२३ माघ , एजेन्सी ।
एक दृष्टिविहीन युवा, जो आँखा देख्न सक्दैनन् तर उनी करिब साढे ६ करोड डलरको कम्पनी हाँक्छन् । भारतका ३१ वर्षीय श्रीकान्त भोला उक्त कम्पनी ‘बोलेन्ट इन्डष्ट्रिज’ का प्रमुख कार्यकारी अधिकृत ९सीईओ० छन् । उनले स्थापना गरेको उक्त कम्पनीको मूल्य ६ करोड ४० लाख डलरभन्दा बढी रहेको छ । उनैको जीवनमा आधारित बलिउड फिल्म निर्माण गर्ने तयारी भइरहेको छ । यहाँसम्म पुग्न उनको संघर्ष भने कम छैन।
आँखा नदेख्नु उनको जैविक कमजोरी थियो । तर उनले आफूलाई कमजोर ठानेनन् । बाल्यकालदेखि नै अनेकौँ समस्या र चुनौतीको सामना गर्दै उनी अघि बढे । उनलाई सानोमा दृष्टिविहीन मानिसले गणित र विज्ञान पढ्नु अवैध हो भनेर स्कुलले अपहेलना गरेपछि उनले मुद्दा हाले । आफूले चाहेको विषय पढ्न उनले प्रदेश सरकारविरुद्ध नै मुद्दा हाले र जिते ।
श्रीकान्त ६ वर्षको हुँदा हरेक दिन आफ्ना दाइ र कक्षाका साथीहरुको सहायतामा घण्टौँ हिँडेर स्कुल जान्थे । यो क्रम दुई वर्षसम्म चल्यो । कहिले हिलैहिलो तर कहिले काँडाले भरिएको अनि कहिले बाढीले बगाएको सडक हुँदै उनी स्कुलसम्मको यात्रा तय गर्थे ।
उनले ती पीडादायी क्षण सुनाए, ‘म आँखा नदेख्ने भएकै कारण मसँग अरु कुनै विद्यार्थी तथा बालबालिकाहरु बोल्दैनथे ।’
बिबिसी हिन्दीका अनुसार गरिब घरमा, अशिक्षित अभिभावकबाट जन्मिएका श्रीकान्तलाई उनको समाज र। समुदायले निकै हेला गरेको थियो । ‘मेरा बाबुआमालाई भनिएको थियो कि मैले बाटोको भुसिया कुकुर भित्र पसेको समेत देख्न सक्दिनँ । त्यसैले सिरानीले मुख छोपी हत्या गर्न आमाबुवालाई सुझाव दिइन्थ्यो,’ उनले भावुक हुँदै बाल्यकालका कुरा सम्झिए ।
तर उनका बाबुआमा भने समझदार र हृदयवान नै थिए । अरुका कुरा सुनेर बेवास्ता गर्थे । ८ वर्षको उमेरमा भने श्रीकान्तका बुवाले एउटा बोर्डिङ स्कुलमा उनलाई भर्ना लिन सकिने खबर सुनाए । यसका लागि श्रीकान्तले नजिकको सहर हैद्रावादमा सर्नुपर्ने भयो । तर बाबुआमाबाट टाढा भएर पनि श्रीकान्त नयाँ स्कुलमा पढ्न उत्साहित थिए ।
उनलाई उक्त नयाँ बोर्डिङ स्कुलमा सारियो । र छिटै त्यहाँको वातावरणमा उनी घुलमिल भए । उनले स्वीमिङ, चेस, क्रिकेट लगायत खेलकुट गतिविधिमा भाग लिन थाले र सबै सिके पनि ।
उनको सानैदेखिको सपना थियो इन्जिनियर बन्ने । त्यसका लागि विज्ञान र गणित पढ्नुपर्छ भन्ने उनलाई थाहा थियो । तर उक्त विषय छनोट गर्दा स्कुलले यो अवैध हो भनेर उनलाई पढ्न अनुमति नदिएपछि मुद्दा हाले ।
उनी पढ्ने स्कुल ।‘स्टेट बोर्ड अफ एजुकेसन अफ आन्ध्र प्रदेश’ ले सञ्चालन गरिरहेको थियो । तर त्यस स्कुलमा माध्यमिक तहका दृष्टिविहीन विद्यार्थीले विज्ञान र गणित पढ्न अनुमति थिएन । यी विषयहरु अधिक चुनौतीपूर्ण हुने र यसका लागि चित्र अनि ग्राफहरु पनि आवश्यक पर्ने हुनाले यस्तो नीति लागू गरिएको थियो । त्यसको सट्टा उनीहरुलाई आर्टस, भाषा, साहित्य या सामाजिक विज्ञानका विषयहरु छनोट गर्न दिइएको थियो । तर यो कुरा उनलाई पटक्कै चित्त बुझेन ।
त्यहाँ फरक फरक तरिकाले आफ्नै मनमौजीमा स्कुलहरु चलान्थ्यो । जुन कुराले श्रीकान्तलाई दिक्क बनायो । उनी सोचमग्न थिए । यस्तैमा सन् २००७ मा एक शिक्षिकासँग सहकार्य गरी उनी सम्बन्धित बोर्डकहाँ पुगे तर बोर्डले उनको कुरा सुनेन । नियम फेरबदल गरेन। यसपछि उनलाई स्कुलकै व्यवस्थापन विभागले सहयोग गर्यो । एकजना वकिल राखेर आन्ध्र प्रदेशको उच्च अदालतमा मुद्दा हाले ।
तर मुद्दाको छिनोफानो नहुँदै श्रीकान्तले अर्को स्कुलबारे थाहा पाए । हैद्रावादकै एक स्कुलले दृष्टिविहीनलाई पनि गणित र विज्ञान पढाउने गरेको बुझेपछि उनी त्यतै भर्ना भए । त्यहाँ भने अरु सामान्य साथीहरुले उनलाइ बुझे, कक्षामा नराम्रो व्यवहार गरिएन ।
त्यसको ६ महिनापछि श्रीकान्तको पक्षबाट हालिएको मुद्दा उनकै पक्षमा फैसला भयो । त्यतिबेला उनलाई अत्याधिक खुसी लाग्यो । ‘मैले पनि केही गर्न सक्छु भनेर दुनियाँलाई देखाउने पहिलो अवसर पाएँ,’ उनी भन्छन्, ‘त्यस्तै युवा वर्गले मुद्दा लडेर अदालत मार्फत जित हासिल गर्न सक्ने हुँदा अन्याय विरुद्ध लड्न चिन्ता गर्नु पर्दैन भनेर पनि साबित गरेँ ।’
यसपछि उनी आफू पहिला पढिरहेकै स्टेट बोर्ड स्कुलमा फर्किए । अनि गणित र विज्ञान पढ्न थाले । परीक्षमा उनले औसत ९८ प्रतिशत ल्याएर पास भए ।
उनको अबको सपना भारतकै प्रतिष्ठित इन्जिनियिरिङ कलेज आइआइटीमा पढ्ने थियो । त्यहाँ कडा प्रतिस्पर्धा हुन्थ्यो । श्रीकान्तलाई त्यहाँ कसैले पनि पत्याएन, कलेजले भर्ना नलिने मनसाय गरेको थियो ।
त्यसपछि उनको मन मोडियो । सट्टामा उनले अमेरिकाका युनिभर्सिटीहरुमा भर्नाका लागि निवेदन दिए । जसमध्ये पाँचवटाबाट उनलाई प्रस्ताव आयो । यसपछि उनले विश्वकै सबैभन्दा प्रतिष्ठित मानिने एमआईटी क्याम्ब्रिजमा पढ्ने निर्णय गरे । त्यहाँ उनी पहिलो दृष्टिविहीन अन्तर्राष्ट्रिय छात्र बनेर पढ्न थाले ।
तर आफ्नो देश छाडेर अमेरिका जानु सजिलो थिएन । त्यहाँको चिसो मौसम अनि खानपानमा समायोजित हुन गाह्रो थियो । तर उनी छिटै नै त्यहाँको माहोलमा पनि घुलमिल हुन सके ।
त्यहाँ रहँदा उनले पढाइसँगै अशक्त बालबालिकाहरुलाई पढाउन र प्रशिक्षण दिन भनी गैरनाफामूलक संस्था पनि सुरु गरे । उनले दानमा पाएको पैसाबाट आफूजस्तै विद्यार्थीहरुका लागि ब्रेल पुस्तकालय पनि खोले ।
अमेरिकाको एमआईटीमा पढाइ पूरा गरिसकेपछि उनलाई धेरै कम्पनीहरुबाट जागिरको प्रस्ताव पनि आएको थियो । तर उनले भने अब अमेरिकामा नबस्ने विचार गरेर र भारत फर्किए । यसबारे उनले भने, ‘मैले जीवनमा सबै कुराका लागि एकदम धेरै संघर्ष गर्नुपर्यो । तर सबैसँग म जति हिम्मत या मैले पाएजतिका कुशल प्रशिक्षक नहुन सक्छन् ।’ र उनले भारतमै केही गर्ने अठोट लिए ।
शिक्षाका लागि लडेर मात्र केही हुनेवाला थिएन । अनि पछि गएर त्यस्ता अशक्तता व्यक्तिका लागि रोजगारीको अवसर पनि हुनुपथ्र्यो । त्यसैले उनले आफैँ त्यस किसिमको कम्पनी सुरु गर्ने र अक्तहरुलाई रोजगारी दिने सोच बनाए ।
सन् २०१२ मा आफ्नो सहर हैद्रावाद फर्किसकेपछि उनले ‘बोलेन्ट इन्डष्ट्रिज’ स्थापना गरे । यो एक प्याकेजिङ कम्पनी हो, जसले वातावरण अनुकूल उत्पादनहरुको प्रयोग गरी प्याक गर्दछ । यसमा झरेका पामका पातहरुको प्रयोग गरिन्छ । हाल यो कम्पनीको मूल्य ६ करोड ४० लाख डलरभन्दा बढी रहेको छ ।
उनले सञ्चालन गरेको यस कम्पनीमा अशक्त या मानसिक समस्या भएका मानिसहरुलाई प्राथमिकताका साथ नियुक्त गरिन्छ । त्यहाँ हाल ५०० जना कर्मचारी रहेकोमा ३६ प्रतिशत कर्मचारी अशक्तहरु रहेका छन् ।
गएको वर्ष श्रीकान्तको नाम विश्व आर्थिक फोरमको युवा ग्लोबल लिडरहरुको सूचीमा परेको थियो । र, हाल बलिउडका चर्चित अभिनेता राजकुमार राओले उनको जीवनमा आधारित फिल्ममा अभिनय गर्ने भएका छन् ।
यसरी एक अशक्त ठानिएका र उपेक्षित गरिएका दृष्टिविहीन बालकको साहस र अठोटले उनी आज एक शक्तिशाली युवा भएका छन् । हाल पहिलोपटक देख्ने भेट्ने उनलाई कमजोर वा अपांग ठान्ने गरे पनि जब वास्तविकता बुझ्छन्, अनि उनलाई हेर्ने दुष्टिकोण पूरै बदलिन्छ ।
– बिबिसी हिन्दीबाट