५ असार, सैनामैना/बिष्णु खत्री
सैनामैना नगरपालिकाले आर्थिक बर्ष २०७७⁄०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालकाले कृषि पर्यटन, उद्योग र पुर्वाधार सु– संस्कृत, समृद्ध नगर सैनामैनाको आधार भन्ने नारा सहित ७९ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरले अल्पकालिन, मध्यमकालिन तथा दीर्घकालिन बिकासका लक्ष्यहरु सहित नीति तथा कार्यक्रम ल्याएको हो ।
सातौ नगर सभामा नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यस बर्ष विद्यमान कोरोना भाइरसको महामारीलाई केन्द्रित गरी स्वास्थ्य तथा सरसफाई, कृषि तथा आर्थिक विकास, शिक्षा लगायतलाई विशेष प्रथामिकता दिदैँ नीति तथा कार्यक्रम ल्याएको उल्लेख छ ।
स्वास्थ्य तथा सरसफाईमा जोड
नीति तथा कार्यक्रममा कोरोना भाईरसको महामारीले स्वास्थ्य क्षेत्रको विस्तार र सबलिकरण गर्नुपर्ने पाठ सिकाएको बताउँदै आगामी आर्थिक वर्ष स्वास्थ्य संस्थाहरुको स्तरोन्नति, पूर्वाधार विकास, जनशक्ति व्यवस्था र सेवाको समतामूलक पहुँच एवं गुणस्तर वृद्धि गर्न स्वास्थ्य क्षेत्रको पुन: संरचना गरिने उल्लेख छ । कोरोना महामारी लामो समय सम्म रहिरहे नगरपालिका भित्रै सञ्चालनमा रहेका सामुदायिक क्वरेण्टीन संख्या ५ र आइसोलेशन कक्ष संख्या १ को क्षमता विस्तार गरिनेछ ।
नीति तथा कार्यक्रममा स्थानीय तहमा एक अस्पताल बनाउने कार्यक्रम अनुरुप यस नगरपालिकामा सुविधा सम्पन्न अस्पतालको निर्माण कार्य सुरु गरिने तथा सबै स्वास्थ्य संस्थाहरुमा व्यवस्थित फिबर क्लिनिक सञ्चालन गरिनेछ । रामापुर स्वास्थ्य चौकीमा आँखा अस्पताल निर्माण र वडा नं. ११ वनकट्टीमा २४ घण्टे प्रसुती सेवाको विस्तार गरिनेछ । स्वास्थ्य चौकी नभएका ९ वटा वडाहरुमा आधारभुत स्वास्थ्य चौकी भवन निर्माण गरी सञ्चालनमा ल्याइने नीतिमा उल्लेख छ । कोरोना महामारीमा उपचारमा संलग्न स्वास्थ्य कर्मीहरुलाई प्रोत्साहित गर्न जोखिम भक्ताको व्यवस्था मिलाईनेछ ।
स्वास्थ्य वीमा सम्बन्धी कार्यक्रम अन्तर्गत २०७७ कार्तिक मसान्तसम्म सवै नगरवासीको स्वास्थ्य वीमा गरिनेछ । महिला स्वास्थ्य स्वयंम सेविका र ८४ वर्ष उमेर नाघेका जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य वीमाको व्यवस्था मिलाइने नीतिमा उल्ल्ेख छ । स्वयंम सेविकाहरुले गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै महिला स्वास्थ्य स्वयंम सेविका अक्षय कोषमा थप रकमको व्यवस्था गरिनेछ ।
त्यस्तै नगरपालिकाका सम्पूर्ण नगरवासीहरुलाई सफा र स्वच्छ खानेपानीको व्यवस्था मिलाउन “एक घर एक धारा” कार्यक्रम सहित सबै नगरबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन संघीय र प्रदेश सरकारको समन्वयमा पाइपलाईन विस्तार, ओभरहेड ट्याङकी निर्माणको कार्य अगाडी बढाइन नीतिमा उल्लेख गरिएको छ ।
“सफा घर, टोल र शहर सैनामैनावासीको एउटै रहर” भन्ने नारालाई सार्थक बनाउन फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि सैनामैना नगरपालिका वडा नं. १०, एक्ला पहाडमा बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाको सहकार्यमा अन्तर स्थानिय तह संयुक्त फोहोर प्रशोधन केन्द्र निर्माण गर्न संघीय सरकारबाट जग्गाको भोगाधिकार लिने प्रक्रिया अघि बढाइएको नीतिमा उल्लेख छ ।
कृषि तथा आर्थिक विकास
नीति तथा कार्यक्रममा भूमी बैँकमार्फत प्रविधियुक्त कृषि, स्वरोजगारीमा बृद्धि, सैनामैनाको आर्थिक समृद्धि भन्ने अभियानलाई साकार पार्न भूमि बैंकको स्थापना गरि सामुहिक खेति, करार खेति र व्यवसायिक खेति गर्ने प्रबन्ध मिलाईनेछ ।
कोरोना भाईरसको कारण बैदेशिक रोजगारबाट घर फर्किएका बेरोजगार युवालाई कृषि तथा पशुपंक्षी व्यवसायमा आबद्ध गर्ने नीति नगरपलिकाले लिएको छ ।
शिक्षा
नगर प्रमुख कार्कीले प्रस्तुत गरेको नीतिमा प्रविधिमा आधारित अपनत्व सहितको गुणस्तरीय शिक्षा, सैनामैनाको प्रतिबद्धता ̎ भन्ने नारालाई साकार पार्न शिक्षकलाई सूचना प्रविधि मैत्री वनाइ पाठयोजना र शैक्षिक सामग्री सहितको शिक्षणलाई प्रोत्साहन गरिने उल्ल्ेख छ । विद्यालय सञ्चालन हुन नसक्ने अवधीभर स्थानिय टेलिभिजन मार्फत अनलाईन कक्षा सञ्चालन गरिनेछ ।
नीतिमा नगरपालिका भित्रका सवै विद्यालयहरुलाई एकै किसिमको रंगरोगन गर्न प्रोत्साहन गरिने बताइएको छ । विद्यालयमा जङ्कफुड निषेध गर्दै प्राथमिक तहका बालबालिकाहरु लाई निशुल्क, स्वच्छ र स्वास्थ्यवर्धक खाजा खुवाईने छ । पूर्व प्राथमिक कक्षा देखि कक्षा ३ सम्म रमाइलो र सजावट युक्त वालमैत्री कक्षा व्यवस्थापन गरिने छ । विद्यालयमा अध्ययनरत सवै छात्राहरुलाई आवश्यक पर्ने सेनेटरी प्याड निशुल्क उपलव्ध गराईने छ ।
जेष्ठ नागरिक, महिला, बालबालिका तथा अपाङ्ग
“सामाजिक न्याय र समताका लागि सकरात्मक विभेद” को नीति अनुरुप हाल सञ्चालन गरिदै आएको क्षमता विकास तथा स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिदै विधवा तथा एकल महिला, द्वन्द्वपीडित महिला, बेरोजगार तथा अति पिछडिएका र बिपन्न समुदायको लागि रोजगारमूलक तालिमको व्यवस्थालाई थप प्रभावकारी बनाइने नीतिमा उल्ल्ेख गरिएको छ ।
महिलाहरुको सशक्तिकरण गर्नको लागी महिलासँग उपप्रमुख कार्यक्रम सञ्चालन गरिनेछ । त्यस्तै पर्यटन व्यवसायको पुन ः उत्थान गर्नको निम्ती नगरपालिकाबाट आवश्यक नीतिगत सहयोग गरिनेछ । नेपालका विभिन्न पर्यटकीय स्थल मध्ये महत्वपूर्ण गन्तव्य स्थलको रुपमा रहेको सैनामैना क्षेत्रको इतिहास, भूगोल, धर्म र संस्कृति झल्कने खालका कार्यक्रमहरु कार्यान्वयनमा ल्याइने छ ।
खेलकुद
“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” अभियानलाई सार्थक बनाउन सैनामैना नगरपालिका वडानं.७ लमटैयामा प्रारम्भ गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको संघीय खेलकुद परिषदको सहयोगमा पूर्वाधार निर्माणको कार्य सुरुवात गरिनेछ । युवाहरुलाई खेलकुद तर्फ प्रोत्साहित गर्न शुरु गरिएको नगरस्तरीय मेयर कप र नगरस्तरीय खेल सप्ताहलाई निरन्तरता दिइने छ ।
पूर्वाधार विकास
नगर प्रमुख कार्कीले प्रस्तुत गरेको नीतिमा चालु आर्थिक वर्षमा ठेक्का लागेका र सम्झौता भएका सञ्चालित आयोजनालाई नियमानुसार म्याद थप गरि सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिने छ ।
“नगरको समृद्धिको आधार, फराकिलो र व्यवस्थित सडक पूर्वाधार” भन्ने नारालाई आत्मसाथ गरी सडक निर्माण तथा बिस्तार गर्र्ने कार्यलाई निरन्तरता दिइनेछ । आ.व २०७७र७८ भित्र सैनामैना चक्रपथको न्यूनतम २० किलोमिटर सडक कालोपत्र र बाकि रहेको सम्पुर्ण सडक खण्डमा समाबेस गरिनेछ ।
वडा नं. ३ को मुर्गिया साप्ताहिक हाटबजार र शान्तिटोल साप्ताहिक हाटबजार भाद्र महिनासम्म निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ । सालझण्डी ढोरपाटन बसपार्क र पानवारिको साप्ताहिक हाटबजार निर्माण कार्यलाइ निरन्तरता दिइनेछ ।
मुर्गिया लुम्विनी सडकको मुर्गिया सुर्यपुरा खण्डको बाकि ६ किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्न पहल गरिने नीति तथा कार्यक्रममा बताइएको छ । कर्साघाट शवदाह गृह र वडा नं. ९ गुरुङ्गडाँडामा रहेको सामाजिक संस्कार स्थललाई थप व्यवस्थित गरिनेछ ।
भूमि तथा भवन व्यवस्थापन
शुक्रबार प्रस्तुत भएको नीतिमा भूमि सम्बन्धी समस्या समाधान आयोगले पहिचान र प्रमाणिकरण गरेको भूमिहीन सुकुम्बासि र अव्यवस्थित बसोबासीको घर जग्गा नापजाँच, नक्शा स्रेस्ता तयार गरी जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने जनाइएको छ । त्यस्तै नगरपालिकाको वडा नं. ५,६,७,८ र ९ क्षेत्र भित्र नाप नक्सा गर्न छुटेका गाउँ ब्लक जग्गाहरुको नाप नक्सा तयार गरी जग्गाधनी प्रमाणपत्र पूर्जा उपलब्ध गराइनेछ । यसैगरी हालसम्म पनि बिद्युत लाइन जडान नभएका स्थानहरुको पहिचान गरी ती स्थानहरुमा विद्युत लाइन जडानको व्यवस्था गरिने नीतिमा उल्लेख छ ।
वन,वातावरण तथा विपद व्यवस्थापन
नीति तथा कार्यक्रममा एक घर दुई फलफूलको अवधारणा अनुरुप प्रत्येक घरमा फलफूलका विरुवा रोप्ने कार्यलाई निरन्तरता दिइने उल्लेख छ । विपद् न्यूनिकरणको लागि पूर्व तयारीमा जुटौं” भन्ने अभियानलाई साकार पार्न विपद् व्यवस्थापन समितिलाई अझै प्रभावकारी बनाइने भएको छ । त्यस्तै सैनामैना नगरपालिका, शुद्धोधन गाँउपालिका, कञ्चन गाँउपालिका र गैडहवा गाँउपालिकालाई पायक पर्ने गरी सैनामैना नगरपालिका वडा नं. ७ मा सशस्त्र प्रहरी बलको स्थापना गर्न पहल गरिनेछ ।
कोरोना भाईरस महामारीको कारण लकडाउनको अवधिभर सञ्चालन हुन नसकेका व्यवसायहरुलाई राहत स्वरुप लकडाउन अवधिभरको घर बहाल कर र व्यवसाय करमा छुट तथा सहुलियत दिने नीति अवलम्बन गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिको सावाधिक जिवन वीमा गरिनेछ । ८० वर्ष माथिका जेष्ठ नगरिक र पूर्ण अपाङ्गता भएका लाभग्राहीहरुलाई बैंकमार्फत घरमै भत्ता वितरणको व्यवस्थालाई थप प्रभावकारी बनाईने बताइएको छ । नगरवासीलाई सुरक्षाको अनुभूति दिलाउन सुरक्षा निकायसँगको सहकार्यमा विभिन्न स्थानमा सि.सि.टि.भि. जडान गर्ने कार्य आ.व २०७७ ⁄ ७८ को पहिलो चौमासिकमा सम्पन्न गरिने उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रममा सुशासन प्रबर्द्धन तथा भ्रष्टचार नियन्त्रणका लागि म भ्रष्टचार गर्दिनँ, म भ्रष्टचार हुन दिन्नँ, म देश र जनताका लागि ईमान्दार भएर काम गर्नेछु भन्ने प्रतिज्ञा सहितको कार्य संस्कृतिको प्रवर्द्धन गरिने उल्लेख छ । सैनामैना वडा नं २ बाबरी पार्टी प्यालेसमा नगर उप्रमुख जनप्रतिनिधी, राजनितीक दल, संस्था संस्था, कर्मचारी , सञ्चारकर्मी लगायतको उपस्थितिमा भौतिक दुरी कायम गरी शुक्रबार नीति तथा कार्यक्रम नगरले सार्वजनिक गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको सञ्चालनमा कार्यक्रम भएको हो ।