१३ असार, सैनामैना । टिका खरेल
सैनामैना नगरपालिका वडा नं ४ मा रहेको मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले वितरण गरिरहेको खानेपानीको गुणस्तर जाँच गर्न घुम्ती सेवा संचालन गरेको छ ।
संस्थाले उपभोक्ताले प्रयोग गरिरहेको पानी पिउन योग्य छ की छैन् भनेर पत्ता लगाउन र पिउन योग्य नभए शुद्धिकरण गर्ने उद्देश्यले खानीपानी सुरक्षा योजना अन्तर्गत पानीको गुणस्तर परिक्षण गर्न घुम्ती सेवा संचालन गरेको हो ।
उपभोक्ताले प्रयोग गरिरहेको पानीको बारेमा जानकारी लिन शुक्रबार वडा नं २, ३ र ४ मा उपभोक्ताको धारामा पुगेर पानीको नमुना संकलन गरिएको मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष शालिकराम भण्डारीले बताउनुभयो ।
उहाँले संस्थाले खानेपानीको ट्यांकी र उपभोक्ताको धारा सम्म पुगेर पानीको नमुना संकलन गरी गुणस्तर परिक्षणका लागि संघीय खानेपानी ढल व्यवस्थापन कार्यालय बुटवल पठाइएको समेत बताउनुभयो । भण्डारीका अनुसार पानीको परिक्षणको रिपोर्ट आउन करिब एक हप्ता लाग्ने छ ।
खानेपानी संस्थाले बर्षमा २ पटक घुम्ती सेवा संचालन गर्ने गर्दछ । जसमा गर्मीयाममा र बर्षायममा एक एक पटक घुम्ती सेवा सञ्चालन गर्ने गरेको छ । शुक्रबार पानीको गुणस्तर परिक्षण गर्न संस्थाका पदाधिकारी, जनप्रतिनिधि, राजनितिक सहित प्राविधिकहरुको टोली खटिएको हो ।
खानेपानीबाट वितरित पानी धमिलो आइरहेकोमा पछिल्लो समय उपभोक्ताले गुनासो गरेको थिए । जसमा संस्थाले मुहानबाटै घमिलो पानी आएका कारण वितरित पानीमा समस्या देखिएको जानकारी गराएको थियो । हाल केही मात्रामा घमिलो पानी आउन कम भएको मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले जनाएको छ ।