१६ असोज,तिलोत्तमा
राष्ट्रिय जनमुक्ती पार्टी वडा इकाई समिति तिलोत्तमा नगरपालिका वडा नं.१७ को दोस्रो अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशन वडा नं। १७ स्थित कानपारा गाउँमा आइतबार सम्पन्न भएको हो ।
अधिवेशनले कानपारा निवासी बृज मोहन चौधरीको अध्यक्षतामा २१ सदस्यीय वडा इकाई समिति गठन गरेको छ । जसको उपाध्यक्षमा शर्मिला चौधरी, सचिव संगिता चौधरी, सहसचिव रविन्द्र प्रसाद चौधरी र कोषाध्यक्ष रमेश चौधरी रहेका छन् । त्यस्तै अधिबेशनबाट सदस्यमा त्रिलोकी प्रसाद चौधरी, रामनिवास लोध, शिवकुमार कुर्मी, हृदय चौधरी, पारखनाथ लोध, रिमादेवी चौधरी, मिनादेवी चौधरी, माथुर यादव, बैजनाथ चौधरी, सोहन हरिजन, जयाराम मल्लाह, दुर्गा बहादुर थापा, शारदा देवी चौधरी, अजय लोध, तिजु मल्लाह, राजमती लोध र पुरन हरिजन चयन भएका छन् ।
अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुलाई शुभकामाना तथा कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्गले सबै जाति समुदायको पहिचान र समान अधिकारको वकालत गर्ने राष्ट्रिय जनमुक्ती पार्टी पहिलो रहेको दाबी गर्दै समान अधिकार र समानुपातिक प्रतिनिधित्वको लागि अब तिलोत्तमाका थारु लगायतका सम्पूर्ण उत्पीडित जनसमुदाय अब जनमुक्तिमा गोलबद्ध भएर संघर्ष गर्न समेत आग्रह गर्नुभयो । शासक दल र नेताहरुले देशको नदीनाला र जमिन विदेशीलाई बेचेर देशलाई फिजीकरण गर्न खोजेको आरोप लगाउँदै प्रदेश अध्यक्ष गुरुङ्गले अब राष्ट्र र राष्ट्रियता बचाउँनका लागि समेत सम्पूर्ण जनसमुदाय जनमुक्तिमा एकताबद्ध हुनुपर्ने जिकीर गर्नुभयो । जनताको अमुल्य मत पाएर बिदेशीहरुको दलाली गरी आफुहरुलाई शासन सत्तामा पुराए वापत तिनै बिदेशीहरुलाई देशमा भएका सम्पूर्ण उद्योग कलकारखानाहरू बेचेर देशका उर्जाशील युवाशक्तीलाई खाडीमा श्रम बेच्न बाध्य पारेको आरोप लगाउँदै उहाँले विदेशबाट भित्रिएको रेमिट्यान्सबाट ठूलाठूला महल र महंगा गाडी चढेको दाबी गर्नुभयो ।
त्यस्तै नेपाल थारु राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष रेखाप्रसाद चौधरीले राज्यले सबै जाति, भाषा, धर्म, समुदायलाई उचित सम्मान र समान अधिकार दिनुपर्ने भएतापनि राज्यले एउटा जाति समुदायको मात्र पक्ष लिएको आरोप लगाउँदै जनमुक्तीले विगत तीन दशकदेखि पहिचान, समान अधिकार र जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको कुरा उठान गर्दै आइरहेको जिकिर गर्नु भयो। अवको बिकल्प भनेको सम्पूर्ण अधिकारविहीन उत्पीडित समुदायहरु जनमुक्तीमा आबद्ध हुनु बाहेक अर्को बिकल्प नभएको नेता चौधरीले उल्लेख गर्नु भयो।
कार्यक्रममा रुपन्देही निर्वाचन क्षेत्र नं. ०१ का क्षेत्रीय अध्यक्ष आश बहादुर गुरुङ्ग, पार्टीका नगर अध्यक्ष भोम बहादुर बुढा मगर, नगर कमिटिका बरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर बलाल, महिला उपाध्यक्ष राधिका श्रीस पुन, राष्ट्रिय महिला मोर्चाका तिलोत्तमा अध्यक्ष निर्मला थापा मगर, आसन्न स्थानीय निर्वाचन तिलोत्तमा वडा नं. ७ का महिला सदस्य उम्मेदवार रिता चौधरी लगायतको उपस्थिति रहेको थियो ।
अधिवेशन सम्पन्न गर्नका लागि क्षेत्रीय अध्यक्ष आश बहादुर गुरुङ्गको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल गठन गरेको थियो, जसको सदस्यमा पार्टीका नगर महिला उपाध्यक्ष राधिका श्रीस पुन र राष्ट्रिय महिला मोर्चा नगर अध्यक्ष निर्मला थापा मगर रहनु भएको थियो। नव समितिलाई प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्गद्वारा सदस्यता प्रदान गरी अबिर लगाई सम्मान गरिएको थियो ।
वडा इकाई समिति तिलोत्तमा नगरपालिका वडा नं. १७ का अध्यक्ष छबि रानाको अध्यक्षता, पार्टीका नगर उपाध्यक्ष राधिका श्रीस पुनको स्वागत र पार्टी नगर सचिव प्रेम कनौजे मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।