हिजो अर्थात साउन ३१ गते रुपन्देहीको कञ्चन गाउपालिकाको मुख्य बजार हरैया बजारको रौनक बेग्लै थियो। बेग्लै पनि किन नहोस चुनाव थियो। हरैया बजारमा बिभिन्न राजनैतिक दलहरुका नेता कार्यकर्ताहरुको आवत जावत बाक्लै थियो।
दुई समूहमा रहेको दलहरुको भिडले हरैयामा संसदीय चुनावको झल्को दिइरहेको थियो। एकले अर्कालाई कानेखुशी गर्दै मत मागिरहेका थिए। आपसमा "हुन्छ" को कपाल पनि हल्लाएका थिए। बिधालय भित्र मतदान भइरहेको थियो। उमेद्वारहरु भित्र बाहिर गरिरहेका थिए। चुनाव चिन्ह देखाइरहेका थिए। हरैया बजार भन्दा बाहिरका प्रायलाई यहाँ के भइरहेको छ भन्ने पनि सुइको थाहा थिएन। स्कुल अगाडी आउथे र सोध्थे "यहाँ के भइरहेको छ र?" त्यसै बिचमा एक जनाले जवाफ फर्काए "चुनाव छ।" अनि प्रश्नकर्ताले फेरी सोधे "के को चुनाव? फेरी आयो र चुनाव? हामीलाई त केही थाहै छैन है..." यस्तै ।जवाफमा मैले भनेँ "बिधालय व्यबस्थापन समिति सदस्यका लागि हो"। "हा.... स्कुलमा के पाउनु छ र चुनाव गर्ने" भन्दै बटुवा आफ्नै बाटो लागे।
भित्र मतदान स्थल शान्त वातावरण थियो। अघिपछि हुने चुनावमा जस्तो "तँछाड मछाड" थिएन। बाहिर बस्नेहरुले "कति मत खस्यो होला ? कसले जित्छ ?" यस्तै प्रश्न गर्दै थिए म भित्र मतदान स्थलबाट बाहिर आए पछि। मैले "भने २ सय ५० मत खस्यो।" "कसको सम्भावना छ" फेरी प्रश्न आयो। मैले भने "जसले बढी मत ल्याउन उसैले जित्लान सायद" हास्दै भनेँ । जनप्रतिनीधि छान्ने चुनावमा जस्तै ११ जनाकै मतदान प्रतिनीधिले मतदाताको नाम नियाल्दै थिए। बाहिरबाट मतदाताहरु (अभिभावक)को नाम कागजको चिर्कटीमा लेखेर पठाएका थिए।
एक जना उमेद्वारले मलाई रोकेर भने "सर तपाई त पत्रकार पनि अनि शैक्षिक व्यक्तित्व पनि। चुनाबै नगरे पनि हुने, बेकारमा खर्च र समयको बर्वादी होइन र ?" मैले भने "यति लामो समय सम्म सहमती नभएपछि त चुनाव नै अन्तिम बिकल्प हो । त्यसैले पनि होला।" गफिदै गर्दा "एक भोट मलाई है उनले भने" । मैले भने "म त यहाँको अभिभावक होइन नी।" ए........ गफ सकियो। दुई मतदान केन्द्रमा दुई मतदान अधिकृत मतदान स्थलमा थिए। मतदान स्थल र बाहिर सुरक्षा व्यबस्था कडा गरिएको थियो। निर्वाचन अधिकृतको रुपमा शिक्षा शाखाका अधिकृत रमेश भुसालले मतदान स्थल र मतदाताहरु व्यबस्थापन गर्दै थिए।मतदान अधिकृतको रुपमा स्वास्थय शाखा प्रमुख राम प्रसाद गौतम र गजेडी स्वास्थ्य चौकीका इन्चार्ज गिताराम रिजाल थिए।
हरैया माध्यमिक बिधालय कञ्चनमै एक मात्र कम्प्युटर इन्जिनियरिङ्ग पढाई हुने प्राबिधिक विधालय हो। यस बिधालयको शैक्षिक स्तर कञ्चनमै राम्रो छ (एस ई ई को नतिजा अनुसार)। बिधालयका प्रधानाध्यापक मेघनाथ शर्मा आफैमा स्थानीय मात्र नभई शिक्षा क्षेत्रमा फरक शैलीमा बिधालय सञ्चालन गर्नु पर्छ भन्ने मान्यता राख्ने व्यक्ति पनि हुन। उनले तयार गरेको योजना अनुसार बिधालयको शैक्षिक गतिविधि संचालन भएकै कारण हरैया माध्यमिक बिधालयमा प्रबेश गर्नासाथ फरक अनुभति गर्छन प्राय अभिभावक तथा सरोकारवाहरुले।यसर्थ पनि हरैया स्कुलको चर्चा हुदै आएको छ । तर सोही बिधालयको व्यबस्थापन समिति गठन गर्न करिब साढे २ बर्ष सम्म कसरत गर्दा समेत सफल नभए पछि चुनावी प्रक्रियामा जानु पर्यो।
बिधालय व्यबस्थापन समिति सदस्य छनौटका लागि चुनावी प्रक्रियामा अगाडी बढ्यो तव अभिभावकहरु पनि सोही अनुसार सक्रिय भए। राजनैतिक दलहरु सक्रिय भए। यस भन्दा अघि सर्बदलिय बैठकबाट सहमती निकाल्न नसकेका दलहरुले आ आफ्नो समूह बनाई उमेद्वारी मनोनयन गरे। उमेद्वारको रुपमा खुल्लातर्फ पिताम्वर पौडेल, डिल्लीराम चौधरी, मेघनाथ पौडेल, शम्भु प्रसाद गुप्ता, राजेन्द्र बानिया क्षेत्री, माधव प्रसाद ढकाल र झक बहादुर क्षेत्री यस्तै महिला सदस्य तर्फ धनु राना, बिधा कुमारी चौधरी, धनमाया थापा, र मिना भण्डारी चुनावी मैदानमा थिए।
नेपाली कांग्रेस र एमालेले फरक फरक समूह बनाएर उमेद्वारी दिए। प्रचार शुरु भयो। उमेद्वार र दलका प्रतिनिधि अभिभावकहरुको घरमा पुगे। नेपाली कांग्रेस र एमाले बाहेक पनि जनमत पार्टीले पनि उमेद्वारी दियो। जनमतका शम्भु प्रसाद गुप्ता र डिल्लीनारायाण चौधरी दुई समूहमा बिभाजन भए। शम्भु प्रसाद गुप्ता एमालेको गुटमा समायोजन भए भने डिल्लीनारायण चौधरी नेपाली कांग्रेसको समहूमा।
चुनाव सम्पन्न भयो । ७ सय ९८ अभिभावकका एक हजार २ सय बिधार्थीहरुले अध्ययन गर्ने शैक्षिक संस्था हो हरैया माध्यमिक बिधालय। चुनाबी मैदान हार जितको प्रतिस्पर्धा हो। बिधालयलाई कुन मोडलमा लैजाने र कुन स्तरको शैक्षिक पद्धती लैजाने भन्ने चिन्तन भएको व्यबस्थापन समिति आवस्यक छ। अव पहिले जस्तो "हस बहादुर" अध्यक्ष वा सदस्यले बिधालयको गति बढ्ला तर शैक्षिक पद्धतीमा कुनै अन्तर आएन भने अव बन्ने व्यबस्थापन समितिलाई दोष जान्छ। संसदीय चुनावको महोल सृजना गर्नेगरी भएको चुनावी मैदानमा बास्तविक अभिभावकलाई भन्दा पनि गैर अभिभावकहरुलाई चुनावी रौनक थियो हरैयामा।
हुन त गैर अभिभावक भएपनि बिधालयलाई हरेक कुरामा सहयोग गर्ने गराउने पनि तिनै मध्येबाट पर्छन। यधपी हरैया स्कुलमा भएको व्यबस्थापन समिति सदस्य छनौटको चुनाव दलहरुको प्रतिस्ठाको बिषय बन्यो। कतिपयले त मिनी संसदीय चुनाव समेतको संज्ञा दिएर हेरे। अभिभावकहरु बिचको प्रतिस्पर्धा भन्दा पनि दलहरुका उमेद्वारहरु बिचको प्रतिस्ठाको लडाईको रुपमा हेरिएको चुनावले पक्कै पनि सकारात्मक सन्देश दिन सक्दैन।दलका मान्छेले चुनाव जिते पछि दलहरुको घेरामा रहेर काम गर्नु पर्ने बाध्यता सृजना नहोला भन्न सकिदैन।जस्तो सुकै खालको चुनाव भएपनि आखिर अभिभावकहरुले जितेका छन। ७ सय ९८ अभिभावकहरुका छोराछोरीको भाविष्य सुनिश्चित गर्ने बिधालयको भौतिक, शैक्षिक तथा आर्थिक भार समेतको गुणस्तरियता, पारदर्शिता र बिस्वनियता स्थापित गर्न निर्वाचित सदस्यहरुले योजनाबद्ध रुपमा लाग्ने छन भन्ने अभिभावकहरुले बिश्वास गरेका छन। अव पराजित उमेद्वार र विजेता सदस्यहरुको आपसी सहकार्य र समन्वयबाट बिधालयलाई सुरक्षित रुपमा अवतरण गराउनु पर्ने महत्वपुर्ण जिम्मेवारी रहन्छ।
बिधालय व्यबस्थापन समितिका लागि विजयी ४ जना सदस्यहरुले एक जना महिला र एक जना पुरुष गरी दुईजना थप सदस्य मनोनित गर्ने छन। वडा कार्यालयबाट वडा अध्यक्ष वा वडा अध्यक्षले मनोनित गरी पठाएको वडाको प्रतिनीधि १ जना, गाउपालिकाको अध्यक्ष वा अध्यक्षले मनोनित गरि पठाएको प्रतिनीधि १ जना, शिक्षक प्रतिनीधि १ जना र सदस्य सचिवको रुपमा प्रधानाध्यापक सहितको १० जनाको पुर्ण बिधालय व्यबस्थापन समिति निर्माण हुने छ।