सिम्रिका
आफ्नो देशलाई जोगाउन नेपाली छोरीहरूले पनि बहादुरीपूर्वक लडेको इतिहास सुन्न र पढ्न पाइन्छ । चाहे कीर्तिपुरको लडाइँमा होस्, चाहे नालापानीको युद्धमा । देशको लागि अलिकति पनि नझुकिकन लडेका नेपाली बहादुर छोरीहरूको र लडाइँको इतिहास अरु पनि होला । थुपै्र विदेशी बहादुर छोरीहरू पनि इतिहासको गर्भमा लुकेर बसेका होलान् ।
कीर्तिपुर युद्धको गोर्खाली सेनाका साथमा छरिएर रहेका बाइसे, चौबिसे साना साना राज्यहरूलाई एकीकरण गर्ने क्रममा काठमाडौँ उपत्यका वरपरको नुवाकोट, रसुवा, साँखु, नगरकोट, नाला, बनेपा, धुलिखेल, श्रीखण्डपुर, पनौती, साँगालगायतका गढी, राज्य जितेपछि पृथ्वीनारायण शाह काठमाडौँ उपत्यका पसे । काठमाडौँ उपत्यका जित्न उनले रणनीतिक रूपले महत्वपूर्ण र बलियो किल्लाको रूपमा रहेको कीर्तिपुरमाथि आक्रमण गरे । वि.सं. १८१४ मा भएको कीर्तिपुरमाथिको पहिलो आक्रमणमा पृथ्वीनारायण शाह पराजित भए । त्यस आक्रमणमा उनका विश्वास पात्र सेना प्रमुख काजी कालु पाण्डे कीर्तिपुरे सेनाबाट मारिए । दोस्रोपटक वि.सं. १८१६ मा पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि आक्रमण गरे । त्यसमा पनि उनी असफल भए । उनका भाइ सुरप्रताप शाहको आँखा कीर्तिपुरे जनताको वाणले फुटायो ।
वि.सं. १८२१ मा उनले पहिलो र दोस्रो पटकको पराजयबाट पाठ सिकेर नयाँ रणनीतिका साथ तेस्रोपटक आक्रमण गरे । त्यसमा उनी सफल भए । यसमा सफल हुनुका थुपै्र कारणहरूमध्ये एउटा कारण नाकाबन्दी हो । उनले गुप्तरूपमा आफ्ना मान्छेहरू विभिन्न रूप र भेषमा भित्र पठाए । उनीहरूले विभिन्न लोभ र लालच देखाएर कीर्तिपुरका केही लोभी, विश्वासघाती, देशद्रोही जनतालाई हातमा लिए । पृथ्वीनारायण शाहले भित्रैबाट हमला गरी कीर्तिपुर कब्जा गरे ।
पृथ्वीनारायण शाहले अन्य राज्यमा व्यहोर्नु नपरेको पराजय यहाँ भोग्नु पर्नाका महत्वपूर्ण कारणहरूमा कीर्तिपुरका जनताको एकता र बलिदानी भावना हो भन्दा फरक नपर्ला । त्यो भन्दा महत्वपूर्ण प्रेरणादायक कारण वा पक्ष भनेको कीर्तिपुरका बहादुर छोरीहरू थिए । उनीहरू कीर्तिपुरको युद्धमा पुरुषको भेषमा लडेको कारण पृथ्वीनारायण शाहलाई युद्धमा हम्मेहम्मे भएको भनिन्छ । यही झोकमा उनले कीर्तिपुरका बहादुर जनताको नाक, कान, स्तन काटेर पासविक यातना दिएको सुनिन्छ । भनिन्छ, इतिहास हार्नेको होइन जित्नेको हुन्छ ।
कीर्तिपुर जनताको एकता र वीरताले नै पृथ्वीनारायण शाहले कीर्तिपुर जित्न हम्मेहम्मे भएको कुरा माथि उल्लेख भइसकेको छ । भनिन्छ, कीर्तिपुरको युद्धमा पृथ्वीनारायण शाहलाई कीर्तिपुरका जनताले पक्राउ गरेका थिए । कीर्तिपुरका जनताले मार्न लागेको बेलामा उनलाई जनताले राजालाई मार्ने अधिकार छैन† मार्न हुँदैन भनेर छोडिदिएका थिए । पृथ्वीनारायण शाहले कीर्तिपुर सजिलैसँग जित्न नसक्नुमा कीर्तिपुर जनताले आत्मसमर्पण गरेनन् बरु लडे, कीर्तिपुरका बहादुर छोरीहरूले पुरुषको भेषमा गोर्खाली सेनासँग वीरतापूर्वक लडे । ती बहादुर छोरीहरूले मुखमा आँखामात्र देखिने बाँदरे टाउकोरूपी टोपी (माक टपुली) लगाएर लडेको गोर्खाली सेनाहरूले थाहा पाएका थिए । तीनपटक आक्रमण गरेर कीतिपुर जितेपछि मात्र पृथ्वीनारायण शाहले वि.सं.१८२५ मा कान्तिपुर इन्द्रजात्राको दिन वि.सं. १८२६ मा ललितपुर हुँदै भक्तपुर जितेका थिए ।
इस्ट इन्डिया कम्पनीको अङ्गे्रज सेनासँग वि.सं. १८१४ मा हाल भारतको उत्तराखण्डको देहरादुन नजिकैको नेपाली भूमि नालापानी गढी जोगाउन बहादुर नेपाली छोरीहरूले सेनापति बलभद्र कुँवरको नेतृत्वमा वीरतापूर्वक लडेका थिए । बलभद्रको कमान्डमा रहेका छोरीलगायतका लडाकुहरूले कमान्डर मेजर जनरल जिलेस्पीको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनासँग बहादुरीपूर्वक लडेका थिए । त्यस लडाइँमा कमान्डर जिलेस्पीलाई वीर नेपाली लडाकुहरूले मारिदिए । त्यसले नालापानी गढी कब्जा गर्न अङ्ग्रजेहरूलाई हम्मेहम्मे परेको थियो । यसरी आधुनिक हतियार र सैनिक बलले हराउन नसकेपछि अङ्ग्रेजहरूले नजिकैको गाउँलेलाई हातमा लिएर नाकाबन्दी र पानीको मुहान बन्द गरिदिए । त्यसविरुद्ध लडे । तर, आत्मसमर्पण गरेनन् । त्यसैले युद्धपछि अङ्ग्रेजहरूले बलभद्र कुँवरलाई ‘Bravest of the brave’ (वीरहरूमध्ये पनि वीर) उपाधि दिएका थिए ।
यही ‘मजदुर’ पत्रिकामा हामीले पढिसकेका छौँ कि सोभियत सङ्घकी जोया पनि कम बहादुर छोरी थिएनन् । उनले आफ्नो देश सोभियत सङ्घलाई बचाउन बलिदान दिइन् । उनको पूरा नाम जोया कस्मोदिम्यान्स्काया थियो । सन् १९२३ सेप्टेम्बर १३ मा रुसको ओसिनोगाइमा जन्मिएकी जोया दोस्रो विश्वयुद्धमा रुसको राजधानी मस्को हिटलरको नाजी सेनाको कब्जा भएको बेला उनी १८ वर्षकी थिइन् । युद्धको कठिन दिनमा पाइला पाइलामा मृत्युको डर थियो । सोभियत जनता नाजीविरुद्ध सङ्घर्षरत थिए । सोभियत गुरिल्लाहरूलाई सहयोग गर्न साहसिला योद्धाहरू शत्रु नियन्त्रित क्षेत्रहरूमा पस्थे । १८ वर्षीया जोया पनि धैर्य र साहसका साथ हिटलरको सेना नियन्त्रित क्याम्पहरूमा आक्रमण गर्दै अगाडि बढिन् ।
जोया प्रायः पुरुषको भेषमा हुन्थिन् । एक दिन जर्मन सेनाको क्याम्पमा आगो लगाउँदै हिँडेको अवस्थामा उनी पक्राउ परिन् । पुरुषको भेषमा पक्रिएको जोयालाई केटीको रूपमा पाउँदा जर्मन सेनाहरू तीनछक्क परेका थिए । सेनाको हरेक प्रश्नको जवाफ उनी निडरका साथ फर्काउँथिन् । हिटलरको क्रूर सेनाले उनलाई आत्मसमर्पण गर्नभन्दा उनले अस्वीकार गरिन् । गुप्त सूचना र जानकारी हासिल गर्न सेनाले निकै प्रयत्न ग¥यो । तर, जोया पटक्कै गलिनन् । अनि उनीमाथि अमानवीय यातना गरियो । उनको कलिलो शरीरमा कोर्दा बर्साइयो, हिउँमा नाङ्गै खुट्टा हिँड्न लगाइयो । उनको पिँठ्यू, खुट्टा हातलगायत जिउभरि कोर्दाका निलडाम थिए । चिउँदोमुनि सलाइ कोरी राखिदिन्थे । करौतीले पिठ्यूँमा रेट्थे । बन्दुकको नालको चुच्चोले घोच्थे । बर्बर यातना दिन्थे तर, पनि उनी झुकेनन् । बरू, यातना दिने जर्मन सैनिकहरू थाक्थे ।
केही दिनपछि नाजी सेनाले उनलाई पेटिस्चेभो भन्ने गाउँको माझमा फाँसीको तयारी गरे । उनको घाँटीमा ‘भूमिगत दल’ को सदस्य लेखेको व्यानर झुन्ड्याइदिए । त्यतिबेला नाजी सेनाहरू परिवर्तनकारीहरूलाई सजाय दिएको र फाँसीमा झुन्डयाएको फोटो खिच्न र खिचाउन खुब सोख राख्थे । फोटो खिचाउनेहरूको भिड लाग्न थाल्यो । जोयालाई फाँसीमा झुन्ड्याएको हेर्न गाउँले जनतालाई बाध्य पारिएको थियो । यस्तो समयमा समेत निकै साहसका साथ जोयाले सम्बोधन गरिन्, “तपार्इँहरू किन दुःखी हुनुहुन्छ ?”
जर्मनको नाजी सेनाले हतियारको भरमा नियन्त्रणमा राखेका जनतालाई जोयाले उत्साहित गर्दै भनिन्, “मलाई हाम्रो मातृभूमि र तपाईँहरूको रक्षाको लागि मर्न पाएकोमा गौरवको अनुभव हुँदै छ ।” जोयाले निकै बहादुरीका साथ नेपालमा सहिद गंगालालले राणाहरूलाई भनेजस्तै जर्मन सेनाहरूलाई उल्टो आफ्नो अगाडि आत्मसमर्पण गर्न सुझाव दिइन् । सोभियत समाजवादको रक्षा आन्दोलनमा अन्तिम विजय सोभियत जनताकै हुने बताइन् । उनले भनेकी थिइन्, “मेरो फाँसीको बदला लिइनेछ । तिमीहरू मलाई मार्दै छौ । तर, याद गर म एक्ली छैन† मेरो पछाडि २० करोड सोभियत जनता छन् । सोभियत जनतालाई तिमीहरू मार्न सक्ने छैनौ ।”
अन्ततः उनलाई फाँसी दिइयो । यसरी शत्रु शिविरमा मारिने जोया आफ्नो सङ्घर्षमा विचलित भइनन् । उनले सङ्घर्षमा लाग्नेहरूप्रति विश्वासघात गरिनन् । शत्रु सेनाको कब्जाबाट देशलाई मुक्त गर्ने क्रममा उनले मृत्युलाई बहादुरीपूर्वक अँगालिन् । देशमा आमूल परिवर्तनको निमित्त सम्झौताहीन सङ्घर्ष, निःस्वार्थ भाव र अर्थपूर्ण बलिदानी आवश्यक हुन्छ भन्ने शिक्षा र सन्देश उनले विश्वमा छरिन् ।
आज पनि नयाँ पुस्तामाझ जोया एउटा उदाहरणीय र अनुकरणीय पात्रको रूपमा प्रसिद्ध नाम हो । देशभक्त र परिवर्तनवादी नयाँ पुस्ताको हृदयमा बस्न सफल उनी जनताकी बहादुर छोरीको रूपमा विश्व प्रसिद्ध छिन् । देशको लागि बहादुरीपूर्वक लडेर वीरगति प्राप्त गरेकी जोयालाई सोभियत सरकारले ‘सोभियत सङ्घकी नायिका’ (Heroines of Soviet Union) विभूषणले सम्मान गर्यो । यस्ता जोयाहरू भियतनाम, उत्तर कोरिया, चीन, क्युवालगायतका देशहरूमा पनि पक्कै होलान् । जोयाको बहादुरीबाट पाठ सिकेर अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादसँग लडेर देशलाई जोगाउनु आवश्यक छ ।