२३ कार्तिक, पाल्पा
आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टीले पाल्पा जिल्लाको क्षेत्र नं. २ मा चुनाव प्रचार प्रसार गरेको छ। नेपाल मजदुर किसान पार्टीको तर्फबाट पाल्पा क्षेत्र नं. २ प्रतिनीधि सभा तर्फका उमेद्वार शिवसुन्दर धुख्वाको नेतृत्वमा क्षेत्र नं. २ का बिभिन्न स्थानहरुमा चुनाव प्रचार प्रसार गरेको हो।

पाल्पा क्षेत्र नं. २ को केरावारी, तल्लो र माथिल्लो डुम्रे, मदनपोखरा, प्रवास, तान्सेन बजार, बतासेडाडां, हाथोर्क, जोर्ते अर्गली बजार रुरु क्षेत्रमा पुगी नेपाल मजदुर किसान पार्टीका उमेद्वार शिवसुन्दर धुख्वाले माध्यमिक तहसम्मको शिक्षा निशुल्क र अनिवार्य तथा उच्च शिक्षा निशुल्क बनाउन र १५ लाख रुपैयामा डाक्टर (एम.बिबिएस) पढाउने ख्वप बिश्व विधालय स्थापनाका लागि मादल चिन्हमा मतदान गरी आफुलाई विजयी बनाउन आग्रह गर्नु भयो। मतदाताहरुको घरघरमै पुगेर मादल चिन्हमा मतदान गरी आफुलाई विजयी बनाएमा नेपाली माटो अनुकुल समाजवादोन्मुख सन्तुलित बिकास गर्ने देशको कानुन बनाउन पहल गर्ने र स्थानीय तहलाई स्वायत्तता र बिकेन्द्रीकरणको अधिकार सम्पन्न बनाउन,जनताको सांसकृतिक स्तरको उचाइले गाउ र शहरलाई पनि आ आफ्नो खुट्टामा उभिन बल प्रदान गर्न मादल चिन्हमा मतदान गरी नेमकिपाका उमेद्वारहरुलाई विजयी बनाउनुको कुनै बिकल्प नभएको मतदाताहरुलाई बताउनु भयो।

उमेद्वार धुख्वाले तान्सेन नगरपालिकाको बसपार्क, टुँडिखेल, असनटोल, भगवतीटोल, लहरेपिपल, टक्सारटोल, सितलपाटी, ऐतिहासिक दरवार क्षेत्र, क्याम्पसरोड, गोलघर लगायत स्थानहरुमा नेमकिपाको घोषणापत्र र आफ्नो प्रतिबद्धतापत्र सहितको अपिल वितरण गर्दै देशको सन्तुलित बिकास गर्न देशको कानुन नबदलेसम्म जुन व्यक्ति जहाँबाट चुनाव जितेर गएपनि जनताले सधै दुख पाइरहने भएकोले नेमकिपाले जनताको घर घरमा चुनाव प्रचार प्रसार गर्न आएको समेत स्पष्ट पार्नुभयो। देशलाई कृषिमा आत्म निर्भर बनाउन स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्न र देशको सीमा सुरक्षा र सार्वभौमिकता रक्षाको संघर्षलाई अगाडी बढाउन, महिलाहरुको श्रमशक्ती बढाउन स्थानीय तहको वडा र टोलटोलमा शिशुस्याहार केन्द्र तथा बालोद्यान स्थापना गर्न मादल चिन्हमा मतदान गरी आफुलाई जिताउन आग्रह गर्नु भयो।

उमेद्वार धुख्वासंग स्थानीय मतदाताहरुले स्वदेशमै रोजगार श्रृजना गर्नु पर्ने, मजदुर किसान र कामदार वर्गको हितमा कानुन बनाएर सहजरुपमा राज्यसम्मको पहुंच पुर्याउन छुवाछुत, छाउपडी, बोक्साबोक्सी लगायतको अन्ध बिश्वासलाई अन्त्य गर्ने कानुनलाई कडाइका साथ लागु गर्नु पर्ने सुझाव दिएका थिए। 'हामीलाई कुनै रेल र पानी जहाज नचाहिएको तर दिनभरी कामगरे पछि सांझ र बिहान छाक टार्ने ज्यालाको बन्दोबस्त गरिदिए राम्रो हुने थियो' एक स्थानीय मजदुरले उमेद्वार शिवसुन्दर धुख्वासंग आग्रह गरेका थिए।
