३० जेठ, रुपन्देही ।
-राजेश कहाँर
हिमालयको कांखमा बस्ने हामी नेपाली किसान नरम दिलका हुन्छौं । हामीलाई बोलिमा दम हुनेले सजिलै आफ्नो बनाउन सक्छ । चाहे त्यो शत्रु किन नहोस् हामी बोलिमा लठ्ठ हुन्छौं चाहे त्यो भ्रष्टाचारी या आतंककारी किन होस् । हामी टाउको हल्लाउँदै समर्थन गर्द्छौ लाग्छ कि हामिमा चेतनाको भण्डार नै छैन ।
आखिर होस् पनि कसरी ?
हामी त गाउमा तमासा देखाउन आउने मदारीले दन्त निकालेको सर्प झै भैसकेका छौ, मुठ्ठीको इसारामा टाउको हल्लाउने। सरकारले भर्खर बनाएको भु-उपयोग सम्बन्धि नियममा तीन बर्ष सम्म खेती बाझो राख्ने किसानलाई बिगो सहित एक लाख रुपैयाँ जरिवाना तिर्नु पर्ने अरे ! होइन, किसानले त्यसै खेत बाझो राख्ने गरेका हुन र ? समयमा बीउ बिजन , मलखाद , सिचाइको ब्यवस्था प्रयाप्त मात्रामा सरकारले उपलब्ध गराउने भए किसान खेती योग्य जमिन त्यसै बाझै राख्थे र ? मलखाद , बीउ बिजन जस्ता अत्यावश्यक सामग्री समयमा उपलब्ध नगराउन सक्ने सरकारलाई जनताले कति जरिवाना तिराउने ?
नेपाल हो हजुर जे पनि हुन्छ यहाँ भैसिले अन्डा दिन्छ। कुखुरीले बच्चा पाउछ। गर्भमा हुने बच्चाको टाउको माथी देशको ऋण भार छ, तर पनि हामी किसानको आँखा खुलेको छैन । देशका ठुला नेता हरुको उहीँ एउटै नारा छ । बाहुनको पालिमा कुश कोचारेर राखे जस्तै हामी देशलाई उत्पादनमुखी बनाउछौ अरे!
अरे भाइ के उत्पादन गर्छौ ?
बेरोजगार युवा !
अनि खाडी, लगायत मलेसिया, अमेरिका, जापान, कोरिया , पठाइ अर्ब खर्बको खर्च गरि बनाइएको भ्यु टावर माथी चढी दुर्बिनले रामे नेपाल फर्किदै छ कि श्यामे भनि हेर्छौ । महान चाड दशै तिहार, भाइटिका, लक्ष्मिपुजा जस्ता तिहारमा धान, गहु,फल, सयपत्री गुलाब जस्ता फुल, काठ जस्ता बस्तु भारत बाट आयात हुन्छ । आखिर किन हुन्छ यसको कारण जान्ने कोशिश कहिलै हामी गरेनौ।
रैथाने किसानले उत्पादन गरेको धान , गहु जस्ता अन्नको नेपाल सरकारले समर्थन मूल्य भारतको भन्दा कम तोकेको हुन्छ । अनि किसान संग खेतीको समयमा मलखाद , बीउ बिजन , जोताइ , कटाइ जस्ता कार्य गर्नको लागि पैसा हुदैन त्यही बेला आफुले उत्पादन गरेको अन्नलाई गाउको साना ठुला ब्यापारीको हातमा बेच्छ्न । फेरि त्यो ब्यापारी आफू भन्दा ठूलो ब्यापारीको हातमा दिन्छ अनि त्यो ब्यापारीले अन्न भण्डारण गरि केही समय पछि भारतलाई बेच्छ । केही समय पछि भारतकले त्यही धान कुटानी गरि गहु पिठोको प्याकेट बनाइ फेरि नेपाल निर्यात गर्छ र महंगोमा बेच्छ। सरकारले जानी जानी किसानको समर्थन मूल्य भारतको भन्दा कम तोकेको हुन्छ । ताकी किसानले गाउँका ब्यापारी हरुलाइ बेच्न बाध्य होउन् । यसमा कमिसनको खेल हुन्छ त्यही कमिसनको लागि यो महाभारत हुन्छ । किसानलाई सरकारले समयमा मलखाद , बीउ बिजन पनि उपलब्ध न गराउनुको कारण पनि यहि नै हो । चाहे त्यो जुनसुकै पार्टिको सरकार होस।
कृषिमा पर्ने औजारहरु छ्न जस्तै ट्रयाकटर, पम्पसेट, हैन्डपाइप, आदि जस्ता मेशिन हरु हामी आफै भारतबाट भन्सार तिरेर भएपनि ल्याउन खोजे ल्याउन सक्दैनौं। आखिर किन ? यसको प्रस्ट जवाफ कमिशन नै हो । भारत बाट सिधै किशानले किन्दा कमिशन हराउने डरले गर्दा सरकारले किसानलाई स्वतन्त्रता दिनै चाहेको छैन। किसान लाई सहुलियत दरमा ऋण उपलब्ध हुन्छ भन्दै दिनहु जसो पत्रपत्रिका, रेडियो, टिभि र सामाजिक संजालमा छ्याप छ्यापती देख्न सुन्न र पढ्न पाइन्छ। तर बिल्कुल न्युन स्तरमा किसानहरु यसबाट लाभ लिन पाएका छ्न। त्यो पनि राजनीतिक पहुच भएकाले मात्र ।
किसानलाई अनुदान रकम दिने केही पालिकाहरु यहाँ सम्म गरे कि एक सय बर्ष पहिले मृत्यु भएको मान्छेको नाममा समेत रकम निकासा गरि आफै सरकारी कर्मचारी र वडा अध्यक्षले खाएर पचाएको देखियो।
उदाहरणको लागि लुम्बिनी सांस्कृतिक :
नगरपालिकाको एक वार्डको घटना लाई नै हेरौ । यस्तो सम्म पीडा भोगी रहेको किसान लाई भु-उपभोग सम्बन्धि कानुनले थप पीडित बनाउने पक्का छ। किसानलाई स्वतन्त्र बनाउनेतर्फ सरकारको ध्यान जानुपर्ने हो। हो कि होइन आफै सोच्नुस तर यहाँ त उल्टा गंगा बग्दै छ । अरे भाइ ! गाइ पालेर दूध खानेको भन्दा बाटोमा कुकुरलाई शौच गराउनेको बढी इज्जत छ । किसानको खेतीयोग्य जमिन भन्दा प्लाटिंग गरिए जग्गाको बढि इज्जत छ । ज्यालादारीमा काम गरी खाने भन्दा भ्रष्टाचार गरि खानेको समाजमा बढी इज्जत छ । अनि देश कसरी परिवर्तन हुन्छ । हामी नेपाली बोलिबाट मह बर्साउनेको पछाडि होइन । अलि कठोर भाषामा सत्य कुरा बोल्ने वा गर्नेको पछाडी लागौ । गल्तीमा औंला ठाडो पारे देखाउनेको पछाडी लागौ अनि बल्ल देश बन्छ, समाज बन्छ, अनि पो हाम्रो घर बन्छ ।