफ दिइन्, “उसलाई जबरजस्ती विवाह गराइदिएको थियो । अनि मलाई मनपर्छ भन्नुहुन्थ्यो ।” मैले भनेँ, “तपाईँलाई मन पराउने श्रीमान् भएको भए त वडामा आउनै परेन नि । घरमा श्रीमती हुँदाहुँदै कसैले मनपर्छ भन्दैमा पत्नी भएको केटासँग तपाईँ जानु हुन्छ र? तपाईँसँग औपचारिक विवाह भएको छ? को सँग परम्परागत विवाह भएको हो? विवाह दर्ता छ कि छैन?” बहिनीले भनिन्,“मसँग औपचारिक विवाह भएको छैन । मलाई घर पनि लगेको छैन । भोज खुवाएर विवाह भएको त घरकै श्रीमती सँगै हो । तर, ऊ मनपर्दैन भनेर मसँग बस्न आउँछ । म के गरुँ । तर, मसँग विवाह दर्ता र छोराको जन्म दर्ता छ सर ।”
म अचम्ममा परेँ । औपचारिक विवाहबिना नै वर्षौँसम्म एउटा केटासँग बस्ने भनेको राम्रो कुरा भएन । फेरि केटाले जन्म दर्ता र विवाह दर्ता गरिदिएको छ । कस्तो अचम्म रहेछ । मैले बहिनीलाई सोधेँ, “गल्ती त बहिनीकै हो । तैपनि, भन्नुस् वडाले तपाईँलाई कस्तो सहयोग गर्नुप¥यो ।”
बहिनीले भनिन्, “मलाई मेरो श्रीमान् ल्याइदिनुप¥यो र खर्च जुटाइदिनुप¥यो ।” त्यसपछि मैले बहिनीसँग श्रीमान्को नाम र मोबाइल नं. मागेँ र फोन गरेँ । भोलि वडामा आउनको लागि अनुरोध गरेँ । त्यसपछि बहिनीलाई पर्सि वडामा आउन अनुरोध गरेँ ।
भोलिपल्ट दिनको दोस्रो प्रहरमा एकजना युवक हँसिलो पाराले नमस्कार वडा ध्यक्षज्यू भन्दै कार्यालयमा आउनुभयो । मैले नमस्कार फर्काउँदै सोफामा बस्न अनुरोध गरेँ । उहाँले सोफामा बसिसकेपछि भन्नुभयो, “मैले दुइटा केटी विवाह गरेर धेरै गल्ती गरेँ सर । जीवनमा धेरै दुःख पाइयो । दुःख हुने थाहा हुँदाहुदैँ म फसेँ सर । म पुलिस चौकीदेखि माइती नेपालसम्म धाएँ । मेरी कान्छी श्रीमतीले खान लाउन दिएन भनेर धेरै संस्थामा धेरै ठाउँमा उजुरी दिइन् । अब यहाँ पनि आइपुगिन् सर । तपाईँले जे आदेश दिनुहुन्छ म त्यही गर्न तयार छु । तर, हजुरले मेरी श्रीमतीलाई मैले दिएको खाएर कोठामा आरामले बस्न एकचोटि सम्झाइदिनुहोला ।”
मैले प्रतिप्रश्न गरिहालेँ, “पहिलो, दुइटी श्रीमती ल्याउनु हुँदैनथ्यो । दोस्रो, श्रीमती ल्याएपछि खुवाउनुपर्दैन?” जवाफमा उहाँले भन्नुभयो, “त्यही भएर त सरसँग माफी मागेको । यो आमाबुबाको बाध्यताले गर्दा गर्नुपरेको हो । मेरो सोच थिएन । यही कान्छी श्रीमतीसँग मेरो प्रेम परेको थियो । तर, घरमा नमानेर अर्कै केटीसँग विवाह गर्नुप¥यो । दुवैलाई छोड्न सक्ने वातावरण नै भएन । एउटी आमाबुबालाई मनपर्ने अर्की मलाई मनपर्ने अनि त्यसैले दुवैलाई समान गरिराखेको हो सर । यहाँ पनि खान लाउन दिएन भनेर आएकी होला नि होइन? तपाईँले फोन गर्ने बित्तिकै मैले हिजो बेलुकी कोठामा गएर चामल एक बोरा, एउटा ग्याँस सिलिन्डर, च्यूरा एक बोरा अनि आवश्यक तरकारी र दस हजार रूपैयाँ दिएर आइसकेँ सर । अब तपाईँकहाँ कराउन आउँदिन । स्कूलमा पनि आजै शुल्क तिर्न जान्छु । छ महिनाको तिर्न बाँकी रहेछ । के गर्ने सर दुइटी केटीसँग विवाह गरेर दुःख पाइयो । केही पैसा दिन नसक्दा यस्तो हालत भयो । भोलिपर्सि मेरो कमाइ नभएको बेला के गर्ने होला । म बिरामी भई खर्च दिन नसकेको अवस्थामा के गर्ने होला । यता जेठी तर्फबाट दुइटा सन्तान छ । दुवै बोर्डिङ स्कूलमा राखिदिएको छु । पैसा तिर्न नसकेको एक वर्ष भयो । घर जान लाजै लागिसकेको छ । यता जेठी कराउने उता कान्छी कराउने ।”
उहाँको कुरा सुनेर मलाई के जवाफ दिने के जवाफ दिने जस्तो भयो । जे हुनुभयो । अब आउँदा यस्तो उजुरी आउने वातावरण नबनाउन अनुरोध गरेँ । जेठी र कान्छी श्रीमती दुवैलाई सन्तुलनमा राख्न अनुरोध गरेँ । दुवैलाई विवाह दर्ता र बच्चाहरूको जन्म दर्ता लिई दिनुभएकोमा धन्यवाद भन्दै बिदावारि गरेँ । भोलिपल्ट कान्छी श्रीमती वडामा सरलाई धन्यवाद दिन आइपुगिन् । मैले झगडा नगरी बस्न अनुरोध गरी बिदावारि गरेँ ।