रुपन्देहीको सैनामैना नगरपालिकामा व्यवसाय, बैँक तथा वित्तीय संस्थाहरु नियमित खुल्ने भएका छन् ।
नगर कार्यपालिका तथा विपद व्यवस्थापन समितिको बैठकले नगरपालिकामा रहेका व्यवसाय, बैँक तथा वित्तीय संस्थाहरु नियमित खुलाउने निर्णय गरेको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
कार्कीले भन्नुभयो – बैँक तथा वित्तिय संस्थाहरु तोकिएको समयमा खुल्दा सर्वसाधारणको भिडभाड हुने भएकाले जोखिम हुने देखियो । र नियमित रुपमा खोल्दा जोखिम कम हुने भएकाले खोल्ने निर्णय गरेका हौँ ।
कोरोना भाइरस ( कोभिड – १९) को महामारीलाइ मध्यनजर गरी सरकारले तोकेको सुरक्षा मापदण्ड ( सुरक्षा सतर्कता ) अपनाइ सामाजिक दुरी कायम गर्दै व्यवसाय, बैँक तथा वित्तिय संस्थाहरु नियमित खुल्ने र खोल्ने समय पनि निर्धारण गरिएको कार्कीको भनाइ छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले व्यवसाय बैंक तथा वित्तीय संस्था संचालन अन्तर्गत खाद्यन्न तरकारी तथा फलफूल पसल र थोक बिक्रेताहरुका लागि बिहान ७ देखी ९ बजे सम्म समय निर्धारण गरिएको बताउनुभयो । दुध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने र बिक्री वितरण गर्ने पसल बिहान ७ देखी १० बजेसम्म र बेलुका ५ देखी ७ बजेम्म खुल्नेछन् ।
त्यस्तै मोटर, ग्यारेज वासिङ सेन्टर आदीको क्षेत्रमा बिहान ९ देखी ५ बजे सम्म खुलाइने भएको छ । जसमा ५ जना सम्म मजदुर राखेर काम गर्न सकिने नगरपालिकाले जनाएको छ ।
अधिकृत पन्थीका अनुसार बैंक, सहकारी, रेमिट्यान्स लगायतका वित्तीय संस्थाहरु दैनिक रुपमा कार्यालय समयमा संचालन हुने हुनेछन् । यसैगरी कस्मेटिक, डेकोर, फेन्सी, पुजा सामग्री र निर्माण सामग्री सम्बन्धी हार्डवेयर्स अन्तर्गत रहेका छड,सिमेन्ट, पेन्ट, टायल मार्बल, फलाम, आलमोनियम लगायतका पसल बिहान ९ देखी २ बजे सम्म खुल्नेछन् ।
कृषि क्षेत्रमा भने नगरपालिकाले आवश्यकता अनुसार दिनभर नै काम गर्न सकिने जनाएको छ । यसैगरी सैनामैना नगरपालिकामा बिकास निर्माणका कामहरुलाई पनि अघि बढाइने भएको छ । विकास निर्माणका कामहरु मध्ये संघ, प्रदेश र स्थानीय तहका प्राथमिकताका योजना र सैनामैना चक्रपथ एवम् नगर स्तरीय योजनाहरु रहेका छन् । विकास योजनाका कार्यहरुका लागि सरकारले तोकेको मापदण्ड पुरा गर्नुपर्नेछ । जसमा मजदुरको आवसीय व्यवस्था, न्युनतम सामाजिक दुरी १ दशमलब ५ मिटर रहेर काम गर्नुपर्ने , दैनिक स्वास्थ्य स्थितिको जानकारी लगायतका बिषयमा ध्यान दिनुपर्ने नगरपालिकाले जारी गरेको सुचनामा उल्लेख छ ।
यसैबिच संघीय सरकारले बन्द रहने भनि तोकेका क्याम्पस, विद्यालयत तथा अन्य शैक्षिक संस्था र तालिम केन्द्रहरु भने बन्द रहनेछन् । यस्तै सार्बजनिक जमघट, धार्मिक स्थलका जमघट तथा भेलाहरु, सांस्कृतिक कार्यक्रमहरु गर्न पाइने छैन भने व्यवसायिक मल, पार्टी प्यालेस, फनपार्क लगायतका क्षेत्र पनि बन्द रहनेछन् । नगरपालिकाले जारी गरेको सुचनामा होटल, बार, रेष्टुरेण्ट तथा साप्ताहिक हाटबजार खुलाउन पाइने छैन भने रंगशाला, खेलकुदस्थल, शारीरिक सुगठन गर्ने स्थल, जिमखाना, शैलुन तथा ब्युटिपार्लहरु पनि खुलाउन पाइने छैन् ।
सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाइ सामाजिक दुरी कायम गर्दै नगरक्षेत्र भित्र रहेका व्यवसाय, सेवा प्रवाह तथा सेवा सेञ्चालन गर्नु गराउनुहुन सबैमा नगरपालिकाले आग्रह समेत गरेको छ । सरकारले जेठ ३२ गते सम्म लकडाउन कायम गरेको छ ।