१७ माघ,कञ्चन ।
कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) सेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्लो दिन १०५.५५ अंकले बढेको बजार आज भने घटेको हो । नेप्से परिसूचकमा गिरावट आउँदा कारोबार रकम पनि घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १४.४८ अंकले घटेर २८७१.०५ विन्दुमा झरेको छ । नेप्से ०.५० प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ०.०८ अंकले घटेर ५३८.४५ विन्दुमा झरेको छ ।
कूल २२५ वटा कम्पनीको १ कारोड १ लाख ५ हजार ६ सय ६९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५ सय ९८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहहरुको सेयर वृद्धि भएको छ भने बाँकी १० उपसमूहको सेयर घटेको छ । आज सबैभन्दा डेभलपमेन्ट बैंक समूहको सेयर घटेको छ ।
बजार घट्दा कारोबार रकममा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड अब्बल देखिएको छ । आज कम्पनीको ५७ करोड १२ लाख ७८ हजार ६ सय ३९ रूपैयाँको कारोबार भएको छ ।
सोमबार फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य आज १० प्रतिशतले बढेर २ हजार ३ सय ८७ रुपैयाँ पुगेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर १ हजार ६ सय १९ रुपैयाँ २० पैसा पुगेको छ ।
त्यस्तै, आज माउन्टेन हाइड्रो नेपाल लिमिटेडको सेयर मूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको सेयर मूल्य ३.४४ प्रतिशतले घटेर ५ सय ६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।