सन्दर्भ : फ्रेडरिक एङ्गेल्सको जन्म जयन्ती (नोभेम्बर २८)
कार्ल माक्र्ससँग मिलन
कार्ल माक्र्सका साथीभाइ र चेलाहरू प्रशस्त थिए । तर, पवित्र आत्मा भएको साथीको रूपमा सबभन्दा बढी एङ्गेल्स नै हुनुभयो । माक्र्स र एङ्गेल्सको सम्बन्ध नङ र मासुजस्तै हुन गयो र त्यो सम्बन्ध जीवनको अन्तिम क्षणसम्म अति गाढा र दृढ रह्यो । उहाँहरूको मित्रताको नाता यो विश्वको लागि एउटा ऐतिहासिक नमुना भयो । आजसम्म पनि उहाँहरू दुई जनाको जस्तो सम्बन्ध भेट्न मुश्किल छ । उहाँहरूको मित्रताको सम्बन्ध विश्व बन्धुत्वको एउटा महान् उदाहरण भएको छ । अति निर्मल पवित्र आत्माको मिलन, पूर्ण विवेकी र उच्च नैतिकताको सम्बन्ध उहाँहरूको थियो ।
‘महान् व्यक्तिले मात्र इतिहास बनाउन सक्छ’ भन्ने बावेर दाजुभाइ र उनका अनुयायीहरूको विश्वासलाई माक्र्स र एङ्गेल्सले कटु आलोचना गर्नुको साथै त्यसको सट्टामा जुन विचार प्रस्तुत गर्नुभयो, त्यो नै ऐतिहासिक भौतिकवादको सैद्धान्तिक नियम बन्न गयो । उहाँहरूले भन्नुभयो, “इतिहासको सच्चा निर्माता ‘महान् व्यक्ति’ होइन इतिहासका निर्माता त परिश्रमी जनता हुन् ।”
माक्र्स र एङ्गेल्स विभिन्न महत्वपूर्ण विषयहरूको निर्णयमा पुग्नुहुन्थ्यो । अक्सर उहाँहरू दुवै जनाको लेखाइमा इतिहासको जड्वाद विषयमा विशेष जोड दिएर आरम्भ गरेको पाइन्छ । एङ्गेल्सको तुलनामा माक्र्सको लेखाइभित्र धेरैजसो सामञ्जस्यपूर्ण भाव पाइन्छ ।
‘फ्रान्सको जर्मन अनाल्ल’ पत्रिकामा उहाँहरू दुवै जनाले लेखहरू लेख्ने गर्नुहुन्थ्यो । सन् १८४४ को सेप्टेम्बरमा जर्मनी फर्कन लाग्दा एङ्गेल्स प्यारिस सहरमा दस दिन बस्नुभएको थियो । त्यसैबेला माक्र्ससित एङ्गेल्सको घनिष्ठ मित्रता कायम भएको थियो । दुवै जना मिलेर ‘पवित्र परिवार’ नामक एउटा पुस्तक प्रकाशित गर्ने निर्णय गर्नुभयो । त्यो पुस्तक सन् १८४५ मा प्रकाशित भयो । जर्मनमा चल्दै आएको गलत दार्शनिक विचारधाराको समालोचना गर्नु नै त्यस ग्रन्थको मुख्य उद्देश्य थियो । त्यो पुस्तक खास गरी मजदुरहरूको हितको कुरालाई दृष्टिगत गरेर लेखिएको थियो ।
प्यारिस सहरमा दुवै जनाको भेट भएको अवधिभर दुवै जनाको संयुक्त प्रयासबाट लेखिएको पुस्तक ‘पवित्र परिवार’ प्रकाशित गरेपछि दुवै प्रतिभाशाली पुरुषहरूमा गाँसिएको मित्रता साँच्ची भन्ने हो भने विश्वमै बेजोडको हुन गयो ।
प्यारिस सहरमा माक्र्ससित भेटघाट र मित्रता स्थापनापछि एङ्गेल्स जर्मनीमा फर्कनुभयो र सन् १८४४ मा ‘इङ्गल्यान्डमा मजदुरहरूको अवस्था’ नामक पुस्तक लेख्न सुरु गर्नुभयो । अनि सन् १८४५ को गृष्म ऋतुमा जर्मन भाषामा प्रकाशित गर्नुभयो । त्यसबेला एङ्गेल्स २६ वर्ष लाग्नुभएको थियो । पुँजीका मालिकहरूको अधीनमा रहेका कारखानाहरूमा आधुनिक मजदुर जन्मिँदै छन् भन्ने कुरा उक्त पुस्तकमा स्पष्टरूपमा वर्णन गरिएको छ । साथै यी अत्यन्त कष्टमय परिस्थितिमा मजदुरहरू कसरी जीवन बिताइरहेका छन् ? पुँजीवादी उत्पादन पद्धतिले मजदुरहरूलाई नैतिक पतन गराएर कसरी तिनीहरूलाई पशुत्वमा गिराएको छ भन्ने कुरा उक्त पुस्तकमा लेखिएको छ । ती मजदुरहरूले दासभन्दा पनि गएगुजे्रको घृणित जीवन बिताइरहेको कुरा उक्त पुस्तकमा एङ्गेल्सले प्रमाणित गर्नुभएको छ । किनभने, पुँजीवादी व्यवस्थामा मजदुरहरू शरीर र मन दुवै आफ्ना मालिकहरूलाई बिक्री गर्न बाध्य भएका हुन्छन् । यतिको दुःख, कष्ट र परिश्रम गरेर पनि तिनीहरूको निम्ति दिनहुँ दुई छाक पेटभर खान र एक आङ लाउन पाउने कुरासम्मको कुनै निश्चितता छैन ।
सक्कली समाजवादबारे एङ्गेल्सको ग्रन्थ
सक्कली समाजवाद केलाई भनिन्छ भन्नेबारेमा एङ्गेल्सले आफ्नो ग्रन्थ ‘ड्युहरिङ मत खण्डन’ प्रकाशित गर्नुभयो र गलत किसिमको विभिन्न थरीका काल्पनिक समाजवाद कस्तो र सक्कली समाजवाद कस्तो हुन्छ भन्ने कुरा प्रस्ट पारिदिनुभयो । सन् १८७५ मा एङ्गेल्सको रचना ‘फेरो याट्स्’ पत्रिकामा अतिरिक्त वैज्ञानिक अङ्कको रूपमा छाप्यो । त्यसको बाँकी अंश ‘समाजवाद, काल्पनिक र वैज्ञानिक’ नामले छापियो । यो दोस्रो अङ्कको पुस्तक विश्वका धेरै भाषाहरूमा अनुदित भई प्रकाशित भएको छ ।
सैनिक जीवन
एङ्गेल्सले युद्धसम्बन्धी विद्याको पनि शिक्षा पाउनुभएको थियो । सन् १८४१ को अक्टोबर देखि १८४२ को अक्टोबरसम्म पूरा एक वर्ष उहाँ बर्लिनको गार्ड–आर्टिलारीमा सैनिक जीवन बिताउनुभयो । यसरी सैन्य जीवनमा पनि उहाँ पारङ्गत हुनुहुन्थ्यो ।
त्यसबेला जर्मनीमा दर्शनशास्त्रलाई लिएर ठूलो आन्दोलन चलेको थियो । युवक एङ्गेल्स बढीभन्दा बढी समय दर्शनशास्त्रको अध्ययनमा लगाउने गर्नुहुन्थ्यो । समाजमा प्रचलित धार्मिक प्रचारको उहाँ कट्टर विरोधी हुनुहुन्थ्यो । त्यसैबेला उहाँले फ्रान्स–प्रसियाबिच भएको युद्धमा जनरल म्याकमोहनको पक्षले हार्नेछ भनी भविष्यवाणी गर्नुभएकोले साथीभाइहरूले उहाँलाई जर्नेलको उपाधी दिएका थिए ।
सैनिक जीवन बिताइरहेको बेलामा पनि एङ्गेल्स नबिराइकन दिनहुँ लेखपढ गर्ने काम गरिरहनुहुन्थ्यो । ज्ञानको दियो एकपटक मनमा बलेपछि त्यो के निभ्न सक्थ्यो र ? वर्षभरिको सैनिक जीवनमा पनि उहाँले जर्मनीका विभिन्न पत्रपत्रिकामा लेख लेख्ने काम गर्नुभएको थियो । त्यसै समयमा एउटा स्वीस पत्रिकामा उहाँले एउटा व्यङ्ग्य कविता लेख्नुभयो र आफ्नो र माक्र्सको जीवनीसित सम्बन्धित कुरा त्यसमा उल्लेख गर्नुभएको थियो । तर, त्यसबेलासम्म माक्र्ससित उहाँको परिचय हुन पाएको थिएन ।
माक्र्ससित पहिलो भेट र सम्बन्ध
माक्र्ससित एङ्गेल्सको पहिलो भेट सन १८४२ मा भयो । सामरिक दायित्व पालन गर्दै एङ्गेल्स त्यसबेला बर्मेनमा फर्किनुभएको थियो । ‘एर्मन एन्ड एङ्गेल्स’ कम्पनीको कपडा कारखानाको प्रतिनिधि भई अक्टोबर महिनामा म्यान्चेस्टर सहरमा उपस्थित हुनुभएको थियो । एङ्गेल्सका पिता उक्त कम्पनीको हिस्सेदार हुनुहुन्थ्यो । यात्राको सिलसिलामा एङ्गेल्स ‘राइनिश जाइटुङ’ पत्रिकाको सम्पादकीय कार्यालयमा जाँदा माक्र्ससित पहिलोपटक भेट भएको थियो । त्यो भेट कति सामान्य किसिमको थियो भने उहाँहरू दुई जनाबिचमा भविष्यमा के हुने हो र कस्तो घनिष्ठता हुने हो ? त्यसको केही सङ्केत त्यसबेला देखिएको थिएन । माक्र्सले आफ्नो जीवनमा यही एकपटकमात्र एङ्गेल्सलाई सामान्य पाहुना सम्झेर एकदमै साधारण ढङ्गले बिदा गर्नुभएको थियो ।
रूप, रङ्ग र शारीरिक बनावटमा दुवै जना धेरै फरक हुनुहुन्थ्यो । माक्र्स मझौला कदको हृष्टपुष्ट शरीर भएको र गम्भीर स्वभावको हुनुहुन्थ्यो । एङ्गेल्स अग्लो र शारीरिक बनावट तन्नेरी सैनिकको जस्तो हुनुहुन्थ्यो । त्यतिबेला माक्र्सले बर्लिनको दार्शनिक सङ्घसित सम्पर्क छोडिसक्नुभएको थियो । तर, एङ्गेल्स तिनीहरूको अनुयायी नै हुनुहुन्थ्यो ।
दर्शनबाहेक अर्थशास्त्र पनि एङ्गेल्सलाई मन परेको विषय थियो । पुँजीवादको मुख्य थलो म्यानचेस्टर थियो र इङ्गल्यान्डको औद्योगिक केन्द्र म्यानचेस्टर नै थियो । त्यहाँ आएर एङ्गेल्सले अर्थशास्त्र र धन उत्पादनका साधनहरूबारे प्रत्यक्षरूपले ज्ञान प्राप्त गर्न सुअवसर पाउनुभयो । त्यसैबेला एङ्गेल्स इङ्गल्यान्डमा एक्काइस महिनासम्म बस्नुभयो । त्यही प्रवासको समय माक्र्स र एङ्गेल्सको भावी जीवन कार्यक्रममाथि सबभन्दा बढी प्रभाव परेको थियो । त्यहाँ बस्दा एङ्गेल्सले पुँजीवादको अधीनमा मजदुरहरूको घृणित अवस्था आफ्नै आँखाले हेरेर अनुभव गर्ने मौका पाउनुभयो । इङ्गल्यान्डको मजदुर आन्दोलनले उहाँलाई निकै प्रभावित पा¥यो । उहाँ काल्पनिक समाजवादीहरूको आन्दोलन तथा चार्टिस्ट आन्दोलनमा पनि सरिक हुनुभयो । तिनै आन्दोलनका मुखपत्रहरूमा लेखहरू लेखेर प्रकाशित गर्न लाग्नुभयो । एङ्गेल्सले नै सर्वप्रथम हेगेलको विचारलाई आधार बनाएर अङ्ग्रेजी र फ्रान्सेली अर्थशास्त्रहरूको आलोचना गर्नुभयो ।
जर्मनको एउटा प्रसिद्ध सामयिक पत्रिकामा एङ्गेल्सले राष्ट्रिय सम्पत्तिको आलोचना गर्नुभयो । यो आलोचनामा विभिन्न थरीका दोष र भूलहरू रहन गए तापनि प्रतिभाको प्रतिफल हो भनेर माक्र्सले उक्त आलोचनाबारे आफ्नो मन्तव्य प्रकट गर्नुभएको थियो । एङ्गेल्सले माल्थसको जनबल–तत्व, वाणिज्य सङ्कट, ज्यालासम्बन्धी ऐन र विज्ञानको प्रगति आदि कुरालाई लिएर पनि आफ्नो कलम चलाउनुभएको थियो । यी नै सम्पूर्ण लेखहरूमा वैज्ञानिक समाजवादको बिउ रहेको थियो ।
त्यसबेलाको इङ्गल्यान्डका विभिन्न वर्ग र राजनीतिक दलहरूबारे युवक एङ्गेल्सले आफ्नो विचार व्यक्त गर्नुभएको थियो । शिक्षित अग्रजहरूको लागि पनि उहाँले ‘दासको पनि दास’ भनेर वर्णन गर्नुभएको थियो । ‘सम्मानको पात्र कोही छन् भने अङ्ग्रेज मजदुरहरू छन्’ भनी उहाँले मजदुरहरूबारे आफ्नो मन्तव्य प्रकाशित गर्नुभएको थियो । “यी मजदुरहरू शिक्षा–दीक्षा नभए तापनि यिनीहरू खराब संसारबाट मुक्त छन् । यिनीहरूमा असीमित शक्ति छ र इङ्गल्यान्डलाई यिनीहरूले नै बचाउने छन्, यिनीहरूको भविष्य आश्चर्यजनक हुनेछ,” भनी उहाँले आफ्नो लेखहरूमा लेख्नुभएको थियो ।
शिक्षित अङ्ग्रेजहरूको दुईवटा पार्टी सम्बन्धबारे एङ्गेल्स ह्विगहरूको भन्दा तोरीहरूलाई कम आपत्तिजनक भनी ठान्नुहुन्थ्यो ।
बाबुसित मतभेद र सरकारको आँखामा कसिङ्गर
म्यानचेस्टरमा बाबुको कारखानामा बस्दाबस्दा वाक्क लागेर एङ्गेल्स घर फर्कनुभयो । एङ्गेल्स कारखानाबाट सङ्घको लागि बिदा हुन चाहनुहुन्थ्यो र आफ्नो पूरा समय कम्युनिस्ट विचारलाई प्रचार गर्ने काममा लगाउन चाहनुहुन्थ्यो । त्यसकारण, उहाँले कार्ल माक्र्ससित बसेर काम गर्ने निधो गर्नुभयो । उहाँ साम्यवादका सिद्धान्तहरूलाई सही रूप दिन र सर्वहारा वर्गको पार्टी गठन गर्न चाहनुहुन्थ्यो ।
आफ्नो घर बर्मेनमा नै सर्वप्रथम एङ्गेल्सले मजदुर र मध्यम वर्गहरूको बिचमा गएर आफ्नो विचारलाई प्रचार गर्ने काम थाल्नुभयो । सरकारको अनुमतिबिना कुनै सभा समारोह गर्न पाइँदैनथ्यो । तैपनि, एङ्गेल्सले साना–साना सभाहरूमा बोल्ने कार्यक्रम बनाउनुभयो र स्रोताहरू पनि बिस्तारै बिस्तारै बढ्दै गए । सरकारले यो कुरा थाहा पायो र प्रतिबन्ध लगायो । बसी बसी कलम चलाउनु र जनसाधारणहरूको बिचमा उभिएर आफ्नो कुरा भन्नुमा फरक हुन्छ भन्ने कुरा एङ्गेल्सले माक्र्सलाई भन्नुभयो ।
एङ्गेल्सलाई घरमा बस्दाबस्दै आफ्नो र बाबुको विचारमा मतभेद रहन गएको कुरा स्पष्ट भयो । उहाँले आफ्नो समस्याबारे माक्र्सलाई लेखी पठाउनुभयो । विश्वविद्यालयमा पढ्नका लागि खर्च दिन बाबु तयार हुनुहुन्थ्यो । तर, साम्यवादको प्रचार गर्नका लागि एक पैसा पनि दिन तयार हुनुहुन्नथ्यो ।
कम्युनिस्ट विचार राख्ने व्यक्तिहरू एङ्गेल्सलाई भेट्न घरमा आउने गर्थे । तर, एङ्गेल्सको बाबुलाई त्यो मन पर्दैनथ्यो । यो समस्याबारेमा एङ्गेल्सले माक्र्सलाई पत्र लेखी पठाउनुभयो, “मेरो आमा दयालु र मानवताको गुणले युक्त हुनुहुन्छ, तर घरमा बाबुको अगाडि उहाँलाई बढी बोल्ने अधिकार छैन । म आमालाई औधी माया गर्छु र सम्मान पनि । यदि आमा नभएको भए बाबुको अगाडि मेरो कुराको पनि तालमेल गर्नु मेरो लागि असम्भव हुन्थ्यो ।”
यता बाबु छोराको सम्बन्ध निकै बिग्रँदै गएको थियो । उता राजनीतिक कामहरूको प्रचारप्रसारले गर्दा प्रहरीले एङ्गेल्समाथि कडा निगरानी राख्न थाले । एङ्गेल्सले आफू बर्मेनमा गिरफ्तार भएमा बाबुलाई निकै कष्ट हुने कुरा सोच्नुभयो र ब्रुसेल्स जाने निधो गर्नुभयो । यसमा बाबुले कुनै विरोध जनाउनुभएन ।
आफ्नो राजनीतिक कार्य बन्द गर्न सन् १८४५ मा सरकारले माक्र्सलाई आदेश जारी ग¥यो । फ्रान्सको आदेश पालन नगरेको अभियोगमा उहाँलाई देश निकाला ग¥यो । उहाँ पनि बेल्जियमको राजधानी ब्रुसेल्समा नै बस्न लाग्नुभयो । बाबुसित मतभेद र सरकारको आफूमाथिको गिद्ध दृष्टिले गर्दा एङ्गेल्स पनि बर्मेन छोडेर बु्रसेल्स पुग्नुभयो ।
ब्रुसेल्स आएपछि एङ्गेल्सलाई परिवारको वाक्कलाग्दो स्थिति र निकै धेरै झन्झन्टहरूबाट मुक्ति मिल्यो । कार्ल माक्र्ससित धेरै नजिक बस्ने मौका एङ्गेल्सलाई मिल्यो । दुवै मित्रले नजीकबाट एक अर्कालाई चिन्ने र एक अर्काको विचार गहिरिएर थाहा पाउने अवसर पाउनुभयो । दुवै ब्रुसेल्सका मजदुरहरू बस्ने बस्तीमा एक अर्काको धेरै नजिकको घरमा बस्न थाल्नुभयो ।
माक्र्स र एङ्गेल्सको इङ्गल्यान्ड भ्रमण
आफ्नो मित्र एङ्गेल्सलाई अगुवा बनाएर आफ्नै आँखाले इङ्गल्यान्डको अवस्थामा हेर्न माक्र्स चाहनुहुन्थ्यो । एङ्गेल्स इङ्गल्यान्डमा चलिरहेको चार्टिस्ट आन्दोलनसित सम्पर्क राख्न र आफ्नी जीवन साथी मेरी वक्र्सलाई पनि ल्याउन चाहनुहुन्थ्यो । त्यसैले सन् १८४५ को गर्मीमा माक्र्स र एङ्गेल्स इङ्गल्यान्ड जानुभयो । त्यहाँको ६ हप्ताको बसाइमा उहाँहरूले ध्यान पु¥याएर आफ्नै आँखाले त्यहाँको अवस्था हेर्नुभयो, अनि ब्रिटिस अर्थशात्रीहरू र त्यहाँका राजनीतिज्ञहरूका पुस्तकहरूको अध्ययन पनि गर्नुभयो । लण्डनमा उहाँहरूले मजदुरहरूको सङ्गठन ‘लीग अफ दि जस्ट’ (न्यायको सङ्गठन) सित पनि सम्पर्क राख्नुभयो र त्यसपछि ब्रुसेल्स फर्किनुभयो ।
बु्रसेल्समा आएपछि ‘पवित्र परिवार’ पुस्तक मा भौतिकवादी धारणालाई अझै ठोस रूप दिन जुट्नुभयो । किनभने, अरू आलोचकहरू ‘पवित्र परिवार’ पुस्तकमाथि आक्रमण गरिरहेका थिए ।
स्रोत : फ्रेडरिक एङ्गेल्स सङ्क्षिप्त जीवनी, प्रगति प्रकाशन नेपाल