समाजवादी देश क्युवा नेपालभन्दा सानो क्यारिवियाली देश हो । क्युवालाई बहादुरहरूको देश भनिन्छ । सानो देश भए पनि साम्राज्यवादी देशहरू एवम् संसारकै शक्तिशाली देशसामु नझुक्ने एक राष्ट्र हो– क्युवा । साम्राज्यवादी आधिपत्य, पुँजीपति र जमिनदारहरूद्वारा हुने शोषणविरुद्ध दुई शताब्दी पहिलेदेखि सङ्घर्ष गर्दै आएको क्युवा वीरहरूको देश हो । आफ्नो ज्यानको बाजी राखेर क्रान्तिको रक्षा गर्ने देश क्युवा हो । क्रान्तिकारी शक्तिहरूको घनिष्ठ एकता कायम गर्न, जनताको स्वाधीनता दिगो राख्न, क्रान्तिकारी सत्ता स्थापना गर्न, समाजवादको निर्माण सुरु गरी कम्युनिस्ट पार्टीको अगुवाइमा साम्यवादी समाजको निर्माण गर्न क्युवाली सरकार र क्युवाली जनता लाग्दै छन् । क्युवा कामदारहरूको स्वाधीन र सार्वभौम समाजवादी राज्य हो । समाजवादी गणतन्त्र क्युवाको सबै राज्यसत्ता जनताको हातमा छ । क्युवाली जनता वीर र साहसी छन् । त्यहाँका जनता रगतको खोलो बगाउनुपरे पनि आफ्नो देशको सार्वभौम सत्ता जोगाउन पछि पर्दैनन् । सानो देश भए पनि ठूला शक्ति राष्ट्रसामु नझुक्ने या साम्राज्यवादविरुद्ध निरन्तर लडिरहेको देश हो, क्युवा ।
क्युवाली कम्युनिस्ट पार्टीको उद्देश्य समाजवादको निर्माण गर्नु हो र साम्यवादी समाजतर्फ अग्रसर हुनु हो । समाजवादी समाजको रक्षा गर्नु, त्यसलाई सुदृढीकरण गर्नु क्युवाली कम्युनिस्ट पार्टीको ध्येय हो । क्युवाली सरकार राष्ट्रको अखण्डता र सावैभौमसत्ता कायम राख्न दृढ छ । मानिसको स्वतन्त्रता कायम राख्न र सम्मान गर्न, व्यक्तित्व विकासमा प्रत्याभूति दिन क्युवाली सरकार तयार छ । क्युवाली सरकारले समाजवादी राष्ट्रको सम्पत्ति र स्रोतको रक्षा गर्छ, देशको शैक्षिक, वैज्ञानिक, प्राविधिक तथा सांस्कृतिक प्रगतिको प्रत्याभूति गर्छ । त्यहाँ हरेक बिरामीलाई स्वास्थ्य सेवाको सुविधा हुन्छ । हरेक बालबालिकालाई खाना, नाना र शिक्षाको सुनिश्चित हुन्छ । हरेक युवा अध्ययन गर्ने अवसरबाट वञ्चित हुँदैन । हरेक परिवारको लागि बस्ने आवासको व्यवस्था हुन्छ ।
क्युवाली सरकार र क्युवाली कम्युनिस्ट पार्टी जनताको स्वाधीनता, सार्वभौमिकताको सम्मान गर्छन् । क्युवाली सरकार फाँसीवादी, उपनिवेशवादी, जातिवादी र साम्राज्यवादी आक्रमणको निन्दा गर्छ । कुनै पनि राज्यको आन्तरिक र बाह्य मामिलामा प्रत्यक्ष या अप्रत्यक्ष हस्तक्षेप, आक्रमण, आर्थिक नाकाबन्दीको विरोध गर्छ । सारमा, समाजवादी गणतन्त्र क्युवा जनताको समाजवादी स्वामित्वमा आधारित समाजवादी अर्थ व्यवस्था र शोषणको उन्मूलन गर्ने व्यवस्थाको देश हो । क्युवामा हरेकले आफ्नो क्षमताअनुसार, हरेकलाई उसको कामअनुसारको समाजवादी वितरणको सिद्धान्त लागु हुन्छ ।
राज्यले देशको सुनियोजित विकासको लागि योजनाअनुरूप सुनिश्चित गर्न राष्ट्रको आर्थिक जीवनलाई सङ्गठित र निर्देशित गर्छ । समाजवादी व्यवस्थालाई सुदृढ गर्ने उद्देश्यले समाज र नागरिकहरूको बढ्दो भौतिक र सांस्कृतिक आवश्यकतालाई पूर्ति गर्न क्युवाली सरकार अघि बढिरहेको छ । राज्यले नागरिकहरूलाई आफ्नो कानुनी आवासगृह तथा अन्य व्यक्तिगत सामग्रीहरूको चल सम्पत्तिहरूको हस्तान्तरणलाई मान्यता दिन्छ । क्युवाली सरकार शिक्षा राज्यको दायित्व हो र निःशुल्क हुन्छ भन्ने मान्यता राख्छ । राज्यले विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गरेको छ, मजदुरहरूलाई उच्चस्तरको ज्ञान र सीपको निम्ति अध्ययन हासिल गर्ने मौका दिएको छ । राज्यले नयाँ पुस्ताको देशभक्ति र कम्युनिस्ट शिक्षा तथा सामाजिक जीवनको लागि बालबालिका, युवा र वयष्कहरूको प्रशिक्षणलाई प्रोत्साहित गरेको छ । जनताको सांस्कृतिक स्तर उठाउन र सृजनात्मक व्यवसायमा बढावा दिइएको छ ।
राज्य क्युवाली संस्कृतिको विशिष्टताको रक्षा गर्छ । राष्ट्रको सांस्कृतिक सम्पदा, कला र ऐतिहासिक स्मारकको संरक्षण गर्छ । आफ्नो योग्यता र क्षमताअनुुार राज्यका सबै सार्वजनिक प्रशासन र उत्पादन सेवा र विभिन्न पदहरूमा पुग्ने व्यवस्था मिलाइएको छ । समान कामको लागि समान ज्याला दिने व्यवस्था गरिएको छ । सबै तहको शिक्षाको लागि विद्यालय, अर्ध आवासीय र आवासीय विद्यालय, सबै स्तरको शिक्षा निःशुल्कको अधिकार सुनिश्चित गरिएको छ ।
समाजवादी समाजको उद्देश्यअनुरूप क्युवामा नागरिकहरूलाई अभिव्यक्ति र प्रेस स्वतन्त्रताको व्यवस्था छ । सञ्चारमाध्यमहरू जनताको सेवा र समाजको हितप्रति कटिबद्ध हुने व्यवस्था मिलाइएको छ । राज्यले आस्था र धार्मिक स्वतन्त्रताको सम्मान र प्रत्याभूति गरेको छ । समाजवादी जन्मभूमिको रक्षा गर्नु हरेक क्युवाली जनताले आफ्नो कर्तव्य ठान्छन् । त्यो कर्तव्य क्युवाली सरकार, क्युवाली कम्युनिस्ट पार्टी र क्युवाली जनताले निर्वाह गर्दै छन् । नेपालमा पनि कम्युनिस्ट भनिने दलहरूको सरकार बन्यो । आमूल परिवर्तनको निम्ति माओवादीले ‘जनयुद्ध’ छेड्यो । ‘जनयुद्ध’ त ग¥यो तर त्यो वास्तवमै जनताको आन्दोलन भएन । माओवादीले सत्ताको लागि सरकारसामु आत्मसमर्पण ग¥यो र हतियार बुझायो । माओवादीले त्यही ‘जनयुद्ध’ को लाभ लिएर सरकारको नेतृत्व ग¥यो । तर, नपाउनेले केरा पायो बोक्रासमेत खायो भनेझैँ माओवादी सरकारकै पालामा आफ्नै दलभित्र आर्थिक हिनामिनाको चर्चा भयो, छानबिन समिति गठन भयो । पछि सामसुम पारियो । एमालेको नेतृत्वमा सरकार गठन भयो । एमालेले झन्डै दुईतिहाइ बहुमत प्राप्त सरकार बनायो । तर, त्यो पनि असफल भयो र सरकार नै छोड्नुप¥यो । यसरी कम्युनिस्ट पार्टीले देशको नेतृत्व पटक–पटक गरे पनि कम्युनिस्टको सिद्धान्त, विचार र आचरणअनुसार कुनै काम गरेन, गर्न सकेन । तर, तिनै दलका नेताहरू आफूलाई देशकै शक्तिशाली कम्युनिस्टको सरकार ठान्छन् । ती नेताहरू नेपालमा पनि कम्युनिस्टको सरकार भएको दाबी गर्छन् । तर, व्यवहारमा कम्युनिस्टको आचरणअनुसार कुनै काम भएको देखिँदैन । पुँजीवादी सरकारले गर्नसक्ने निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था पनि गर्न सकेन । संविधानमा उल्लेख भएको माध्यमिक शिक्षा (१ देखि १२) सम्म निःशुल्क व्यवस्था गर्न सकेन । के नेपालका कम्युनिस्ट पार्टीहरूले समाजवादी देश क्युवाबाट सिक्नु पर्दैन ?
साम्राज्यवादी देश अमेरिकाले क्युवामा नाकाबन्दी गरेको पाँच दशकभन्दा बढी भयो तर पनि क्युवाली सरकार साम्राज्यवादी देशसामु नझुकिकन डटिरह्यो । तर, विडम्बना ¤ नेपालका सत्तासीन कम्युनिस्टहरू तिनै साम्राज्यवादी देश अमेरिकासामु झुक्छन्, तिनै देशको पृष्ठपोषण गर्छन् । भारतीय विस्तारवादी र साम्राज्यवादी शक्ति राष्ट्रको दबाब या उठबसमा नेपालका सरकारहरू चल्छन् । के विस्तारवादी र साम्राज्यवादी देशहरूले नेपाल र नेपालीको प्रगति गर्लान् ? कतै ती मुलुकका शासकहरूले नेपाली भूमि प्रयोग गर्दै छिमेकी देश चीनविरुद्ध लड्ने या घेरा हाल्ने गोती चलाइरहेका छैनन् ? कम्युनिस्ट पार्टी कम्युनिस्टको आचरणमा रहेर अघि बढ्नुपर्छ । सच्चा कम्युनिस्ट पार्टीहरू कुनै शक्ति राष्ट्रको दबाबमा काम गर्दैनन्, आर्थिक सहयोग र विकासको लोभमा फसेर देशलाई बन्धकमा राख्दैनन् र देश र जनतालाई दूरगामी असर पार्ने काममा हात हाल्दैनन् ।
स्रोत : समाजवादी गणतन्त्र क्युवाको संविधान