१६ बैशाख, काठमाडौं ।
– गौरीलाल कार्की
कम्युनिस्ट आन्दोलनको कुरा गर्दा यसलाई एउटा सामान्य राजनीतिक घेरामा मात्र राखेर हेर्नु कदापि उचित हुँदैन । कम्युनिस्ट आन्दोलन भनेको बुर्जुवा राजनीति जस्तो आवधिक निर्वाचनहरू गर्ने, चुनाव जित्ने, सरकार गठन गर्ने, सत्तामा रहिरहने र त्यही सिलसिलालाई दोहोर्याइ राख्ने जस्तो मात्रै होइन । वास्तविक रूपमा कम्युनिस्ट आन्दोलनको मुख्य कार्यभार भनेको मानवद्वारा मानवमाथि हुने सबै प्रकारका शोषण, दमन र उत्पीडनलाई अन्त्य गर्नका लागि आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनको आन्दोलनलाई निरन्तर अगाडि बढाउने अभियान हो । अथवा कम्युनिस्ट आन्दोलनको मुख्य विषय सत्ता प्राप्ति होइन, उच्चस्तरीय शोषणरहित समाजको विकास गर्ने एवं त्यस दिशामा समाज परिवर्तन गर्नु हो । तर आजको कम्युनिस्ट आन्दोलन सत्तामुखि साधुरो घेरामा रुमलिएको छ र समाज परिवर्तन गर्ने कुरामा मौन छ । त्यसका विरुद्ध कम्युनिस्ट आन्दोलनभित्र विगत लामो कालखण्डदेखि क्रान्तिकारीहरुले निरन्तर संघर्ष गरिरहनु परेको छ।
यस संघर्षको क्रममा कयौँ उतार-चढाव, क्रान्ति-प्रतिक्रान्ति र अग्रगमन र प्रतिगमनका परिघटनाहरू हुनु स्वभाविक हुन्छ । अन्ततः कम्युनिस्ट आन्दोलन पनि अग्रगामी दिशामा अनिवार्य लम्केर जान्छ । यो प्रक्रिया कसैले रोकेर रोकिन्न । यो सामान्य नियम हो । कम्युनिस्ट आन्दोलनको सुरूआत भएदेखि नै खास गरेर कम्युनिस्ट घोषणा–पत्र जारी भएदेखि यता डेढ शताब्दीको इतिहासले त्यो कुरालाई प्रमाणित गरिसकेको छ । त्यो कुरो विश्व कम्युनिस्ट आन्दोलन र हाम्रो देशको कम्युनिस्ट आन्दोलनबाट समेत पुष्टि भएको छ । सारांशमा भन्नुपर्दा वर्तमान अवस्थामा विश्व कम्युनिस्ट आन्दोलन र हाम्रो देशको कम्युनिस्ट आन्दोलन उत्साहजनक अवस्थाबाट गज्रिरहेको छैन तर यो अस्थायी कुरा हो । क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको भविष्य सुन्दर, सफल र अवश्यम्भावी छ । विश्व कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनको व्यापक ऐतिहासिक विवेचना, विमर्श र मुल्यांकन भने गर्नु जरुरी भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको सिंगो इतिहासको समिक्षा गर्नुपर्ने आवश्यकता छ । यसबीच देखिएका कमि-कमजोरी सच्याएर एउटा ठोस क्रान्तिकारी नीति र कार्यक्रमको आधारमा क्रान्तिकारी पार्टी पुनः निर्माणको आवश्यकता छ । यसबारे कम्युनिस्ट आन्दोलनका शुभ चिन्तकहरुले बहस तथा छलफल अगाडि बढाउँदै सबैभन्दा पहिले क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण गर्नु जरुरी भएको छ ।
१. कम्युनिस्ट आन्दोलनका मुख्य समस्याहरुः
- वैचारिक विचलन:
कम्युनिस्ट आन्दोलन एक प्रकार प्रतिध्रुवीय दर्शन, सिद्धान्त र विचारधारात्मक आन्दोलन पनि हो । वैचारिक विचलनको समस्या नेपालको कम्युनिस्ट आन्दोलनभित्र मात्र नभएर विश्व कम्युनिस्ट आन्दोलनमा नै व्यापक रूपमा देखिएको थियो र छ । कम्युनिस्ट आन्दोलन र पार्टीलाई गलत दिशामा लैजानको लागि सबैभन्दा ठूलो भूमिका दक्षिणपन्थी संशोधनवादी धार र उग्रवामपन्थी धारले खेलेको छ । उग्रवामपन्थी धारको पनि अन्ततः गन्तव्य दक्षिणपन्थी संशोधनवाद नै हो । त्यसकारण मुख्य समस्या दक्षिणपन्थी धार नै हो । नेपालको सन्दर्भमा भन्नुपर्दा ०२८ सालमा ‘वर्गशत्रु खत्तम’ पार्ने भन्दै एउटा समूहले सशस्त्र संघर्षको नाममा व्यक्ति हत्याको कारबाही चलाएर ‘उग्रवामपन्थी’ भड्काउमा फस्न पुगेको थियो भने, ०५२ सालमा त्यसैको पेरिफेरीमा रहेर नौलो जनवादी क्रान्तिको नाउँमा अर्को सशस्त्र संघर्षको घोषणा गर्दै एउटा समूह त्यही बाटोमा लाग्योे । यी दुबै समुह अहिले चरम दक्षिणपन्थी धारमा छन् भने अहिले यी शक्तिको नेतृत्व तहको व्यबहार र चरीत्र प्रतिक्रियावादी प्रवृत्तिको रूपमा देखा पर्दै गएको छ ।
उग्रवामपन्थी भड्काउमा फसेकाहरू अन्ततः दक्षिणपन्थी अवसरवादमा पतन हुन्छन् र चरम दक्षिणपन्थी अवसरवादमा पतन हुने क्रममा उनिहरुले प्रतिक्रियावादी चरीत्रमा समेत पतन हुन सक्छन् । त्यसप्रकारको पतनमा पुग्नबाट रोक्ने प्रयत्न गर्नु हरेक कम्युनिस्ट क्रान्तिकारीहरूको दायित्व बन्दछ । क्रान्ति र परिवर्तनको सिघ्र चाहना, सत्ता क्यारिरिष्ट प्रवृत्ति एवं प्रतिशोधका कारण उग्रवामपन्थी भड्काउको जन्म हुन्छ । उग्रवामपन्थी भड्काउमा गैसकेपछि उनीहरुद्वारा क्रान्ति परिवर्तन सफल हुने कुरा हुँदैन, अनि उनीहरुको क्रान्ति परिवर्तनप्रतिको विश्वास मर्छ, उनिहरु क्रान्तिकारी घारमा फर्कने संभावना न्यून रहन्छ र अन्तमा दक्षिणपन्थी संशोधनवादमा उनीहरुको पतन हुन्छ । तर यस्ता समुहका कतिपय व्यक्तिहरु क्रान्तिकारी धारमा फर्कने वा समाहित हुने पनि हुन्छन् ।
दक्षिणपन्थी अवसरवादमा पतन भएका पार्टीको माक्र्सवादी लेनिनवादी चरित्र ह्रास भएको हुन्छ। क्रमशः उसले आफुलाई बुर्जुवा पार्टीको रूपमा तीब्र गतिमा विकास गराउदै लैजान्छ । वर्गसंघर्षको परित्याग एवं वर्गसमन्वयमा लिप्त, सत्तामुखि क्रियाकलाप, क्रान्ति परिवर्तनप्रति उदासीन, जनवादी एवं सर्वहारा अधिनायकत्वको सिद्धान्त परित्याग, बुर्जुवा व्यवस्था र भ्रष्टचारजन्य गतिविधिमा संलग्न हुने लक्षणमा दक्षिणपन्थी संशोधनवादको उदय हुन्छ । यिनिहरुको व्यबहार क्रमशः प्रतिक्रियावादी शक्तिको व्यबहारमा परिणत हुन्छ । यसले समग्र कम्युनिस्ट आन्दोलन र नेपालका कम्युनिस्ट शक्तिलाई क्षति पुर्याएको छ र तिनीहरूको त्यसप्रकारको उपभोक्तावादी चरित्रबाट कम्युनिस्ट आन्दोलन बदनामसमेत बन्न पुगेको छ ।
यसको असर अन्य कम्युनिस्ट पार्टीमा समेत स्पष्ट रुपले पर्न थालेको छ । हिजो कार्यकर्तालाई मुख्य क्रान्ति र कम्युनिस्ट पार्टी नै हो भनेर सिकाइन्थ्यो तर आज व्यक्तिगत सम्पत्ति र परिवार पनि मुख्य हो त्यसलाई समेत हेर्नु मुख्य हो भन्ने प्रवृत्तिको विकास भएको छ । यसले हिजोको क्रान्तिकारी विचार आज पार्टीको साथै ब्यक्तिगत सम्पत्ति, सत्ता र स्वार्थसमेत जोडिएको नांगो रूपमा देख्न सकिन्छ । हिजो संसदलाई प्रतिक्रियावादी संसदीय विकृति र विसंगतिको भण्डाफोर गर्न उपयोग गरिन्थ्यो तर आज संसदलाई सत्ता अथवा सरकारमा पुग्न, पदका भागबन्डा पाउन बार्गेनिङ गर्ने साधन बनेको छ । हिजो किसान मार्च, किसान अदालत, श्रमजीवि जनतासँग हातेमालो र ग्रामीण वर्गसंघर्ष लगायतका नीतिलाई केन्द्रबिन्दुमा राखेर संघर्षका कार्यक्रम बन्थे । आज चुनाव कसरी जित्ने भन्ने एक सुत्रीय आधारमा कार्यक्रम सिमित पारिएको छ । यसर्थ, यो सबै वैचारिक विचलनले निम्त्याएको व्यबहार हो । क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा समेत क्रमशः मात्रात्मक रूपमा दक्षिणपन्थी नीति एवं कार्यक्रमको प्रभावले घर बनाएको प्रष्ट छ । त्यसप्रकारको चिन्तन, दृष्टिकोण एवं प्रवृत्ति जे भन्नुहोस् यो वैचारिक विचलनको परिणाम हो । क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको उठान तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणका लागि समेत बाधक भएकाले तिनीहरूभित्र रहेका त्यस्ता प्रवृति एवं वैचारिक विचलनप्रति निर्मम र कठोर ढंगले प्रहार गरेर परास्त गर्न एकदमै जरुरी छ ।
- टुटफुट र विभाजन:
विश्व कम्युनिस्ट आन्दोलन भन्दा करिब एक शताब्दीपछि मात्र सुरु भएको नेपाली कम्युनिस्ट आन्दोलनको उठान, गठन र इतिहासको सन्दर्भलाई हेर्दा नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको पनि आज करिव ६ दशकभन्दा बढी भइसकेको छ । ००६ सालमा गठन भएको कम्युनिस्ट पार्टी तेस्रो महाधिवशन (वि.सं.२०१९) सम्म एकजुट भएर रहन सक्यो । तेस्रो महाधिवेशनसँगै पार्टीमा टुटफुट र विभाजन हुने क्रम सुरु भयो र त्यो संभावना आजपरान्त जारी नै रहेको अवस्था छ । यहाँसम्म आइपुग्दा कम्युनिस्ट पार्टी नामाकरण गरेका र पार्टीको नाम कम्युनिस्ट पार्टी नराखे पनि कम्युनिस्ट भन्न चाहने पार्टीको संख्या डेढ दर्जनको हाराहारीमा पुग्न थालेको छ । कम्युनिस्ट आन्दोलन विभाजनको मुख्य कारण वैचारिक मतभेद नै हो । तर कतिपय अवस्थामा नेतृत्व तहको गलत चिन्तन, कार्यशैली, व्यक्तिगत टकराव तथा अन्तरपार्टी संघर्षमा भिन्नमतलाई माक्र्सवादी लेनिनवादी तरिकाले समाधान गर्ने कार्य कुशलताको अभावको कारणले समेत कम्युनिस्ट आन्दोलन विभाजन भएको तथ्य इतिहास बोल्छ ।
पछिल्लो समयमा कम्युनिस्ट आन्दोलनभित्र हुर्कदै गएको व्यक्तिवादी चरित्र, प्राधिकारवादी सोचाइ, अवसरवादी प्रवृत्ति, सामन्तवादी चिन्तन र दक्षिणपन्थी राजनीतिक प्रवृत्ति खतरापूर्ण अवस्थामा रहेको छ । पार्टीभित्र देखा परेका भिन्नमतलाई समाधान गरेर होइन, पन्छाएर पाखा लगाउने जडसुत्र चिन्तन र संगठन ब्यक्तिगत संस्था जस्तो बनाउने गैर माक्र्सवादी लेनिनवादी चिन्तन हावी भएको छ । यसले कम्युनिस्ट आन्दोलनलाई विभाजन र विसर्जनको दिशामा धकेल्ने खतरा उत्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट चेत भएका शक्तिले त्यो खतरालाई हटाउन जुनसुकै चुनौतीको सामना गर्न संघर्ष गर्नुपरेको अवस्था छ । विगतमा कम्युनिस्ट आन्दोलन र पार्टीहरूलाई एकता र ध्रुवीकरणको सूत्रमा बाँध्ने प्रयत्न र कार्यहरू पनि भएको देखिन्छ । अहिले पनि विभाजन र टुटफुट होइन आफुलाई क्रान्तिकारी कित्तामा रुपान्तरण र एकताको आवश्यकता छ तर, त्यसबाट अपेक्षित सफलता र सकारात्मक परिणाम निस्कन नसकेको प्रष्ट छ ।
नेतृत्वले गलत नीति तर्जुमा गरेपछि देखिएको सैद्धान्तिक मतभिन्नता मार्क्सवाद लेनिनवाद सम्बत तरिकाले समाधान गर्नुको साटो नेतृत्वले आफ्ना गलत विचार विरुद्ध संघर्ष गरिरहेका नेता कार्यकर्तालाई सबै तहका जिम्मेवारीबाट हटाउने, निष्कासित गर्ने र फुटपरस्त वातावरण तयार पार्ने गरिएको छ । त्यो फुटपरस्त आरोप अर्को पक्षमाथि थोपर्ने प्रयत्न भएको छ ।
- वर्ग समन्वयकारी प्रवृत्तिः
मानव समाज अन्तरविरोधयुक्त वर्गहरूमा विभाजित भएर रहेको छ । एकातिर शोषक र प्रतिक्रियावादी वर्ग छ भने अर्काेतिर शोषित र उत्पीडित वर्ग छ । त्यसैले मानव समाजमा वर्ग विरोध र वर्गसंघर्षको अवस्था कायम रहेको छ । कम्युनिस्ट आन्दोलन र पार्टीले वर्गसंघर्षको सिद्धान्तलाई अंगिकार गरेर शोषित, उत्पीडित वर्गको हित र मुक्तिका पक्षमा नेतृत्वदायी भूमिका खेल्दै, आन्दोलन र संघर्षलाई अगाडि बढाउनु पर्दछ । तर, नेपालमा आफुलाई कम्युनिस्ट र वामपन्थी पार्टी बताउने र दाबी गर्नेहरूले वर्गविरोध अनि वर्गसंघर्षको सिद्धान्त र नीतिलाई तिलाञ्जली दिँदै, वर्गसमन्वयको बाटो अपनाइरहेका छन् ।
त्यस्तै प्रकारले अन्य कम्युनिस्ट शक्तिहरु जसले पछिल्लो परिवर्तित बस्तुस्थिति अनुसारको अन्तरविरोध र राजनीतिक शक्तिको बदलिँदो वर्ग चरित्रको सहि विश्लेषण गर्न सकेको देखिदैन । त्यो मुख्य रुपले कम्युनिस्ट आन्दोलन दक्षिणपन्थी संशोधनवादमा क्रमशः पतन हुने क्रममा नै अभिव्यक्त भएको समस्या हो । जब दक्षिणपन्थी संशोधनवादी चिन्तन क्रमशः हावी हुँदै जान्छ तब अन्य शक्तिको वर्ग विश्लेषण गर्दा चरित्रको कोणबाट कम र राजनीतिक कोणबाट धेरै गरिन्छ । त्यसको घनचक्करमा उसले वर्ग समन्वयको बाटो समाएको पत्तो पाउँदैन । त्यो अवस्थामा क्रान्तिकारी विचारलाई वामपन्थी संर्कीणतावादको रूपमा देख्न थाल्छ वा ब्याख्या गर्दछ । यो स्पष्ट रुपले दक्षिणपन्थी चिन्तनको नांगो रुप हो । आफ्नो दक्षिणपन्थी चिन्तनको ढाकछोप गर्न क्रान्तिकारी विचारलाई अनेकौं तरिकाले सम्बन्धविच्छेद समेत गर्न पुग्छ । बरु प्रतिगामी शक्तिको हौवा खडा गरेर क्रान्तिकारी भएको स्वाङ पार्न अवसरवादी वर्गसँग अनावश्यक कार्यगत एकता गर्छ । यस्तो प्रवृत्तिले वर्गसंघर्षलाई सही तरिकाले पक्रन मुश्किल हुन्छ र वर्ग समन्वयले मलजल पाउँछ ।
आज आफुलाई क्रान्तिकारी कम्युनिस्ट दाबी गर्ने शक्तिले समेत चुनाव जित्नकै लागि राष्ट्रघाती, प्रतिगामी, प्रतिक्रियावादी एवं विखण्डनकारी शक्तिसँग मोर्चाबन्दी गरिरहेका छन् । प्रचण्ड देखि मोहन विक्रम मसालले वर्गीय दुश्मन शक्ति नेपाली काँग्रेस र एमालेले राप्रपा नेपालसँग चुनावी एवं सत्ताको लागि मोर्चाबन्दी गरेका छन् । क्रान्तिकारी दृष्टिकोणको धरातलबाट विश्लेषण गर्दा यी गठबन्धन अप्रासंगिक, अप्राकृतिक र विजातीय गठबन्धन हुन् जुन चुनावी र सत्ता स्वार्थका आधारमा बनेका छन् । नेपाली काँग्रेस प्रतिक्रियावादी एवं साम्राज्यवादी दलालको पार्टी भएको कुरा विगतका उसका राष्ट्रघाती कदम, जनघाती कदम, प्रतिगामी कदम र पछिल्लो पटक एमसिसी पास गराउने सन्दर्भको घटनाले समेत पुष्टि गरेको सबैलाई थाहा छ । अहिले काँग्रेसले पाँच दलिय गठबन्धनको आधारमा बहुमत ल्यायो वा ठुलो पार्टी बन्यो भने पनि भोलि उसले कार्यान्वयन गर्ने नीति भनेको राष्ट्रघाती, जनघाती, प्रतिगामी र अमेरिकी साम्राज्यवादको दलाल नीति नै हो । कुनै अग्रगामी वा जनहितको नीति अवलम्बन गर्नेछैन । त्यसैले काँग्रेसको बहुमत आउने वा उसलाई प्रथम पार्टी बनाउने गरि जुन जुन पार्टीले काँग्रेससँग गठबन्धन गरेका छन्, त्यतिबेला गठबन्धनमा सामेल अन्य सबै पार्टीहरु पनि परकारन्त रुपमा साम्राज्यवादी एवं प्रतिक्रियावादी शक्तिका मतियार बनेको प्रमाणीकरण हुने निश्चित छ।
पाँच दलिय गठबन्धनका घटकहरुले मुलुक प्रतिगामी खतरामा रहेको विश्लेषण गरेर संघर्ष एकता संघर्षको नियमको आधारमा यो गठबन्धनको निर्माण गरेको दाबी गरिरहेका छन् । यो दाबी आफ्नो गलत उदेश्य र ढंगले निर्माण भएको गठबन्धनका कमजोरी छोपाउन गरिएको दाबी हो । यदी यो गठबन्धन प्रतिगामी खतराका विरुद्ध हो भने निलम्बित कुनै संवैधानिक मौलिक हक वा धारा पुनःस्थापनको लागि वा कुनै थप जनाधिकार स्थापनाको लागि वा राष्ट्रघाती सम्झौता रोक्नका लागि खास आन्दोलनात्मक परिस्थितिमा राजनैनिक हक अधिकार पुनर्स्थापित गर्नको लागि भएको हुन्थ्यो । तर आज पाँच दलिय गठबन्धनले भर्खरै ज्ञानेन्द्र राजा बनिहाल्ने परिस्थिति छ भने झैं गरि प्रतिगामी खतराको हौवाभित्र सत्ता र शक्तिको भागबन्डा गरिरहेको छ । आफुलाई क्रान्तिकारी दाबी गर्ने मसालको बैधानिक मोर्चा चित्रबहादुर नेतृत्वको राष्ट्रिय जनमोर्चा समेत यो घिनलाग्दो फोहोरी खेलमा अंशियार बनेको छ । आफ्ना नेता कार्यकर्तालाई प्रतिगमन विरुद्धको गठबन्धन भन्ने प्रशिक्षण दिएर राष्ट्रिय सभा सांसदका लागि, भुमी आयोगका केन्द्रिय सदस्य जिल्ला अध्यक्ष र सदस्यका लागि र दुइचार वडा अध्यक्ष पद जित्नका लागि विगतको आफ्नो संघर्षशील भुमिकामा कालो धब्बा पोत्दै भागबन्डाको भिख माग्नलाई प्रतिक्रियावादी काँग्रेससामु घुडा टेकेर लम्पसार परेको छ र आफ्ना कार्यकर्तालाई रुख चिन्हमा मतदान गर्नुपर्ने अवस्थामा पुर्याएको छ ।
हामीले ब्याख्या गरेका थियौं कि ओलिको संसद विघटनका घटना संवैधानिक रूपमा प्रतिगामी थिए जुन अदालतले सच्याइ सकेको छ । त्यो कदम ओलिको अधिनायकवादी व्यक्तिवादी चिन्तन प्रवृत्तिले निम्त्याएको थियो । तत्काल त्यो अदालतले सच्याएको थियो । ओलि प्रतिगामी हुन् वा होइनन् यो बहस अहिले यहाँ नगरौं तर मसाल लगायत पाँच दलिय गठबन्धनको भनाइ अनुसार ल मानौं अहिले पनि ओलिद्वारा भयंकर प्रतिगामी खतरा रछ रे, हाम्रो प्रश्न यो छ कि मसाल जस्तो शक्तिले त्यो प्रतिगामी खतरा विरुद्ध लड्न देउवाको भरोसा गर्ने कि नेपाली जनताको ? आन्दोलनको भरोसा गर्ने कि सत्ता एवं चुनावी गठबन्धनको ? यदि देउवा ओलिको प्रतिगामी कदम विरुद्ध भएको भए यो गठबन्धन भत्काउन तयार भएर प्रतिगामी ओलिसँग गठबन्धन गरेर एमसिसी पास गराउन बालकोट धाउने थिए होला र ? विचरा घोर दक्षिणपन्थी प्रचण्डले व्याख्यात्मक टिप्पणीको नाटक गरेर पो गठबन्धन जोगिएको हो त । त्यसैले मसालले प्रतिगामी खतराविरुद्धको गठबन्धनको लगौटिले जतिसुकै दक्षिणपन्थी लाज ढाकछोप गर्ने प्रयत्न गरेपनि घाम जत्तिकै छर्लङ्ग देखिरहेको छ । अब मसालको लागि यो प्रतिगमन कहिलेसम्म रहनेछ ? यो प्रश्न धेरै अर्थपूर्ण छ । मसालले जब देउवा सरकारबाट पाइने भागबन्डा पाउन छोड्छ वा नेपाली काँग्रेस कमजोर भएर अन्य कुनै शक्ति बलियो हुन्छ तब मसालको प्रतिगामी खतरा यानकी यो सबै परिदृश्य स्वत हट्छ । जहासम्म प्रतिगामी खतराको कुरा छ त्यो जहिले सुकै रहिरहन्छ तर कुरा निर्णायक र सामान्यको हो । हिजोभन्दा आज प्रतिगामी तत्वको चुरिफुरी बढेको सत्य हो । त्यो वातावरण आजसम्म सत्तामा बस्ने दलहरू र सरकारका गलत नीति कार्यक्रम, चिन्तन मानसिकता, अनियमितता भ्रष्टाचार र अदुरदर्शिताको कारण प्रतिगामी तत्वको तुलनात्मक रूपमा हल्ला खल्ला अलि बढेको छ ।
- नैतिक र सांस्कृतिक पतनः
आज कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीहरूमा सांस्कृतिक र नैतिक पतन पनि गम्भीर रूपमा देखा परेको छ । कम्युनिस्टहरू धार्मिक दृष्टिकोणले नास्तिक हुन् । उनीहरूले कुनै धर्म र धार्मिक परम्परालाई मान्दैनन् । माक्र्सको भनाइमा धर्म अफिम हो । तर, नेपालमा कम्युनिस्टहरुले माक्र्सवादी धारणाको खिल्ली उडाउने गरेका छन् । त्यसको उदाहरणका रूपमा कथित कम्युनिस्ट प्रधानमन्त्री भएपछि गरेका ‘बोको काटेर बली’ चढाउनु, ‘भैँसी पूजा’ गर्नु, ‘चौरासी पूजा’ गर्नु र ‘झारफुक तन्त्रमन्त्र गरेर बुटि बाध्नु’ जस्ता दृष्टान्तहरू लाई लिन सकिन्छ ।
आज कम्युनिस्ट शक्तिमा कम्युनिस्ट नैतिकताको ह्रास हुँदै गएको छ । आफुले श्रम गर्नु नपर्ने र कार्यकर्ताको श्रम शोषण गरेर आफू सुविधाभोगी बन्ने संस्कार बसेको छ । पार्टीका कार्यकर्ता आफ्नो वरिपरि घुम्ने छाया जस्तै बनाउने प्रचलन छ । गुट उपगुट मौलाएको छ । आफ्ना वरिपरि घुम्ने कार्यकर्ताको जुनसुकै वा जस्तोसुकै गल्ती कमजोरी ढाकछोप गरिन्छ । संगठन र नेता कार्यकर्ता पार्टी र सिद्धान्त प्रति होइन कि नेतृत्व प्रति बढी बफादार बनाइन्छ । ईमानदार पाखा पार्ने र चाप्लुसी गर्नेहरु उच्चस्तरीय जिम्मेवारी तहमा राखिन्छ । सिद्धान्त र प्रगतिशील संस्कार रट्ने साधन मात्रै भएको छ । व्यबहार त्यो अनुरुपको नभए पनि नेतृत्वमा रहँदा फरक पर्दैन । अन्तरपार्टी संघर्षको क्रममा समस्याको समाधान गर्न वैचारिक छलफल भन्दा पनि गाली गलौज र चरित्र हत्याको सहारा लिने संस्कार बसेको छ । यी केही नैतिक तथा सांस्कृतिक पतनका उदाहरण हुन् ।
२. तत्काल गर्नुपर्ने कार्यभार
- आर्थिक र सामाजिक अवस्थाको विश्लेषणः
अहिले आएर कम्युनिस्ट आन्दोलनभित्र देशको आर्थिक एवं सामाजिक अवस्थालाई हेर्ने र विश्लेषण गर्ने विषयमा पनि निकै भिन्नताहरू देखापरेका छन् । त्यस सन्दर्भमा केहि पार्टीले नेपाल पुँजीवादी अवस्थामा प्रवेश गरिसकेको भन्ने विषय जोडतोडले उठाएका छन् । त्यसप्रकारको विश्लेषणलाई सही मान्न सक्ने हाम्रो आर्थिक, सामाजिक अवस्था देखिँदैन । अहिले पनि नेपाली समाज अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक अवस्थामा नै रहेको छ । तर, राजतन्त्रको अन्त्यपछि सामन्तवाद पृष्ठभूमिमा धकेलिएको छ । दलाल तथा नोकरशाही पुँजीवाद जनताको सामुन्ने पर्दामा आएको छ । तर पहिलेको अवस्थामा भन्दा तुलनात्मक रूपमा केहि राजनीतिक परिवर्तन अवश्य भएको छ ।
हिजो कम्युनिस्ट आन्दोलन नोकरशाही तथा दलाल पुँजीवाद हावी अवस्थामा नौलो जनवादी क्रान्ति पश्चात् स्थापित जनवादी व्यवस्थामा नै समाजवादउन्मुख कार्यक्रम लागु हुन सक्ने कुरामा प्रष्ट थियो । तर आज एकातिर नोकरशाही तथा दलाल पुँजीवाद झनझन् बलियो भएको अवस्था छ, अझ प्रतिगामी खतरा छ भनिएको अवस्थामा समाजवादउन्मुख कार्यक्रम लागु गर्दै जनवादमा पुग्ने नीति तर्जुमा गरिएको छ । प्रष्ट छ कि जनवादी व्यवस्था स्वयं पुँजीवादी कार्यक्रम हो । त्यो पुरा नहुँदै समाजवादउन्मुख कार्यक्रम लागु गर्न सकिने कार्यनीतिले दक्षिणपन्थी कार्यदिशाको प्रतिनिधित्व गर्दछ । यो एउटा उदाहरण मात्रै हो, यस प्रकारका थुप्रै कार्यनीति र व्यवहारले कम्युनिस्ट आन्दोलन क्रमशः दक्षिणपन्थी दिशामा पतन भइरहेको छ ।
- क्रान्तिकारी पार्टी निर्माणको आवश्यकताः
यस प्रकारका समस्या रहेको अवस्थामा नेपालको कम्युनिस्ट आन्दोलनको अवस्था र कम्युनिस्ट पार्टीहरूको वर्तमान स्थितिलाई हेर्दा सकारात्मक भन्दा नकारात्मक र उत्साहजनक भन्दा निराशाजनक अवस्था देखिन्छ । तर यो अस्थायी अवस्था हो । सधैं यस्तै अवस्था रहँदैन । त्यसैले आजैदेखि सही ढंगले कम्युनिस्ट आन्दोलनको उठान र क्रान्तिकारी कम्युनिस्ट पार्टी गठनको विषय टड्कारो आवश्यकता भएर आएको छ । त्यसका लागि हरेक कम्युनिस्ट क्रान्तिकारीहरूले गम्भीर ढंगले विचार–विमर्श र छलफल चलाउनुपर्ने अवस्था आएको छ । यस विषयमा कम्युनिस्ट आन्दोलनमा लागेका र कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेका व्यक्तिहरूले अझ गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ ।
विगतका दिनमा पनि विभिन्न समयमा विभिन्न पार्टी र पक्षहरूका बीचमा पार्टी एकता र ध्रुवीकरणको प्रयत्न हुँदै आएका छन् र एकता हुने काम पनि भइरहेका छन । तर, ती प्रयत्नहरू र भएका एकता पनि दिगो रहन सकेका छैनन्, त्यसको मुख्य कारण सैद्धान्तिक र वैचारिक मतभिन्नता बीचको एकता नै हो । त्यसले अन्ततः फुट र विभाजन भएका छन् । आज इतिहासको एउटा महत्वपूर्ण परिघटनाले नेपालका सच्चा कम्युनिस्ट क्रान्तिकारीहरूलाई परिक्षणको कठघरामा उभ्याएको छ । तसर्थ अब सच्चा कम्युनिस्ट क्रान्तिकारीहरू सबैले यो कठिन र महत्वपूर्ण समस्यालाई बुझेर एउटा सही निर्णय गर्नुपर्ने अवस्था आएको छ । सच्चा कम्युनिस्ट क्रन्तिकारीहरूले समयको माग र घट्किदो स्थितिलाई बेलैमा बुझेर मात्रै उग्रवामपन्थी र दक्षिणपन्थी अवसरवादमा पतन हुन खोजिरहेका संसदीय सुधारवादी मोर्चामा केन्द्रित दल र त्यसमा रहेका क्रन्तिकारीहरूलाई रोक्दै सही दिशा प्रदान गर्न सकिन्छ र सक्नु पर्दछ ।
यसर्थ, अब नेपालमा सशक्त कम्युनिस्ट आन्दोलनको उठान र सच्चा क्रान्तिकारी पार्टी निर्माण गर्नका लागि विगतमा भएका भन्दा उच्च ढंगले, वैचारिक, राजनीतिक र संगठनात्मक पाटोमा समेत नयाँ किसिमबाट संश्लेषण गर्दै कम्युनिस्ट क्रान्तिकारीहरू बीचको एकता अनि ध्रुवीकरणको प्रक्रियालाई पुनः व्यवस्थित एवं विधिसम्मत तरिकाबाट निरन्तर अगाडि बढाउनु पर्दछ । क्रान्तिकारी नीति एवं कार्यक्रमलाई आत्मसात र कार्यान्वयन गर्ने विषयलाई केन्द्रबिन्दुमा राखेर विभिन्न पार्टी तथा समूहहरूमा छरिएर रहेका सच्चा तथा इमानदार क्रान्तिकारी व्यक्ति एवं व्यक्तित्वहरूलाई समेत समेटेर लैजानु पर्दछ ।