२७ असोज/ओमसतिया
राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही निर्वाचन क्षेत्र नं. १ ले ओमसतिया गाउँपालिका वडा नं. ४ मटियरिया टोलमा बुधबार पहिलो टोल भेला सम्पन्न गरेको छ ।
भेलाले आशा कुमारी चौधरीको अध्यक्षतामा १३ सदस्यीय टोल इकाई समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष अनिता चौधरी, सचिव दिपावली कुमारी चौधरी, सहसचिव हरिलाल कंहार र कोषाध्यक्ष पहलाद थारु रहेका छन् । त्यस्तै सदस्यहरुमा इन्द्रकमल थारु, मञ्जु नाउँ, बरसाती चौधरी, कौशिला चौधरी, राधेश्याम चौधरी, कैलाशी चौधरी, तारादेवी चौधरी र शिव चौधरी रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्गले जनमुक्ति पार्टीमा राष्ट्र र राष्ट्रियताप्रति अगाध प्रेम रहेको प्रष्ट्याउँदै जनमुक्तिको विचारधारा र सिद्धान्त नै अबको विकल्प रहेको दाबी गर्नुभयो । उहाँले खुलेआम हत्या गर्दै हिँड्ने हत्याराहरुको हातमा सत्ताको बागडोर रहेको हुँदा पहिचान र अधिकारका लागि संघर्ष गरेकाहरु बिना कसुर जेलमा सड्नुपरेको आरोप लगाउनुभयो । जनमुक्तिको सरकार भयो भने देशको जल, जंगल, जमिनको उचित व्यवस्थापन र सदुपयोग गरेर स्वदेशी उत्पादनलाई विदेश निर्यात गर्ने बताउँदै प्रदेश अध्यक्ष गुरुङ्गले युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेण्टी सुनिश्चित गर्ने दाबी गर्नुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल थारु राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष एवं प्रदेश सभा सदस्य(ख) का प्रत्यक्ष उम्मेदवार रेखा प्रसाद चौधरीले आजसम्म दलाल राजनीतिक दलहरुले चुनावको मुखमा आएर जनतालाई झुठा आश्वासन दिँदै जितेर सरकारमा पुगेको आरोप लगाउँदै अब जनमुक्ति पार्टी सरकारमा पुग्यो भने दलाल नेताहरुलाई ठेगान लगाउन (राइट टु कोर्ट) को व्यवस्था ल्याइने स्पष्ट पार्नुभयो । पार्टीको सबै वर्ग र समुदायलाई जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने अडान रहेको बताउँदै उम्मेदवार चौधरीले अब सबै समुदाय र पिछडिएको क्षेत्रका महिलाहरु जनमुक्तिमा आबद्ध भएर राज्यको राजनीतिक एवं गैर राजनीतिक हरेक निकायमा ५० प्रतिशत कोटाका लागि जनमुक्तिसंग हातेमालो गर्दै सत्तामा पुर्याउनुपर्ने जिकीर गर्नुभयो ।
कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष एवं प्रदेश सभा सदस्य(क) का प्रत्यक्ष उम्मेदवार प्रेम बहादुर थापा, नेपाल थारु राष्ट्रिय मञ्चका प्रेस सल्लाहकार मनजीत चौधरी, पार्टी तिलोत्तमा वडा नं. १० का अध्यक्ष महादेव चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम क्षेत्रीय अध्यक्ष आश बहादुर गुरुङ्गको अध्यक्षता र पत्रकार राज चौधरीको संचालनमा सम्पन्न भएको थियो ।