देवदह । राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही निर्वाचन क्षेत्र नं. १ ले देवदह नगरपालिका वडा नं. १० मुढाबासमा बुधबार टोल भेला एवं प्रशिक्षण सम्पन्न गरेको छ ।
उक्त भेलाले किशोर बहादुर थापाको अध्यक्षतामा ७ सदस्यीय टोल इकाई समिति गठन गरेको छ । जसको उपाध्यक्षमा टिकादेवी थापा, सचिव बीर बहादुर थापा र कोषाध्यक्ष सीतादेवी सलामी श्रीस रहेका छन् । त्यस्तै सदस्यहरुमा सुस्मिता सिंजाली, कमल तरामु र भिममाया तरामी रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार डिबी थापाले यो देशको शासक वर्गले यहाँका भूमिपुत्र मुलबासीहरुको खानपान, भेषभूषा, संस्कृति लगायतका मौलिकतालाई सम्मान नगरेको आरोप लगाउँदै अब यही समस्यालाई मध्यनजर गर्दै सबै खाले बिभेदको अन्त्य गर्न जनमुक्ति शासनसत्तामा पुग्नुपर्ने अपरिहार्य रहेको प्रष्ट पार्नुभयो । उहाँले राज्यको हरेक निकायमा सबै जाति/समुदाय/लिङ्ग तथा महिलाहरुको जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने र विशेष अवसर दिनुपर्ने मुद्दा जनमुक्तिको मात्रै रहेको दाबी गर्दै अब देशमा सुशासन र शान्ति स्थापनाको लागि आगामी मंसिर ४ को चुनावमा जनमुक्तिलाई जिताउन आग्रह समेत गर्नुभयो ।
निर्वाचन क्षेत्र नं. १(२) का प्रदेश सभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार रेखा प्रसाद चौधरीले देशमा भ्रष्टाचार निर्मूल नभएसम्म देश समृद्ध नहुने दाबी गर्नुभयो । उहाँले जनमुक्ति शासनसत्तामा पुग्यो भने भ्रष्टाचारलाई देशद्रोह सरहको अपराध घोषणा गरी आजीवन जेल सजाय र निजको सम्पत्ति राष्ट्रियकरण गरिने व्यवस्था ल्याउने बताउनुभयो ।
कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष एवं निर्वाचन क्षेत्र नं. १(१) का प्रदेश सभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार प्रेम बहादुर थापा, नेपाल थारु राष्ट्रिय मञ्चका प्रेस सल्लाहकार मनजीत चौधरी, समाजसेवी मगर वापा कमान सिं सारु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम क्षेत्रीय अध्यक्ष आश बहादुर गुरुङ्गको अध्यक्षता र पार्टीका देवदह नगर अध्यक्ष डम्मर बहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।