#राजेश कहाँर
भनिन्छ- विना भोजन मान्छे ४० दिन बाँच्न सक्छ। विना पानी तीन दिन, विना श्वास आठ मिनेट अनि विना आशा एक मिनेट पनि रहन सक्दैन, आत्महत्या अपराध या रोग हो? एक पल बढी बाँच्न करोडौं खर्चने र त्यसको मूल्यका लागि सबै थोक त्याग्न तयार हुने मान्छे मृत्यु रोज्न किन हतारिंदै छ? एक पटक त्याग्नैपर्ने शरीरलाई स्वाभाविक रूपले अन्त्य हुनदिनु भन्दा पहिल्यै मार्न मान्छे कसरी तयार हुन्छ? के जीवन समस्या र मृत्यु समाधान हो ?
विश्व स्वास्थ्य संगठनका अनुसार, वर्षमा झण्डै सात लाख मानिसले आत्महत्या गर्छन्। अझ १५ देखि २९ वर्ष उमेरका युवाको मृत्युको चौथो कारणमा आत्महत्यालाई लिइएको छ। संसारको वर्षभरिको तथ्याङ्कलाई हेर्दा हरेक ४५ सेकेन्डमा एक जनाले आत्महत्या गर्छ। तत्काल यो रोकिने छाँट पनि देखिंदैन। आँकडा भन्छ- यो उच्च दरमा बढिरहेको छ।
यसमा अर्को आश्चर्यजनक तथ्य के छ भने सबैभन्दा बढी आत्महत्या दर यूरोपमा छ। सबैभन्दा कम आत्महत्या दर एन्टिगुवा र बर्मुडा जस्ता देशमा देखिएको छ। अझ अमेरिका, रसिया जस्ता देशमा त धेरैजसो युवा लागूपदार्थ सेवन गरेर पलपल नसामै बाँचिरहेको तथ्य छ। जुन मानव सभ्यताकै सबैभन्दा चुनौतीको विषय बनेको छ।
विकासले भौतिक जीवन त दिनदिनै सहज बनिरहेको छ, तर पनि धेरै युवा मृत्यु किन रोजिरहेका छन्? आखिर हामीले बोकेर हिंड्ने शरीर हामीबाट नै कसरी हाम्रो नियन्त्रण बाहिर जान्छ?
मृत्यु रोज्न आतुर हुनुलाई विज्ञानले कसरी हेर्छ? आधुनिक विज्ञानले जीवमा बाँच्ने या मृत्युको चाहना जगाउने काम ‘डोपामाइन’ नामको रसायनले गर्ने बताउँछ। अर्थात्, यही रसायन उत्पादन हुन छोड्नु वा उत्पादन हुनुले मान्छे कुन अवस्थामा छ भन्ने निर्धारण गर्छ। विज्ञान भन्छ- मीठो लागेको चिज खाए या खुशी लाग्ने काम गरे मस्तिष्कमा ‘डोपामाइन’ हर्मोन उत्पादन हुन्छ।
यसले अर्को तहमा गएर ‘सेरेटोनिन’ नामको रसायन बनाउँछ, अनि मान्छे शान्त र आनन्द महसूस गर्छ। मानिस खुशी हुने, दुःखी हुने, निराश हुने या धेरै उत्साहित हुने, प्रतीक्षा या हतास सबै कुरा यही ‘डोपामाइन’ र ‘सेरेटोनिन’ रसायन मार्फत हुन्छ। यस्ता रसायन उत्पादन हुन छोडेपछि मान्छेलाई कुनै कुराले पनि खुशी दिंदैन र मान्छे आत्महत्यासम्म गर्न पुग्छ भन्ने विज्ञहरूको तर्क छ।
वैज्ञानिक अध्ययन ‘सेरेटोनिन’ रसायन उत्पादन गर्न मानिस खुशी रहनुपर्ने बताउँछ। केही कुरामा खुशी नै हुन नसक्ने मान्छेले के गर्ने त? यसको ठ्याक्कै जवाफ विज्ञानसँग पनि छैन। यस्ता आन्तरिक धेरै कुराको समाधान विज्ञानसँग छैन।
मन आफैं कसरी खुशी हुन्छ त? यसबारे विज्ञानले ठ्याक्कै भनेको छैन। विज्ञानले भौतिक चिजको अध्ययन गर्छ, त्यसैले औषधि खान सुझाउँछ।
पश्चिमा सभ्यताले भौतिक (विज्ञान)को आधारमा जीवनको परिभाषा गर्नुअघि पूर्वीय सभ्यताले स्वप्न, सुषुप्तिदेखि तुरीय अवस्थासम्म पुगेर जीवनलाई हेरेको देखिन्छ। जहाँ भौतिक पदार्थभन्दा आन्तरिक सञ्चालकको गहिरो अध्ययन छ। यसले जिउने उत्कण्ठालाई जीवैषणा र मृत्युप्रतिको चाहनालाई मृत्येषणा भन्ने गरेको छ। जीवैषणा र मृत्येषणा भौतिक शरीरमा नभएर मानसिक र आत्मिक शरीरमा हुने भएकाले यसको समाधान पनि भौतिक शरीरमा नभएको जनाउँछ। किनकि, भौतिक शरीर देखिने शरीर भए पनि यो सूक्ष्म रूपमा मनबाट नियन्त्रित हुन्छ।
बाहिरबाट देख्न नसकिने सूक्ष्म शरीर (मन) र त्योभन्दा सूक्ष्म अर्को ऊर्जा शरीरबाट भौतिक शरीर डोरिएको हुन्छ। मतलब हामीले लिएर हिंडिरहेको शरीर भौतिक शरीर, मानसिक शरीर र ऊर्जा शरीर गरी तीन शरीर मिलेर बनेको हुन्छ। जसलाई सूक्ष्म, स्थूल र कारण शरीर पनि भनिन्छ।
यी तीन थरी शरीरलाई यिनले लिने आहारको प्रकारबाट पनि छुट्याउन सकिन्छ। जस्तो- भौतिक शरीरको आहार भोजन हो भने मानसिक शरीरकोे आहार विचार हो। जसरी भौतिक शरीरको आहार स्वस्थ र अस्वस्थ हुन्छ, त्यसको असर शरीरमा पर्छ। त्यस्तै, सूक्ष्म शरीरको आहार विचार भएकाले विचार पनि स्वस्थ र अस्वस्थ हुन्छ। त्यो भनेको सकारात्मक र नकारात्मक विचार हो।
अनि ऊर्जा शरीरको आहार भाव हो। र, यो भाव पनि करुणा, दया, प्रेम, घृणा, निन्दा, विषाद जस्ता सकारात्मक र नकारात्मक खालका हुन्छन्। कस्तो भाव हामीमा तयार भयो भन्ने आधारमा आशा र निराशाको बीज रोपण हुन्छ। त्यही भावका कारण मान्छे जिवाभोग या मृत्युभोगको बाटोमा हिंड्न तयार हुन्छ।
(लेखक कहाँर,लुम्बिनी सांस्कृतिक नगर नगरपालिका वडा नं. १० धुपही, रुपन्दृहीका हुनुहुन्छ। हाल बैदेशिक रोजगारीको क्रममा कतारको दोहामा हुनुहुन्छ।)